एनपीएलको हिसाबकिताब पारदर्शी छ, ठाउँमा जवाफ दिन्छौँः पारस खड्का

‘क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ। म जवाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन।’

तस्वीरहरू: मनीष पौडेल/उकालो

२०८१ मंसिर–पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल)को पारदर्शितामा प्रश्न उठेको छ। एनपीएल आयोजनाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले गठन गरेको परिचालन परिषद्ले नै अपारदर्शी काम गरेको क्यानका बोर्ड सदस्यहरू आरोप लगाइरहेका छन्। युवा तथा खेलकुद मन्त्रालयले यो विषयमा छानबिनका लागि कार्यदल बनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि दुई वटा उजुरी परेका छन्। एनपीएलको अपारदर्शी कामबारे उकालोले खोजमूलक रिपोर्ट र त्यसपछि फलोअप समाचार प्रकाशन गर्दै आएको छ। एकातिर एनपीएलको पहिलो सिजन विवादमा परेको छ भने, दोस्रो सिजनको मिति घोषणा भएको छैन। यसै सेरोफेरोमा रहेर क्यान सचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारस खड्कासँग उकालोका लागि आदित्य नेपालले गरेको कुराकानीः

तपाईं आफू क्यानमा पारदर्शिताको मुद्दा उठाएर सचिव निर्वाचित हुनुभएको हो। तर तपाईंकै संयोजकत्वमा भएको एनपीएल किन पारदर्शी हुन सकेन?
हामी राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत छौँ। नेपाल क्रिकेट संघको बोर्ड बैठकमा छलफल गरेर सबै कुरा प्रष्टसँग राखिसकेका छौँ, एनपीएलको हिसाबकिताबको सबै प्रक्रियाहरू पूरा गरिसकेका छौँ। क्यानको बोर्ड बैठक बस्ने एउटा शैली छ, समय छ। क्यानको वार्षिक क्यालेन्डर नै हेर्‍यौँ भने पनि पुसदेखि जेठसम्म ६ महिना हुन्छ। यो अवधिमा हाम्रा कतिपय खेलाडी र कर्मचारीहरूको कन्ट्र्याक्ट रिन्युका कामहरू सकिएको छ। अहिले हामी असार मसान्तमै (मुखमा) छौँ।

एनपीएलको हिसाबकिताब क्लियर छ। हामीले एनपीएलका टिमहरूसँग, कमर्सियल पार्टनरसँग र टेक्निकल पार्टनरसँग आर्थिक रूपमा लिनुपर्ने वा दिनुपर्ने (हिसाबकिताब) आन्तरिक रूपमा सबै भइसकेको छ। त्यसको प्रेजेन्टेसन त हामी बोर्ड बैठकमा गर्छौं। यो सम्बन्धमा परिचालन परिषद्ले क्यानका अध्यक्षलगायतलाई जानकारी गराइसकेको छ। पारदर्शी भनेको हामीले क्रिकेट संघको कागजातहरू पब्लिक गर्दै हिँड्ने त होइन! बोर्डप्रति हामी जबाफदेही छौँ।

क्रिकेट संघको सचिव भएर मैले परिचालन परिषद्को नेतृत्व गरेँ। म जबाफदेही छु। जब सही समय आउँछ, त्यसलाई (हिसाबकिताब) हामी बुझाउछौँ। अब पारदर्शी कसका लागि हुनुपर्ने भन्ने प्रश्नको जवाफ मसँग छैन। जबाफदेही हुनुपर्ने ठाउँमा हामी जवाफ दिन्छौँ।

एनपीएल सकिएदेखि नै क्यानका बोर्ड सदस्यहरूले हिसाबकिताब मागिरहेका छन्, सार्वजनिक हुनुपर्‍यो भनिरहेका छन्। कहिले सार्वजनिक गर्नुहुन्छ?
एनपीएल पुस ६ गते सकियो, सकिएको ६ महिना पूरा भयो। यसबीचमा क्रिकेट संघको तीन वटा बोर्ड बैठक बसिसकेको छ। पछिल्लो बैठक भैरहवामा बस्दा नै हामीले बोर्डका सबै सदस्यलाई भनि पनि सकेका छौँ कि, अर्को बोर्ड बैठकमा एनपीएलको सबै हिसाब बुझाएर अनुमोदन गराउछौँ। यो कुरा प्रष्ट भनेका छौँ।

तपाईं क्याप्टेन हुँदा गुटकै राजनीतिले क्यान प्रतिबन्धको अवस्थामा पुगेको थियो। तपाईं क्यानमा आएपछि पनि गुटको राजनीति नसकिएको हो?
राजनीति के हो त? म यसलाई जिन्दगी जिउने तरिकाको रूपमा हेर्छु। क्रिकेट संघमा राजनीति छ वा छैन भन्नेमा निःसन्देह चाहेर/नचाहेर हामीले स्वीकार्नुपर्छ, यहाँ राजनीति छ र हुनेछ।

अहिले क्रिकेट संघमा म छु, मभन्दा अगाडि पनि मान्छेहरू हुनुहुन्थ्यो। त्यो राजनीतिबाट काम कति भयो र भएन भन्ने मूल्यांकन गर्नुपर्ने हो नि त। अहिले हामी नेपाली क्रिकेटलाई अर्को स्टेजमा लाने अवस्थामा छौँ। त्यसमा केहीले विरोध गर्नु स्वाभाविक हो। तर सबैको तरिका हुन्छ, सार्वजनिक रूपमा दोष दिएर निकास आउनेवाला छैन। क्रिकेट संघको बोर्ड छ, नियम छ, काम गर्ने शैली छ। त्यसको मूल्यांकन देशले गर्छ। पहिला क्रिकेटको गतिविधि कति हुन्थ्यो अहिले कति भइरहेको छ?

कामको मूल्यांकनबाट सही र गलतको विश्लेषण हुनुपर्छ भन्ने हो। क्रिकेट संघ र अध्यक्षप्रति मेरो जिम्मेवारी छ। यो जिम्मेवारीलाई म संस्थाको रूपले पूरा गर्छु। राजनीति सधैँ हुन्छ नै।

बोर्डले सर्वसम्मत तपाईंलाई एनपीएल आयोजनाको अधिकार दिएको थियो। तर तपाईंले विधि, प्रक्रिया र कानून मिचेर काम गर्नुभएको त्यही बोर्डका सदस्यको आरोप छ नि!
उहाँहरूले गरेको आलोचना र लगाएको आरोपको जवाफ हामी बोर्ड बैठकबाट दिनेछौँ। म त उहाँहरूकै सहमतिबाट परिचलान परिषद‍्को प्रतिनिधित्व गरेको हुँ। म थोडी न क्रिकेट संघबाहिरको मान्छे हुँ! बोर्डले परिचालन परिषद्लाई दिएको जिम्मेवारीअन्तर्गत काम गर्‍यौँ। अध्यक्षज्यूलाई के–कसरी भयो भनेर सबै भनेका छौँ। कतिपय कुरा सबैलाई भनिरहन जरूरी छैन। 

हामी त कार्यकारी हो। त्यो कार्यकारी भइसकेपछि कतिपय निर्णय आफ्नो अधिकार पनि प्रयोग गर्छौं। उहाँहरूको आरोप तपाईंले अघि सोधेको जस्तो राजनीति नै हुनुपर्छ। २०८४ सालको (क्यानको) चुनाव आउन दुई वर्ष बाँकी छ। क्रिकेट संघकै २०–२१ वटा जिल्लाको चुनाव ७–८ महिनाभित्रै छ। शायद, उहाँहरूलाई चुनाव पनि लागेको हुनुपर्छ।

अब एनपीएलको दोस्रो सिजन पारदर्शी हुन्छ त?
पहिलो सिजन पनि पारदर्शी नै छ। विभिन्न पक्षबाट केही आलोचना भएको छ। यही मिडियाबाट नै कति समाचार लेखिएको छ। तर नेपाल क्रिकेट संघ, टिम मालिक र कमर्सियल पार्टनरबीच समन्वय भइरहेकै छ। हामीबीच पूरापुरी पारदर्शिता कायम छ।

दोस्रो सिजनको मिति अहिलेसम्म घोषणा भएको छैन, कहिले हुन्छ? पहिलो सिजनभन्दा केही परिवर्तन देख्न पाइन्छ कि पाइँदैन?
मितिका लागि हामी आईसीसीसँग समन्वय गरिसकेका छौँ। गएको वर्ष खेलाडीको संख्याबारे (एनपीएलमा टेस्ट खेलिरहेका चार खेलाडी मात्र राख्ने अनुमति) केही म्यान्डेट पाएका थियौँ। अब यो वर्ष कति खेलाडीलाई भित्र्याउन पाउनेबारे छलफल चलिरहेको छ। जुलाई १७ देखि २० सम्म सिंगापुरमा आईसीसीको साधारणसभा हुँदैछ, त्यसमा हामी यो विषयमा कुरा गर्दैछौँ।

विगतका केही अप्रिय घटनाले पनि हामी बाँधिएका छौँ। तर दोस्रो सिजनका लागि अगाडि बढ्दै जाँदा यस्तो अवस्थामा आइपुगेका छौँ कि, एनपीएलका लागि सबै जना जोडिन खोज्नुभएको छ। यो सिजनका लागि सरकारसँग जतिसक्दो चाँडो ग्राउन्डको काम गरिदिनुस् भनेका छौँ। काम भई पनि रहेको छ। होपफुल्ली, यसपटक फ्लडलाइट र सिटमा बसेर हाम्रा फ्यानले खेल हेर्न पाउनुहुनेछ।

त्योबाहेक, नेपाली क्रिकेटलाई अगाडि बढाउन एनपीएलको माध्यमबाट विश्वका बेस्ट खेलाडीलाई नेपालमा खेलाउने प्रयास गरिरहेका छौँ। दोस्रो सिजनको मितिबारे आन्तरिक गृहकार्य भइसकेको छ, खालि घोषणा गर्न बाँकी छ।

दोस्रो सिजनको प्रत्यक्ष प्रसारणका लागि स्टार स्पोर्ट्स आउँछ कि आउँदैन?
गएको वर्ष हामीसँग एकदमै थोरै समय थियो। कतिपय कुरा चाहेर पनि पूरा गर्न सकेनौँ। त्यतिबेला नीतिगत रूपमा हामीले गलत नियत राखेर नेपाली लोकल टेलिभिजनलाई एक्सेस नदिएको होइन। डिजिटल्ली एक्सन स्पोर्ट्समा आएको थियो र स्टार स्पोर्ट्समा आयो।

स्टार स्पोर्ट्समार्फत् विश्व क्रिकेटमा एउटा मेसेज गयो। आईसीसी र एसीसीको मिटिङमा पनि हामीलाई स्टार स्पोर्ट्समा कसरी एनपीएल देखाउनुभयो भनेर सोधियो। कतिपयलाई हामीले पैसा तिरेर ल्याएको भन्ने मात्रै छ। तर स्टार स्पोर्ट्स ल्याउन त्यति सजिलो पनि छैन। अब यो सिजनदेखि लोकल टेलिभिजनलाई पनि एक्सेस दिने प्रयासमा छौँ। स्टार स्पोर्ट्सबाट ग्लोबल्ली प्रसारण हुन्छ।

कीर्तिपुरमा रंगशाला निर्माण भइरहेको छ, चाँडै सकिइहाल्ने अवस्था देखिएको छैन। दोस्रो सिजनको एनपीएल कीर्तिपुरमै हुन्छ कि मैदानको विकल्पबारे योजना बनाउनुभएको छ?
हामीसँग समय छ। सबैले झक्झकाइ रहनुभएको छ। उहाँहरूले पनि काम नगर्नुभएको होइन। ढिलोचाँडोको एउटा–एउटा व्याख्या हुनसक्छ। कीर्तिपुरमा फल्डलाइटमै गराउनुपर्छ भन्ने आवाज पनि छ, जुन हाम्रा लागि पनि ऐतिहासिक हुन्छ।

वैकल्पिक मैदानको रूपमा हामीसँग तल्लो र माथिल्लो मूलपानी मैदान छन्। दर्शक धान्न तल्लोसँग अलिक क्षमता पनि छ, माथिल्लोसँग छैन। तर कीर्तिपुरमै सबै काम एकडेढ महिनामा सम्पन्न हुन्छ भन्ने आशाभन्दा पनि विश्वास गरौँ। त्यसैले दोस्रो सिजनको एनपीएल कीर्तिपुरमै हुन्छ।

भिडियो