‘एअरमेल सर्भिस’ पछि टाटा एअरलाइन्स हुँदै एअर इन्डिया बन्दासम्म यसले अनेकौँ उतारचढाव बेहोर्यो, जसमा नेपालसँग जोडिएको एउटा घटना यसको इतिहासमा अविस्मरणीय छ।
काठमाडौँ– भारतमा बेलायती उपनिवेशको समय थियो। र त्यो समय थियो चिठीपत्रको पनि।
बेलायतको ‘इम्पेरियल एअरवेज’ले भारतभित्र चिठी ढुवानीको ठेक्का भारतको व्यापारिक घराना कम्पनी ‘टाटा सन्स’लाई दियो। त्यसपछि टाटाले दुई लाख भारुको लगानीमा दुई वटा साना जहाज किनेर सन् १९३२ अक्टोबर १५ देखि ‘एअरमेल सर्भिस’मार्फत व्यावसायिक उडान शुरू गर्यो।
त्यस दिन बिहान साढे ६ बजे, एक जना अग्लो–पातलो युवक कराँचीको ड्रिघ रोड विमानस्थलबाट तीन सिटे ‘हकल्यान्ड पुस मोथ’ विमान चलाएर बम्बईको लागि उडे। जहाजमा २७ किलो चिठी थिए। ती चिठीलाई इम्पेरियल एअरवेजले लन्डनबाट कराँची ल्याएको थियो। बीचमा केही समय पुस मोथ अहमदाबादमा रोकियो जहाँ गोरुगाडामा बोकेर ल्याइएको चार ग्यालेन पेट्रोल जहाजमा भरियो।
ती युवक थिए, टाटा सन्सका सदस्य जहाँगिर रतन दादाभाई (जेआरडी) टाटा। जसलाई भारतीय हवाई उद्योगका ‘पायोनिर’ मानिन्छ। भारतका पहिलो पाइलट उनको, त्यो पहिलो व्यावसायिक उडान पनि थियो।
त्यसको ९३ वर्षपछि बिहीबार दिउँसो अहमदाबादमै एअर इन्डियाको विमान दुर्घटनाग्रस्त भयो। अहमदाबादको सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाँदै गरेको एआई–१७१ विमान उडान भरेको केही सेकेन्डमै दुर्घटनाग्रस्त हुँदा २४० भन्दा धेरैले ज्यान गुमाए। उक्त विमान अमेरिकी बोइङ कम्पनीको ७८७ ड्रिमलाइनर मोडल थियो। यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७–२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।
त्यतिबेलाको भारतीय वायुसेवा (इन्डियन एअरलाइन्स) र अहिलेको एअर इन्डिया एउटै कम्पनी हो भन्दा फरक पर्दैन। सन् १९३२ मा स्थापना भएको ‘द एभियसन डिपार्टमेन्ट अफ टाटा सन्स’ले त्यही वर्षको अक्टोबर १५ मा ‘एअरमेल सर्भिस’ शुरू गरेको थियो। त्यही दिनलाई भारतमा नागरिक उड्ययनको ‘ल्यान्डमार्क’ मानिन्छ।
‘एअरमेल सर्भिस’ १९३८ मा टाटा एअर सर्भिस बन्यो। पछि टाटा एअरलाइन हुँदै एअर इन्डिया बन्नसम्म यसले निकै उतारचढाव बेहोर्नुपरेको छ। जसमध्ये नेपालसँग जोडिएको एक घटना हवाई क्षेत्रको इतिहासमा अविस्मरणीय छ।
टाटा र एअर इन्डिया
जेआरडी टाटाका बुबा आरडी टाटा जमशेदजी टाटाका काका थिए। जेआरडीकी आमा फ्रान्सेली भएकोले उनको घरमा फ्रान्सेली भाषा बोलिन्थ्यो। जेआरडीलाई बाल्यकालदेखि नै उडानको सोख र जोश थियो। त्यही जोशले उनलाई हवाईजहाज उडाउन पाइलटको लाइसेन्स प्राप्त गर्ने पहिलो भारतीय नै बनायो।
जेआरडी टाटाले सन् १९१९ मा १५ वर्षको उमेरमै पहिलो पटक सोखका रूपमा जहाज उडाएका थिए। उनले पाइलटको लाइसेन्स भने २४ वर्षको उमेरमा प्राप्त गरे। पछि उनैले टाटाको व्यावसायिक उडान मात्रै नभई हवाई उद्योग नै हाँके।
तत्कालीन बेलायती सरकारले टाटा एअरलाइनलाई कुनै आर्थिक सहयोग गरेन। प्रत्येक चिठी ढुवानीको चार आना मात्र दिन्थ्यो। त्यसका लागि पनि हुलाक टिकट टाँस्नुपर्थ्यो। त्यतिबेला टाटा एअरलाइन मुम्बईको जुहू नजिकैको माटोको घरबाट सञ्चालन गरेको थियो। त्यहाँ रहेको एउटा मैदानलाई रनवेको रूपमा प्रयोग गरिन्थ्यो। पानी पर्ने समयमा, यो खेत डुबानमा पर्थ्यो त्यतिबेला टाटा एअरलाइनसँग दुई वटा साना सिंगल इन्जिन विमान, दुई पाइलट र तीन मेकानिक थिए। बाढी आएको बेला जेआरडी टाटाले पुणेबाट आफ्नो विमान चलाउने गर्थे।
सन् १९३३ मा टाटा एअरलाइनको लागि पहिलो व्यावसायिक वर्ष थियो। सोही वर्ष १५५ यात्रु र लगभग ११ टन चिठ्ठी बोकेको थियो भने यसका विमानले एक वर्षमा कुल एक लाख ६० हजार माइल उडान भरेको थियो।
जेआरडी सन् १९३८ मा ३४ वर्षको उमेरमा टाटा सन्सको अध्यक्ष बने। दोस्रो विश्वयुद्धपछि हवाई सेवा पुनर्स्थापित हुँदा १९४६ जुलाई २९ मा, टाटा एअरलाइन ‘पब्लिक लिमिटेड’ कम्पनी बन्यो र यसको नाम ‘एअर इन्डिया लिमिटेड’ राखियो।
निजी कम्पनीको राष्ट्रीयकरण
भारतको स्वतन्त्रतापछि, त्यहाँको औद्योगिक विकासमा जेआरडीको ठूलो योगदान रह्यो। सामाजिक रूपमा उनी नेहरू गान्धी परिवारसँग धेरै नजिक थिए तर उनीहरूको समाजवादी आर्थिक मोडेलप्रति उनको कडा आपत्ति थियो। अगस्ट १९५३ मा, सरकारले वायु निगम अधिनियम पारित गर्दै एअर इन्डियासहित नौ वटा निजी एअरलाइन्सलाई राष्ट्रियकरण गरेर ‘एअर इन्डिया इन्टरनेसनल’ र ‘इन्डियन एअरलाइन्स’ बनायो। जेआरडीलाई एअर इन्डियाको अध्यक्ष नियुक्त गरियो। यसले अन्तर्राष्ट्रिय लामो दुरीका उडान गर्न थाल्यो। दिल्लीमा मुख्यालय रहेको ‘इन्डियन एअरलाइन्स’ले घरेलु तथा एशियाली देशका छोटा उडान गर्ने भयो। एअर इन्डियाको मुख्यालय भने बम्बई नै कायम रह्यो।
भनिन्छ, एअर इन्डियाको अध्यक्षको रूपमा जेआरडी आफ्नो काममा यति रूचि राख्थे कि एअरलाइन्सको विमानको झ्यालको पर्दा छनोट गर्न पनि आफैं जान्थे। पैसा खर्च गर्ने सन्दर्भमा विदेशी एअरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसकिने उनलाई थाहा थियो। त्यसैले उनको जोड सधैं सेवा र समयनिष्ठामा हुन्थ्यो। युरोपमा एअर इन्डियाको क्षेत्रीय निर्देशक रहेका नारी दस्तुरले यसबारे एउटा रोचक कथा सुनाउने गर्थे, “एकपटक मैले एक स्विस मानिसले अर्को मानिसलाई समय सोधेको सुनें। उनले झ्यालबाट बाहिर हेर्दै ११ बजेको बताए। तर उनले घडी पनि नहेरीकन तिमीलाई कसरी थाहा भयो भनेर सोध्दा अर्को व्यक्तिबाट जवाफ आयो– एअर इन्डियाको विमान भर्खरै अवतरण गरेको छ।”
एअर इन्डिया इन्टरनेसनललाई संक्षिप्त पार्दै १९६२ मा ‘एअर–इन्डिया’ नाम राखियो। त्यसपछिका दशकहरूमा भारतको ध्वजावाहकको रूपमा, एअरलाइन्सले दक्षिण अमेरिकाबाहेक सबै महादेशहरूमा आफ्नो अन्तर्राष्ट्रिय मार्गहरू विस्तार गर्यो। आफ्नो कार्गो सञ्चालन विस्तार गर्यो।
इन्दिरा गान्धीपछि प्रधानमन्त्री बनेका (सन् १९७७) मोरारजी देसाईले जेआरडीलाई एअर इन्डियाको अध्यक्ष पदबाट हटाएका थिए। यसबारे टाटालाई कुनै पूर्व जानकारी दिइएको थिएन।
उनले यो खबर पीसी लालबाट पाए जसलाई उनको ठाउँमा एअर इन्डियाको अध्यक्ष बनाइएको थियो। टाटाप्रति सरकारले गरेको व्यवहारको विरोधमा, एअर इन्डियाका तत्कालीन प्रबन्ध निर्देशक केजी अप्पुस्वामी र नारी दस्तुरले राजीनामा दिए। यति मात्र होइन, एअर इन्डियाको श्रमिक संघले पनि यसप्रति असन्तुष्टि व्यक्त गरेको थियो।
मोरारजी देसाईसँग ५० को दशकदेखि जेआरडीको सम्बन्ध बिग्रेको थियो। भारतमा बिजुली उत्पादनको क्षमता बढाउनुपर्ने माग लिएर त्यतिबेला बम्बईका मुख्यमन्त्री रहेका मोरारजीलाई भेट्न गएका थिए उनी। मोरारजी देसाईले उनको कुराकानी नसकिँदै अर्को विषयमा कुरा गर्न थाले। जेआरडीलाई रिस उठ्यो, उनी जुरुक्क कुर्सीबाट उठेर हिँड्न खोजे। त्यतिबेला मोरारजीले बस्न लगाएर उनका कुरा पूर्ण रूपमा सुने पनि त्यस दिनदेखि दुवैको सम्बन्धमा एक प्रकारको चिसोपन आएको थियो।
जेआरडी टाटाको १९९३ मा निधन भयो। त्यसअघि नै उनका उत्तराधिकारी रतन टाटाले अध्यक्षको जिम्मेवारी पाइसकेका थिए।
ऋणमा डुब्यो, रतन टाटाले किने
सन् १९९४ मा भारतले निजी विमान कम्पनीहरूलाई अनुमति दिन थालेपछि, एअर–इन्डियाले प्रतिस्पर्धाको सामना गर्नुपर्यो।
एअरलाइन्सले २००५ मा आफ्नो नामबाट योजक चिन्ह (–) हटाएर ‘एअर इन्डिया’ कायम गर्यो। सन् २००७ मा भारत सरकारले अन्तर्राष्ट्रिय उडान भरिरहेको एअर इन्डियालाई घरेलु वाहक इन्डियन एअरलाइन्ससँग गाभिदियो र त्यसपछि ‘नेशनल एभिएसन कम्पनी अफ इन्डिया लिमिटेड’ (एनएसीआईएल) नामक ठूलो संस्थाको स्थापना भयो। फोर्ब्स इन्डियाका अनुसार त्यतिबेला एअर इन्डिया र इन्डियन एअरलाइन्स दुवै करोडौँको घाटामा थिए। त्यसपछि त झन् कम्पनीको घाटा आकासिँदै गयो। एभियसन कम्पनी घाटामा गएपछि भारत सरकारले २०१७ देखि नै बेच्ने प्रयास गरिरहेको थियो।

टाटाले २०२१ को अक्टोबर ८ मा सरकारले लगाएको बोली जितेर टाटाको स्वामित्वग्रहण गर्यो। टाटाले ५२ हजार करोड ऋणमा डुबेको एअर इन्डियाको शतप्रतिशत हिस्सा १८ हजार करोड भारतीय रुपैयाँमा किनेको थियो। जसमध्ये १५ हजार करोड रुपैयाँ ऋणको रूपमा र बाँकी अग्रिम भुक्तानीका रुपमा थियो। एअर इन्डियाको स्वामित्व लिने सम्झौता भएको केही समयमै टाटा सन्सका निवर्तमान अध्यक्ष रतन टाटाले एअर इन्डिया सात दशकपछि टाटा समूहमा फर्किएकोमा खुसी व्यक्त गरेका थिए।
उनले सामाजिक सञ्जाल एक्समा लेखे,– “टाटा समूहले एअर इन्डियाको लागि बोली जित्नु ठूलो खबर हो। एअर इन्डियालाई पुनर्जीवित गर्न हामीले धेरै प्रयास गर्नुपर्नेछ।” साथै, उनले त्यतिबेला जेआरडी टाटाको नेतृत्वमा एअर इन्डियाले कमाएको प्रतिष्ठा र विश्वसनीयतालाई टाटा समूहले पुनः प्राप्त गर्ने अवसर पाएको बताएका थिए।
आफ्ना अन्य वायुसेवा कम्पनीलाई एअर इन्डियामा मर्ज गरेको छ। २०१२ मा भारतले विदेशी लगानी प्रतिबन्धहरू हटाएपछि टाटा सन्सले सिंगापुर एअरलाइन्ससँगको सहकार्यमा भिस्टारा र मलेसियाको कम्पनी एअर एशिया बीएचडीसँगको सहकार्यमा एअर एशिया इन्डिया सञ्चालन गरेको थियो। यस्तै, टाटाको सस्तो हवाई सेवा मानिने एअर इन्डिया एक्सप्रेस २००५ देखि सञ्चालनमा थियो। तर एअर इन्डिया आफ्नो स्वामित्वमा आएपछि यी तीनओटै कम्पनीलाई त्यसैमा समाहित गरेको छ। यसले एअर इन्डिया झन् सशक्त र वृहत बनेको छ।
इकोनोमिक टाइम्सका अनुसार एअर इन्डियाले हाल १९८ विमानहरू सञ्चालन गर्दछ, जसमा मर्ज भएको भिस्ताराका ७० विमान पनि समावेश छन्। यस्तै, एअर इन्डिया एक्सप्रेससँग भएका १०३ विमानहरू र ३८ नयाँ बोइङ जेटहरू समावेश छन्। यसबाहेक एअर इन्डियाले विमानहरूको संख्या बढाउन सन् २०२३ मा एअरबस र बोइङबाट ४७० विमानहरू अर्डर गरेको छ। यसका साथै कम्पनीले भौतिक संरचना, तालिम केन्द्र निर्माणमा विशेष ध्यान दिइरहेको छ। गत अक्टोबरमा रतन टाटाको निधन भएपछि अहिले टाटा सन्सको अध्यक्षको जिम्मेवारी रतन टाटाका भाइ नोयल टाटाले निभाइरहेका छन्।
दुर्घटनाको इतिहासमा नेपालसँगको सम्झना
सन् १९५० देखि बिहीबार अहमदाबादमा भएको दुर्घटनासम्म एअर इन्डियाका आठ ओटा विमान दुर्घटनामा परेका छन्। जसमा ९०० भन्दा धेरैको ज्यान गएको छ।
नेपालसँग पनि इन्डियन एअरलाइन्सले खेपेको नराम्रो घटनाको किस्सा जोडिन्छ। तर त्यो प्लेन क्र्यास नभइ अपहरण थियो। सन् १९९९ डिसेम्बरको अन्तिम साता काठमाडौँबाट इन्डियन एअरलाइन्स जहाज अपहरणमा परेको थियो। डिसेम्बर २४ तारिखमा काठमाण्डौँबाट भारतको राजधानी दिल्लीका लागि उडेको इन्डियन एअरलाइन्स उडान नम्बर आईसी–८१४ को जहाजभित्र अपहरणकारी कसरी घुसे विमानस्थलका कर्मचारी कसैलाई पत्तो भएन।

विमानमा ‘क्रु मेम्बर’सहित १८० यात्रु थिए। नेपाल कटेर भारतीय आकाशमा प्रवेश गर्ने बित्तिकै पाँच जना इस्लामिक उग्रवादीहरूले कब्जामा लिएको उक्त विमानलाई अमृतसर, लाहोर, दुबई हुँदै अफगानिस्तानको कान्दहार पुर्याइयो। अपहरित विमान २६ डिसेम्बरको बिहान ८ बजे कान्दहार विमानस्थलमा अवतरण गरेको थियो।
त्यहीँबाट अपहरणकारीले भारत सरकारसँग वार्ता शुरू गर्छन्। तिनले इस्लामिक आतंककारीको अभियोगमा भारतका विभिन्न जेलमा रहेका १०३ जनालाई रिहा गरिनुका साथै २०० मिलियन डलर दिनपर्ने शर्त राख्छन्। कुराकानी अघि बढ्दै जाँदा तिनले रिहा गरिनुपर्नेको संख्या ३६ मा झार्छन्। अन्ततः अजहर, जरगर र सईदको रिहाइबापत विमान र यात्रु मुक्त गर्ने सहमति ३० डिसेम्बरमा हुन्छ।
भारतको जेलमा रहेका कश्मिरी सशस्त्र समूहका यी तीन जनालाई कान्दहारमै पुर्याएर छाडिएपछि मात्र उक्त विमान र यात्रुहरू अपहरणकारीबाट मुक्त भएका थिए। तर त्यस घटनापछि भने नेपालको विमानस्थलमा सुरक्षाको विषयलाई लिएर प्रश्न उठिरह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
