झोलेहरूका नाममा

नेपाली समाजमा स्वनामधन्य धेरै अग्रज छन्, जसले आफ्नै जीवनकालमा काँधको झोला बिसाएर पजेरोमा सुटकेस ‘लोड’ गराएका पनि त छन्!

शिक्षकले वा बाआमाले ‘गधाको जस्तो छ तेरो बुद्धि’ भने असहज लागे पनि सहन सकिन्छ। यही कुरा साथी वा दाजु दिदीले भन्दाचाहिँ गुरु र मातापिताले भनेजस्तो सहज लाग्दैन। तर बजार वा सडकमा कसैले ‘ए गधा !’ भन्यो भने त सहनै सकिन्न। आखिर सम्बोधन त सबैले एउटै गरेका हुन्। एउटै कुरा भन्ने, बुझ्ने र प्रतिक्रिया जनाउने कुरा पनि सम्बन्ध, समय र भूगोलले निर्धारण गर्दो रहेछ। माता-पिताले भनेको,दाजु-दिदीले भनेको वा सडकमा जो कसैले भनेको एउटै कुराको अर्थ फरक हुनुको कारण हो, त्यो भन्नुको अन्तर्य,उद्देश्य र सन्देश।

मालिकका कुत्ता मरा तो

पुरा गावँ साहबका पुछने आया

और मालिक मरे तो

एक कुत्ता भी उनके घर नहीँ आया।

सामाजिक सञ्जालमा हिन्दी वा नेपालीमा यी पङ्क्ति आजभोलि छरपपष्ट देखिन्छ।  मालिकको कुकुर मर्दा मालिकलाई सहानुभुति प्रकट गर्न उनको घर पुगेका गाउँले मालिक नै मर्दा भने उनको घरमा पुगेनन्। कुकुर मरेको सन्दर्भमा जसलाई गाउँले भनियो, तिनै गाउँलेलाई नै मालिक मर्दा कुत्ता भनियो। यद्यपि, कुकुरलाई इमानदार र आज्ञाकारी जनावरका रूपमा लिइन्छ। 

मालिकलाई रिझाएर फाइदा लिन सकिन्छ भनेर मालिकको कुकुर मर्दा मालिकको घरमा पुगेका थिए गाउँले, मालिक नै मरेपछि गाउँलेले मालिकलाई कुकुर जतिको  मात्र पनि ठानेनन् भनेर बुझ्न सकिन्छ। तर गाउँलेहरू पनि कुकुर जत्तिको इमानदार पनि त देखिएनन् र यहाँ गाउँलेहरू नै कुकुरको बिम्ब बने।

नेपाली भाषाको ‘चोर’ शब्दको अर्थलाई कालान्तरमा यही पृथ्वीको अर्को कुनै कुनामा पुग्दा विशेष सिप-ज्ञानवान् व्यक्ति वा समुदाय भनेर अर्थ लगाइयो भने यताको अर्थ गलत रहेछ भन्ने कि उताको सही भनेर मान्ने? हामीले मा, आमा वा मातालाई उता भन्न नजानेर 'मदर' भनेका हुन्! यसरी पनि तर्क गर्न सकिएला! यी तर्कसम्म त होलान्, तर यथार्थ होइनन्।

भाषाको विकास वा सिद्धान्तको मान्यता पनि कुनै पनि शब्दको अर्थ सबै समुदाय, भूगोल र सधैँ एक हुँदैन। समय, समुदाय र भूगोलअनुसार शब्दहरूको अर्थ विभिन्न कारणले विभिन्न किसिमले परिवर्तन हुन्छन्; अर्थ विस्तार, अर्थ संकुचन र अर्थ परिवर्तन। 

भाषाको वा कुनै शब्दको अर्थ परिवर्तन हुनसक्ने यी प्रकृति सामान्य संकेत हुन् तर यसमा थप जानकारी यकिन गर्न विश्वविद्यालयका भाषा विज्ञहरूको सहयोग लिन पर्छ। नेपाली जनबोलीमा पछिल्लो समयमा प्रयोग भएका यी केही शब्दहरू उदाहरण हुन सक्छन्:

क) मण्डल र मण्डले: मण्डलको अर्थले हिन्दु वा बुद्ध धर्ममा जुन महत्त्व राख्छ, नेपाली राजनीतिमा बदनाम र अप्रिय लाग्छ।

ख) पञ्चायत,पञ्च र पञ्चे: पञ्चायत,पञ्चको अर्थ पनि जति सकारात्मक छ, पञ्चे भन्नेले पनि र सुन्नेले वा भनिनेले पनि राम्रो मान्दैनन्। 

ग) अराष्ट्रिय तत्त्व (अत) : पञ्चायत कालमा आजका प्रमुख वा सत्तामा रहेका राजनीतिक पार्टीलाई र तिनका नेतालाई पनि अराष्ट्रिय तत्त्व - अत र व्यवस्था विरोधी भनिन्थ्यो।

घ.) डायस्पोरा: कुनै समयमा कुनै भूगोलमा गलत व्यवहार गरेका कारण लखेटिएका समुदायलाई लाञ्छना लगाउन प्रयोग भएको शब्द/सम्बोधन आजभोलि जन्मथलो छोडेर बिदेसिनेहरूलाई बुझाउन प्रयोग गरिन्छ। 

ङ. बिचौलिया या दलाल: यसको अर्थ मध्यस्थकर्ता हो, त्यसलाई पनि नेपाली भाषामा नकारात्मक भावले बुझिन्छ। यस्ता अनेक उदाहरण छन्।

वर्तमान प्रधानमन्त्री केपी ओलीले कुनै समय संसदमा आफ्नो प्रतिपक्षमा रहेकाहरूप्रति एउटा गैरराजनितिक टिप्पणी गर्नुभयो। ओलीको बोली धेरैलाई राम्रो लागेन। यसै सन्दर्भमा प्रदीप गिरिले प्रत्युत्तरमा ‘‘विद्वान मित्र केपी ओलीको जत्तिको ज्ञान अनुभव आफूमा नभएता पनि ...’’ बाट शुरू गर्नुभयो। गिरिको बोलीमा ‘विद्वान ...’ भए पनि ओलीका लागि त्यो कटाक्ष थियो। 

बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्व-सम्मत।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित।।

कवि शिरोमणि लेखनाथ पौड्यालकृत यो श्लोक प्राज्ञिक समुदायका धेरैले सुनेका होलान्। कथाअनुसार, शिवजीले भाङ धतुरो नशा सेवन गरे, मगन्ते भेष गरेर हिंडे तर देवादीदेव महादेवको कसैले विरोध गरेनन्। तर यिनकै अनुसरण यिनका सबै भक्तहरूले नै गर्न थाले के होला? यहीँनेर खोजी हुन्छ विवेकको। प्रश्न र आलोचनाको। जसोजसो बाजे, उसै उसै स्वाहा गर्नुचाहिँ प्रश्न र आलोचना नगर्नु हो। प्रश्न-आलोचना नगर्नु विवेकको ख्याल नगर्नु हो।

कुनै पार्टीको, विचारको, सिद्धान्तको, इमान र आदर्शको अनुसरण गर्नु र तिनको कार्यकर्ता हुनु झोले हुनु होइन। झोला बोकेकै कारण झोले भनिएको होइन। नेपाली समाजमा स्वनामधन्य धेरै अग्रज छन्, जसले आफ्नै जीवनकालमा काँधको झोला बिसाएर पजेरोमा सुटकेस ‘लोड’ गराएका पनि त छन्! झोला नबोकेका र नदेखेका पनि झोले हुन सक्छन्। कुनै विचार, वाद, सिद्धान्त वा कुनै पार्टीको कार्यकर्ता भएकोले मात्र पनि झोले भनिएको होइन।

नेपाली कम्युनिस्ट राजनीतिमा सबैभन्दा लामो समयदेखि काँधमा अलिक लामो झोला बोकेर हिँडिरहेकै छन् मोहन विक्रम सिंह। सिंहलाई कसैले कहिल्यै झोले भनेको सुनिएन। नेपाली काङ्ग्रेसका सिद्धान्तकारका रूपमा परिचित सिके प्रसाईँ पनि झोला बोकेर हिँडेका भेटिन्थे। उनलाई झोले कसैले भनेनन्। सामाजिक र राजनीतिक जागरणका लागि साहित्यकारहरूको नेतृत्व गरेका कवि तथा लेखक भवानी घिमिरे पनि झोला बोक्थे। घिमिरेलाई झोले भनेर कसैले किन सम्झेनन्? वरिष्ठ साहित्यकार कृष्ण धरावासी नेपालदेखि अमेरिका होस् वा युरोप, जहाँसुकै झोला बोकेर हिँड्नुहुन्छ। तर झोले भनेर कसैले खिसिट्युरी गरेको छैन। उहाँको चर्चित कथा 'झोला' हो र त्यस आधारित चलचित्र पनि उत्तिकै चर्चित छ। 

झोला अरूको बोक्न नि सकिन्छ, आफ्नै बोकाउन नि सकिन्छ। तर नेताको बोलिलाई नीति र सिद्धान्तको  कसीमा नतौली निशर्त तिनको अन्धभक्त बन्नुचाहिँ झोले हुनु हो। मध्ययुगिन दासझैं हुनु हो।

उसो त आलोचक वा प्रश्नकर्ताहरूले नेताहरूलाई झोले भनेका होइनन्। नेताहरूलाई पनि आफ्ना कार्यकर्तालाई झोले नबनाऊ, दास नबनाऊ, तिनका विवेकमा बिर्को नलगाऊ वा बन्धक नबनाऊ भन्न खोजेका हुन्। नेता स्वयं अघि सर्दै तिमीहरू हाम्रो झोले नै हौ त! झोले हुन किन आनाकानी गर्छौ भनेर आँफैलाई झोलेको श्रीपेच लगाइखेलेर ‘स्याल हुइयाँ’ मच्चाए। विवेक बचाएका केही कार्यकर्ता अलमलिए। कतिले होमा हो मिलाएर आफूहरू झोले नै भएको ठहर गरे।

नेताको अविवेकी काममा प्रश्न र आलोचना नगर्ने, नेताको  अहममा आगो थप्ने तर प्रश्न र आलोचना गर्न नसक्ने पूर्णभक्तहरूलाई ‘झोले’ भनिएको हो। पार्टीको नीति,कार्यक्रम,आदर्शलाई अनुसरण गर्ने इमानदार कार्यकर्ताहरू, देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्ने कुनै पार्टीका कार्यकर्तालाई ‘झोले’ भनिएको होइन। सामन्ती परिवारको दास हुनु वा नहुनु फरक कुरा हो तर जुनसुकै परिवारको भए पनि बिना प्रश्न र आलोचना 'जसोतसो बाजे, उसैउसै स्वाहा'  गर्नु चाहिँ झोले हुनु हो। ठूलाले गरेका सबै कार्य निशर्त मान्नु वा प्रश्न र आलोचना नगर्नु झोले हुनु हो ।

अर्जुन पराजुलीको यी पङ्क्तिले पनि केही सन्देश दिन सक्छ-

दास –जेठो
रैती- माइलो
र, झोले - कान्छो।

अरुको ठ्याम्मै नक्कल हो ओली कमरेडको झोले अभियान। दक्षिणमा 'मै भी चौकीदार', यता 'म पनि झोले।' 

विद्या विवादाय धनं मदाय, शक्ति: परेषां परिपीडनाय।

खलस्य साधोर्विपरीतमेतद्, ज्ञानाय दानाय च रक्षणाय॥

(दुष्ट व्यक्तिको लागि विवाद गर्न विद्या, धन घमन्ड गर्न, र शक्ति अरूलाई दुख दिनका लागि हुन्छ। तर सज्जन (साधु) व्यक्तिको लागि भने यो विपरीत हुन्छ: विद्या बाँड्नका लागि, धन दान गर्न र शक्ति अरूको रक्षा गर्नका लागि हुन्छ।)

(पत्रकार भण्डारी अमेरिकाको भर्जिनिया बस्दै आएका छन्।)