अवसरको खोजीमा बाहिरिएका युवा गाउँ नफर्किंदा कृषिजन्य कामको भार पाकालाई छ, कामकै सिलसिलामा कतिपय घाइते हुन्छन् र ज्यानसमेत जान्छ। घाइते भएका पनि समयमा अस्पताल पुग्न सक्दैनन्।
काठमाडौँ— रामेछापको मन्थली नगरपालिका–१० कि सुनमाया तामाङ (६९) गाईलाई घाँस काट्न गत चैत पहिलो साता बारीमा गइन्। डाले घाँस काट्न खनिउको रूखमा चढेकी उनको खुट्टा चिप्लियो र तल झरिन्। उनलाई उठाउने कोही भएन।
छोरो वैदेशिक रोजगारीमा जान दुई दिनअघि मात्रै काठमाडौँ आएका थिए। घरमा बुहारी र दुई साना नाति थिए। उनीहरूले पनि थाहा पाएनन्। धेरै बेरपछि छिमेकीले थाहा पाए। छोरालाई खबर गर्न खोजे, फोन लागेन।
त्यही दिन छोराको कतारको उडान थियो। सुनमायाका भतिजा गोपिलाल भन्छन्, “काका दोस्रो विवाह गरेर तराईतिर झर्नुभयो। गाउँमा बस्ने आमाछोरा मात्रै थिए। उहाँ उमेरले पाको भए पनि काकी तगडै हुनुहुन्थ्यो। सधैँ घाँस काट्न आफैँ जानुहुन्थ्यो।”
छिमेकीहरूले उनलाई बेहोसी अवस्थामै मन्थली अस्पताल पुर्याए। उनको ढाडका धेरै हड्डी भाँचिएका थिए। अवस्था जटिल भएको हुँदा मन्थलीबाट ललितपुरको पाटन अस्पताल ल्याइयो। तर अस्पताल ल्याएको केही दिनमै उनको मृत्यु भयो। भर्खरै बिदेसिएका छोरा आमाको अन्तिम अवस्थामा पनि नेपाल आउन पाएनन्।
गत पुस ४ गते रामेछापकै दोरम्बा शैलुङ गाउँपालिका–६ का रामकृष्ण गौतमको पनि घाँस काट्ने क्रममा मृत्यु भयो। गाउँमा उनी र उनकी श्रीमती विध्येश्वरा बस्थे। दुई छोरा काठमाडौँतिरै व्यापार गर्थे। छोरीहरूको विवाह भइसकेको थियो।
छोराछोरी कोही साथमा नभएपछि खेतबारी आफै सम्हाल्नुपर्ने बाध्यता थियो। केही बाख्रा पनि पालेका थिए। दोरम्बा शैलुङ गाउँपालिका–६ का वडाध्यक्ष टीकाप्रसाद गौतमका अनुसार त्यो दिन उनी बाख्रालाई घाँस काट्न भनेर जंगलततिर हिँडेका थिए।
दुईचार दिनदेखि नै रामकृष्णलाई सन्चो नभए पनि रूखबाट घाँस झार्नुपर्ने बाध्यता थियो। “घाँस झार्दाझार्दै गाह्रो भएर उत्रिनुभयो कि माथिबाटै खस्नुभयो बुझ्न सकिएको छैन,” भतिजासमेत रहेका वडाध्यक्ष गौतम भन्छन्, “रूखमा चढ्नुभएको जस्तो चाहिँ देखिन्छ। अलिकति कुटमिरोको स्याउला काटेको थियो। उहाँ रूखमुनि मृत फेला पर्नुभयो।”
गाउँलेहरूले मृत फेला पारेपछि उनको शव वडा कार्यालयले पोष्टमार्टमका लागि काठमाडौँ पठाइदियो। अस्पतालले घाँस काट्दाकाट्दै हृदयघात भएको हुनसक्ने अनुमान गर्यो। अहिले गाउँमा विध्येश्वरा एक्लै छिन्।
गाउँका धेरै घरमा पाका मानिस मात्रै छन्। जोखिमका काम उनीहरूले नै गर्नुपरिरहेको छ। यस्ता काम गर्दागर्दै कतिपयको ज्यान गइरहेको वडाध्यक्ष गौतम बताउँछन्।
“स्कुल ड्रेस लगाएर हिँड्ने केटाकेटी र बुढाबुढीबाहेक गाउँमा युवा छैनन्,” उनी भन्छन्, “एसईई सकेपछि सबै पढ्न काठमाडौँ गइहाल्छन्। उतैबाट विदेशतिर जान्छन्। गाउँ त कोही फर्किंदै फर्किंदैन। विदेशबाट फर्किने पनि सदरमुकामतिरै घर किनेर बस्छन्।”
वडाध्यक्ष गौतमका अनुसार गाउँमा बस्ने जोकोहीले सामान्य खेतिपाती गरेकै हुन्छन्। केही थान चौपाया पालेकै हुन्छन्। त्यसको जिम्मेवारी पाकाहरूमै छ।
यो अवस्था रामेछापको मात्रै होइन। मुख्यगरी, पहाडी जिल्लाका गाउँमा युवा भेटिन मुस्किल छ। अनि, खेतिपातीदेखि घाँसदाउराको जिम्मेवारी पाकाहरूकै काँधमा आइलाग्छ।
यसको अर्का उदाहरण संखुवासभाको पाँचखपन—४ खापुङका सिद्धलाल गिरी (६२) पनि हुन्। गत जेठ ३ गते उनको घरमा पूजा लगाउने तयारी भइरहेको थियो। उनका दुई छोरा, तीन छोरी छन्। जसमध्ये एउटा छोरा विदेश र अर्को छोरा इटहरीमा फार्मेसी खोलेर बसेका छन्। छोरीहरू सबैको बिहे भइसक्यो।
बिहान गाई दुहेर नजिकैको लिङदिन बजारमा दुध पुर्याउँथे। यो उनको दैनिकी थियो। त्यस दिन उनी हतारमा देखिन्थे। “चिया पिएर खाना खाने बेलातिर मात्रै घर झर्नुहुन्थ्यो। त्यस दिन हतार गरेर भोलिपल्ट छोराबुहारी आउँछन्, तयारी गर्नुछ भनेर फर्किहाल्नुभयो,” पाँचखपन–४ का वडाध्यक्ष टोपबहादुर तामाङ भन्छन्।
उनका अनुसार, सिद्धलाल भोलिपल्टलाई घाँस पुर्याउन भन्दै बरको रूख चढेका रहेछन्। रूख निकै अग्लो भएकाले माथिसम्मै पुगे। त्यही बेला सन्तुलन गुमाए, अनि तल झरे। घटनास्थलमै उनको मृत्यु भयो।
वडाध्यक्ष तामाङका अनुसार, कृषिमा प्रशस्तै सम्भावना भएको ठाउँ हो पाँचखपन। यहाँ रुद्राक्ष, अलैँचीजस्ता नगदेबाली हुन्छन्। तर युवाहरू गुणस्तरीय शिक्षाका लागि बाहिरिएपछि गाउँमा अधिकांश पाका व्यक्ति मात्र छन्।
शहर गएपछि भाषा सिकेर विदेश जाने लहर नै भएको तामाङको भनाइ छ। उनी भन्छन्, “युवाले यहाँ केही सम्भावना देखेनन्। सरकारले पनि उनीहरूलाई रोक्न सकेन। जसले गर्दा जाने त गए, बस्नेलाई पीडैपीडा छ। अब त गाउँमा मलामी पनि नभेटिने अवस्था आइसक्यो।”
नेपाल प्रहरीको तथ्यांकअनुसार, गाउँमा रूखबाट लडेर मृत्यु हुनेको संख्या बर्सेनि बढ्दो छ। आर्थिक वर्ष २०७६/७७ मा ६७ जनाको मृत्यु भएको थियो। त्यसपछिका चार आर्थिक वर्षमा क्रमशः ७८, १०२, १०४ र ११७ जनाको मृत्यु भएको थियो। २०८१/८२ को जेठ मसान्तसम्ममा ९७ जनाको मृत्यु भयो। (हेर्नुस् चार्ट)
प्रदेशगत हेर्दा, विगत पाँच वर्षमा रूखबाट लडेर सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३५ जनाको मृत्यु भएको छ। त्यस्तै, कोशी प्रदेशमा ११७, सुदूरपश्चिममा ८३ र बागमतीमा ८२ जनाको मृत्यु भएको छ। त्यसपछि, गण्डकीमा ८१, कर्णालीमा ३२ र मधेशमा ३१ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, रूखबाट लडेर मृत्यु हुने घटना ग्रामीण क्षेत्रमा धेरै छन्। यसरी मृत्यु हुनेमा पाका व्यक्ति नै धेरै हुन्छन्। यो तथ्यांक प्रहरीमा रिपोर्ट भएको मात्रै हो। “मृत्यु हुनेमध्ये केहीको रिपोर्ट भए पनि घाइतेले त रिपोर्टै गर्दैनन्,” उनी भन्छन्, “उनीहरू उपचार गराएर ठीक भएपछि घर फर्किन्छन्।”
घाइते पनि उत्तिकै, निको भएर गाउँमै
रामेछापकी मैयाँ खड्का (६७) एकल महिला हुन्। उनका दुई छोरा र छोरी काठमाडौँमै बस्छन्। उनी गाउँको बारीमा धान, मकै र कोदो लगाउँथिन्। खसीबाख्रा पालेकी थिइन्।
गत जेठ अन्तिममा तिनै बाख्रालाई घाँस काट्न जाँदा गोगुनको रूखबाट लडिन्। “साँझ पर्न लागेकाले छिटो हुन्छ भनेर डाले घाँस काट्न रूख चढेको, दशा लागेछ। चिप्लेर लडेँ,” उनी भन्छिन्।
रात पर्न लागिसकेको थियो। छिमेकीलाई बोलाउन सक्ने अवस्था पनि थिएन। उनी निकै बेर बारीमै ढलिन्। लडेको निक्कै बेरपछि छिमेकीले देखे। उनको खुट्टा चलाउन सक्ने अवस्थामा थिएन। गाउँलेहरू मिलेर एम्बुलेन्सबाट रातारात काठमाडौँ पठाइदिए।
उनको देब्रे—खुट्टाको घुँडामा चोट लागेको रहेछ। अहिले खुट्टामा स्टिल राखिएको छ। राम्रोसँग हिँड्डुल गर्न मिल्दैन। फलोअपका लागि अस्पताल धाइरहनुपर्छ। तर उनलाई गाउँकै चिन्ता छ। “कहिले गाउँ फर्किनु जस्तो भएको छ। उता काम बितिसक्यो, यो खुट्टा टेकेर हिँड्न मिल्ने भए पनि गइहाल्थे,” उनी भन्छिन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७६/७७ मा रूखबाट लडेर २१६ जना घाइते भएका थिए। २०७७/७८ मा १२६, २०७८/७९ मा १९० र २०७९/८० मा १९ जना घाइते भए। त्यस्तै, २०८०/८१ मा ५३ र २०८१/८२ जेठसम्ममा ६२ जना घाइते भएका छन्।
लडेर वा विभिन्न कारणले ‘इस्पाइनल इन्जुरी’ भएकाको उपचार गर्न काभ्रेको साँगामा इस्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्र स्थापना भएको छ। पुनस्र्थापना केन्द्र आउने बिरामीमध्ये ६० प्रतिशत रूखबाट लडेका घाइते हुने केन्द्रका मेडिकल निर्देशक डा. राजु ढकाल बताउँछन्।
डा. ढकालका अनुसार, विदेशतिर सवारी दुर्घटनालगायत घटनाले इस्पाइनल इन्जुरीका बिरामी धेरै हुन्छन्। “हाम्रोमा (अस्पतालमा) गाउँमा रूख र भीरबाट लडेर घाइते भएका बिरामी आउँछन्। घाँसपातका लागि डाँडाकाँडा जानुपर्ने भएकाले लड्छन् र घाइते हुन्छन्,” उनी भन्छन्।
पछिल्लो समय भौतिक पूर्वाधार निर्माणका क्रममा सुरक्षा नअपनाउँदा लड्नेहरू पनि धेरै हुन्छन्। मेरुदण्ड भाँचिएका वा मेरुदण्डमा चोट लागेका बिरामीले पाउने उपचार अरूभन्दा फरक हुनुपर्छ। उनीहरूलाई फेरि पुरानै काममा जान पुनर्स्थापना गराउनुपर्छ।
तर यस्ता बिरामीले अन्य अस्पतालमा उचित सेवा पाउन मुस्किल हुने डा. ढकाल बताउँछन्। रूखबाट लडेका वा भीरबाट खसेकालाई एकदुई दिनपछि मात्र पुनर्स्थापना केन्द्र पुर्याइन्छ। उनी भन्छन्, “सही तरिकाले पनि ल्याइँदैन। कसैलाई चारतिर समातेर झुन्डाएर त कसैलाई पिठ्यूँमा बोकेर ल्याइन्छ। जसले गर्दा ठीक हुने सम्भावन भएको चोट पनि ठिक हुँदैन। अझ कतिपयलाई अस्पतालमा पुर्याएर बेड नपाएर फर्काउनुपर्छ।”
समयमै पुनर्स्थापना केन्द्र पुर्याउन सके बिरामी फेरि घाँस दाउरामा फर्कन सक्ने सम्भावना हुन्छ। तर बालबालिकाभन्दा पाका व्यक्ति दुरुस्त हुन लामो समय लाग्छ। कतिपय पाका व्यक्तिले शारिरिक व्यायाममा रुचि नराख्दा पनि निको हुन समय लाग्ने उनी बताउँछन्।
कतिपयलाई भने ठिक भएपछि पहिलेजस्तो घाँस दाउरा गर्ने, रूख चढ्नसक्ने अवस्था नहुन सक्छ। “त्यसैले उहाँहरूलाई उपचारपछि उहाँहरूको पेसा हेरेर पुनर्स्थापना गर्न सेवा पुर्याउनुपर्छ,” उनी भन्छन्।
डाले घाँस झार्ने उपकरणको खोजी
गाउँमा रूखबाट लडेर घाइते र मृत्यु हुने पाका धेरै छन्। युवा गाउँमा नहुँदा रूख चढ्नुपर्ने बाध्यता छ। त्यसैले राष्ट्रिय आविष्कार केन्द्रमा डाले घाँस झार्ने उपकरण बनाइदिन अनुरोध आउने गरेको केन्द्रका अध्यक्ष डा. महावीर पुन बताउँछन्।
विभिन्न ठाउँबाट पाकाहरूले डाले घाँस झार्ने उपकरण बनाइदिन भन्दै फोन गरिरहने पुनले जानकारी दिए। उनी भन्छन्, “लडेर मरिने भैयो, लौ न केही गर्न सकिएला त भन्दै फोन आएको आयै गर्छ। कति त रूखबाट लडेर अपांगता हुनेहरूकै अनुरोध आउँछ।”
तर डाले घाँस झार्ने उपकरण बनाउन तत्काल सम्भव नभएको पुन बताउँछन्। आविष्कार केन्द्रले भुईंको घाँस काट्ने उपकरण भने बनाएको छ। रूख चढेर घाँस काट्ने यन्त्र बनाउन समय र खर्च धेरै लाग्ने उनको भनाइ छ। “यसका लागि रूखमाथि चढेर घाँस काट्ने रोबर्टजस्तो केही बनाउनुपर्छ, जुन असाध्यै खर्चिलो हुन्छ,” उनी भन्छन्।
यो समस्या समाधानका लागि तीनै तहका सरकारले अनुसन्धान गर्नुपर्ने उनी बताउँछन्। तर सरकारमा बस्नेहरूले आममान्छेको जीवनमा प्रभाव पार्ने विषयमा अनुसन्धान र लगानी गर्न चासो नदेखाउने उनको गुनासो छ।
पुन भन्छन्, “मैले स्थानीय तहमा बाँदरलगायत जनवारले दुःख दियो भनेको सुनेपछि अनुसन्धानका लागि पैसा छुट्याऊ भनेर स्थानीय तहहरूलाई प्रस्ताव गरेँ। कसैले वास्तै गरेनन्। सरकारले नै ध्यान नदिएपछि हामी आफैले मात्रै लगानी गरेर काम गर्न सक्दैनौँ।”
युवा किन बस्दैनन् गाउँ?
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग प्रमुख डा. पासाङ शेर्पा गाउँमा पाका मात्रै रहने स्थिति आउनुको मुख्य कारण पुँजीवादी व्यवस्था र सोच रहेको बताउँछन्। “यहाँ पैसा कमाउनुपर्यो। घर, गाडी किन्नुपर्यो। अनि मात्रै समाजमा इज्जत पाइन्छ,” उनी भन्छन्, “अहिले पुँजीवादले विश्वमा नै श्रमबजार खुला गरिदियो। त्यसले गर्दा मानिस बाहिरिन थाले।”
वर्गीय असमानताले पनि युवाले गाउँ छाड्ने गरेको उनी बताउँछन्। गाउँमा काम पाउन मुस्किल हुन्छ। पाए पनि श्रमको उचित ज्याला पाउँदैनन्। त्यसैले निम्न वर्गीय मानिसहरू कामको खोजीमा शहर पस्छन्। कोही शिक्षा र स्वास्थ्यका लागि बसाइँ सर्छन्।
त्यस्तै, पछिल्लो समय जलवायु परिवर्तनका कारण हुने वातावरणीय क्षतिका कारण पनि धेरै युवाले गाउँ छाडेको डा. शेर्पाको भनाइ छ। “अन्न नफल्ने। उत्पादन जति हुनुपर्ने त्यो नभएपछि मानिसहरू दुःखी भएर विदेशिन थालेका हुन्। खेतिपाती गरेर पनि फाइदा छैन भन्ने मनोविज्ञान हाबी हुँदै गयो,” उनी भन्छन्।
यसरी युवाहरूले गाउँ छाड्दा पाकाहरू श्रम गर्न बाध्य भए। “शहर गएका छोराछोरी सबैले बाआमा लैजान सक्दैनन्,” उनी भन्छन्, “लैजान सक्नेका बाआमाले पनि गाउँ छाडेर जान मान्दैनन्। गाउँसँगको सामीप्यताले उनीहरूलाई शहर बस्न दिँदैन।”
सरकारले राम्रो नीति नबनाएसम्म यो प्रक्रिया चलिरहने उनी बताउँछन्। गाउँमा गएर केही गर्ने सोच भएका युवा पनि टिक्ने अवस्था छैन। उनी भन्छन्, “अब त गाउँमा युवा बस्यो भने किन बसेको? भन्ने बेला आइसक्यो। यसमा युवाको दोष छैन। उनीहरूलाई समाज र परिवारको प्रेसर छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
