जिल्ला प्रशासनहरूलाई गृहको परिपत्र– अवैध क्रसर उद्योग तत्काल बन्द गर्नू

गृहमन्त्रालयले देशभरका सबै जिल्ला प्रशासनहरूलाई अवैधानिक क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ।

काठमाडौँ- गृह मन्त्रालयले अवैध क्रसर उद्योग बन्द गर्न देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

बुधबार प्रशासनहरूलाई परिपत्र गर्दै मन्त्रालयले विभिन्न स्थानमा दर्ता तथा नवीकरण नगरी अवैधानिक रूपमा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्य भइरहेकोले त्यस्ता कार्य बन्द गर्न/गराउन निर्देशन दिएको हो। 

त्यस्तै, मन्त्रालयले विभिन्न आयोजना विकास  तथा निर्माणको क्रममा आवश्यक ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग र निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए त्यस्ता कार्यसमेत अभिलम्ब बन्द गर्न भनेको छ।

मन्त्रालयले ढुंगा, गिट्टी र बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न बनेको वातावरण संरक्षण ऐन २०७६ को पालना तथा यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकोले प्रशासनहरूलाई यस्तो निर्देशन दिइएको जनाएको छ।