सरकारमा सहभागिताको विषय टुङ्ग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

एकीकृत समाजवादीको शनिबार बस्ने बैठकले सरकारमा सहभागी पनि हुने की समर्थन मात्रै गर्ने निर्णय लिने बताइएको छ।

काठमाडौँ– सरकारमा सहभागिताबारे निर्णय गर्न एकीकृत समाजवादी स्थायी समिति बैठक बस्दै छ। 

पार्टी केन्द्रीय कार्यालय आलाेकनगरमा बस्ने बैठकले सरकारमा सहभागी हुने की समर्थन मात्रै गर्ने निर्णय लिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकले निर्वाचन परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी रणनीति पनि तय गर्ने छ।

यस विषयमा जनवर्गीय सङ्गठन तथा प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग पनि सुझाव लिइएको खतिवडाको भनाइ छ। केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने धारणा राखेका छन्।

यसैगरी निर्वाचनमा पार्टीले उल्लेख्य सफलता हासिल नभएकाले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्ने जस्ता सुझाव दिएको समाजवादीले जनाएको छ।