नेपाल टी२० लिगमा मंगलबार मैदान पुगेका काठमाडौँ र विराटनगरका कप्तानले शुरूमा टस गर्नै अस्वीकार गरे। पारिश्रमिक नपाएका खेलाडीलाई पछि क्यानले थुम्थुम्याएर खेलाउन सफल भए पनि अबका खेलबारेको अन्योल कायम छ।
काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान वरपरको वातावरण मंगलबार बिहान सफा थियो। पुस महिना भए पनि बिहानैदिख घाम लागेकै थियो। मैदानबाहिरको चिसो घाँसे प्यारापिटमा बसेर नेपाल टी-२० लिग हेर्न दर्शकहरू फाटफुट आइरहेका थिए। क्यापरापर्सनहरू टस गरेको तस्वीर लिन क्यामराको 'एङ्गल' मिलाइरहेका थिए। साबिकको तालिकाअनुसार खेल ९ बजे नै शुरू हुने बताइएको थियो।
यसअघि तोकिएको समयमा खेल शुरू गर्न बिहान साढे ८ बजे नै टस गर्ने गरिएको थियो। तर, मंगलबार टस गर्न काठमाडौँ नाइट्स र विराटनगर सुपर किङ्सका कप्तान त्रिवि क्रिकेट मैदानमा पस्दै पसेनन्। यी दुवै टिम समूह चरणको सातौँ खेल खेल्ने तयारीमा थिए।
निर्धारित समयमा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगरका कप्तान आन्द्रे म्याकार्थी टस गर्न मैदान उत्रिएनन्। त्यसअघि टोलीहरुले टसको लागि खेलाडीको प्लेइङ-११ सिट भर्न पनि अस्वीकार गरेका थिए। दुवै टोलीका कप्तानले प्लेइङ-११ को नामका लागि कागज नै लिन मानेनन्। खेलाडी भने बिहानदेखि नै वामअर्प गरिरहेका थिए।
आफूहरूले पाउनुपर्ने पारिश्रमिक नपाएपछि टसमा नगएको एक खेलाडीले उकालोलाई बताए। “खेलेर तलब त पाएको छैन, अनि अझै खेल्नु र? पहिला भने अनुसारको पैसा त दिनु पर्यो नि", ती खेलाडीले भने, "६ म्याच खेलिसक्यौँ अझै पैसा आएको छैन। पैसा आउँछ कि आउँदैन भन्ने पनि थाहा छैन। भोको पेटले त खेल्न सकिँदैन।”
खेल करिब डेढ घण्टा रोकिएको थियो। बिहान १०:३० तिर टस गर्न काठमाडौँका कप्तान मल्ल र विराटनगरका कार्यवाहक कप्तान रोहित पौडेल मैदान उत्रिए। ९/९ ओभरमा छोट्टाएर खेलमा मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिए।

गएको पुस ९ गते शुरू भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, फारवेस्टन युनाइटेड, विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार गरी ६ टोलीको सहभागिता छ। सम्झौताअनुसार खेल शुरू हुनुअघि खेलाडीले ४० प्रतिशत रकम पाउनुपर्ने र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत पाउने सहमति भएको थियो।
क्यान स्रोतका अनुसार पोखराका खेलाडीहरूलाई १५ प्रतिशत रकमको चेक आइतबार दिइएको थियो। उक्त चेकको मिति भने सोमबारको राखिएको थियो। तर, अहिलेसम्म चेक क्लिअर नभएको एक खेलाडीले जानकारी दिए। “१५ प्रतिशतको रकम बराबरको चेक पाएका हौँ। हामीले उक्त चेक बैँकमा जम्मा गरिसकेका छौँ। तर, चेक क्लिअर भएर खातामा पैसा आएको छैन”, उनले भने।
पोखराबाहेक अन्य टोलीका खेलाडीहरूले भने अहिलेसम्म कुनै रकम र चेक पनि पाएका छैनन्। रकम नपाउने निश्चित भएपछि जनावरी ५ सम्मका लागि नेपाल आएका जिम्बाबेका अलराउन्डर सिकन्दर राजा दुई दिनअघि नै स्वेदश फर्किए।
विराटनगरमा आबद्ध भएका राजाले लुम्बिनी र जनकपुरविरुद्धको शुरूआती दुई खेल मात्रै खेलेका थिए। लुम्बिनीविरुद्ध १७ रन जोडेका उनले एक विकेट पिन लिएका थिए। यस्तै, जनकपुरविरुद्ध उनले ३८ रन जोडेका थिए।
यो पनि : क्यानमा रमिता, उधारोमा शुरू भयो नेपाल टी-२० लिग
उनी पारिश्रमिक नलिइ फर्किएको क्यानका एक केन्द्रीय सदस्यले बताए। “राजा आईसीसी मेन्स ओडीआई क्रिकेटर अफ दि इयरको मनोनयनमा परिसकेका खेलाडी हुन्। तर, आफूमा क्षमता हुँदाहुँदै पनि दुई खेलमा टोलीबाट बाहिर राखिएपछि उनले नखेल्ने भन्दै पारिश्रमिकका लागि बारम्बार क्यानसँग ताकेता गरे। पारिश्रमिक पनि नपाएपछि नेपाल नफर्किने भन्दै उनी पाकिस्तान गएका हुन्”, ती सदस्यले भने।
राजाले नेपालमा श्रम स्वीकृतिसमेत लिएका थिएनन्। उनी आफ्ना परिवारलाई भेट्न पाकिस्तान पुगेका छन्। उनी त्यहीँबाट बंगलादेश प्रिमियर लिगका लागि ढाका जाने छन्।
राजा मात्रै होइनन्, जनकपुरका केसरिम विलियम्स पनि स्वदेश फर्किएका छन्। वेस्ट इन्डिजका अलराउन्डर विलियम्स दुई खेल खेलेर स्वदेश फर्किए। उनले पोखराविरूद्धको खेलमा ३.४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर ३ विकेट लिएका थिए। यस्तै, विराटनगरविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दै २६ रन खर्चिएर २ विकेट लिएका थिए।
जनकपुरका प्रमुख प्रशिक्षक उमेश पटवाल पनि श्रीमती बिरामी भएको भन्दै भारत फर्किएका छन्। उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन्।
प्रतियोगिताअघि ड्राफ्टमा नेपाली खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन वर्गमा राखिएको थियो। हरेक टिमले क्याटेगोरी ‘ए’ बाट एक, क्याटेगोरी ‘बी’ बाट चार र क्याटेगोरी ‘सी’ बाट ६ खेलाडी लिएका थिए। ड्राफ्टबाट सहभागी फार वेस्टबाहेक अन्य पाँच टोलीले ११/११ नेपाली खेलाडी छनोट गरेका छन्। फार वेस्टले भने पाँच विदेशी र १२ नेपाली खेलाडी अनुबन्ध गरेको छ।

हरेक टोलीले पाँच/पाँच विदेशी खेलाडी पनि अनुबन्ध गर्न पाउने बताइएको थियो। तर, लुम्बिनीले सबैभन्दा धेरै सात विदेशी खेलाडी अनुबन्ध गरेको छ। विराटनगर र जनकपुरले ६/६ विदेशी खेलाडीलाई टोलीमा राखेको छ। काठमाडौँ र पोखराले चार/चार विदेशी खेलाडी राखेको छ।
क्याटेगोरी ‘ए’ मा रहेका नेपाली खेलाडीले १५ लाख पाउने भनिएको थियो। क्याटेगोरी ‘बी’ का खेलाडीले १० लाख र क्याटेगोरी ‘सी’ का खेलाडीले पाँच लाख पाउने भनिएको थियो। विदेशी खेलाडीको हकमा समूह ‘ए’मा रहेकाले ४० हजार अमेरिकी डलर, समूह ‘बी’मा रहेकाले २० हजार र ‘सी’मा रहेकाले १२ हजार ५०० डलर पारिश्रमिक पाउने भनिएको थियो।
क्यानको दाबी : जतिन भागेका छैनन्
नेपाल टी२० लिग गभर्निङ काउन्सिलका कार्यकारी सदस्य दुर्गा पाठकले कमर्सियल एन्ड स्ट्राटेजिक राइट पाएको सेभेन थ्री स्पोर्ट्सका अध्यक्ष तथा संस्थापक जतिन आहलुवालिया फरार नभएको दाबी गरेका छन्। उकालोसँगको कुराकानीमा पाठकले उनी पैसा लिन भारत गएको र आफूहरूको सम्पर्कमै रहेको बताए।
“भुक्तानी गर्नुपर्ने चेकमा तीन जनाले सिक्नेचर गर्नुपर्नु रहेछ। त्यसैले उनी भारत गएका छन्। उनले दिनुपर्ने रकम पठाइदिन्छु नै भनिरहेका छन्। उनीमाथि शंका गर्नुपर्ने ठाउँ त छ, तर भागेको चाहिँ होइनन्। हामीसँग सम्पर्कमै छन्”, पाठकले भने।
यो पनि : त्रिवि क्रिकेट मैदानमा ‘भव्य प्रतियोगिता’, तर छैनन् दर्शक
जतिन मात्रै होइनन्, फारवेस्ट, जनकपुर र विराटनगरका खेलाडीले पनि आफ्नो मालिक सम्पर्कमा नरहेको दाबी गरेका छन्। पाठकले नेपाली खेलाडीले पाउनुपर्ने रकम नपाएपछि दबाब दिन आजको खेलमा टस गर्न मैदान नउत्रिएको स्वीकार गर्दै खेलाडीसँगै टोलीका प्रतिनिधि राखेर छलफल गरेको बताए।
“लगभग आधा खेल सकिएपछि पनि खेलाडीले पैसा नपाएपछि दबाब दिन उनीहरूले मैदान उत्रिन अस्वीकार गरेका हुन्। खेलाडी र सबै टिमका प्रतिनिधिलाई राखेर हामीले छलफल गर्यौँ। छलफलमा क्यानले खेलाडीले पाउनुपर्ने रकममा सुनिश्चित गरेको छ”, उनले भने।
बैठकमा दुवै टोलीका खेलाडी, नेपाल टी२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्तविक्रम मल्ल, निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल, क्यानका कोषाअध्यक्ष रोशन सिंह, म्याच अफिसियललगायतको उपस्थिति थियो।
'सेभेन थ्री स्पोर्ट्सले प्रतियोगिताबाट हात झिके क्यानले के गर्छ?' भन्ने प्रश्नमा उनले यस विषयमा पनि छलफल हुने बताए। “हामीले १ करोडभन्दा माथि नै रकम पाइसकेका छौँ। तर, मुख्य कुरा खेलाडीले पाउनुपर्ने रकम पाउनुपर्यो। पैसा आएन र प्रतियोगिता रोकिए कसरी अगाडि भन्ने भन्ने विषयमा पनि छलफल गर्छौँ”, उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
