चोभार गल्छीमा गर्न खोजिएको के हो?

अभियन्ता, स्थानीय बासिन्दादेखि जनप्रतिनिधिसम्मको ‘कुनै हालतमा छेडछाड गर्न नदिने’ घोषणापछि चोभार गल्छीमा गर्न लागिएको काम ‘होल्ड’ भएको छ। खासमा त्यहाँ के गर्न खोजिँदै थियो? यत्रो विवाद किन भयो?

काठमाडौँ– हेर्दै अनकन्टार, सुनसान अनि डरलाग्दो ठाउँ। त्यही ठाउँमा बन्धक बनाइएका छन् केही व्यक्ति अर्थात् हिरोकी प्रेमिका र परिवार। बन्धक बनाएका छन् भिलेनले जसले हिरोलाई त्यहाँ आउन बाध्य पार्छन्। अनि ‘सुपरम्यान’झैँ आइपुग्ने हिरोले भिलेनलाई मार्छन्, प्रेमिका र परिवारलाई बन्धनमुक्त गराउँछन्।

माओवादीको हिंसात्मक विद्रोहकालको त्रासदीअघि बनेका धेरैजसो नेपाली सिनेमाको ‘क्लाइमेक्स सिन’ यस्तै हुन्थ्यो। र त्यसका लागि काठमाडौँको चोभार अधिकांश फिल्मकर्मीको गन्तव्य बन्ने गर्थ्यो। काल्पनिक कथा र त्यसमा समेटिएका द्वन्द्वका दृश्यबाट चोभार सिनेमाका रिलमा कैद हुन्थ्यो। फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितका शब्दमा द्वन्द्व र समाधान दुवैखाले दृश्यका लागि चोभार ‘सिम्बोल’ नै बनेको थियो। 

सिनेमाका रिलमा देखाइने काल्पनिक द्वन्द्वको ‘क्लाइमेक्स सिन’मा देखिने त्यो चोभार अहिले साँच्चैको द्वन्द्व र विवादको भुमरीमा फसेको छ। र यो अहिले चोभारको भौगोलिक अवस्था र अस्तित्वसँगै जोडिन पुगेको छ। काठमाडौँ उपत्यकाका ८० भन्दा धेरै नदी, खोला, कुलो तथा खहरेहरूको निकास बिन्दुका रूपमा रहेको चोभारस्थित गल्छीलाई ‘फराकिलो’ बनाउन लागिएको भन्दै सम्पदा अभियन्ता र स्थानीय बासिन्दा निरन्तर विरोधमा छन्। 

बस्ती, अभियन्ता, सञ्जाल सबैलाई तताएको विवाद
गत असार १७ गते कीर्तिपुर नगरपालिका–६ को कार्यालय प्रांगणमा बिहान साढे सात बजे नै सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको थियो। त्यो कार्यक्रममा स्थानीय बासिन्दा र सम्पदा अभियन्ता आक्रोशित देखिए। उनीहरू सबैलाई सम्बोधन गर्दै कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले ‘चोभारलाई कुनै हालतमा छुन नदिने’ वाचा गरे। 

कीर्तिपुरका मेयरले ‘चोभार कसैलाई छुन नदिने’ यस्तो घोषणा गर्नुको कारण के थियो? त्यही सार्वजनिक सुनुवाइमा बोल्नेक्रममा एक व्यक्तिले नै यसको पृष्ठभूमि उप्काएका थिए। त्यो के भने, २०८१ असोजमा भएको ठूलो वर्षापछि कीर्तिपुरस्थित सक्षम बस्ती नै डुबानमा परेको थियो। यस्तै, भीषण वर्षा हुँदा फेरि सो बस्ती वरपर डुबान नहोस् भनेर चोभारतर्फको पहिरोले झारेका ढुंगा, माटो हटाउन निवेदन दिइएको विषय उनले त्यसक्रममा उठाएका थिए। 

सक्षम बस्ती टोल विकास समितिका अध्यक्ष कुलचन्द्र शर्माले ललितपुर महानगरपालिका–१८ र कीर्तिपुर नगरपालिका–६ लाई नै त्यो निवेदन दिएका थिए। यो २०८१ फागुन १९ गतेको कुरा थियो।  

त्यसपछि ललितपुर महानगरपालिका–१८ ले २०८१ फागुन १९ र कीर्तिपुर नगरपालिका–६ वडा कार्यालयले फागुन २० गते चोभारको गल्छीको आसपासका क्षेत्रमा बाढी र पहिरोका कारण निम्तिन सक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई पत्राचार गरेको देखिन्छ।

समितिले यसबारे गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेपछि स्थलगत अध्ययन र अनुगमनसमेत गरिएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी उद्धव नेपाल बताउँछन्। 

गत जेठ १४ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनासँगको समन्वयमा चोभार गल्छीभन्दा माथि खसेका ठूला ढुंगा र थुप्रिएको माटो हटाउने कार्यका लागि सहयोग गर्न आह्वान गर्‍यो। प्राधिकरणले गरेको अध्ययनबाट सो स्थानमा रहेका पाँच वटा ढुंगा मात्रै निकाल्ने तय भएको, यसमा नेपाली सेनाले पनि अध्ययन गरेको प्राधिकरणका सूचना अधिकारी नेपाल बताउँछन्। 

त्यसलगत्तै अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र नेपाली सेनाले चोभारको गल्छी सरसफाइसम्बन्धी काम गर्ने भनियो। तर त्योसँगै सञ्चारमाध्यममा साँघुरो गल्छी फराकिलो पार्ने, सेनाले मेसिन प्रयोग गरेर ढुंगा फुटाउनेलगायत समाचार आएपछि स्थानीय बासिन्दा, सम्पदा अभियन्ता लगायतले विरोध शुर गरे।

असार ३ गते अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुर नगरपालिकालाई पत्र लेखेर त्यहाँ विस्फोट वा मेसिन प्रयोग नगरिने, बरु मानवस्रोत मात्र प्रयोग गरेर गल्छीभन्दा दुई मिटर माथि रहेको गेग्र्यान व्यवस्थापन गर्ने, त्यसो हुँदा चोभार गल्छीको सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई कुनै असर नपुग्ने दाबी गर्‍यो। समितिको पत्रमा ‘दुवै नगरपालिकाका वडा कार्यालयसँग मात्र समन्वय गरिएको’ भन्दै नगरपालिकासँगै समन्वयका लागि अनुरोध गरिएको थियो। 

तर यसले विरोध र आक्रोश रोकिएन। स्थानीय बासिन्दा र सम्पदा अभियन्ताले गल्छीलाई ‘कुनै हालतमा छुन नदिने’ अभियान जारी नै राखे। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी उद्देश्य र नियत सफा रहे पनि यसलाई अफवाह बनाइएको बताउँछन्। “हामीले गेग्र्यान मात्र हटाउने कुरा गरेका हौँ, तर गत साल नै कसैले सामाजिक सञ्जालमा गल्छीबारे के के लेख्नुभएको रहेछ। सायद त्यसकै नकारात्मक प्रभाव यसमा पर्‍यो।”

उनको संकेत राप्रपा नेता रवीन्द्र मिश्रप्रति थियो। मिश्रले २०८१ असोज १२ गते भएको ठूलो वर्षापछि आएको बाढी र डुबानकै बीच असोज १७ गते फेसबुकमा लेखेका थिए, “यति ठूलो पानी पर्दा चोभारको गल्छीले पानी थेग्न सक्छ वा सक्दैन होला” मिश्रले त्यसक्रममा चोभारको गल्छी फराकिलो पार्नुपर्नेसमेत उल्लेख गरेका थिए। यद्यपि, त्यसबेला धेरैले उनको भनाइमा विमति जनाएका थिए। 

“आममानिसले अहिले सोही विषयलाई जोडेर हेरेको र गल्छी फराकिलो पार्न खोजेको रूपमा बुझ्नुभयो क्यारे,” नेपालले भने, “तर त्यो सही होइन। त्यस्तो हुँदै होइन।” 

यो सिलसिला चलिरहँदा ललितपुर महानगर उपप्रमुख अञ्जलि जोशीले सामाजिक सञ्जालमा लेखिन्, “चोभारको गल्छी सफा गर्ने, काट्ने विषयमा ललितपुर महानगरसँग आधिकारिक रूपमा कुनै छलफल नभएको, कुनै निर्णय नभएको र प्रकृति र सम्पदामाथि गरिने कुनै पनि हस्तक्षेप सह्य नहुने...।” कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले पनि ‘चोभारलाई कुनै हालतमा छुन नदिने’ घोषणा गरेपछि अहिले यो विषय नै अन्योलमा परेको छ। 

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकालाई यसबारे पुनर्विचारका लागि फेरि पत्राचार गरेको समितिका सूचना अधिकारी नेपाल बताउँछन्। दुवै पालिकाबाट औपचारिक पत्र नआएसम्म सामाजिक सञ्जालमा लेखिएका अथवा सार्वजनिक सुनुवाइमा व्यक्ति गरिएका भनाई मान्य नहुने तर्क उनले गरे। 

खानी तथा भूगर्भ विभाग पनि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिकै ‘लाइन’मा उभिएको छ। विभागकी महानिर्देशक मोनिका झा चोभारको गल्छीमा सरसफाइ मात्र गर्न खोजिएको बताउँछिन्। “गल्छीभन्दा माथि फोहोर अड्किएका छन्, तिनै फोहोरलाई मात्र सफा गर्न लागिएको हो,” उनले भनिन्, “पब्लिकमा के कसरी यति नकारात्मक सन्देश गयो थाहा भएन। त्यहाँको प्राकृतिक बनोटमा कुनै पनि सम्झौता वा हस्तक्षेप हुँदैन।” 

तर सम्पदा अभियन्ताहरूले अझै यसमा विश्वास गरेका छैनन्। यसको कारण हो, चोभारको गल्छीबारे चलिआएको किंवदन्ती र त्यसमै असर पार्न लागिएको बुझाई। किंवदन्ती अनुसार काठमाडौँ उपत्यकामा बसोबासको शुरुआत नै सोही गल्छीलाई काटेर भएको मानिन्छ। किंवदन्तीअनुसार तलाउ रहेको काठमाडौँ उपत्यकामा मञ्जुश्रीले चोभारको गल्छी खड्गले काटेर पानीलाई निकास दिएपछि यो ठाउँ आबादीयोग्य बनेको थियो। आदिनाथ लोकेश्वरको मन्दिर, विभिन्न गुफासमेत रहेको सो क्षेत्रमा कृत्रिम प्रयोग र हस्तक्षेप सह्य नहुने भन्दै सम्पदाविद्हरूले विरोध गरिरहेका छन्। 

वातावरण क्षेत्रका अभियन्ता पदमबहादुर श्रेष्ठ वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) बेगर सम्बन्धित निकायले निरीक्षण गरेकै भरमा यस्तो निर्णय गरिएकाले विरोध चुलिएको बताउँछन्। “हामीकहाँ नदीनालाकेन्द्रित कानून पनि छैनन्, यही कारण लुपहोलमा खेल्न खोज्दा यस्ता विषय निकै जटिल बन्दै गएका छन्।” 

यहीकारण हुनसक्छ, कीर्तिपुर नगरपालिकाका मेयर डंगोल पनि आफ्नो अडानमा टसमस देखिँदैनन्। उनले आवश्यक सहयोगका लागि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट पच प्राप्त भए पनि नगरपालिका आफ्नो निर्णयमा अडिग रहेको बताए। वातावरणीय प्रभाव मूल्यांकनबिना चोभार गल्छीमा थुप्रिएका गेग्र्यान हटाउन नदिने उनको अडान छ। 

“प्राकृतिक रूपमा सदियौँदेखि बन्दै आएको सो संरचनामा कुनै प्रकारको मानवीय हस्तक्षेप मान्य हुनेछैन,” डंगोलले उकालोसँग भने, “हामीले गेग्र्यानको पारिपट्टि पहिरोबाट खसेका माटोमा ढिस्का सफा गर्न मात्र सहमति जनाएका थियौँ, थुप्रिएका ढुंगा हटाउने विषयमा हाम्रो निर्णय यथावत् छ।”

यसरी बनेको चोभार
चोभारको पुरानो नाम ‘च्वः बहाः’ हो। नेपाल भाषामा च्वः को अर्थ माथिल्लो र बहाः को अर्थ बहाल हुन्छ। मल्लकालमा कल्छपालगिरि (चोभारको पहाड) मा कल्छपाल गिरि महाविहार स्थापना भएको अभिलेख छ।

चोभारबारे चलिआएका किंवदन्तीझैँ वैज्ञानिक अध्ययन पनि भएका छन् जसले पहिल्याएका नतिजा रोचक छन्। चोभारको प्राकृतिक भूबनोवटबारे सन् १९९५ मा एक जापानी वैज्ञानिक साइजोले अध्ययन गरेका थिए। उनले चोभारको गल्छी रहेको ठाउँलाई ‘चोभार फल्ट’ भनी नामकरण गरेका छन्। उनको अध्ययनअनुसार चोभार डाँडाकै कारण करिब ३० हजार वर्षअघि प्राक्–काठमाडौँ ताल दक्षिणी र उत्तरी दुई भागमा बाँडिएको थियो जसमा उनले उपत्यकाको पानी एकैपटक नभई पटक–पटक गरेर बाहिर निस्केको हुनुपर्ने उल्लेख गरेका छन्।

प्राकृतिक रूपमा नै चुनढुंगालाई पानीको बहावले काट्दै गल्छी गहिरिँदै जाने क्रममा अहिलेको चोभार गल्छी बनेको हुनसक्ने उनको अध्ययनको निचोड थियो। यस्तो प्रक्रिया सही हो भने कम्तीमा एक लाख वर्ष अगाडिदेखि नै पानी बाहिर जाने क्रम शुरु भएको अनुमान उनले गरेका छन्। भूगर्भविद्हरूको बुझाइमा पनि काठमाडौँ उपत्यका ३० हजार वर्ष भन्दा अगाडि तलाउकै रूपमा थियो। 

करिब सवा सय वर्षअघि अर्थात् सन् १९०३ मा चोभार गल्छी जोड्ने झोलुंगे पुल निर्माण भएको हो। सन् १९७४ मा चोभारकै छेउमा हिमाल सिमेन्ट उद्योग स्थापना भयो। त्यो क्षेत्र विकास भइनसकेको बेला स्थापित सिमेन्ट उद्योग र त्यसका लागि भएको चुनढुंगा उत्खननले जलबिनायक र चोभार मन्दिरबीचको परम्परागत मार्गलाई अवरोध पुर्‍याएको थियो। तर अहिले उद्योग बन्द भइसकेको छ। 

काठमाडौँ उपत्यकाको भौगर्भिक विकासक्रमबारे जानकारी राख्ने खानी तथा भूगर्भ विभागको भू–विज्ञान महाशाखाका भूवैज्ञानिक डा. गौतमप्रसाद खनाल यो विषयमा विवाद भन्दा बहस हुनुपर्ने बताउँछन्। अहिले गर्न खोजिएको सरसफाइले चोभार गल्छीको प्राकृतिक बनोट र महत्वमा प्रभाव नपार्ने उनको धारणा छ। उनले काठमाडौँ उपत्यकाको पानी निकासका लागि चोभार गल्छी नै एक मात्र विकल्प नभएको, बरु चोभारको दक्षिणमा रहेको फसिडोलमा पनि यस्तो गल्छी रहेको बताए। “एकै स्थानबाट सबै समस्या हल हुँदैन। जहाँ समस्या भएको छ, त्यहीँको सफा गर्ने हो,” उनले भने।