देउवा-दाहाल वार्तापछि सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ।

फाइल तस्वीर

काठमाडौँ– प्रधानमन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा शुरू भएको छ।

त्यसअघि केहीबेर कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘“वान अन वान’ वार्ता भएको थियो।

त्यसलगत्तै देउवा र दाहाल बैठकका लागि गठबन्धनका नेता प्रतिक्षा गरिरहेको हलमा प्रवेश गरेको कांग्रेसका एक नेताले जानकारी दिए। दाहालसँग ‘वान अन वान’ वार्ता गर्नुपूर्व आइतबार नै देउवाले आफ्नो पार्टीका शीर्ष नेतासँग छलफल गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आइतबार बेलुका ५ बजे सकिँदैछ। देउवा पहिले प्रधानमन्त्री बन्ने दाहाल भन्ने विषयमा कुरा नमिले गठबन्धन दलले सरकार गठनका लागि समय थप गर्न राष्ट्रपतिसँग आग्रह गर्ने तयारी गरेका छन्। आइतबार बिहानै कांग्रेस नेता बिमलेन्द्र निधी दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

भेटमा सत्ता गठबन्धन नछाड्न र सरकारको नेतृत्व मिलेर गर्न दाहाललाई आग्रह गरेको निधीले बताए। उनले भने, “सरकार गठनका विषयलाई लिएर हामीले छलफल गर्यौं। उहाँ पनि यो विषयमा सकरात्मक हुनुहुन्छ। प्रधानमन्त्री को अघि को पछि भन्ने विषय मात्रै टुंगिएको छैन। यो विषयमा मिलेर जान सुझाव दिएको छु।”