सहमतिमा भएको शारीरिक सम्बन्धको भिडिओ र फोटो खिचेर ‘ब्लाकमेल’ गर्दै पटकपटक बलात्कार गरेको उजुरीपछि पनि प्रहरीले अनुसन्धानमा हेलचेक्र्याइँ गरेको थियो। त्यही हेलचेक्र्याइँ भयानक घटनाको कारण बनेको छ।
काठमाडौँ– महोत्तरीको बनौटा घर भएकी २१ वर्षीया जुलीले कक्षा १२ को परीक्षालगत्तै प्रहरीमा भर्ना हुने बताउँथिन्। तर गत मंसिरमा प्रहरी जवानमा भर्ना खुल्यो। उनले परीक्षा दिइन् तर अन्तिम चरणमा पुगेर छनोट भइनन्।
यसैबीच, कक्षा १२ को नतिजा आयो। उनी उत्तीर्ण भइन्। उनले अब प्रहरी सहायक निरीक्षक (असई)मा भर्नाको तयारी गर्ने सोच बनाइन्। स्नातक पढ्न थालेकी उनी परिवारको सल्लाहमै जनकपुरमा डेरा लिएर बस्न थालिन्।
जुली जनकपुर बसेर असईको तयारी गर्ने योजनामा थिइन्। तर साउन ४ गतेको घटनाले उनको योजना सबै तहसनहस भयो। त्यस दिन जनकपुरको जिरोमाइलस्थित गेस्टहाउसमा एक जनाको हत्या भएको थियो। हत्याकाण्डको भिडिओ सामाजिक सञ्जालमा पनि भाइरल भयो।
भिडिओमा गेस्टहाउसको पहिलो तलाबाट नग्न अवस्थाका रगताम्य युवक खसेको र छेउबाट युवती भाग्दै गरेको देखिन्छ। प्रहरीलाई घटनाबारे बिहान ३ः२३ बजे फोन आएको थियो। त्यसपछि गम्भीर अवस्थामा प्रादेशिक अस्पताल पुर्याइएका घाइते थिए महोत्तरीको महोत्तरी गाउँपालिका–१ पर्सा टोलका ३२ वर्षीय विमलेश यादव।
प्रहरीका अनुसार, विमलेशको उपचारका क्रममा त्यही दिन बिहान ७ः४५ मा मृत्यु भयो। जुली त्यही दिन दिउँसो १२ बजे महोत्तरीबाट पक्राउ परिन्। उनी तीन दिनअघि मात्र असईको तयारी गर्न महोत्तरीबाट जनकपुर आएकी थिइन्।
धनुषा प्रहरीका अनुसार, पक्राउ परेपछि जुलीले आफूसँग आत्महत्या वा विमलेशको हत्याको विकल्प मात्र रहेको बताइन्। तीन वर्षअघि शारीरिक सम्बन्ध बनाएपछि फोटो र भिडिओ तयार गरी विमलेशले पटकपटक शारीरिक, मानसिक र आर्थिक शोषण गरिरहेको जुलीले प्रहरीलाई बयान दिएकी छन्।
“अभियुक्त जुली परिस्थितिजन्य हिसाबले अपराध गर्ने अवस्थामा पुगेकी रहिछन्,” जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीले उकालोसँग भने, “यो कुरा पुष्टि हुने प्रमाण छन् हामीसित।”
समाजमा यस्ता समस्या धेरै रहेको रेग्मी बताउँछन्। आफूले अन्तर्वार्ता दिएर नै यस्तो समस्यामा भएकाले सम्पर्कमा आउन भनेको र पहिचान गोप्य राखेर आवश्यक कारबाही बढाइने उनको भनाइ छ।
कहाँ चुक्यो प्रहरी?
तीन वर्ष अगाडिदेखि शुरू भएको घटनाक्रम केलाउँदा प्रहरीकै कमजोरी पछिल्लो परिस्थितिसम्म पुग्नुको कारण बनेको देखिन्छ। यो विषय दुई पटक जिल्ला प्रहरी कार्यालय धनुषा र एक पटक जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पुगेको जुलीकी आमा मीना बताउँछिन्। तर समस्या समाधान नहुँदा जुली विक्षिप्त भएको उनको भनाइ छ।
जुली तीन दिदीबहिनीमध्ये परिवारकी कान्छी छोरी हुन्। “ऊ घर परिवारको जिम्मेवार, सबैको चिन्ता लिने ज्ञानी हो। तीन वर्षअगाडि ११ कक्षामा पढ्दा नै एउटा राक्षसको चंगुलमा परिछ,” उनले भनिन्, “कानूनले नै यस्तो राक्षसको नाश गरेको भए यो दिन देख्नुपर्ने थिएन।”
तीन वर्षअघि शनि झा नाम गरेको केटा फेसबुकमा जुलीको साथी बन्न आइपुगेका थिए। जुलीकी दिदी स्मृतिका अनुसार उनीहरूबीच मेसेन्जरमा कुराकानी हुन्थ्यो। “उसले आफ्नो घर मनराकट्टी भन्ने गाउँमा भएको र यातायात कार्यालयमा खरिदार भएको बताएको थियो,” स्मृति भन्छिन्, “उसले राखेको प्रेम प्रस्तावमा पर्नु नै बहिनी र हाम्रो पूरै परिवारका लागि यातना बन्न गयो।”
फेसबुकमार्फत जोडिएको छोटो समयमै दुवैबीच भेटघाट हुन थाल्यो। यसैबीच, आपसी सहमतिमा शारीरिक सम्बन्ध पनि भयो। त्यस बेला ती युवकले भिडिओ बनाउने र फोटो खिच्ने गरेका थिए। दोस्रोपटक यौन सम्बन्ध राख्ने प्रस्ताव नमानेपछि आफूसँग भएको भिडिओ र फोटो देखाएर जुलीलाई बाध्य बनाएको उनले आफूलाई बताएको स्मृति बताउँछिन्।
स्मृतिमार्फत परिवारले थाहा पायो। अनि केटाबारे सोधखोज थाल्दा ऊ शनि झा नभएर विमलेश यादव भएको खुल्यो। घर पनि मनराकट्टी नभएर पर्सा टोल रहेको खुल्यो। त्यति मात्र होइन, उनी सशस्त्र प्रहरीका भगौडा र विवाहित भएको पनि खुल्यो। उनका दुई बालबच्चा छन्। उनी वैदेशिक रोजगारीमा केही वर्ष बिताएर फर्केका थिए।
विमलेशका गतिविधिविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको थियो। पछि मिलापत्र गराएर छाडेको खुलेको छ। विमलेश कि श्रीमतिसहित उनको परिवारका सदस्य जमानी बसेपछि जिल्ला प्रहरी कार्यालयमा सहमतिपत्र बनाएर छोडेको स्मृति बताउँछिन्।
प्रहरीबाट छुटेको हप्तादिन नबित्दै विमलेशले उस्तैगरी धम्क्याउन थालेको जुलीलाई उधृत् गर्दै स्मृति बताउँछिन्। एक पटक कलेजबाट आउँदै गर्दा धम्क्याएर मोटरसाइकलमा राखेर ६ लेन सडकमा लगेर कुटपिट गरेका थिए। त्यहाँबाट प्रहरी चौकी हनुमाननगरले जुलीको उद्धार गरेको थियो। पछि विमलेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको थियो।
ती घटनाको मिति भने आफूलाई याद नभएको स्मृति बताउँछिन्। तर अन्तिमपटक भने आफूले नै बलात्कारको जाहेरी दिएको उनको भनाइ छ।
सहमतिमा भएको सम्बन्धको भिडिओ बनाएर अर्को पटक धम्क्याएर यौन सम्पर्क गरेको भए जबरजस्ती करणी हुने मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतो बताउँछन्। जबरजस्ती करणीमा प्रहरीले मिलापत्र गराएर छाड्न मिल्दैन। “जबरजस्ती करणीमा प्रहरीले जाहेरी लिएपछि तहकिकात/अनुसन्धान गर्नुपर्छ, बलात्कार गरेको देखिएमा मुद्दा चलाउनु पर्छ,” मुख्य न्यायाधिवक्ता महतो भन्छन्।
यो घटनामा प्रहरीले अनुसन्धान गरेर मुद्दालाई अदालतसम्म पुर्याउने काम नै गरेन। धनुषाप्रहरीका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले विमशेल र जुलीको विषय प्रहरीमा आए पनि कस्तो प्रक्रियामा टुंग्याइएको भन्ने थाहा पाउन फाइल हेर्नैपर्ने बताए। फाइल खोज्ने भन्दै फोन राखेका उनी पछि सम्पर्कमै आएनन्। त्यसपछि एसपी रेग्मीसँग सम्पर्क गर्दा उनले प्रहरीमा यो विषय आइपुगेको भन्ने मौखिक रूपमा सुनिए पनि फाइल फेला नपरेको बताए।
यसैबीच, एक पटक विमलेशकी श्रीमती सुनिताले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा श्रीमानले अर्की श्रीमती राखेको भन्दै जाहेरी दिएको खुलेको छ। “महोत्तरी प्रहरीले विमलेशलाई समातेर ल्याएन,” जुलीकी दिदी स्मृतिले भनिन्, “प्रहरीले केटामाथि मुद्दा लाग्छ भनेपछि जाहेरी दिने उनकी श्रीमती मुद्दा नचलाउन भनेर गइन्।”
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र भट्ट आफू नयाँ भएकोले पुराना घटना थाहा नहुने बताउँछन्। “उति बेला मुद्दा चलेको भए मुद्दा नम्बर चाहियो, सहमति गराएर छोडेको भए एउटा चिट दिएर पठाइएको हुन्छ, त्यो चाहियो,” उनले भने, “नामले मात्र खोज्न गाह्रो नै हुन्छ। सकिँदैन।”
शोषणको प्रतिशोधमा हत्या!
विमलेशको हत्या गर्नुअघि जुली आफैले आत्महत्याको प्रयास गरेको परिवारको भनाइ छ। उनले एक पटक पंखामा झुन्डिएर र अर्को पटक आफ्नो हात काटेर आत्महत्याको प्रयास गरेको दिदी स्मृतिको भनाइ छ।
आमा मिना छोरीको दिमाग मोबाइलजस्तै ‘ह्याङ’ हुन पुगेको बताउँछिन्। “पहिला आफन्तलाई भिडिओ, फोटो पठाइदिने भनेर धम्क्याउँथ्यो। पछिल्लो पटक हाम्रा आफन्त र जुलीका साथीहरूलाई पठाएको थियो,” आमा मिनाले भनिन्, “आफन्तले यस्तो छोरी किन जन्मियो भन्न थालेपछि उसले अब मर्छु भन्न थालेकी थिई, अहिले यस्तो घटना भयो।”
आमाका अनुसार विमलेशले जुलीको नाममा फेसबुक अकाउन्ट बनाएर आफन्तहरूसँग २–४ हजार रुपैयाँ पनि माग्न थालेका थिए। “मेरो छोरी निस्प्राण जस्तै भएर एकान्त खोजेर बस्न थालेकी थिई,” उनी भन्छिन्, “उसको सुखचैन, निद्रा सबै हराएको थियो।”
जुलीले जनकपुर जान भनेपछि इच्छा नहुँदा नहुँदै पठाउनु परेको मिना बताउँछिन्। जुलीले आफूलाई यस संकटबाट निकाल्न नै प्रहरीमा भर्ना हुन खोजेको उनको भनाइ छ।
“प्रहरीमा किन जान्छौ, पढाइ अगाडि गर भन्दा उसले म प्रहरीमा जानैपर्छ भनी। १२ कक्षा पास गरेपछि अहिले असईको तयारी गर्ने भनेर जनकपुर गएकी थिई,” मिनाले भनिन्, “सपना सपनै हुने भयो।”
विमलेशले गत साउन ३ गते जुलीलाई गेष्ट हाउसमा बोलाएका थिए। सीसीटीभीमा कैद दृश्यमा राति ९ः५० मा दुवै जना बा४५प ४५८६ नम्बरको मोटरसाइकलमा त्यहाँ पुगेका छन्। विमलेशले गेष्टहाउसमा आफ्नो नाम शनि यादव लेखाएका छन्।
उनीहरू १०२ नम्बर कोठमा सँगै गएको देखिन्छ। विमलेशले त्यहाँ रक्सीसमेत खाएका रहेछन्। अहिले कर्तव्य ज्यान मुद्दामा जुली जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छिन्। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
विमलेशका दाजु कमलेशले घटनापछि बुहारी निकै पीडामा रहेको र कुरा गर्न नसक्ने बताए। विमलेश र जुलीको विषयमा के भएको हो आफूलाई थाहा नभएको उनको भनाइ छ। जुली एकपटक आफूहरूको घरमा आएर भनेको भए समाधानको प्रयास गर्ने बाटो हुने उनको भनाइ छ।
करिब ९/१० महिनाअगाडि बुहारी सुनिताले उजुरी दिएपछि आफूहरू पनि प्रहरी कार्यालय गएको कमलेशले बताए। त्यहाँ सहमति पनि भएको थियो। “केटी यसको पछाडि लाग्यो कि यो (विमलेश) उसको पछाडि लाग्यो हामीलाई थाहा हुन पाएन,” उनले भने।
जुलीले विमलेशको फोन नलागेको बेला उनकी श्रीमतीलाई फोन गरेर सोध्ने गरेको पनि कमलेशले दाबी छ। “उसको साढे ५ वर्षकी छोरी र साढे २ वर्षको छोरा छ। धेरै अप्ठ्यारो भयो। उनीहरूलाई पाल्नुपर्ने, अब के गर्ने कसो गर्ने भन्ने भयो,” उनले भने।
कमलेशका अनुसार विमलेशले घरमा पैसा दिँदैन थिए। उनका छोराछोरीको खर्च दाजु कमलेश र उनका बुवाले दिने गरेका थिए। साउन ३ गते राति १०ः१७ बजे फोन गर्दा विमलेशले आफू साथीको कोठामा आएको र त्यहाँबाट भोज खान जाने हुँदा घर नआउने भनेको पनि दाजु कमलेशले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
