भारतबाट शुरू भएको कलिङ्ग साहित्य महोत्सवको पहिलो काठमाडौँ संस्करण शुरू भएको हो।
काठमाडौँ- शनिवारदेखि ललितपुरको होटेल हिमालयमा ‘कलिङ्ग साहित्य महोत्सव’ शुरू भएको छ। असोज २९ र ३० (आज र भोलि) गते दुई दिन चल्ने यो आयोजन भारतमा एक दशकदेखि निरन्तर हुँदै आएको ‘कलिङ्ग साहित्य महोत्सव’को पहिलो काठमाडौँ संस्करण हो। भारतबाहिर यो साहित्य महोत्सवको आयोजन गर्ने योजनाअनुरूप यसपटक नेपालमा आयोजना गरिएको हो।
भारतकै अन्य साहित्यिक महोत्सवहरूमा क्षेत्रीय भाषा र साहित्य समावेश हुन नसकेपछि क्षेत्रीय नाममै भारत प्रान्तको उडिसामा सन २०१३ मा शुरू भएको थियो। यसको काठमाडौँ संस्करणमा नेपाल तथा भारतका दुई सय ५० बढी साहित्यकार, सर्जक, कवि, गीतकार र कला क्षेत्रका व्यक्तित्वहरू सामेल भइरहेको आयोजकले जनाएका छन्। नेपालमा आयोजन हुने अन्य साहित्यिक आयोजनहरूभन्दा विविधता तथा विषयवस्तुका कारण फरक र सहभागी तथा सत्रहरूको संख्याको आधारमा ठूलो रहेको आयोजकको दाबी छ।
भारतीय उपमहाद्वीपको पूर्वी समुद्र तटीय क्षेत्रमा महा नदीदेखि गोदावरी नदीको बीचमा विस्तारित करिब इशापुर्व ११०० देखि इशापुर्व २६१ सम्म कायम रहेको प्राचीन कलिङ्ग राज्यको भूक्षेत्र हालको उडिसा प्रान्तमा पर्छ। त्यसै उडिको प्रादेशिक राजधानी भुवनेश्वरबाट यस महोत्सवको शुरूवात भएर अहिले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त साहित्यिक आयोजनका रूपमा चिनिन्छ। ‘भारत र नेपाल: सभ्यताको यात्रा र आत्माको खोजी’ भन्ने प्रमुख नाराका साथ गरिन् लागेको यस महोत्सवले साहित्यिक क्षेत्रमा ऐतिहासिक महत्त्व राख्ने काठमाडौँ ‘कलिङ्ग साहित्य महोत्सव’कि निर्देशक रञ्जना निरौलाले बताइन्। उनका अनुसार यस आयोजनमा ७५ प्रतिशत वक्ता नेपालबाट रहने र बाँकी नेपाल बाहिर मुख्यरूपमा भारतबाट रहने उनले बताइन्।
“यो एउटा ख्यातिप्राप्त महोत्सव हो, जसको माध्यमले हामी नेपालका भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न खोजिरहेका छौँ। साहित्यप्रति रुचि जगाउने, पठन संस्कृतिको विकास गर्ने र नेपालका विभिन्न क्षेत्रीय भाषाका साहित्यलाई समेत प्रवर्द्धनका लागि एउटा ठूलो मञ्च प्रदान गर्ने उद्देश्य पनि यस आयोजनमा निहित छ,” निरौलाले भनिन्, “यसमा विषय र विधाका हिसाबले अलगअलग ३८ वटा सत्र सञ्चालन हुनेछन्, जसमा एक सय ८० भन्दा बढी जना नेपालका र करिब ७० जना भारतका साहित्यिक क्षेत्रका मानिसहरूले सक्रिय सहभागिता जनाइरहेका छन्।”
आयोजकका अनुसार यो महोत्सवले नेपाल र भारतबीचको साहित्य कला र संस्कृतिको साइनोको साहित्यिक आलोकमा अन्वेषण गर्नेछ। नेपाली साहित्यको विश्वव्यापीकरण यस आयोजनको अर्को मुख्य उद्देश्य रहेको भारतमा ‘कलिङ्ग साहित्य महोत्सव’का निर्देशक एवं संस्थापक रश्मि रञ्जन परीदाले बताए। “पर्यटन र मन्दिरहरूको शहर भनिने काठमाडौँ क्यासिनो र मदिराको आनन्द लिने ठाउँ मात्र होइन, यसको साहित्यिक महत्त्व पनि उच्च छ, भारतमा र अन्य मुलुकहरूमा यो बुझाइलाई स्थापित गराउन यो आयोजन एउटा महत्त्वपूर्ण कडी हुनेछ”, परीदाले उकालोलाई भने, “यस महोत्सवको माध्यमले नेपालप्रतिको धारणा र कथ्यलाई परिमार्जन गर्न खोज्दैछौँ।” सीता, बुद्ध र सगरमाथाकै बारेमा अनेकौँ आयाम अझै पनि यहाँ छुन नसकिएको उनले बताए। परीदाका अनुसार नेपालसँग यस्ता कयौँ अमूल्य साहित्यिक महत्त्वका निधिहरू रहेका छन्। यो महोत्सव यिनै सम्भावनाहरूको उठान गर्ने भएकोले महत्त्वपूर्ण र अरूभन्दा फरक रहेको उनले दाबी गरे।
‘आधार र सम्भावना हुँदाहुँदै काठमाडौँ दक्षिण एशियाको साहित्यिक केन्द्र किन नहुने ?’ काठमाडौँलाई प्रबुद्ध सहरको रूपमा चिनाउनका लागि यो आयोजन महत्त्वपूर्ण हुनेछ, महोत्सवका संस्थापक परीदाले भने, ‘नेपालमा अन्तर्राष्ट्रिय साहित्य बजारमा बिक्नेसक्ने प्रचुर विषयहरू रहेका छन्। साहित्यले सिकाउँछ, बाटो देखाउँछ, चिनाउने काम गर्छ। यसको लागि साहित्यलाई पनि त्यसै अनुरूप साहित्यिक सामग्रीको आवश्यकता हुन्छ, नेपालसँग त्यो छ।’
उडिसा र नेपालका सम्बन्धका अनेक आयामहरू रहेकोले नेपाल यस महोत्सवको लागि रोजाइमा परेको उनले बताए। हिन्दु धर्मका चार धाममध्येको एक जगन्नाथ पुरीमा नेपालसँग जोडिएका सय परम्पराहरू अझ जीवन्त रहेको परेको भनाई छ। ‘भुवनेश्वर र काठमाडौँ दुवै शिवका सहर हुन,’ उनले भने, ‘त्यसतै बौद्ध धर्मले पनि हामीलाई जोडेको छ। भारतसँगको यस्तो सम्बन्धलाई हामी साहित्यिक दृष्टिले नियाल्ने प्रयास गर्ने छौँ।’
आयोजकले जारी गरेको कार्यक्रम सूची अनुसार पहिलो दिनको उद्घाटनपछिको सत्रमा ‘भारत र नेपाल: यात्रा सभ्यता र आत्माको खोजी’ शीर्षकमा छलफल तय छ। नेपालका लेखक तुलसी दिवस र पत्रकार कनकमणि दीक्षित सहित भारतीय साहित्यकार अशोक वाजपेयीले यो सत्रमा छलफल गर्ने छन्। त्यसपछि भारत–नेपाल सभ्यताको सम्बन्ध आगामी बाटो भन्ने विषयमा विनीत कुमारसँग रणजित राई, ओम थान्वी, मनिष पुष्कले र युवराज घिमिरेले छलफल गर्ने भएका छन्। यो दिन उद्घाटनसहितको १७ वटा सत्रमा कथा, कविता, संस्कृति, लगायत विषयहरू छलफलमा राखिएका छन्। जसमा भारतीय गीतकार राजशेखर, साहित्यकार नविता श्रीकान्त, आनन्द नीलकान्तन, कवि व्योमेश शुक्ला, गीतकार एवं अभिनेता पीयूष मिश्र लगायतले छलफल सत्रहरूमा भाग लिइरहेका छन्।
सांस्कृतिक कुराहरूदेखि साहित्यका विधागत विषयहरूसम्म यसमा समेटिने निरौलाले जानकारी दिइन। दोस्रो दिन आइतवार कविता विमर्श, कविता वाचन, नेपाली भोजपुरी भाषा साहित्य, डिजिटल युगमा प्रकाशन: सम्भावना र चुनौतीहरू, लेखनमा क्षेत्रीयताको महत्त्व, भारतीय रहस्यवादी परम्परामा नेपालको पुनः भ्रमण, मिडियाको भूमिका, समाज, साहित्य र सिनेमाजस्ता विषयहरू समेटिएका छन्।
समापनसहित २० वटा बेग्लाबेग्लै सत्रहरू हुने दोस्रो दिन वक्ताहरू अशोक महेश्वरी, सत्यानन्द निरुपम, देबेश सामन्तराय, गगन गिल, प्रा डा वीणा पौड्याल, नयनराज पाण्डे, राजन मुकारुङ, प्राध्यापक विजयकान्त कर्ण पूर्व भारतीय राजदूत रञ्जित रे दीपेन्द्र के खनाल लगायतले विभिन्न भाग लिने तय रहेको आयोजकले जनाएका छन्। भाषा आयोगका सदस्य समेत रहेका साहित्यकार गोपाल अश्कले यो आयोजन नेपाली साहित्यलाई व्यापक बनाउन सघाउने आशा गरिएको प्रतिक्रिया दिए। यस महोत्सवले नेपाल र भारतको साहित्यिक, सम्बन्ध र सभ्यतालाई नयाँ विमर्श दिने विश्वास लिएको आयोजकको भनाई छ। विभिन्न आयोजकहरूको सहकार्य र प्रायोजकहरूको सहयोगमा यो महोत्सव हुन लागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
