भारत-पाक द्वन्द्वमा प्रकट भारतीय सञ्चार माध्यमको दुर्दशा

सत्य बोल्ने, तथ्य देखाउने र जनताका लागि बोल्ने पत्रकारिताले मात्र विश्वसनीयता कायम राख्न सक्छ। यस विषयमा नेपाली सञ्चार माध्यम धेरै जिम्मेवार र संवेदनशील छन् भन्न सकिन्छ।

भारत र पाकिस्तानबीचको सम्बन्ध जहिले पनि तनावपूर्ण रहँदै आएको छ। सन् १९४७ को विभाजनयता आजसम्म यी दुई राष्ट्रबीच भएका युद्ध, सिमाना विवाद, आतंकवादका घटना र राजनीतिक द्वन्द्वले सम्बन्ध झन् जटिल बनेको छ। यस्तो संवेदनशील अवस्थामा सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तर पछिल्ला केही वर्षमा विशेष गरी दुई राष्ट्रबीच तनाव, तथा सशस्त्र झडपका बेला भारतीय सञ्चार माध्यमले देखाएको व्यवहार उदेक लाग्दो छ।

सञ्चार माध्यमको मूल कर्तव्य भनेको सत्य, निष्पक्ष र जिम्मेवार समाचार प्रस्तुत गर्नु हो। तर युद्ध वा राष्ट्रिय संकटको समयमा केही भारतीय टेलिभिजन च्यानल र समाचार संस्थाले यति हदसम्म अतिरञ्जना र भावनात्मक प्रचार गरेका छन् कि आम दर्शकलाई समाचार हेर्नै गाह्रो हुन्छ।

उदाहरणका लागि, सन् २०१९ को पुलवामा आक्रमणपछि भारतले बालाकोटमा गरेको ‘एयर स्ट्राइक’को समाचार प्रसारणमा अधिकांश भारतीय सञ्चार माध्यमहरूले न त घटनाको स्वतन्त्र पुष्टि गरे न त वैकल्पिक दृष्टिकोण प्रस्तुत गरे। बरु "देशभक्ति" को नाउँमा युद्धको माहौल सिर्जना गरियो। पाकिस्तान र पाकिस्तानी नागरिकहरूप्रति घृणा फैलाइयो र आलोचकहरूमाथि देशद्रोहीको आरोप लगाउनेसम्म काम गरियो।

भारतीय सञ्चार माध्यममा 'हल्लाखोर पत्रकारिता' (स्क्रिमिङ जर्नलिजम्) को प्रचलन एक किसिमको व्यवसाय बनेको छ। सहरका ठूलो स्टुडियोमा बसेर, कतिपय अवस्थामा त भारतीय सैनिककै कम्ब्याट पोसाक नै लगाएर, चिच्याउँदै "पाकिस्तानलाई सिकाउने समय आएको छ" " हमला गर" जस्ता नारा दिने शैलीले समाचारभन्दा बढी नाटक प्रस्तुत गरिएको महसुस हुन्छ। 

टीआरपी (टेलिभिजन रेटिङ पोइन्ट) बढाउने होडमा केही टेलिभिजन च्यानलहरू "राष्ट्रवाद"को लहरमा बग्ने गरेका छन्, तथ्यभन्दा भावना बेच्न थाल्छन्। यस्तो व्यवहारले आम नागरिकमा झूटो उत्साह, द्वेष र एकपक्षीय सोचको विकास गराउँछ नै। यस्तो प्रचारले युद्धको सम्भावना बढाउने काम मात्रै गर्दैन, क्षेत्रीय स्थायित्व पनि खलबलिन सहयोग पुर्‍याउँछ।

युद्ध वा झडपको समयमा गलत सूचना र अफवाह समाजमा फैलने सबैभन्दा बढी सम्भावना हुन्छ, र त्यसले पार्ने क्षति डरलाग्दो हुनसक्छ, तर भारतीय सञ्चार माध्यमका केही रिपोर्टहरूमा तथ्य नपुगेका समाचारहरूलाई 'ब्रेकिङ न्युज' बनाएर प्रस्तुत गर्ने गरिएको छ। उदाहरणका लागि पाकिस्तानी सेनाले भारतीय विमानलाई ढालेको खबरको प्रतिक्रियामा '५०० आतंकवादी मारिएका' भन्ने दाबीसमेत गरियो, तर त्यसको प्रमाण कहिल्यै देखाइएन। यसले केवल दर्शकलाई गलत धारणा बनाउन सहयोग पुर्‍यायो। अर्कोतर्फ अन्तर्राष्ट्रिय मञ्चमा भारतको विश्वसनीयता पनि प्रभावित भयो।

जब सञ्चार माध्यमले बारम्बार एकतर्फी, अतिरञ्जित र अर्धसत्य समाचार दिन थाल्छ, तब त्यो माध्यमप्रति जनताको विश्वास खस्कन थाल्छ। आजको डिजिटल युगमा दर्शकहरू एक्लो माध्यममा भर पर्न छाडेका छन्। सामाजिक सञ्जाल र वैकल्पिक स्रोतहरूले परम्परागत सञ्चार माध्यमको कमजोरी उजागर गर्न थालेका छन्। तर समस्या के भने धेरै दर्शक अझै पनि टेलिभिजन वा मुख्य धारका समाचार च्यानलमा बढी भर पर्छन्। यदि त्यहाँ नै गलत सूचना प्रवाह गरिन्छ भने जनमानस नै भ्रमित हुन्छ। भारतमा त्यही भएको छ। अनि त्यही भ्रममा आधारित जनमतले युद्धको माग गर्न थाल्छ, जुन लोकतान्त्रिक समाजको लागि खतरा हो।

यस परिप्रेक्ष्यमा भारतीय सञ्चार माध्यमहरूले आत्मसमिक्षा गर्नै पर्छ, तर गर्छन् जस्तो लाग्दैन। समाचार माध्यमले बुझ्नुपर्छ–युद्ध खेल होइन, समाचार मनोरञ्जन होइन र राष्ट्रवाद चिच्याएर बेचिने वस्तु होइन। शक्तिलाई चुनौती दिनु, सत्यका पक्षमा उभिनु र आम जनताको सूचनाको अधिकारलाई सुरक्षित राख्नु पत्रकारिताको धर्म हो। सञ्चार माध्यमले युद्ध र द्वन्द्वको बेला प्रमाणमा आधारित समाचार दिनुपर्छ। सबै पक्षको दृष्टिकोण समावेश गर्नुपर्छ। जनताको भावना भड्काउने भाषा शैली परित्याग गर्नुपर्छ।

सञ्चार माध्यमलाई सुधार गर्न दर्शकहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। जबसम्म दर्शकहरू अतिरञ्जित सिनेमाका दृश्य राखिएका समाचार हेर्दै चिच्याउने पत्रकारिता हेर्न रुचाउँछन्, तबसम्म त्यस्ता च्यानलहरूले टीआरपीकै लागि गलत सूचना दिने क्रम जारी रहन्छ। त्यसैले दर्शकले पनि एकभन्दा बढी समाचार स्रोत पढ्न र हेर्न बानी बसाल्नुपर्छ। तथ्य जाँच गर्ने वेबसाइट प्रयोग गर्नुपर्छ। अन्ध राष्ट्रवादको सन्देश फैलाउनेहरूलाई प्रश्न गर्नुपर्छ।

अन्त्यमा, भारत-पाकिस्तानजस्तो संवेदनशील सम्बन्ध भएका राष्ट्रबीच सञ्चार माध्यमको भूमिका केबल समाचार दिने नभई शान्ति र द्वन्द्व समाधान गर्ने सेतु बन्नेतर्फ सोच्नुपर्छ। जब सञ्चार माध्यमले आफ्नो शक्ति प्रचारका लागि प्रयोग गर्छ, तब त्यो समाज, राष्ट्र र सम्पूर्ण क्षेत्रको लागि घातक हुन सक्छ। सञ्चार माध्यमले विश्वसनीयता प्राप्त गर्नका लागि सच्चा पत्रकारिता गर्ने सामर्थ्य राख्न सक्नुपर्छ। सत्य बोल्ने, तथ्य देखाउने र जनताका लागि बोल्ने पत्रकारिताले मात्र विश्वसनीयता कायम राख्न सक्छ। यस विषयमा हेर्ने हो भने नेपाली सञ्चार माध्यम धेरै जिम्मेवार र संवेदनशील छन् भनेर भन्न सकिन्छ।