नेपाल टी–२० : काठमाडौँ र लुम्बिनीको विजयी शुरूआत

नेपाल टी–२० लिगमा काठमाडौँले पोखरालाई २६ रनले र लुम्बिनीले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गर्दै विजयी शुरुआत गरेका छन्।

काठमाडौँ– पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा काठमाडौँ नाइट्स र लुम्बिनी अल स्टार्सले विजयी शुरुआत गरेको छ। शनिबार सम्पन्न आ–आफ्नो खेलमा जित हात पार्दै काठमाडौँ र लुम्बिनीले जित निकाल्दै सुखद शुरुआत गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौँले पोखरा एभेन्जर्स २६ रनले पराजित गर्‍यो। काठमाडौँले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो।

पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए। यस्तै, अमिर हमाज र अभिमन्यु मिथुनले समान १८-१८ रन बनाए। काठमाडौँका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो। काठमाडौँका लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले। उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए।

यस्तै, सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा पवेलियन फर्किए। यता, पोखराका लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए। यस्तै, मौसम ढकालले १ विकेट हात पारे।

त्यस्तै, आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ। लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे। उनले ८ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा, २५ र विपुल शर्माले १२ रन बनाए। अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन्। फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३/३ विकेट लिए।

त्यस्तै, बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए। त्यस्तै, सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १-१ विकेट लिए।

यता, फर वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो। फार वेस्टर्नक तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन्।

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ। तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छन्।