पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ।
नेपाल प्रिमियर लिग (एनपीएल)को रौनक मंसिर दोस्रो सातादेखि तीन हप्तासम्म चल्यो। पुस पहिलो साता प्रतियोगिता सकिए पनि चर्चा बाँकी नै थियो। तर एनपीएलसँग जोडिएका बदमासीबारे प्रतियोगिताकै बेला सूचना पाइसकेको थिएँ। मेरो रिपोर्टिङ त्यही समयबाट शुरू भइसकेको थियो।
कानून मिचेर गरिएका कामको सबै प्रमाण मैले फागुन दोस्रो सातासम्म पाइसकेको थिएँ। तर मैले पाएका ती कागजात जोगाउन चुनौती थियो। मेरो सम्पर्कमा रहेका एक जनाले आफ्नै हतारोले एउटा कागज चुहाइदिएका थिए। त्यो कागजातसम्बन्धी सानो समाचार प्रकाशन हुनमा स्रोतको स्वार्थ थियो।
उनी यस्ता स्रोत थिए, जोसम्म त्यतिञ्जेल कुनै मिडिया पुगेको थिएन। त्यो समाचार प्रकाशन हुनुअघि उनको घरमै हामीबीच झन्डै साढे दुई घण्टाको संवाद भएको थियो। त्यही बेला एनपीएल जितेको टिमले समेत पैसा नपाएको सूचना पाएँ, जुन लगभग दुई महिनापछि मिडियामै आयो। वार्तालापपछि उनले घरैमा बोलाउनुको मूल उद्देश्य बताए, “लुक आदित्य, आई नो यू आर गुड रिपोर्टर। बट् दिस निड्स टु कम आउट फास्टर। आई टेल यू जस्ट पब्लिस इट। अदरवाइज आई ह्याभ टू गो थ्रु अदर अप्सन।”
मैले उनलाई मेरो पुरानै उत्तर दोहोर्याएँ। उनलाई अन्तिम आग्रह गरेँ, “तपाईंलाई हतार छ भने अन्यत्र दिए हुन्छ। तर त्यो कागज थप पुष्टि गर्नुपर्छ। सनसनीपूर्ण सूचना फैलाउने काम हामी गर्दैनौँ। तपाईं केही समय कुर्नूस्, लेट मि कम्प्लिट माई इन्भेस्टिगेसन।”
‘उकालो स्कुलिङ’अनुसार म विस्तृत खोजतिर लागेँ। उनी कागजपत्र बोकेर अर्को मिडिया पुगेछन्।
उनले भारतीय कम्पनी ‘ट्वेन्टी फर्स्ट सेन्चुरी स्पोर्ट्स् मार्केटिङ’ (टीसीएम)को अवैध कागज दिएका थिए। त्यो कागजलाई थप पुष्टि गर्नुपर्थ्यो। मेरो स्टोरीको यो एउटा सानो पाटो मात्र थियो। तर त्यही पनि अर्को मिडियामा आइसकेपछि मलाई स्टोरी बचाएर राख्न र एनपीएलमा भएको बदमासी लुकाउनुअघि नै उजागर गर्न चुनौती भएको थियो।
...अनि खोज्न शुरू गरेँ
एनपीएल शुरू हुँदै गर्दा न्युजरुममा आईपीएलको प्रसंगमा छलफल भएको थियो। ललित मोदीको ‘फ्रड’बारे पनि एकाध किस्सा सुन्दा युट्युबमा उनीबारे बनाइएका विभिन्न भिडियो हेरेँ। तर एनपीएलमा त त्यस्तो गलत नहोला भन्ने थियो।
मेरो अनुमान गलत निस्कियो। एनपीएल सकिन एक साता बाँकी छँदा मैले पहिलो स्रोत भेटेँ। उनले मलाई केही सुइँको दिए र भने, “एनपीएल सकिएपछि भेटेर कुरा गरौँला है।”
त्यस दौरान मैले अरू तीन जना भेटेँ, जसले एनपीएलमा अनियमितता भएको दाबी गरिरहेका थिए। प्रमाण थिएन।
एनपीएल सकिएको दुई दिनपछि पहिलो स्रोतलाई भेटेर झन्डै दुई घण्टा कुरा गर्दा मैले बोकेको डायरीको सात वटा पाना भरियो। तर अन्तिममा उनले भने, “यो मैले बुझेको सूचनाहरू हो, यसमा आफ्नो हिसाबले थप खोज्नू।”
यी सूचना पुष्टि गर्न सकियो भने त ‘स्क्याम’ कसरी भयो भन्ने खुल्ने मेरो ठम्याइ भयो। मेरो दिमागमा तिनै सूचना घुमिरहे। अरू स्टोरीतिर मन नै गएन। बरु एकदुई जनालाई फोन प्रयास गर्छु भन्ने लाग्यो।
पहिलो फोन गरेको स्रोतले आधा घण्टापछि नै समय दिएर भेट्न बोलाए। उनीसँग करिब डेढ घण्टा कुरा भयो। उनीबाट यति धेरै सूचना प्राप्त भयो कि, म खोजी रिपोर्टिङ हुनेमा आशावादी भएँ। मैले अब एनपीएलको कमर्सियल राइट्स् पाएको ‘ब्रान्ड डिजिटल लजिक’, ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’ नियुक्त भएको ट्वेन्टी फर्स्ट सेन्चुरी स्पोर्ट्स् मार्केटिङ र अधिकांशले नचिन्ने पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीबारे खोज्नुपर्ने भयो। अरू विषय त रिपोर्टिङकै क्रममा फेला पारेको हुँ।
मैले चार हप्तासम्म निरन्तर भेटघाटमा लागिरहेँ। पहिलो १६ दिनमै ३६ जनासँग कुरा गरेछु। एक दिन त उपत्यकाका तीन जिल्लाको फरक लोकेसनमा बिहान ७ बजेदेखि राति पौने ११ बजेसम्ममा ११ जना मान्छे भेटेँ। फेरि डायरीमा भोलिपल्टको योजना बनाउँथेँ।
यो क्रम करिब चार महिनासम्मै चल्यो। स्टोरीका लागि जेठको दोस्रो सातासम्म जम्मा ६२ जनालाई भेटेछु। नौ जनासँग भेट सम्भव नभएपछि फोनमै कुरा गर्नुपर्यो। केही मान्छेहरू ‘अर्को हप्ता’ भन्दै दुई महिनै कुराइदिन्थे।
मैले स्टोरीको पहिलो ड्राफ्ट चैत २५ गते बुझाएँ। स्टोरी फाइल गर्ने दिन नेपाल क्रिकेट संघ (क्यान) सचिव तथा एनपीएल परिचालन परिषद् संयोजक पारस खड्कालाई भेट्न फोन गरेँ, रिसिभ भएन। फेरि दोहोर्याउँदा पनि उठेन। टेक्स्ट पठाएर छाडिदिएँ। भोलिपल्ट फेरि बिहानदेखि बेलुकासम्म ६ पटक गरेँ, रिसिभ भएन। फेरि मेसेज नै ठेलिदिएँ।
फोन गर्ने क्रम लगभग १० दिनसम्म चल्यो। तर रेस्पोन्स आएन।
खोज पत्रकारिता केन्द्र (खोपके)लाई पठाएको पहिलो ड्राफ्ट र त्यसपछि थप काम गरेर पठाएँ। अब स्टोरी उकालोकै सम्पादकको नेतृत्वमा गर्नुपर्ने भयो। सम्पादकबाट थप कामको सूची पाएँ। तीमध्ये दुई वटा चुनौतीपूर्ण थियो। मलाई भनिएको थियो, “बाँकी सबैको कुरा आए पनि स्टोरीमा पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीको कुरा छैन, जुन अनिवार्य हुन्छ। पारस खड्काको कुरा पनि नभई हुँदैन। बरु अलिक समय लेऊ, तर पारसको कुरा आउनैपर्छ।”
मलाई सुबोधको ‘कोट’ ल्याउन त्यति गाह्रो नलागे पनि पारसलाई भेट्नैपर्ने अप्ठ्यारो आइलाग्यो। अप्ठ्यारो यस अर्थमा थियो कि, उनी सम्पर्कमा आउनै चाहिरहेका थिएनन्। अनि सम्पादककै सल्लाहअनुसार उनलाई इमेल गरेँ।
त्यतिञ्जेल सुबोधलाई कोटका लागि सम्पर्क गरेँ। सम्बोधनपछि जिज्ञासा राख्नेबित्तिकै उनी भड्किहाले। ‘के, किन, कसरी’ भन्दै कुरा मोड्दै आफू पनि मिडियाकर्मी नै भन्दै ‘डोमिनेट’ गर्न खोजे। तर पछि जवाफ दिन भने तयार भए, तर फोनमा होइन, भेटेर। मेरा लागि राम्रै भयो, किनकि विस्तृतमा कुरा गर्न सकिने भयो। भेटमा पनि उनले मेरो अफिसको कार्ड हेर्नेदेखि समाचार छापिए मुद्दा हाल्नेसम्मको धम्की दिए। तर पछि राम्ररी नै कुरा गरे।
‘एउटा काम त बन्यो, अब अर्को पारस सरसँग पनि भेट्न पाए स्टोरी नै कम्पलिट हुन्थ्यो’ भन्ने लागेर मैले फेरि पारसलाई फोन गरेँ, उठेन।
आफैलाई लाग्यो, उनी निकट मान्छेलाई फोन गरेर स्टोरीका लागि भेट्न चाहेको भन्दै सन्देश पठाउँदा काम बन्छ कि! त्यस्तै गरेँ, एनपीएल परिचालन परिषद्का सदस्य एवं क्यान कोषाध्यक्ष पदम खड्कालाई फोन गरेर पारसलाई आफू भेट्न चाहेको भनिदिन अनुरोध गरेँ। यता, अध्यक्ष चतुरबहादुर चन्द, महानिर्देशक उत्सव ढंगाना, प्रवक्ता छुम्बी लामा र आमोद सरमार्फत पूर्वपदाधिकारीलाई पनि फोन गरेर सन्देश दिन लगाएँ।
पछि सबैलाई पारसलाई जानकारी गराएको नगराएकोबारे सोधेँ। सबैले ‘गराइसकेको नै’ भने। तर पनि न पारस आफैले सम्पर्क गरे, न मेरो फोन उठाए।
बिरक्तिएर एक दिन अफिसमा सम्पादककै टेबलनजिक गएर भने, “भेट्नै नखोजेपछि त किन जबरजस्ती भेटिरहनुपर्यो? दुई महिना हुन लाग्यो। हामीले पारसको कुरा ल्याउन के कति प्रयास गर्यौँ भनेर प्रमाण देखाउँदै स्टोरीमै लेखिदिँदा हुन्न?”
सम्पादकको जवाफ आयो, “हेरौँ न केही दिन अरू।”
जवाफ सुनेपछि आफ्नो चेयरमा आएँ। ‘अब एउटा अन्तिम मेसेज लेख्छु’, भनेर मैले पठाइरहने मेसेजमा एक लाइन थपेँ, “यो स्टोरीका लागि भन्दा पनि हजुरले आफ्नो कुरा प्रस्टसँग राख्ने मौका हो।”
फोन बन्द गरेर ‘इयरबड्स’ लगाउँदै ल्यापटपमा गीत बजाएँ।
पाँच मिनेट लामो गीत सकिएपछि फेसबुक चलाउन मोबाइल खोलेँ। शुरूमै नोटिफिकेसन आयो, “गुड आफ्टरनून, सरी मिस्ड योर मेसेज। भोलि कुरा गरुम ल भेटेर?”
माथि नाम हेरेँ, ‘पारस खड्का क्यान’
जुरुक्क चेयरबाट उठेर सम्पादकलाई देखाएँ। त्यो क्षण म पारसले भेट्न बोलाए भन्ने कुराले मात्रै खुशी थिइनँ, मैले ६ महिना काम गरेको स्टोरी अब छापिने भयो भन्दै ‘सुपर एक्साइटेड’ भएँ।
भोलिपल्ट बिहान टेक्स्ट पठाएँ। तुरुन्तै रिप्लाई आयो, ‘एक बजे भेटौँ’
उनले बोलाएकै ठाउँमा गएँ, डेढ घण्टा कुरा भयो। म पुगेकै समयमा अरू पनि आएका रहेछन्। तर उनले मलाई पूरा समय दिए। मेरा प्रश्नको धैर्यपूर्वक जवाफ दिए। मेरो प्रश्न सकिएपछि उनको धेरै समय नलिऊँ भन्ने भयो। तर उनी हतारमा देखिएनन्, बरु म आफैँ उठेपछि काउन्टरमा बिल तिर्ने बेलासम्म पनि उनी मेरो स्टोरीको उद्देश्य र अनेकौँ विवादित विषयको स्पष्टीकरण दिइरहे। म चुपचाप सुनिरहेँ।
छुट्टिने बेला हात मिलाउँदै उनले सोधे, “हाउ ओल्ड आर यू?”
यो पनि : नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
