काठमाडौँ– वीरगन्जसँग सीमा जोडिने विहारको रक्सोलस्थित रेल्वे स्टेसनको पार्सल सेवामा भारतीय भन्सार कार्यालयका अधिकारीहरूले गत मंसिर ३० मा छापा मारे। त्यस क्रममा उनीहरूले ई–सिगरेट (भेप) बरामद गरे। बरामद भएका २० वटा कार्टुनमा राखिएको पाँच हजार ६९८ थान चिनियाँ भेप नेपाल हुँदै भारत पुर्याइएको थियो।
ती भेप सत्याग्रह एक्सप्रेसको पार्सलबाट ‘कस्मेटिक्स’ सामग्री भनेर दिल्ली पठाउन लागिएको थियो। जबकि, भारतमा इलेक्ट्रोनिक सिगरेट निषेध अधिनियम (पीईसीए), २०१९ मार्फत भेपमाथि प्रतिबन्ध लगाइएको छ।
रेलवेका दुई अधिकृतहरू रक्सोलका स्टेसन प्रबन्धक अनिलकुमार सिंह र पार्सल इन्चार्ज माणिक चन्दलाई चिनियाँ भेप ‘बुक’ गरेको भन्दै निलम्बन गरिएको छ। त्यहाँ भेपको उत्पादन र किनबेच मात्र होइन, राख्न वा उपयोग गर्न पनि प्रतिबन्ध छ।
चीनबाट चोरीपैठारी (भन्सार छली) गरेर भित्र्याइएका भेप नेपालबाट भारततर्फ चोरीनिकासी गर्न त्रिदेशीय तस्करी सञ्जालहरू सक्रिय छन्। यस्ता संगठित तस्कर समूहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले निगरानी बढाएको बेला सीमापारी रक्सोलमा ठूलो परिमाणमा भेप बरामद भएको हो। रेल्वेको पार्सल गोदामबाट बरामद भेपको मूल्य रक्सोलस्थित भारतीय भन्सार कार्यालयले ४ करोड नेपाली रुपैयाँभन्दा बढी भएको आकलन गरेको छ।
नेपालमा भेप आयात गर्दा भन्सारलाई ५४.२५ प्रतिशत राजस्व प्राप्त हुन्छ। यसको पाटपुर्जा आयात गर्दा ४६.९० प्रतिशत राजस्व तिर्नु पर्छ। तीन वर्षअघि नेपालमा वैध रूपमा भेप भित्र्याएर भारततर्फ चोरीनिकासी हुन्थ्यो। अहिले पैठारी र निकासी दुवै अवैध तरिकाले भइरहेको भेटिएको छ।
नेपाललाई ‘ट्रान्जिट’ बनाएर चीनबाट भारततर्फ भेपको अवैध कारोबार भइरहेको तथ्य राजस्व अनुसान्धान विभागको अनुसन्धानबाट पनि खुलेको छ। काठमाडौँबाट भारतको राजधानी दिल्लीतर्फ जाँदै गरेको ना६ ख ७१६३ नम्बरको बसबाट गत असार ७ गते प्रहरीले ५८ कार्टुन भेप बरामद गरेको थियो। प्रहरीले विशेष सूचनाका आधारमा हेटौँडा–११ थानाभर्याङस्थित राजमार्गमा खानतलासी गरेर भेप बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का बताउँछन्।

प्रहरीका अनुसार बसमा यात्रु बस्ने सिटको माथि ‘फल्स सिलिङ’ (गोप्य–खण्ड) बनाई भेपका कार्टुनहरू लुकाइएको अस्थामा बरामद भएको थियो। चालक र सह–चालकसहित पाँच जनालाई बससँगै नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको थियो।
उम्किए मुख्य कारोबारी
राजस्व अनुसन्धान कार्यालय, पथलैयाका सूचना अधिकारी पुष्पराज कोइराला चीनमा बनेका भेप चोरीपैठारी गरी काठमाडौँ ल्याउने र त्यहाँबाट भारततर्फ पठाउने संगठित गिरोह नै सक्रिय रहेको बताउँछन्। अनुसन्धान अधिकृतसमेत रहेका कोइराला भन्छन्, “हामीले अनुसन्धान सकेर उच्च अदालत पाटनको हेटौँडास्थित अस्थायी इजलासमा गत भदौ ३० गते नै मुद्दा बुझाइसकेका छौँ। यसमा कुल नौ जनालाई प्रतिवादी बनाइएको छ।”
मुख्य कारोबारीहरूले आफू जोगिने गरी चलाखीपूर्ण तरिकाले तस्करी सञ्जाल खडा गरेको भेटिएको पनि उनले बताए। चीनसँग जोडिएको रसुवा भन्सार र सिन्धुपाल्चोकको तातोपानी भन्सार नाकाबाट १–२ कार्टुन गर्दै भित्र्याइन्छ। यसरी भन्सार पार गराएपछि एकत्रित गरेर ट्रकमा काठमाडौँ ल्याई तस्कर गिरोहले गोदाममा भण्डार गर्छ।
“काठमाडौँ गोदाममा राखेपछि भारतीय दूतावासबाट दिल्ली जान बसको अस्थायी रुट परमिट लिए। त्यही बसमा फल्स सिलिङ बनाएर भेपका कार्टुन फिट गरे,” कोइराला भन्छन्, “विषेश सूचनाको आधारमा प्रहरीले उक्त बस खानतलासी गरेर (भेप) बरामद गरी हामीलाई अनुसन्धानको लागि बुझायो।”
झन्डै तीन महिनाको अनुसन्धानमा आफूहरू मुख्य कारोबारीसम्म पुग्न नसकेको कोइराला बताउँछन्। मुख्य कारोबारीले कुनै पनि मोबाइल एक पटक प्रयोग गरेपछि अर्को पटक प्रयोग नगर्ने चलाखी अपनाएको भेटिएको उनको भनाइ छ।
“कारोबारीहरूको चार तहजस्तो रहेछ, मुख्य कारोबारीलाई पहिलो तह मान्ने हो भने, प्रहरीले चौँथो तहलाई समात्यो। हामीले अनुसन्धान गर्दै जाँदा तेस्रो तहसम्म पुग्न सक्यौँ। पहिलो र दोस्रो तह भेटिएनन्,” कोइराला भन्छन्।
यस्ता कति गिरोह सक्रिय छन् र कति खेप ओसारपसार भइरहको छ भन्ने जानकारी प्रहरीलाई छैन। आफूहरूले एउटा घटनामा वीरगन्जको सीमा क्षेत्रबाट भरियालाई समातेर गोदामसम्म पुग्न सकेको जिल्ला प्रहरी कार्यालय पर्साका एक प्रहरी अधिकृत बताउँछन्।
चीनबाट चोरीपैठारी गरी काठमाडौँ हुँदै ल्याइएको साढे १२ हजार थान भेप साउन २५ गते प्रहरीले वीरगन्ज–६ रेल्वेरोडस्थित गोदामबाट बरामद गरेको थियो। रामप्रसाद बरैको घर भाडामा लिएर सुदामा प्रसाद भन्ने व्यक्तिले उक्त गोदाम बनाएका थिए।
विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले इनर्वा सीमा नाकाबाट टाँगामा लुकाएर भारततर्फ लैजाँदै गरेको ई–सिगरेट फेला पारेको छापा मार्ने समूहका एक प्रहरी बताउँछन्। उनी भन्छन्, “सामानसित समातिएको मान्छेलाई सँगै लगेर ठाउँ देखाउन लगाएपछि गोदामसम्म पुग्न सफल भयौँ।”
उक्त घटनामा भरिया समातिए पनि कारोबारीलाई प्रहरीले समात्न सकेन। पर्साका प्रहरी प्रमुख एसपी कुमुद ढुंगेल आफूहरूले बरामद गरेको भेप राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको बताउँछन्।
वीरगन्जमा त्यस्ता गिरोह र उनीहरूका गोदाम धेरै रहेको देखिन्छ। प्रहरीले गोदाममै पुगेको एक हप्ता नबित्दै भदौ १ गते वीरगन्ज–रक्सोल सीमा नाकाबाट सशस्त्र प्रहरी बलले टाँगाबाट ४५० थान भेप बरामद गरेको थियो।
किन हुन्छ भेपको तस्करी?
भारतमा करिब ६ वर्षअघि भेप प्रतिबन्धित भएपछि अवैध कारोबार शुरू भयो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार शुरूमा दुबई, मलेसियालगायत देशबाट त्यहाँ भेप भित्रिन थालेको थियो। पछि यसका कारोबारीहरूले नेपाललाई ट्रान्जिट बनाएर चीनबाट भारततर्फ भेपको तस्करी थाले।
नेपालमा वैध रूपमा भित्र्याएर भारततर्फ चोरीनिकासी शुरू हुँदा यसको आयात अप्रत्याशित रूपमा बढेको थियो। भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा २९ हजार २८ वटा भेप भित्रिएका थिए। तर आर्थिक वर्ष २०७८/७९ मा ६ लाख १४ हजार ३५६ वटा भेप आए। यसरी एकै वर्षमा भेपको आयात २ हजार प्रतिशतभन्दा धेरैले वृद्धि भएको थियो।
आव २०७९/८० मा ३२ लाख २८ हजार १९९ वटा भेप आयात भए, एकै वर्षमा आयात भएको यो हालसम्मकै उच्च संख्या हो। यसरी वैध बाटोबाट आयात भएर भेप अवैध रूपमा भारत जान्थ्यो। तर बिस्तारै चीनबाट पनि चोरीपैठारी गरी ल्याउने र भारततर्फ चोरी निकासी हुन थालेको भन्सार विभागकै तथ्यांकले पुष्टि गर्छ।
आव २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा आयात ९५.४७ प्रतिशतले घटेर एक लाख ४६ हजार १२ वटा भेप मात्र आए। गत वर्ष प्रतिमहिना औसत करिब १२ हजार भेप आयात भयो। चालु आवको मंसिरसम्म पाँच महिनामा तीन हजार २५६ वटा भेप मात्र आयात भएको छ।
भेप आयात गर्दा ५४.२५ प्रतिशत राजस्व तिर्नु पर्छ भने वैदेशिक मुद्राको जोहो पनि गर्नु पर्छ। तस्करी गर्ने गिरोहले राजस्व र झन्झट दुवैबाट मुक्ति खोजेको तथ्यांकले देखाउँछ।
नेपाली बजारमा १२ सयदेखि १० हजार रुपैयाँमाथिका भेप पाइन्छन्। तस्करीबाट भारतीय बजारमा पुर्याउँदा नेपालमा भन्दा करिब दोब्बर मूल्यमा बिक्री हुने स्रोतको भनाइ छ।
के हो ई–सिगरेट, भारतमा किन छ प्रतिबन्धित?
‘इलेक्ट्रोनिक निकोटिन डेलिभरी सिस्टम’लाई ई–सिगरेट वा भेप भनिन्छ। भेप उपयोग गर्न ब्याट्रीसहितको उपकरण चाहिन्छ। यसलाई शरीरभित्र निकोटिन पुर्याउने ‘इलेक्ट्रोनिक डिभाइस’को रूपमा चिन्न सकिन्छ।
चुरोटमा सुर्ती भरिएको हुन्छ भने भेपमा लिक्विड निकोटिन राखिन्छ। यसबाट निकोटिनको बाफ तान्दा त्यो कस्तो सुगन्धमा चाहिन्छ भनेर रोज्ने स्वतन्त्रता पनि हुन्छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निकोटिनयुक्त ई–सिगरेटलाई तुरुन्तै लत पर्ने बस्तु मानेको छ। जसले प्रयोगकर्ता र आसपास भएका व्यक्ति दुवैको लागि स्वास्थ्य जोखिम खडा गर्छ। खासगरी किशोर र युवाहरूलाई यसको जोखिम भएको मानिन्छ।
डब्लूएचओले २०१६ अगस्टमा प्रकाशन गरेको एक रिपोर्टअनुसार भेपलाई धुम्रपान निषेधित ठाउँहरूमा प्रतिबन्धित गर्न सिफारिस गरेको थियो। भेपबाट निस्किएको बाफको सम्पर्कमा आउने गैर–प्रयोगकर्ताहरूलाई पनि असर पार्ने सम्भावना रिपोर्टले औँल्याएको थियो।
विभिन्न देशहरूले किशोर तथा युवा वर्गलाई लतमा पर्न नदिन र यसको स्वास्थ्य सम्बन्धी जोखिमहरूलाई ध्यानमा राखेर भेप प्रयोगलाई निषेध गर्ने कानूनहरू लागू गर्न थालेका छन्। यसै क्रममा भारतमा पनि यो प्रतिबन्धित भयो।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०७६ असोज १ गते पत्रकार सम्मेलनमार्फत भेप पूर्णरूपमा प्रतिबन्धित गरिएको जानकारी गराएकी थिइन्। भारतको संघीय सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री सीतारमणले ‘ई–सिगरेटको उत्पादन, बिक्री, आयात, निर्यात, भण्डारण र वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको’ बताइन्। त्यसपछि नै भारतमा भेप प्रतिबन्धित छ।