नेपालमा उत्पादन भइरहेका लेमिनेटेड बोरा ‘रिसाइकल’ गर्न उच्च खर्च लाग्ने र नस्ट गर्दा वातावरणमा असर पर्ने विज्ञहरूको आवाज नसुनी सरकारले अध्ययनबिना नै किन सिमेन्ट प्याकेजिङमा त्यही बोरा अनिवार्य गर्यो?
काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले २०८१ माघ ११ गते सिमेन्ट उद्योगहरूलाई अबदेखि लेमिनेटेड बोराको प्रयोग गर्न पत्र पठायो। तर विभागको मापदण्डअनुसारका बोरा नेपालका दुई वटा उद्योगले मात्र उत्पादन गर्छन्। ती बोरा उत्पादन गर्ने मेसिन भने संसारभर युरोपियन मुलुक अष्ट्रियाको एक कम्पनीले पुर्याउँछ।
विभागले सिमेन्टका ‘प्याकेजिङ’का लागि अनिवार्य लेमिनेट बोरा प्रयोग गर्नुपर्ने निर्णय गर्दा नेपालमा एउटा मात्र उद्योगले नेपाल गुणस्तर (एनएस) चिह्न प्राप्त बोरा उत्पादन गर्थ्यो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ असार ३१ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ६ महिनाभित्र सिमेन्ट उद्योगले अनिवार्य एनएस चिह्न प्राप्त लेमिनेटेड बोरा प्रयोग गर्न भनेको थियो।
यसअघि, २०६९ सालमा नै सरकारले सिमेन्ट प्याकेजिङमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रोकिएको थियो। रिट निवेदन खारेज गर्ने २०७६ वैशाख ३ गते सर्वोच्चको फैसला आएपछि त्यसकै आधारमा अहिले फेरि सरकारले अनिवार्य प्रयोगको निर्णय गरेको हो।
तर यस्तो बोरा पुनःप्रयोगमा कठिनाइ भएको हुँदा पर्यावरणका लागि चुनौती बन्ने उद्योगीहरूको दाबी छ। उद्योगीको यो दाबी वैज्ञानिक छ त? नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक आलोक मिश्रा प्लास्टिकलाई पुनःप्रयोगमा ल्याउन सकिने भए पनि सिमेन्ट प्याकेजिङमा लेमिनेटड बोरा भने उचित नहुने बताउँछन्।
“लेमिनेटेड बोरालाई अनिवार्य गर्नु राम्रो होइन, तर यो मेरो व्यक्तिगत कुरा भयो। विभागको तर्फबाट भन्नुपर्दा अदालतको आदेश लागू गर्नैपर्ने हुन्छ, यसमा विमति राख्न मिल्दैन,” उनी भन्छन्, “यहाँभन्दा बढी मैले बोल्ने कुरा केही छैन।”
गत असारमा राजपत्रमा सिमेन्ट प्याकेजिङमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना आउँदा भैरहवास्थित जगदम्बा सिन्थेटिक्सले मात्र त्यस्तो बोरा उत्पादन गर्थ्यो। अहिले विराटनगरमा रहेको पशुपति सिनप्याक इन्डस्ट्रिजले पनि विभागले तोकेको मापदण्डअनुसारको बोरा उत्पादन गर्छ। सरकारको निर्णयले यी दुईबाहेक बोरा उत्पादन गर्ने अरू दर्जनभन्दा बढी उद्योगको बजार खोसिएको छ।
नेपाल बोरामा आत्मनिर्भर छ, यसको खपतको मुख्य आधार सिमेन्ट उद्योगहरू नै हुन्। सरकारको निर्णयले बोरा उद्योगहरू प्रभावित भएको उद्योगी बताउँछन्। “देशमै काम गर्छु भनेर पढाइ सकाएर भारतबाट फर्किएँ, मेरो उद्योगमा कर्मचारी र श्रमिक गरी सयभन्दा बढीले रोजगारी पाएका छन्,” युवा उद्योगी आशुतोष अग्रवाल भन्छन्, “बजार नै खोसिएपछि उद्योग सर्भाइब हुन समस्या हुन्छ।”
संसारभर समग्रमा खपत हुने सिमेन्टको बजारमा एक्लै ५१ प्रतिशतभन्दा बढी हिस्सेदारी राख्ने चीनले सिमेन्ट प्याकेजिङ गर्न बहुविकल्प दिएको छ। चीनमा २०२० अक्टोबरमा आधिकारिक रूपमा सिमेन्ट प्याकेजिङ गरिने बोराका लागि मापदण्ड जारी गरिएको थियो। चीनमा प्लास्टिक लेमिनेटेड, कागजको र कागज–प्लास्टिकको कम्पोजिट गरी तीन प्रकारका बोराहरूलाई अनुमति दिइएको छ। यी बोरा ‘ब्लक बटम भल्भ’ (पिँध चौडा) भएको हुनुपर्छ।
नेपालसँगको सबभन्दा ठूलो व्यापारिक साझेदार रहेको अर्को छिमेकी भारतमा २००० नोभेम्बरमा सिमेन्ट भर्ने बोराको मापदण्ड संशोधन गरिएको छ। त्यहाँ सिमेन्टका बोराहरूको निर्माणमा प्रयोग हुने फाइबर उच्च घनत्वको पोलिथिलिन टेप/पोलिप्रोपाइलिन टेपबाट बुनेको हुनुपर्छ। त्यो बुन्नमा प्रयोग गरिने टेपहरूको चौडाइ २.५ मीमी हुनुपर्छ।
यो नेपालमा प्रचलनमा ल्याइएको न्यून घनत्व पोलिथिलिन टेप/पोलिप्रोपाइलिनको लेमिनेटेड बोराभन्दा थोरै फरक छ। बोरा बुन्नमा प्रयोग हुने फाइबर घनत्व अधिक हुँदा पुनःप्रयोग गर्न सहज हुने जानकारहरू बताउँछन्।
बोरा उद्योगीहरूको संघ बोरा एसोसिएसनका अध्यक्ष दिनेश गाडियाले लेमिनेटेड बोरा मात्र सिमेन्ट उत्पादनका लागि निर्धारण गरिनु नेपालमा रहेका अन्य बोरा उत्पादक उद्योगहरूका लागि ठीक नभएको बताए। बरु, विकल्पमा लेमिनेटेड र पोलिप्रोपलिन दुइटै बोरा राख्दा मनासिब हुने उनको भनाइ छ।
नेपालका १५ वटा बोरा उद्योगमा पाँच हजारभन्दा बढी कर्मचारी र श्रमिकहरू आश्रित भएको बोरा एसोसिएसनले जनाएको छ। सरकारको निर्णयले यी उद्योगमध्ये १३ वटा संकटमा जाने उद्योगीहरूको गुनासो छ।
अस्ट्रियन कम्पनीको स्वार्थ!
लेमिनेटेड बोरा प्रयोग अनिवार्य गर्दा शंकर समूह अन्तर्गतको जगदम्बा सिन्थेटिक्सलाई फाइदा थियो। तर अब अर्को पनि लेमिनेटेड बोरा उत्पादक उद्योग आएपछि दुई वटा प्रतिस्पर्धी भएका छन्। तर यस्तो बोरा उत्पादन गर्ने मेसिन, त्यसमा चाहिने पार्टपुर्जा र मर्मत सेवा भने संसारभर नै एउटा युरोपियन कम्पनीले मात्र गर्छ।
युरोपियन मुलुक अष्ट्रियाको स्टारलिंजर कम्पनीले यस्तो मेसिन आपूर्ति गर्छ। यस कम्पनीका एजेन्टले नेपालमा बजार विस्तारमा चासो राख्दै आएका छन्। सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गराउन २०६८ सालमा मुद्दा परेको थियो।
त्यस बेला अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू सरोकारवाला निकायलाई विपक्षी बनाई सर्वोच्चमा रिट हालेका थिए। ‘लेमिनेसन गरिएको बोरामा मात्र सिमेन्ट प्याकिङ र बिक्री वितरण गर्नू/गराउनू’ भनी विपक्षीको नाममा आदेश जारी गर्न न्यौपानेले माग गरेका थिए। सर्वोच्चले २०६९ वैशाख ३१ गते विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।
मुद्दा विचाराधीन नै हुँदा वातावरण मन्त्रालयले २०६९ जेठ १५ गते सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना राजपत्रमा प्रकाशित गरेको थियो। त्यसको दुई हप्तापछि असार १ गते उद्योग विभागले ९० दिने सार्वजनिक सूचना प्रकाशित गरी त्यस अवधिभित्र लेमिनेटेड बोरा प्रयोगमा ल्याउन भनेको थियो।
यस सूचनाविरुद्ध उद्योगी ताराप्रसाद पोखरेलले सर्वोच्चमा रिट हालेका थिए। सर्वोच्चले २०६९ भदौ १३ गते अन्तरिम आदेश जारी गर्दै उक्त सूचना कार्यान्वयन नगरी–नगराई यथावत् राख्न भनेको थियो।
२०७४ चैत १९ गते सर्वोच्चले शुरू (२०६८ साल) को मुद्दामा विपक्षीहरूका नाउँमा निर्देशनात्मक आदेश जारी गर्दै लेमिनेटेड बोरा प्रयोग गर्न भन्यो। सर्वोच्चको आदेशमा भनिएको थियो, “लेमिनेसन नगरिएका बोरामा प्याकिङ भई असावधानीपूर्वक ओसारपसार एवं बिक्री वितरण हुने अवस्थामा नियन्त्रण कायम गरी प्रभावकारी रूपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनू।”
उद्योगी ताराप्रसाद पोखरेलले २०६९ सालमा हालेको रिट २०७६ वैशाख ३ गते अदालतले खारेज गरिदियो। रिट खारेजसँगै उद्योग विभागले लेमिनेटेड बोरा अनिवार्य प्रयोगका लागि राजपत्रमा प्रकाशित सूचनाले वैधता पायो।
त्यस बेला केही उद्यागहरूले लेमिनेटेड बोरा प्रयोगमा ल्याइसकेका थिए। तर अधिकांश सिमेन्ट उद्योगीको अनिक्षाका कारण सफल भएन। यसपालि भने २०७६ सालकै आदेशमा टेकेर सरकारले लेमिनेटेड बोरा अनिवार्य प्रयोग गराउन पहल गरेको छ।
नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंह अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा लेमिनेटेड बोरा लागू गर्न लागिएको बताउँछन्। एनएस चिह्न प्राप्त सिमेन्ट कम्पनीले प्रयोग गर्ने बोराको मापदण्ड तय गरेर सूचित पनि गरिएको उनको भनाइ छ।
के ‘रिसाइकल’ हुँदैन?
सिमेन्ट तथा बोरा उद्योगीले लेमिनेटेड बोराको पुनः प्रयोगमा नै प्रश्न उठाउँदै आएका छन्। लेमिनेटेड बोरा बनाउँदा ‘लो–डेन्सिटी पोलिथलेन’ मिसाएपछि रिसाइकलको सम्भावना नहुने बोरा एसोसिएसनका सदस्यसमेत रहेका अग्रवालको भनाइ छ। यसलाई ‘प्रोपर डिस्पोज’ (सुरक्षित नष्ट) गर्न पनि कठिन हुने उनी बताउँछन्।
सिमेन्टमा पहिलेदेखि प्रयोगमा आइरहेको बोरा पोलिप्रोपलिनबाट बन्छ। यसलाई रिसाइकल गरेर नयाँ सामग्री उत्पादन गर्न, डोरी बनाउन, बालुवा वा माटो भरेर प्रयोग गर्न सकिने उद्योगी आशुतोष अग्रवाल बताउँछन्। प्रोसेसिङ गरेर पोलिप्रोपलिनबाट कुर्सी र जुत्ताको सोलजस्ता बस्तु बनाइरहिएको उनको भनाइ छ।
सिमेन्ट उद्योग संघका अध्यक्ष रघुनन्दन मारु वातावरणमा सिमेन्टको धुलोले असर पारेको भन्दै लेमिनेटेड बोराको वकालत शुरू भएको र यस्तो बोरा प्रयोग गर्दा उल्टो परिणाम निस्कने बताउँछन्। “कसैले पर्यावरणको दृष्टिकोणले यसलाई अनिवार्य गर्नैपर्ने भन्छ भने त्यो होइन,” उनी भन्छन्, “यो रिसाइकल हुँदैन।”
रसायनशास्त्री प्राडा रामेश्वर अधिकारी भने सबै प्रकारका प्लास्टिक रिसाइकल हुने, तर लागत फरक पर्ने बताउँछन्। “पोलिप्रोप्लिन (सिमेन्टमा पहिलेदेखि प्रचलित), हाई डेन्सिटी (उच्च घनत्व) पोलिथिलिन वा लो डेन्सिटी (न्यून घनत्व) पोलिथिलिन जुनसुकै होस् रिसाइकल हुन्छ,” प्राडा अधिकारी भन्छन्, “फलानो प्लाष्टिक रिसाइकल गर्न सकिँदैन भनेर कसैैले भन्छ भने त्यो खर्चको कारणले हुन्छ। रिसाइकल लागत नयाँ दानाको प्रयोगभन्दा बढी पर्ने भएपछि कसैले किन त्यो काम गर्छ?”
कुनै पनि प्लाष्टिकलाई सुरक्षित नष्ट सम्भव भए पनि त्यसबाट उत्पन्न हुने पानी र कार्बनलाई व्यस्थित गर्नु महत्त्वपूर्ण रहेको अधिकारी बताउँछन्। कार्बनलाई सोस्न पर्याप्त मात्रामा रूख भएन भने प्लास्टिक जलाउँदा पर्यावरण र मानव स्वास्थ्यलाई नकारात्मक असर पर्ने उनको भनाइ छ।
लेमिनेटेड बोराबाट पनि धुलो उड्ने उद्योगीहरू बताउँछन्। सिमेन्ट भर्ने बेलामा बोराभित्र ‘हट एयस प्रेसर’ (तातो हवाको दबाब) बन्नुपर्छ। सिमेन्ट उद्योगहरूले यसअघि प्रयोग गर्दै आएको बोरामा यस्तो दबाब आफै बनेर सिमेन्ट भर्न सजिलो हुन्छ। लेमिनेटेड बोरामा भने यस्तो दबाब व्यवस्थापन गर्न प्वालहरू बनाइन्छ।
“सिमेन्ट बोराबाट झरेर वातावरण प्रदूषित नगरोस् भनेर लेमिनेटेड बोरा लागू गरिएको हो,” एक उद्योगी भन्छन्, “जब (बोरामा) प्वाल नै पारिन्छ भने सिमेन्ट बोराभन्दा बाहिर नझार्ने उद्देश्य कसरी पूरा भयो त?”
लेमिनेटेड बोरा ओसारपसार पनि झन्झटिलो हुने उद्योगीहरूको भनाइ छ। साबिक किसिमको बोरा ढुवानी वा निर्माणस्थलमा प्रयोग गर्दा हातले समातेर सजिलै काम गर्न सकिने, तर लेमिनेटेड बोरा चिप्लो भएकाले ‘ह्याण्डल’ गर्न असहज हुन्छ। सिमेन्ट उत्पादक संघका पूर्वअध्यक्ष अध्यक्ष धु्रव थापा लेमिनेटेड बोराको प्रयोगपछि सिमेन्टको उत्पादन लागत कम्तीमा प्रतिबोरा १० रुपैयाँले बढ्ने पनि बताउँछन्।
२०७६ सालमा सिमेन्टमा लेमिनेटेड बोरा अनिवार्य गरिँदा केही उद्योगले प्रयोगमा ल्याएर अव्यवहारिक भएपछि निरन्तरता नदिएको थापाको दाबी छ। “अदालतको आदेशअनुसार सरकारले यसलाई लागू गरेको हुँदा विरोध गरेर निष्कर्ष निस्किँदैन, तर यो अव्यवहारिक छ। पर्यावरणमा योगदान पनि हुँदैन,” उनी भन्छन्, “उद्योगहरू संयुक्त निवेदक भएर मुद्दा दायर गर्ने किसिमले कानून व्ययसायीहरूसित परामर्शमा छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
