लमहीको जैविक विविधता पार्कमा बढ्दै पर्यटक

जैविक विविधता पार्कको प्रचारप्रसार गरेर भारतीय पर्यटक आकर्षित गर्ने सामुदायिक वन उपभोक्ता समूहको लक्ष्य छ।

तस्वीर : रासस

भालुवाङ– लमहीको जैविक विविधता पार्क अवलोकन गर्ने पर्यटक बढेका छन्।

अजम्मरी सामुदायिक वनभित्र रहेको जैविक विविधता पार्क देउखुरीपछि अर्को पर्यटकीय गन्तव्य बनेको छ। देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेका बेला त्यहाँ जाने पर्यटक पार्कमा तानिएका हुन्।

लमही नगरपालिका–५ मा रहेको यो पार्क पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ। पार्कभित्र विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ। एकाबिहानै पार्कमा हिँड्नेको लर्को भेट्न सकिन्छ। ‘मिनिपार्क’ र ‘ग्रिनपार्क’ ले झनै शोभा बढाएको छ।आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पार्क बनाइएको सामुदायिक वनका अध्यक्ष पवन रिजालले बताए।

वन क्षेत्रलाई पर्यटनसँग जोड्ने उद्देश्य रहेको उनले सुनाए। सामुदायिक वनले ३० बिघा क्षेत्रफलमा कार्ययोजनाअनुसार पार्क निर्माण गरेको अध्यक्ष रिजालले जानकारी दिए। “पार्क व्यवस्थित बनाउन अझै थुप्रै काम बाँकी छन्। मेरो पदावधिभित्रै काम सक्ने लक्ष्य लिएको छु”, रिजालले भने।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेर सामुदायिक वनको आयस्रोत बलियो बनाउने पनि समितिको उद्देश्य हो । वर्षमा २० हजार पर्यटकले पार्क भ्रमण गरेको तथ्यांक छ। आगन्तुक पर्यटक मनमोहक दृश्य हेर्न र हरियालीमा रमाउन पाउँदा खुसी हुने गरेका छन्। कोइलावास नाका भारत र राप्तीको प्रवेशद्वार हो।

यो पार्क व्यवस्थित गर्नसके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ। भारतमा विष्णु र शिव भगवान् मान्नेको ठूलो समुदाय छ। तिनलाई राप्तीको प्रवेशद्वार कोइलावास नाका हुँदै नेपालका धार्मिकस्थलमा ल्याउन सकिने र यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा हेर्न थालिएको स्थानीय किशोर गुप्ताले बताए।