सत्ता र शक्तिका लागि धर्मको दुरुपयोग: उहिलेदेखि अहिलेसम्म

सत्तालाई स्थायी बनाउन र जनसमर्थन प्राप्त गर्न जब धर्मलाई प्रयोग गरिन्छ, यसको आन्तरिक ‘आध्यात्मिकता’ नष्ट हुन्छ र पाखण्डको रूपमा उभिन्छ।

विश्व इतिहास हेर्दा कुनै पनि देश, समाज वा धर्ममा फासिस्ट विचारधाराले आफ्नो विचारलाई स्थापित गर्न परम्परागत धार्मिक विश्वासहरूको सहारा लिने गरेका छन्। गहिराइमा पुगेर हेर्दा भने फासिस्टहरूमा वास्तविक धार्मिक आस्था हुँदैन। मान्छेहरूलाई कज्याउन/शासन गर्नकै लागि मात्र तिनले धर्मको उपयोग गर्ने गर्छन्। तर सर्वसाधारणहरूले यस्तो कुरा भेउ पाउँदैनन्।  

धर्म तिनीहरूका लागि केवल एक उपकरण मात्र हो, जसले उनीहरूको जस्तोसुकै गैर मानवीय कार्यलाई सामाजिक स्वीकृति दिलाउन सजिलो पार्छ। पछिल्लो समय हिन्दूत्वको ललिपप देखाएर पुरानो सत्तालाई पुनः स्थापना गर्न खोज्ने नेपाली राजावादी, हिन्दूत्वकै आडमा अघोषित एकल धर्म राज्यको अभ्यास गरिरहेको भारतको भाजपा सत्ता र सबैले शक्तिशाली धर्म-आधारित प्रतीकहरूको प्रयोग गरिरहेकै छन्।

के कुरामा अत्यन्त सचेत हुनुपर्छ भने सर्वसाधारण वैदिक सनातनीहरूको चासो केबल आफ्नो धर्मको अभ्यास हो। निजी र सार्वजनिक जीवनमै कसैले केवल आफ्नो, परिवार र समाजको मानसिक शान्ति र मनोरञ्जनका लागि धर्म मानिरहेको छ भने त्यो परम्परागत हिन्दू धर्मको अभ्यास हो। तर धर्मलाई उछालेर/उचालेर र धर्मका प्रतीकहरूमा टेकेर राजनीति गरेर सत्ता प्राप्ति गर्ने, शान्त धर्म अभ्यास गरिरहेका सर्वसाधारणहरूलाई तिमीहरूको धर्म आक्रमण र संकटमा पर्‍यो भन्दै उद्वेलित पार्ने, अर्को समुदायलाई आतंकित पार्ने विषयचाहिँ हिन्दूत्व हो। 'हिन्दूइजम्' र हिन्दूत्वको फरक हो यो।  

धर्मलाई राजनीतिमा मिसाउनुको मक्सद धार्मिकताभन्दा पनि शक्ति प्राप्तिको लालसा हो। यस्तो प्रकारको विचारधारा १९०० को दशकमा युरोपका नाजीहरूले गरे। नाजीहरू उग्र राष्ट्रवादी/जातिवादी क्रिश्चियन थिए, जसको पेलानमा परेर ज्यान गुमाउने निर्दोष यहुदी धर्मावलम्बीहरूको संख्यामात्र ६० लाखभन्दा बढी थियो। 

फासीवाद एक अतिवादी, अधिनायकवादी र राष्ट्रवादी राजनीतिक विचारधारा हो, जसले व्यक्तिगत स्वतन्त्रतालाई दबाउँछ र राज्यको सर्वोच्चतामा जोड दिन्छ। फासिस्टहरूको प्रमुख लक्ष्य समाजलाई अँध्यारो चेतनातर्फ लैजानु हुन्छ, जसभित्र सामान्य जनताले आफ्ना विचार र निर्णयहरू स्वयं लिन सक्दैनन्। जनतालाई सोच्न नसक्ने बनाउन फासिस्टहरू जात र धर्मको प्रयोग गर्छन्। आफ्नो जात र धर्म उच्च र अर्कोलाई नीच देखाउँछन्। त्यसका लागि भरमग्दुर दुष्प्रचार गर्छन्। आफ्नो रगत शुद्ध र अरूको अपवित्रजस्तो अवैज्ञानिक कुरा गर्छन्। हिटलरले त्यही गरे।   

आदर र आस्थाको भावना जगाउने धर्मको अभ्यास समाजमा धेरै पहिलेदेखि रहेकाले यो सहजै शक्तिशाली उपकरण बन्छ, जसको माध्यमबाट फासिस्टहरू आफ्ना मुद्दाहरूलाई सहजै समुदायमा स्थापित गर्न सक्छन्। धर्म र जातको कुरामा मान्छेहरू सिधै बहकिने भएकाले यसमार्फत मान्छेलाई फसाउन पनि सजिलो हुन्छ।

त्यसै कारण धार्मिक प्रतीक, पुस्तक, इतिहासका नायक, कर्मकाण्ड र सांस्कृतिक प्रतीकहरूको प्रयोग गर्दै फासिस्ट शक्तिहरूले आफ्नो सत्तालाई वैधता दिने प्रयास गर्छन्। धर्म गर्नेहरू चर्च, मन्दिर र मस्जिद जान्छन्, तर धर्मको राजनीति गर्नेहरू आफ्नो धार्मिक यात्राको भरमार प्रचार गर्छन्। सबैभन्दा धार्मिक आफू भएको प्रचार गर्छन् फासीवादी नेताहरू।  अचेल त व्यापक फोटो र भिडियो सुट गरेर आफ्नो भक्ति र तीर्थयात्रालाई सामाजिक सञ्जालमा फैलाइने गरिन्छ। मोदी २०१४ यता भारतमा त्यही गरिरहेका छन्।

फ्रेडरिक नीत्शेले आफ्ना दार्शनिक लेखहरूमा ‘सुपरम्यान’ वा ‘अभिजात मानिस’ को कल्पना गरेका थिए। उनको प्रमुख कृति अल्सो स्प्राख जराथुस्त्रमा विशेष रूपमा सो विचार व्यक्त छ। उनले आफ्नो विचारमा त्यस्तो व्यक्तिको कल्पना गरे, जो आफ्नै नैतिकताको आफै निर्माता हुनेछ र कुनै पनि परम्परागत नैतिक बन्धनबाट उ बाँधिने छैन।

नित्सेको यो चरम व्यक्तिवादी दर्शनले तत्कालीन समयमा साम्राज्यवाद र औद्योगिक युगमा उत्पन्न भएका केही शक्ति-संरचनाहरूको वैचारिक प्रतिनिधित्वलाई बलियो दार्शनिक आधार प्रधान गर्‍यो। शक्तिशाली व्यक्तिको उदय र सामाजिक संरचनाको पुनर्मूल्यांकनलाई प्रोत्साहन गर्‍यो। अन्ततः उसको यही विचारधाराले नाजीवादजस्ता अति शक्तिशाली र क्रूर विचारधाराका लागि बौद्धिक आधार तयार गर्‍यो, जहाँ व्यक्तिको स्वयम्भू श्रेष्ठता सर्वोपरि मानिन्थ्यो। एउटा मुक्तिदाता वा मसिहालाई प्राथमिकता दिइन्थ्यो। हिटलर त्यस्तै एक मसिहा थिए।  

फासीवादीहरू समाजमा कुनै पनि प्रकारको चेतना वा आलोचनात्मक चेत नष्ट गर्न चाहन्छन्। उनीहरू आफ्ना अनुयायीलाई धर्म र राष्ट्रवादको नाममा आफ्नो नियन्त्रणमा बाँध्ने प्रयास गर्छन्। उनीहरू एक नैतिकताको ढाँचा तयार गर्छन्, जहाँ जनताको जिम्मेवारी ती तथाकथित ‘श्रेष्ठ’ व्यक्तिहरूको सेवा गर्ने मात्र हुन्छ।

नाजीवाद र फासीवादका विभिन्न उदाहरणमा धर्मको सहारा लिने घटनाहरू स्पष्ट देख्न सकिन्छ। यी विचारधाराले धर्मको प्रयोग आफ्नो एजेन्डालाई व्यापक जनसमर्थन दिलाउन, आफ्नो सत्तालाई वैधता प्रदान गर्न र विरोधीहरूलाई धर्मविरोधी वा राष्ट्रविरोधी ठहर्‍याउन गर्छन्।

नाजी पार्टीको नेतृत्वमा हिटलर र उसका साथीहरूले जर्मन जनताको समर्थन प्राप्त गर्न इसाई प्रतीकहरू, चर्च र धार्मिक विचारहरूको उपयोग गरे। हिटलरले 'पोजिटिभ क्रिश्चियानिटी'को विचार प्रस्तुत गरे, जसमा इसाइयतलाई नाजीवादी विचारधारासँग मिसाइएको थियो। नाजीहरूले आफूलाई यहुदी-विरोधी मसीहाका रूपमा प्रस्तुत गर्ने प्रयास गरे, जसले गर्दा उनीहरूले चर्चका रूढिवादी धाराहरूबाट व्यापक समर्थन प्राप्त गरे। 

जर्मनीका प्रमुख चर्चहरूले हिटलरको विरोध गरेनन्; बरु धेरै मामिलामा नाजी सरकारले चर्चहरूलाई समर्थन गर्‍यो। असहमत इसाई पादरीहरू र धर्मगुरुहरूलाई जेल पठाइयो वा प्रताडित गरियो। नाजी सरकारले इसाई-नैतिकताको प्रयोग गर्दै जर्मन-आर्यन जातिको श्रेष्ठतालाई वैध ठहर्‍याउने प्रयास गर्‍यो। इसाई समुदायमा हिटलरलाई मुक्तिदाताको रूपमा चित्रित गरियो र चर्चका केही नेताहरूले उनको समर्थन गरे।  

अर्का आततायी शासक बेनिटो मुसोलिनीको नेतृत्वमा इटलीको फासीवादी आन्दोलनले आफ्नो शासनलाई वैधता दिन क्याथोलिक चर्चको सहारा लियो। सुरुमा मुसोलिनीले चर्चको विरोध गरेका थिए, तर पछि उनले चर्चसँग ल्याटेरन सन्धि (१९२९) मा हस्ताक्षर गरे। यस सन्धिबाट इटलीले भ्याटिकन सिटीलाई स्वतन्त्रता प्रदान गर्‍यो र क्याथोलिक चर्चलाई सरकारी संरक्षण दियो।

सन्धिपछि चर्चले मुसोलिनीको समर्थन गर्‍यो र फासीवादलाई इसाई-नैतिकताको रक्षकको रूपमा प्रस्तुत गरियो। यस सहयोगले मुसोलिनीलाई इटलीमा धार्मिक समर्थनसहित आफ्नो फासीवादी एजेन्डा अघि बढाउने मौका दियो। क्याथोलिक चर्चको फासीवादप्रतिको  सहयोगले इटलीको जनतामा फासीवादी शासनको वैधता बढायो।  

स्पेनमा फ्रान्सिस्को फ्रान्कोको फासीवादी सरकारले क्याथोलिक चर्चसँग नजिकको सम्बन्ध कायम गर्‍यो। १९३६ देखि १९३९ सम्मको स्पेनी गृहयुद्धका बेला फ्रान्कोले आफूलाई स्पेनको 'क्याथोलिक आत्माको रक्षक' घोषित गरे र चर्चको समर्थन पाउन उनीहरूको पक्ष लिए। चर्चले उनलाई समर्थन गर्‍यो किनभने फ्रान्कोले आफूलाई स्पेनको रक्षक-धार्मिक योद्धाको रूपमा आफूलाई प्रस्तुत गरे।

फ्रान्कोको विजयपछि, क्याथोलिक चर्चले स्पेनी समाजमा विशेष अधिकार प्राप्त गर्‍यो र चर्चले फ्रान्कोको शासनलाई आध्यात्मिक वैधता प्रदान गर्‍यो। चर्चको सहयोगले फ्रान्कोले स्पेनी जनतालाई धार्मिक प्रतीकहरूको माध्यमबाट नियन्त्रण गरे र कुनै पनि विरोधलाई धर्म-विरोधी भन्दै दमन गरे। धर्मविरोधी या जातिद्रोही भनिदिएपछि जोकसै विरोधीलाई सहजै बाटोबाट हटाउन सकिन्छ, किनभने धर्म र जातिका विषयमा मान्छे तार्किक कम हुन्छ।  

आज पनि विभिन्न राष्ट्रवादी र फासीवादी संगठनहरूले धार्मिक प्रतीकहरूको प्रयोग गरिरहेका छन्। पछिल्लो समय नेपालका राजावादीहरू आफ्नो गुमेको शक्तिको पुनः प्राप्त हेतु धर्मको प्रयोग गरेर आफ्नो अजेन्डालाई जनतासमक्ष  वैधता दिन खोजी रहेका छन्।

यिनीहरू राष्ट्रवादलाई धार्मिक विचारधारासँग जोडेर प्रस्तुत गर्छन्। असहमत व्यक्तिहरूलाई धर्म-विरोधी वा राष्ट्र-विरोधी ठहराउँछन्। उनीहरू धार्मिक भावनाहरूलाई उत्तेजित पार्दै अन्य धर्मलाई दुस्मन सिद्ध गर्दै जनसमर्थन प्राप्त गर्न तल्लीन छन्। पूर्वराजाका तीर्थाटनहरू त्यसकै दृष्टान्त हो।  

यस्तै, अमेरिकामा केही कट्टरपन्थी इसाई समूहहरू र इजरायलमा कट्टरपन्थी यहुदी संगठनहरू आफ्नो अजेन्डा अघि बढाउन धार्मिक विचारहरूको प्रयोग गरिरहेका छन्। नाजीवाद र फासीवादजस्ता विचारधारामा धर्मलाई राजनीतिक औजारको रूपमा प्रयोग गरिन्छ।

धर्म एक विशेष प्रकारको आस्थाको प्रतिबिम्ब हो, जो व्यक्तिले धेरै पहिलेदेखि परिवार र समाजको लिगेसी (वैधता) का रूपमा बोकिरहेका हुन्छन्। तर त्यही धार्मिक भावना भड्काउन सक्दा सिधासादा  जनताको मस्तिष्क नियन्त्रण गर्न सकिन्छ। हुन पनि आम जनता सिधासाधा नै हुन्छन्, जसलाई यस्तै भावनात्मक विषय उछालेर सहजै दुरुपयोग गर्न सकिन्छ। सत्तालाई स्थायी बनाउन र जनसमर्थन प्राप्त गर्न जब धर्मलाई प्रयोग गरिन्छ, यसको आन्तरिक 'आध्यात्मिकता' नष्ट हुन्छ र पाखण्डको रूपमा उभिन्छ। त्यस्तो पाखण्डले सिंगो पीढीलाई अँध्यारोतर्फ लैजान्छ। भारतीय समाज त्यसतर्फ हिँडेको देखिन्छ। नेपाली समाजलाई त्यसतर्फ नलैजान युवाहरू शिक्षित  जागरूक हुन जरुरी छ।

(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)