विदेशबाट मोबाइल ल्याउन नपाउने व्यवस्था तत्काल कार्यान्वयन नहुने

नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि एमडीएमएस लागू हुने जनाएको थियो। सामाजिक सञ्जालमा चर्को विरोध भएपछि सरकार पछि हटेको छ।

काठमाडौँ– सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्ने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्न भन्दै शुक्रबारदेखि एमडीएमएस लागू गर्न लागेको थियो। यसको चौतर्फी विरोध भएपछि सरकार एमडीएमएस लागू गर्नबाट पछि हटेको हो। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले सो सिस्टमको विरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमडीएमएस कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री दाहालले शुक्रबार बिहान अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई एमडीएमएसमा दर्ता नभएका मोबाइल बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्य किरण शर्माका अनुसार अब मोबाइल आयातमा  पुरानै प्रक्रिया रहने छ।

विदेशबाट एक थान मोबाइल ल्याउँदा १८ प्रतिशतसम्म कर लिने र सोभन्दा बढी मोबाइल ल्याउँदा जफत गर्ने निर्णयको वैदेशिक रोजगारीमा रहेका नेपालीले चर्को विरोध गरेका थिए। सर्वत्र विरोध भएपछि एमडीएमएस स्थगित गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुरानै नियम लागू गरेको छ।

वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यावहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गर्ने गरेका छन्।

यो पनि: एमडीएमएसले सजिलो छैन विदेशबाट मोबाइल सेट बोकेर आउन, लाभ कसलाई?