मोबाइल भेटेर फिर्ता नदिने वा चोरी गर्नेहरूले सिम नराखी फिल्म हेर्न, गेम खेल्न र वाइफाईबाट इन्टरनेट चलाउन प्रयोग गर्दा भेटिने सम्भावना कम हुन थालेको प्रहरी बताउँछ।
काठमाडौँ- चोभारका ६५ वर्षीय अष्टबहादुर महर्जन मोबाइल हराएर दिएको उजुरीबारे जानकारी लिन पुस ४ गते बिहान ११ बजे टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुगे। उनले मोबाइल हराएको उजुरी दिएको दुई महिना नाघिसकेको छ। त्यसबारे बुझ्न उनी दोस्रोपटक परिसर पुगेका हुन्। तर यसपटक पनि निराश हुनुपर्यो। प्रहरीले पत्ता लाग्ने आश्वासन भने दिन नछाडेको उनी बताउँछन्।
महर्जन टेम्पो चढेर स्वम्भूबाट चोभार जाने क्रममा मोबाइल हराएको थियो। चोभार पुगेपछि मात्रै उनले मोबाइल नभएको थाहा पाए। “मोबाइलको नाम त मलाई थाहा छैन, तर खोल (बक्स) मसँग घरमा सुरक्षित छ”, महर्जन भन्छन्, “मोबाइल हराएपछि अचेल सानो मोबाइल बोक्छु।” उनलाई छोरीले १५ हजारमा मोबाइल किनिदिएकी थिइन्। महर्जन चोभारमै खेतीकिसानी गर्छन्।
महर्जन प्रहरी परिसरबाट बाहिरिएलगत्तै सबिना लामिछाने आइपुगिन्। उनले गएको भदौ २९ गते आइफोन एट प्लस हराएको उजुरी दिएकी थिइन्। श्रीमानले विदेशबाट पठाइदिएको आइफोन हराएकी थिइन्। उजुरीबारे बुझ्न तेस्रोपटक प्रहरी परिसर पुग्दा पनि उनी निराश हुनुपर्यो। उनको मोबाइल पकेट मार्नेले ब्यागबाटै झिकेका थिए।
तीन महिना बितिसक्दा पनि मोबाइल फेला नपरेपछि प्रहरीसँग असन्तुष्ट छिन्। उनी भन्छिन्, “प्रहरीले राम्ररी खोजतलास नै गरेका छैनन्। रत्नपार्कमै कति सेकेण्ड ह्याण्ड मोबाइल बेच्ने पसलहरू छन्। त्यहाँ आइफोन टेन प्लस ४० हजारमै पाउँछ। मेरो मोबाइल पनि रत्नपार्क आसपासबाट हराएको थियो। प्रहरीले त्यहाँ छापा मार्ने हो भने कतिको मोबाइल भेट्नसक्छ।”
सबिना नजाँदै आफ्नो उजुरीबारे बुझ्न ओमान तामाङ आइपुगे। उनले मोबाइल हराएको दुई हप्ता भएको थियो। उनकी आमाले बहिनीलाई अमेरिकाबाट पठाइदिएको आइफोन इलेभेन बाटोमा झरेर हराएको थियो। आमाले उक्त मोबाइल एक लाख ४५ हजार तिरेर किनेको उनी बताउँछन्। तामाङ अहिले १२ कक्षाको जाँच दिएर बसिरहेका छन्।
तामाङ पनि प्रहरीको खोजतलासबाट सन्तुष्ट छैनन्। उनी भन्छन्, “मेरो फोन कसैले अन गरेको छ। किनभने मसँग एप्पल आईडीको कोड माग्यो। तर यता प्रहरीले त्यस्तो कुनै जानकारी फेला नपारेको बताइरहेको छ।”
त्यही दिन सुलक्ष श्रेष्ठ, पुष्पा आचार्यलगायत पनि प्रहरी परिसर टेकु पुगेका थिए। आचार्य आफ्नी छोरीसँग पुगेकी थिइन्। तर उनी उजुरीबारे बुझ्न नभइ हराएको मोबाइल आफैँ पत्ता लगाएको सुनाउन पुगेकी थिइन्। दुई साताअघि उनको घरैबाट स्यामसुङ ग्यालेक्सी एम १२ मोबाइल हराएपछि उजुरी दिएकी थिइन्। पछि छिमेकमा बस्ने उनकी छोरीको साथीले चोरेर घरमा राखेको फेला परेपछि जानकारी दिन उनी त्यहाँ पुगेकी थिइन्।
सिम प्रयोग नहुँदा पत्ता लाग्दैन मोबाइल
मोबाइल भेटिने सम्भावना न्यून हुने गरेको जिल्ला प्रहरी परिसर मोबाइल खोजतलास शाखामा तीन वर्षदेखि कार्यरत प्रहरी नायब निरीक्षक (सई) वीरबहादुर थापाले बताए। उनका अनुसार दैनिक २५ देखि ३० वटासम्म मोबाइल हराएको उजुरी पर्ने गरेको छ।
“मोबाइल हराएको उजुरी परेपछि हामीले पछ्याउने भनेको मोबाइलको आईएमईआई नम्बरलाई हो। सबैभन्दा पहिला प्रहरीले त्यो आईएमईआई नम्बरलाई ब्ल्याक लिष्ट गर्छ”, सई थापाले भने, “त्यसपछि प्रारम्भिक अनुसन्धानको लागि हामी अदालतबाट आदेश लिन्छौँ। आदेश आएलगत्तै उक्त आईएमईआई नम्बर दूरसञ्चार सेवा प्रदायकहरूलाई फरवार्ड गर्छौँ। प्रहरीले सेवा प्रदायकलाई ब्ल्याक लिष्ट गरेको आईएमईआई नम्बरमा कुनै सिम एक्टिभेट भए सम्पर्क गर्न आग्रह गर्छ।"
यसरी सिम सक्रिय भए मात्र प्रहरी हराएको मोबाइल नजिक पुग्ने उनले बताए। सिम प्रयोग नभए मोबाइल फिर्ता ल्याउन नसकिने उनको भनाइ छ। “पहिला चोरिएको वा हराएको मोबाइल भेट्ने सम्भावना बढी हुन्थ्यो, तर अचेल चोर्नेहरु पनि जान्ने छन्। सिम नै हाल्दैनन्”, उनी भन्छन्।
हराएको वा चोरिएको मोबाइल प्राय: फिल्म हेर्न, गेम खेल्न र वाइफाई प्रयोग गरेर इन्टेरनेट चलाउन प्रयोग हुने प्रहरीको अनुमान छ। नेपालमा परिस्कृत प्रविधि नभए पनि हराएका मोबाइल खोज्न कठिन भइरहेको थापा बताउँछन्। उनी भन्छन्, “जुन प्रविधि हामी १० वर्षअगाडि प्रयोग गर्थ्यौँ, आज पनि त्यही प्रविधि प्रयोग गरेर हराएका मोबाइल खोजिन्छ। विदेशमा अनेक प्रविधि आइसकेका छन्।"
मोबाइल चोरीको समस्या बढ्न थालेपछि र विदेशबाट पनि चोरिएका मोबाइल भित्रिन थालेपछि दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को प्रयोग थालेको छ। एमडीएमएस प्रविधिले प्रहरीलाई मोबाइल खोज्न केही हदसम्म सहज हुने थापाको भनाइ छ। उनी भन्छन्, “एमडीएमएस प्रविधिले हामीलाई मोबाइल कसको नाममा दर्ता छ भन्ने ठ्याक्कै थाहा हुने भयो। यो जानकारी थाहा पाउन पहिला गाह्रो हुन्थ्यो।”
मोबाइल दर्ता रहेको व्यक्तिबारे थाहा भए पनि हराएको मोबाइलमा नयाँ सिम नहालेसम्म त्यसबारे प्रहरीले जानकारी पाउन सक्दैन। यो प्रविधिले हराएका, तर सिम प्रयोग नभएका मोबाइल भेट्न नसकिने प्राधिकरणले जनाएको छ।
यस्तो छ तीन वर्षको तथ्यांक
मोबाइल हराउने र फिर्ता नपाउनेको संख्या उकालो लाग्दै गएको छ। जिल्ला प्रहरी परिसरले उपलब्ध गराएको तथ्यांकअनुसार मोबाइल भेट्नेभन्दा नभेट्नेको संख्या चार गुणा बढी छ।
आर्थिक वर्ष २०७७/७८ मा मोबाइल खोजिदिन आग्रह गर्दै १६ हजार १९ वटा निवेदन दर्ता भएको थियो। तीमध्ये करिब २२ प्रतिशत अर्थात्, तीन हजार ६७८ वटा मोबाइल मात्र भेटिएको छ।
त्यस्तै, २०७८/७९ मा १२ हजार ५६७ वटा निवेदन दर्ता भएका थिए। जसमध्ये २४ प्रतिशत अर्थात्, तीन हजार १२२ वटा मोबाइल भेटिएका छन्।
आर्थिक वर्ष २०७९/८० को पाँच महिनामा सात हजार १५२ वटा निवेदन दर्ता भएका छन्। तीमध्ये १८ प्रतिशत अर्थात्, एक हजार ३५७ वटा मोबाइल फेला परेका छन्। बाँकी पाँच हजार ७९५ मोबाइलको खोजतलास जारी रहेको प्रहरी बताउँछ।
मोबाइल हराउनबाट कसरी जोगाउने?
कतिपयले लापरबाही गरेर तथा कतिपयले अनजानमा मोबाइल हराउने गरेको प्रहरीको भनाइ छ। मोबाइल हराउनु र चोरी हुनु फरक विषय भएको सई थापा बताउँछन्। धेरैजसोले सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनबाट मोबाइल हराउने गरेका छन्।
मोबाइल हराउनुमा सम्पूर्ण जिम्मेवारी मोबाइल धनीकै हुने प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन्। “हामीले प्रहरीलाई दिने भनेको विवरण हो, जुन पठाइरहेका छौँ। तर, चोरिएको वा हराएको मोबाइलमा सिम नहालेसम्म भेट्न सकिँदैन", प्रवक्ता पौडेल भन्छन्, “हराएको मोबाइल खोज्न दूरसञ्चारले कुनै सहयोग गर्नसक्दैन। स्वयम् मोबाइलवाला व्यक्तिले नै त्यसको जिम्मेवारी लिनुपर्छ।”
मोबाइल हराउनबाट जोगाउन सावधानी अपनाउनेभन्दा अरू उपाय नभएको पौडेलको भनाइ छ। सार्वजनिक वा नयाँ ठाउँमा जाँदा ख्याल नगरी जथाभावी मोबाइल राख्ने र राखेकै ठाउँमा छाडेर हिँड्ने बानीका कारण हराउने गरेको उनको भनाइ छ।
प्रहरीका अनुसार धेरैजसोले सार्वजनिक ठाउँबाट नै मोबाइल हराउने गरेका छन्। घर वा कार्यालयबाट हराउनेको संख्या कम हुन्छ। सार्वजनिक यातायातमा चढ्दा सावधानी नअपनाउने र पाइन्टको पछाडिको खल्तीमा वा आफ्नो आँखा सिधै नपुग्ने ठाउँमा राख्दा हराउने पनि प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
