जेनजी आन्दोलनमा दाहिने हातमा गोली लागेका अनुजले अस्पतालको शय्याबाट बोलेका शब्दले आमा सरस्वतीमा साहस थपिदियो तर छोराको अवस्थाले भने मन पिरोलिरहेको छ।
काठमाडौँ– “देशको लागि यति पनि गर्न नसके म के युवा! गोली खाएकोमा मलाई कुनै पछुतो छैन ममी।” अर्धबेहोसी अवस्थामै २४ वर्षीय अनुज महराले आफ्नी आमा सरस्वती महरालाई भनेका शब्द हुन् यी।
भदौ २४ गते मंगलबार दिउँसो सरस्वती बानेश्वरस्थित सिभिल अस्पताल पुग्दा छोरा अर्धबेहोसी अवस्थामा अस्पतालको शय्यामा लडिरहेका थिए। हातबाट रगत बगिरहेको थियो। आन्दोलनमा गएका अनुजको कुहिनामा गोली लागेको थियो। जस कारण उनको हात चल्दैनथ्यो। चिकित्सकहरूले अप्रेसन थिएटरमा लैजाने तयारी गरिरहेका थिए। थिएटरमा लाँदै गर्दा हो अनुजले आमासँग यस्तो भनेको। विचलित भएर अस्पताल पुगेकी सरस्वतीले छोराका तिनै शब्द सुनेर मन बलियो बनाइन्।
२३ गते जेनजी आन्दोलनमा प्रहरीको दमनबाट कम्तीमा १९ युवा मारिएको विरोधमा आन्दोलनले उग्र रूप लियो। अर्को दिन फेरि सयौँको संख्यामा संसदभवनअघि उत्रिएर राज्यविरुद्ध नारा लगाउन थाले। ढुंगामुढा प्रहार हुन थाल्यो। अघिल्लो दिन आन्दोलनमा सरिक नभएका अनुज २४ गतेको दिन राज्यविरुद्ध नारा लगाउन संसदभवन पुगे।
परिवारले नजान अनुरोध गरिरहे पनि कसैलाई सुइको पनि नदिइ आन्दोलनमा पुगे। सरस्वतीका अनुसार अघिल्लो दिनको घटनाले अनुजलाई मर्माहत बनाएको थियो।
सामान्य प्रदर्शन चलिरहेकोमा एक्कासि सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भयो। प्रहरीले त्यस दिन पनि अन्धाधुन्ध गोली चलायो। जसमा अनुज पनि परे।

“शुरूको आन्दोलन गम्भीर होइन भन्दै गएन। जब युवाहरूलाई ताकेर गोली हानियो र आन्दोलनले अर्कै मोड लिएपछि आवाज उठाउनैपर्छ भन्ने लागेर गएको थियो,” उनले भनिन्, “प्रदर्शनकारी संसदभवन परिसरभित्र छिरेपछि ढुंगामुढा भयो। उताबाट भने वार्निङ पनि नदिइ ताकेर गोली हान्न थालिएको रहेछ। आएको गोली छल्न खोज्दा छोराको हातमा लाग्यो।”
धन्न त्यो गोली छोराको छातीमा लागेन भन्ने कल्पेर आफैलाई ढाडस दिन्छिन् सरस्वती। सुरक्षाको नियमअनुसार प्रदर्शनकारीलाई गोली हान्ने त अन्तिम विकल्प मात्रै हो, त्यो पनि कम्मरभन्दा मुनी। कुन कानून टेकेर अन्धाधुन्ध गोली चलाइयो? भन्ने प्रश्नको जवाफ पर्खिरहेकी छन् उनी।
सरकारले प्रदर्शनकारीप्रति देखाएको रबैयाको उनी विरोध गर्छिन्। विद्यार्थीहरूमाथि जथाभावी गोली हानेर मार्नु र अपांग बनाउन नहुने बताउँछिन्। “उनीहरू आतंकवादी होइनन्। न त उनीहरूसँग हतियार थियो। कापी किताब बोकेर हिँडेका बच्चालाई बर्बतापूर्वक गोली हान्नु गलत हो। जुन आवश्यकता थिएन,” उनले भनिन्।
छोरालाई गोली लागेर अस्पताल भर्ना भएपछि मात्रै सरस्वतीलाई जानकारी भएको थियो। बानेश्वरको त्यो अवस्थालाई छिचोल्दै उनी सिभिल अस्पताल पुगिन्। छोराको अवस्था देखेर दुःखी भए पनि मनोबल कम नभएको उनी बताउँछिन्। उनले भनिन्, “छोराको अवस्था देखेर दुःखी भइने नै भयो तर हरेस खाएको छैन।”
उनका अनुसार गोली लागेर अनुजको कुहिनाको जोर्नी नै भाँचिएको छ। हड्डी चकनाचुर छ। चिकित्सकले अझै ६/७ पटकसम्म अपरेसन गर्नुपर्ने बताएका छन्। दाहिने हात जीवनभर सामान्य नहुन सक्ने जोखिम छ। चिकित्सकले प्लास्टिक सर्जरी गर्ने र रड राखेर पनि हात चलाउन सक्ने सम्भावना थोरै रहेको बताएका छन्। नभएमा हात सामान्य हुन सक्दैन। जीवनभर घाँटीमा झुन्ड्याएर ‘एल’ आकारमा राख्नुपर्ने छ।
सरस्वतीका अनुसार अहिले उपचारको खर्च अस्पतालले लिएको छैन। काठमाडौं महानगरपालिकाको प्रतिनिधि आएर पनि सरकारले नै हेर्ने भनिएको छ। अहिलेसम्म अस्पतालको क्षमता स्रोत साधनअनुसार उपचार भइरहेको उनले बताइन्। तर राम्रोसँग उपचार हुनेमा भने शंका लागेको छ उनलाई।
“चिकित्सकले सामान्य स्थिर स्टिल राख्ने कुरा भएको छ। तर हामीले अध्ययन गर्दा कुहिनाको जोर्नी शल्यक्रिया गरेर हात चलाउन मिल्ने रहेछ। त्यो सुविधा नेपालमा छ कि छैन। छैन भने कहाँ लैजाने, उपचार खर्च कसले बेहोर्ने अन्यौल नै छ,” उनले भनिन्।
उपचार खर्च आफैँले बेहोर्ने भए पनि उनको चित्त दुखाई छैन। आफ्नो छोराको लागि भएको सम्पत्ति खर्चिन तयार रहेको उनी बताउँछिन्।

अनुजको अधुरो सपना
सिराहा घर भएकी सरसस्वती काठमाडौँ बानेश्वरस्थित माइतीमा रहेर छोराछोरी पढाइरहेकी छन्। छोरी कक्षा ११ मा अध्ययनरत छिन्। बीबीए सकेर बसेका अनुज जापान जाने तयारीमा थिए। तर अब छोराको अनिश्चित भविष्यले पनि पिरोल्न थालेको छ सरस्वतीलाई।
गत शनिबार अन्तरिम प्रधानमन्त्री सुशीला कार्की घाइतेको अनुगमन गर्न सिभिल अस्पताल पनि पुगिन्। प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न नपाए पनि घाइतेहरूलाई सरकारले न्याय गरोस् भन्ने लागेको छ उनलाई।
उनी भन्छिन्, “हाम्रो चाहना छ, सरकारले केही रुपैयाँ दिएर मात्र औपचारिकता नदेखाओस्। बरु उसलाई भविष्य सुरक्षित हुने गरी उसको क्षमता र दक्षता हेरेर रोजगारीको व्यवस्था गरिदेओस्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
