नेपाल टी लिग : काठमाडौँद्वारा जनकपुर पराजित

काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो।

काठमाडौँ– काठमाडौँ नाइट्सले नेपाल टी२० लिगमा जनकपुर रोयल्सलाई पराजित गरेको छ।

आइतबार सम्पन्न दिनको पहिलो खेलमा काठमाडौँले जनकपुरलाई ९० रनले पराजित गरेको हो। काठमाडौँले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो।

जनकपुरका शराफुद्दीन अशरफले सर्वाधिक ३७ रन बनाए। उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। तल्लोक्रमका सोमपाल कामीले २९ बलमा २ चौकासहित २१ रन बनाए। तर, जनकपुरका अन्य कुनै ब्याटरले सम्झनलायक खेल प्रदर्शन गर्न सकेनन्। काठमाडौँका लागि अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिए। उनले ३ १ ओभरमा १३ रन दिए। अजमातुल्लाह उमरजाईले २ विकेट लिए।

कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदका नाममा १/१ विकेट रह्यो। त्यसअघि टियु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो। काठमाडौँका ओपनर सुनम गौतमले सर्वाधिक ६२ रन बनाए। उनले ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

रायन बर्लले ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रन प्रहार गरे। उनी अविजित रहे। अलेक्स ब्लेक २० र अजमातुल्लाह उमरजाई १० रनमा क्याच आउट भए। जनकपुरका जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चिए।

शराफुद्दीन अशरफ र ट्रेभोन ग्रिफिथका नाममा १/१ विकेट रह्यो। काठमाडौँले ५ खेलमा ६ अंक जोडेको छ। जनकपुरले ६ खेलमा ८ अंक जोडेको छ। जनकपुर तालिकाको दोस्रो र काठमाडौँ तेस्रो स्थानमा छ।