सरकारमा जाने निर्णय गर्न हतारिँदैनौँ : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सरकारमा जाने/नजानेबारे हतारमा निर्णय नलिने बताएका छन्।

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन्।

पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टीकरण थियो। 

पार्टीको भातृ संगठन युवा संघ, नेपाल काठमाडौँ जिल्ला कमिटीले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक पिक्चर नै क्लियर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पारे। 

प्रचण्डको अनुहार हेरेरभन्दा पनि सरकारको नीति तथा कार्यक्रमका साथै गठबन्धनमा रहेका राजनीतिक दलको गतिविधिलाई हेरेर पुस २६ गते नै सो निर्णय गर्न आफूहरू तयार रहेको अध्यक्ष नेपालको भनाइ थियो। 

त्यस्तै, उनले सरकारमा जानेबेला प्रधानमन्त्री पुष्पकमल दाहालले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो समेत दोहोर्‍याए। 

अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको जिकिर गर्दै उनले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्ने भन्दै सचेतसमेत गराए। 

अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।