काठमाडौँ– शंकर ग्रुपले भैरहवामा सञ्चालन गरेको जगदम्बा सिन्थेटिक्स प्रालि नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त ‘लेमिनेटेड’ बोरा उत्पादन गर्ने नेपालको एक मात्र उद्योग हो। यो उद्योग अहिले यसकारण चर्चायोग्य भयोकि, नेपाल गुणस्तर तथा नापतौल विभागले माघ ११ गते सिमेन्ट प्याकेजिङमा एनएस प्राप्त लेमिनेटेड बोरा प्रयोगलाई अनिवार्य गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार ३१ गते सिमेन्ट प्याकेजिङमा यस्तो बोरा अनिवार्य प्रयोग गर्नुपर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। त्यसको ६ महिनापछि यो व्यवस्था अनिवार्य लागू गर्न लागिएको हो।
बोरा उत्पादक उद्योग देशभरि १५ वटा छन्। तर सरकारको मापदण्डमा पर्ने उद्योग जगदम्बा सिन्थेटिक्स मात्र हो। विराटनगरस्थित पशुपति सिनप्याक इन्डस्ट्रिजले पनि लेमिनेटेड बोरा उत्पादन गर्छ, तर यसले एनएस चिह्न पाइसकेको छैन। यही कारण सरकारको निर्णयमा सिमेन्ट र बोरा उत्पादक उद्योगहरूले सवाल उठाएका छन्।
गुणस्तर तथा नापतौल विभागले अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्न भन्दै गुणस्तरसमेत तोकिएको पत्र माघ दोस्रो साता नै सिमेन्ट उद्योगहरूलाई पठाइसकेको छ। अब सिमेन्ट उद्योगहरूले भित्रबाट खास किसिमको प्लास्टिक जडित बोरा मात्र प्रयोग गर्नुपर्ने हुन्छ।
विभागका प्रवक्ता प्रभातकुमार सिंहका अनुसार विराटनगरस्थित पशुपति सिनप्याक इन्डस्ट्रिजले एनएसका लागि निवेदन दिइसकेको छ। उक्त निवेदन प्रक्रियामा रहेको सिंह बताउँछन्। उद्योग मन्त्रालयले असारमा नै राजपत्रमा सूचना प्रकाशित गरेर लेमिनेटेड बोरा प्रयोग अनिवार्य गरेको र विभागले अहिले ‘एनएस स्ट्यान्डर’ मात्र तय गरिदिएको उनको भनाइ छ। यो विषय वातावरण मन्त्रालयसँग सम्बन्धित भएको पनि उनी बताउँछन्।
“वातावरण मन्त्रालयले लेमिनेटेड बोरामा सिमेन्ट र चुनजन्य वस्तु प्याकिङ गर्नुपर्छ भनेर अनिवार्य गर्यो। पछि विभिन्न अदालती कारबाहीहरूको क्रममा अदालतले स्ट्यान्डर (गुणस्तर) बनाइदिन भनेको थियो,” सिंह भन्छन्, “अहिले वाणिज्य मन्त्रालयले यसलाई लागू गर्ने भनेपछि सरकारको निर्णयअनुसार नेपाल स्ट्यान्डर कायम भएको हो। अब यसलाई विभागले कार्यान्वयन गराउँदैछ।”
यो विषय नयाँ नभई पहिलेदेखि नै लागू भएको र बीचमा अदालतको अन्तिरिम आदेशहरूले रोकिएको उनी बताउँछन्। यसबाट कुनै उद्योगी वा व्यवसायीलाई हुने व्यापारिक लाभ र हानिबारे आफूहरूलाई थाहा नभएको सिंहको भनाइ छ।
उनले भनेजस्तै, सरकारले २०६९ सालमै सिमेन्ट प्याकेजिङमा लेमिनेटेड बोरा प्रयोगको व्यवस्था लागू गर्ने प्रयास गरेको थियो। तर त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो।
अदालतमा मुद्दा, अनि निर्णय
लेमिनेटेड बोरामा सिमेन्ट प्याकेजिङको विषय २०६८ सालमै उठेको हो। अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले त्यस बेला नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वातावरणसहित पाँच मन्त्रालय र गुणस्तर तथा नापतौल विभागसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट हालेका थिए। उनले लेमिनेसन गरिएको बोरामा मात्र सिमेन्ट प्याकेजिङ गर्न/गराउन विपक्षीहरूको नाममा आदेशको माग गरेका थिए।
सर्वोच्चले २०६९ वैशाख ३१ गते विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो। मुद्दा सुनुवाइकै क्रममा रहेको बेला, वातावरण मन्त्रालयले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने भन्दै २०६९ जेठ १५ गते राजपत्रमा सूचना प्रकाशित गरेको थियो । त्यसपछि, उद्योग विभागले २०६९ असार १ गते पत्रिकामा सूचना प्रकाशित गरी ९० दिनभित्र लेमिनेटेड बोरा प्रयोगमा ल्याउन भनेको थियो।
उद्योगी ताराप्रसाद पोखरेलले उक्त सूचना खारेज गराउन माग गर्दै सर्वोच्चमा रिट हाले। सर्वोच्चले २०६९ भदौ १३ गते अन्तरिम आदेश जारी गर्दै उक्त सूचना कार्यान्वयन नगरी–नगराइ यथावत् राख्न भन्यो।
अधिवक्ता न्यौपानेले २०६८ सालमा हालेको रिटमा २०७४ चैत १९ गते फैसला गर्दै सर्वोच्चले सरकारलाई लेमिनेट बारो प्रयोगको व्यवस्था मिलाउन आदेश दियो। “लेमिनेसन नगरिएका बोरामा प्याकिङ भई असावधानीपूर्वक ओसारपसार एवं बिक्री वितरण हुने अवस्थामा नियन्त्रण कायम गरी प्रभावकारी रूपमा अनुगमन, नियमन र नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउनू,” विपक्षीहरूका नाउँमा भएको निर्देशनात्मक आदेशमा भनिएको थियो।
सर्वोच्चले २०७६ वैशाख ३ मा उद्योगी ताराप्रसाद पोखरेलले उद्योग विभागको सूचना कार्यान्वयन नगराउन दिएको रिट खारेज गरिदियो। योसँगै त्यसबेलाको अन्तरिम आदेश पनि निष्क्रिय भयो। त्यसपछि, उद्योग विभागले २०७६ कात्तिक २७ गते सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना फेरि जारी गरेको थियो।
यो सूचना प्रकाशित गर्दा नेपालमा सिमेन्टको भाउ उच्च थियो। छिमेकी मुलुक भारतको बजारमा भन्दा सिमेन्टको मूल्य नेपालमा झन्डै दोब्बर थियो। सिमेन्ट उद्योगीहरूले लेमिनेटेड बोरा अनिवार्य गर्दा मूल्य अझ बढ्ने भन्दै विरोध जनाए। आवश्यक परिमाणमा लेमिनेटेड बोरा स्वदेशमा उत्पादन नहुने हुँदा आयातित बोरा प्रयोगबाट सिमेन्टको लागत बढ्ने नेपाल सिमेन्ट उत्पादक संघको भनाइ थियो। त्यही कारण देखाएर संघले तत्काल लेमिनेटेड बोरा प्रयोग गर्न नसकिने जनाएको थियो।
उत्पादन लागत बढ्ने भएकोले र नेपालको सिमेन्ट उद्योगको आवश्यकता धान्ने नेपाल गुणस्तर चिन्ह भएको लेमिनेटेड बोरोको उत्पादन नै नभएकोले सरकारको निर्णय अव्यवहारिक भएको त्यस बेला आफूहरूले भनेको संघका तत्कालीन अध्यक्ष धु्रव थापा बताउँछन्। यद्यपि, त्यसपछि केही सिमेन्ट उद्योगले लेमिनेटेड बोराको प्रयोग शुरू गरेका थिए। पछि यसले निरन्तरता पाउन सकेन।
जगदम्बाको ‘मोनोपोली’को चिन्ता
२०७४ चैतमा सर्वोच्चको फैसला आउनुभन्दा करिब एक महिनाअगाडि तत्कालीन ‘शंकर सिन्थेटिक’ले लेमिनेटेड बोरा उत्पादनको क्षमता विस्तार गरेको विभिन्न सञ्चारमाध्यमहरूमा समाचार आएको थियो। मासिक ४० लाख बोरा उत्पादन क्षमतालाई बढाउँदै मासिक दुई करोड लेमिनेटेड बोरा उत्पादन गर्न थालेको कम्पनीका प्रबन्ध निर्देशक सुलभ अग्रवालले जनाएका थिए।
यसको लागि डेढ अर्ब रूपैयाँ लगानी थप गरेको पनि कम्पनीको भनाइ थियो। अहिले यो उद्योग जगदम्बा सिन्थेटिक्सको नामले सञ्चालित छ। अहिले एनएस चिह्न प्राप्त लेमिनेटेड बोरा उत्पादन गर्ने यो एक मात्र उद्योग हो।
सिमेन्ट उद्योगीहरू लेमिनेटेड बोरा अनिवार्य गरिँदा सिमेन्टका लागि चाहिने बोराको मूल्यमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा सिन्थेटिक्सको ‘मोनोपोली’ हुने बताउँछन्। सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारु सरकारको निर्णयले बोराको मूल्य मनोमानी लगाउन पाउने एकाधिकारको अवस्था सिर्जना भएको बताउँछन्।

“म उद्योगको नाम लिन्नँ, तर कुनै एउटा उद्योगलाई फाइदा हुनेगरी यो विषय आयो। यसबाट सिमेन्टको लागतमा कति फरक पर्छ अहिले भन्न पनि सकिँदैन,” उनी भन्छन्, “एक मात्र लेमिनेटेड बोराको उत्पादक जो हो, उसको मोनोपोली हुने नै भयो।” अहिले सिमेन्टको मूल्य धेरै भयो भनेर गुनासो आइरहेको बेला मूल्य अझ बढाउने गरी लेमिनेटेड बोराको प्रावधान आएको मारु बताउँछन्। “कसैले पर्यावरणरको दृष्टिकोणले यसलाई अनिवार्य गर्नैपर्ने भन्छ भने त्यो पनि होइन,” उनी भन्छन्, “यो बोरा रिसाइकल पनि हुँदैन।”
यी बोराको लागत आकलनभन्दा बढी हुने सिमेन्ट उत्पादकहरूको चिन्ता छ। यस्तो बोरा भारत वा सार्क मुलुकबाट आयात गर्दा भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी मूल्यमा १९.७८ प्रतिशत र अन्य मुलुकबाट आयात गदा २४.३० प्रतिशत कर लाग्छ।
बोरा उत्पादक संघका अध्यक्ष दिनेश गाडियाले लेमिनेटेड बोरा मात्र सिमेन्ट उत्पादनको लागि निर्धाण गरिनु नेपालमा रहेका १५ बोरा उत्पादक उद्योगको दृष्टिकोणबाट बेठिक भएको बताउँछन्। “पहिला दुईटै विकल्प थियो, सधारण र लेमिनेटेड। हामीले यसलाई विकल्प खुल्ला राख्न र एउटा मात्र विकल्प अनिवार्य नगर्न भन्छौँ,” गाडिया भन्छन्, “मुख्य रूपमा यो सिमेन्ट उद्योगीहरूले बोल्ने विषय हो, प्रयोग त उनीहरूले गर्ने हो।”
इन्जिनियरहरू लेमिनेटेड बोरामा प्याक गरिएको सिमेन्टमा हावा र आद्रता प्रवेश नगर्ने भएकाले समान्य बोरामा प्याक गरिएको भन्दा बढी समयसम्म गुणस्तर रहने बताउँछन्। बोराबाट सिमन्टको धुलो वातावरणमा फैलिने समस्या पनि यसमा न्यून हुन्छ।
तर सिमेन्ट प्रयोग गरेपछि लेमिनेटेड बोराको व्यवस्थापन पर्यावरणीय दृष्टिकोणले निकै कठिन हुन्छ। यसलाई रिसाइकल र व्यवस्थित तरिकाले नष्ट गर्न नसकिने उनीहरूको भनाइ छ।