जेनजी आन्दोलनः ५४ जना मृतकमध्ये कसको मृत्यु कसरी?

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मारिएका २१ जना छन् भने २१ जनाको आगजनी, भागदौड लगायतका क्रममा मृत्यु भएको हो। कारागारबाट भाग्न खोज्दा ९ जना कैदीबन्दी र प्रदर्शनकारीको कुटपिटमा तीन प्रहरी मारिए।

काठमाडौँ– सुनसरीको धरानस्थित भाटभटेनी सुपरस्टोरमा जेनजी आन्दोलनका क्रममा गत मंगलबार प्रदर्शनकारीहरूले पहिले लुटपाट र त्यसपछि आगजनी गरे। शुक्रबारसम्म पनि त्यहाँ आगो निभिसकेको छैन।

शुक्रबार प्रहरी टोली आगजनी र लुटपाट भएको क्षतिको विवरण संकलन गर्न त्यहाँ पुग्यो। त्यहीक्रममा आगजनीले ध्वस्त सुपरस्टोरभित्र जलेर पहिचान पनि गर्न नसकिने अवस्थामा चार शव फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुका अनुसार सुपरस्टोरको दोस्रो तलामा एक र तेस्रो तलामा तीन जनाको शव भेटिएको छ। ती सबै शव जलेर खरानी भएको अवस्थामा बरामद गरिएको उनले बताए। 

“खाली शव हो भन्ने मात्र पहिचान भयो। सबै जलेर खरानी मात्र बाँकी थियो। हामीले चारै जनाको अस्तु संकलन गरेका छौँ,” उनले भने, “ती मृतक को हुन भन्ने यकिन हुने अवस्था छैन। डीएनए परीक्षण गरेपछि थाहा होला। त्यो प्रक्रिया अघि बढाउँदै छौँ।”

डीएसपी जबेगुले कसैले घरपरिवारका सदस्य आन्दोलनका दिनदेखि हराइरहेको भनेर जानकारी दिएपछि थप अनुसन्धान गर्न सहज हुने बताए। null

जेनजी आन्दोलनको दोस्रो दिन, गत मंगलबार प्रदर्शनकारीले धरानस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाट र आगजनी गरेका थिए। 

“त्यो दिन भाटभटेनी बन्द थियो, केही मानिसहरू बन्द रहेको स्टोर लुट्ने र आगो लगाउने उद्देश्यले त्यहाँ पुगेका थिए,” उनले भने, “लुटपाटपछि केही मानिसले पेट्रोल खन्याएर आगो लगाए। भित्र गएकाहरू आगो फैलिइसकेपछि बाहिर निस्कन नसकेर त्यहीँ जल्न पुगेको हुनुपर्छ।” 

प्रदर्शनकारीले धरान मात्र होइन, काठमाडौँसहित विभिन्न ठाउँमा रहेका भाटभटेनीका १२ स्टोरमा आगजनी गरेका छन्। ती ठाउँमा भने कुनै मानवीय क्षति भएको अहिलेसम्म खुलेको छैन। 

मंगलबार आन्दोलनका क्रममा संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन र प्रधानमन्त्रीको सरकारी निवास, प्रहरी कार्यालय, व्यापारिक प्रतिष्ठानदेखि राजनीतिक दलका नेताका आवास र अन्य धेरै क्षेत्रमा आगजनी गरिएको थियो। त्यसक्रममा ललितपुरको सुनाकोठीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालको घरमा पनि आगजनी गरिएको थियो।

गंगाको घरमा भोलिपल्ट जलेको एक पुरुषको शव प्रहरीले फेला पारेको थियो। मृतक स्थानीय २५ वर्षीय सुरज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए। शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। ती व्यक्ति दाहालको घरमा किन पुगेका थिए भन्ने अहिलेसम्म खुलेको छैन।

जेनजी आन्दोलनका क्रममा शुक्रबार दिउँसोसम्म देशभर ५४ जनाको मृत्यु भएको पुष्टि भएको छ। तीमध्ये प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट मारिएका २१ जना छन्।

आन्दोलनको पहिलो दिन, गत सोमबार नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले संसद् भवनमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारीमाथि अन्धाधुन्द गोली चलाएको थियो। गोली लागेर मृत्यु हुनेमध्ये अधिकांशलाई त्यही ठाउँमा गोली लागेको हो।

त्यस्तै, २१ जना आगजनी, भागदौड लगायतका क्रममा मृत्यु भएकाहरू छन्। 

आन्दोलनकै क्रममा प्रदर्शनकारीले ललितपुरको नक्खुस्थित कारागारमा आक्रमण र आगजनीको प्रयास गरेका थिए। त्यसक्रममा त्यही कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने बाहिर निस्केका थिए। लामिछाने कारागारबाट निस्किएसँगै त्यहाँ रहेका सबै कैदीबन्दी आगजनी गर्ने धम्की दिएर कारागारबाट भागेका थिए। 

यो घटनापछि देशभरका कारागारबाट कैदीबन्दी भाग्नेक्रम तीब्र भयो। सेनाले सुरक्षाको कमान्ड सम्हालेपछि कारागारबाट भाग्न खोज्नेहरुमाथि सुरक्षा कारबाही गर्न थालियो। त्यसक्रममा गोली लागेर नौ जना कैदीबन्दीको मृत्यु भएको आँकडा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको छ। 

null

त्यस्तै, जेनजी प्रदर्शनकारीको आक्रमण र कुटपिटमा तीन जना प्रहरी जवानको मृत्यु भएको छ। 

प्रदर्शनकारीले आगजनी गरेका अरु ठाउँमा पनि जलेको अवस्थामा शव भेटिन थालेका छन्। जस्तो, पोखराको लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक युवतीको शव जलेको अवस्थामा भेटिएको छ। 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगजनीमा पर्नेसँगै छतबाट खसेर, करेन्ट लागेर र भागदौडका क्रममा समेत केहीको मृत्यु भएको बताए।

“प्रदर्शनकारीले आगजनी गरेका व्यापारिक प्रतिष्ठानदेखि अन्य निकायमा जलेको अवस्थामा शवहरू भेटिएका हुन्,” उनले उकालोसँग भने, “प्रहरीले आगजनी भएका ठाउँमा सर्च गरिरहेको छ। त्यहाँ जलेको अवस्थामा अरू शव पनि भेटिन सक्ने सम्भावना रह्यो।” 

प्रहरी प्रधान कार्यालयका एक अधिकृत जलेर मृत्यु भएकामध्ये सबभन्दा धेरै भाटभटेनी सुपरस्टोरमा लुटपाट गर्न गएका मानिस रहेको बताउँछन्। “प्रहरीले आगजनी भएका क्षेत्रमा के–कति क्षति भयो भनेर हेर्दैछ। जसरी शव जलेको अवस्थामा भेटिएका छन्, खोज्दै जाँदा अरु पनि नभेटिएला भन्न सक्ने अवस्था छैन,” उनले भने।

जेनजी प्रदर्शनका क्रममा घाइते हुनेको संख्या पनि ठूलो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार र मंगलबार भएको आन्दोलनका क्रममा घाइते भएकामध्ये अहिले २९९ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाएको छ। ३३ वटा अस्पतालमा घाइतेको उपचार भइरहेको छ। 

सबैभन्दा धेरै झापाको बीएनसी अस्पतालमा ५३ जना छन्। त्यस्तै, काठमाडौँको निजामती (सिभिल) अस्पतालमा २३, राष्ट्रिय ट्रमा सेन्टरमा ३२, केएमसी अस्पतालमा ३५, त्रिवि शिक्षण अस्पतालमा २५ र नेपाल प्रहरी अस्पतालमा २८ जनाको उपचार भइरहेको छ। सामान्य घाइते भएका एक हजार ४६५ जना भने उपचारपछि घर फर्किसकेका छन्।