२०६० सालदेखि खास गरी काठमाडौँ उपत्यकाका समुदायले ज्यापु दिवस मनाउन थाले। यो दिवसको जन्मदाता एक प्रकारले तीर्थराम नै हुन्।
नेपाली राजनीतिले जन्माएका अनि राजनीतिमै जन्मिएका सयौँ नेतामध्ये केही त्यस्तो जीवन बाँचेका नेताहरू हुन्छन्, जसले निष्ठा र इमानको राजनीतिलाई पुस्तौँपुस्ता अजर अमर राख्न योगदान गर्छन्। त्यस्तै नेताहरूमध्ये एक नेपाली कांग्रेसका पुराना नेता तीर्थराम डंगोल अब हामीमाझ रहेनन्।
काठमाडौँको रैथाने नेवार समुदायमा जन्मिएका डंगोल नेपाली राजनीतिका एक आदर्श नेता पनि हुन्। स्वास्थ्य अवस्था अनि पार्टीभित्रका अनेक आरोह अवरोहबीच केही समययता उनी राजनीतिमा सक्रिय थिएनन्, तथापि नेपाली कांग्रेस र राजनीतिक आन्दोलनमा उनको योगदान सदा स्मरणीय रहनेछन्। ७७ वर्षीय डंगोल मधुमेहसँग लामो समयदेखि लड्दै आएका थिए।
२००४ सालमा काठमाडौँमा जन्मिएका डंगोलले विद्यार्थीवयबाटै राजनीतिमा पाइला सारे। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै पार्टी राजनीतिमा जोडिएका डंगोल २०६२-०६३ को जनआन्दोलनसम्म आइपुग्दा काठमाडौँ क्षेत्रको ‘कमान्डर’ रहे।
उनी जन्मिएको समय फरक थियो। जहानियाँ राणाशासकको निरंकुश शासनले निसास्सिएको काठमाडौँ खाल्डोमा जन्मिएर पनि प्रजातान्त्रिक लडाइँको बाटो समाउनु कम्ती चानचुने कुरो थिएन।
नेपाली कांग्रेसको प्रादुर्भाव र डंगोलको जन्म लगभग एकैएकै समयमा भएको थियो। त्यो बेला नेपालमा पनि प्रजातान्त्रिक आन्दोलनको बतास चल्न शुरू भइसकेको थियो। त्यसको लगभग तीन वर्षपछि नेपालमा प्रजातन्त्रको उदय भयो। तर त्यो प्रजातन्त्र तन्नेरी हुन नपाउँदै फेरि दरबारको पञ्चायती फन्दामा पर्यो। डंगोलका किशोर पाइला त्यही पञ्चायती छायामा तन्नेरी हुँदा नहुँदै उनी नेपाली कांग्रेसको राजनीतिमा जोडिइसकेका थिए।
तत्कालीन तन्नेरी नेताहरू गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह अनि कृष्णप्रसाद भट्टराईहरूको राजनीतिक तेजोवधलाई डंगोलका किशोर दिमागले चाँडै छोयो। विद्यार्थी जीवनबाटै राजनीतिमा अघि सरेका डंगोलले आफू बाँचेको राजनीतिक जीवनभरि त्यसको गलत उपयोग र प्रयोग कहिल्यै गरेनन्। जति पाए, त्यसमै सन्तोष गरे। जेजति भयो, त्यसमै सन्तुष्ट भए। राजनीतिमा जब महत्त्वकांक्षा हुँदैन, तब जो कसैको राजनीतिक जीवन कञ्चन हुन्छ। बीपीका राजनीतिक दर्शन अनि गिरिजाबाबुको निकट भएर राजनीतिको बाटोमा हिँड्दै जाँदा उनी विसं. २०४३ मा काठमाडौँ नगरपालिकाको उपप्रमुखमा निर्वाचित भए।
त्यसपछि २०५६ को आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भए र २०६४ मा संविधानसभाको सदस्य पनि भए। निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-०६३ मा काठमाडौँ जिल्लाका सभापतिसँगै उनले उपत्यकाको आन्दोलनको कुशल नेतृत्व पनि गरे। यो एउटा ऐतिहासिक जिम्मेवारी पनि थियो। फेरि घाँटी निमोठिएको लोकतन्त्र फर्काउन शुरू भएको यो आन्दोलनले नेपालको राजनीतिक इतिहासमा एउटा त्यस्तो कदम उठाउन पुग्यो, जसले २४० वर्षदेखिको वंशीय राजशाहीकै परम्परालाई इतिहासमा सीमित पारिदियो। त्यसैको जगमा २०७० सालमा गठन भएको दोस्रो संविधानसभाले नयाँ संविधान बनायो र देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बन्यो।
इतिहासका यी वेगहरूमा डंगोलका योगदानहरू पनि निकै छचल्किएका छन्। त्यसअघि लोकतन्त्रका लागि भएका कैयौँ आन्दोलनका क्रममा उनले जेलनेल पनि भोगिसकेका छन्। उनले पार्टीसँग कहिल्यै केही मागेनन्, राज्यले के दियो, के दिएन भनेर कहिल्यै हिसाबकिताब खोजेनन्। पार्टीको गुट अनि उपगुटका गणितमा कहिल्यै मिसिएनन्। संजोगले जे पाए, त्यसमै सन्तोष गरिरहे। पार्टी र राजनीतिको आदर्शबाट भने कहिल्यै विमुख भएनन्।
राजनीतिसँगै आफू जन्मिएको समुदाय अनि समाजसँग पनि सधैँ निकट रहिरहे। आफूले सके जति समाजका लागि निकै योगदान गरे। खास गरी काठमाडौँ उपत्यकाको नेवार समुदायमा उनले केही ऐतिहासिक काम पनि गरेका छन्। २०५६ को मध्यावधि निर्वाचनमा काठमाडौँ क्षेत्र नं ७ बाट निर्वाचित डंगोल तत्कालीन गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा स्वास्थ्य राज्यमन्त्री पनि भएका थिए। त्यो बेला काठमाडौँका ज्यापु समुदायले आफ्नो परम्परा जोगाउन गरिरहेको संघर्षसँग उनी नजिकैबाट परिचित थिए।
खास गरी त्यो बेला ज्यापु समुदायको नास:पूजाको गुठीमा रहेका बाजागाजाहरूको मर्मत गर्नसमेत पैसा थिएन। त्यसका लागि उनीहरूले चन्दा उठाउनेदेखि आफ्नो खर्च कटौती गरेरसमेत पैसाको जोहो गरिरहेका थिए। त्यसका लागि डंगोलले सरकारमा रहेर निकै भूमिका खेले। डंगोलकै पहलमा २०५७ सालको बजेटमै त्यसका लागि पैसा छुट्टाइयो। त्यो बेला ज्यापु परम्परा संरक्षणका लागि सरकारले प्रतिटोल २० हजारका दरले रकम छुट्टयाएको थियो। समयअनुसार त्यो बेला यो रकम निकै ठूलो राशि थियो। यसपछि यसको कार्यान्वयन र निरन्तरताका लागि डंगोल पछिसम्मै सक्रिय रहे, जसको फलस्वरूप २०६० सालदेखि खास गरी उपत्यकाका समुदायले ज्यापु दिवस मनाउन थालेका छन्। यो दिवसको जन्मदाता एक प्रकारले तीर्थराम नै हुन्।
नेपाली कांग्रेसले समेत त्यागी, इमानदार, संघर्षशील, कर्मठ र देशभक्त सिपाहीका रूपमा डंगोललाई चिनाउँदै आएको छ। उनले जीवनभरि आफूले केही पनि नचाहेको कुरा भएका सबै पैतृक सम्पत्ति पनि समाजसेवामा लगाएबाट बुझिन्छ। आफ्नी पत्नीको समेत नाम जोडेर ‘तेज–तीर्थ ट्रस्ट’मार्फत उनले आफ्नो सारा जीवन अनि जीवनका सबै कमाइ समाजसेवामै अर्पित गरे। खास गरी यो ट्रस्टले मानवअधिकार,अभिव्यक्ति स्वतन्त्रता अनि नेपाल भाषा र साहित्यमा योगदान गर्दै आएको छ। ती क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पनि उसले सम्मान गर्दै आएको छ।
राजनीतिमा लागेर उच्च महत्वकांक्षाकै कारण कैयौँ राजनीतिज्ञको जीवन व्यर्थै बितेको छ वा त्यसको अवसान मात्रै भएको छ। तर तीर्थराम डंगोल आफूले जति जीवन बाँचे, ती सबै बिना कुनै स्वार्थ राजनीतिमार्फत समाज र आफ्नै समुदायका लागि बाँचे। राजनीतिमा यो खालको निष्ठा, त्याग र समर्पण बिरलै पाइन्छ र यस्ता नेताहरू पनि पार्टीमा बिरलै जन्मिन्छन्।
‘प्रजातन्त्रको पुनर्स्थापना (२०४६ साल) पूर्वको कुरा गर्ने हो भने राजनीतिमा लागेर मैले जुन भूमिका पाएँ, जुन ठाउँसम्म पुग्न सफल भएँ, त्यसको अपेक्षा म स्वयंलाई थिएन। तर नेपाली जनता तथा साथीभाइको सल्लाह, सहयोग र अनुकम्पाले यो ठाउँसम्म आइपुग्न सफल भएँ,’ आफ्नोबारे उनी आफैद्वारा रचित ‘काठमाण्डौं कांग्रेस र तीर्थराम’ नामक किताबमा उनले लेखेका छन्।
राजनीतिलाई सेवाका रूपमा अपनाउनेहरूले तपाईंलाई तीर्थकै रूपमै सम्झिउन्। हार्दिक श्रद्धाञ्जली तीर्थराम!
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
