आदिवासी आन्दोलनको भावनात्मक आयाम बोध गर्न राज्य असफल भयो भने त्यसले द्वन्द्वलाई अनियन्त्रित र विकराल बनाउनेछ। यस द्वन्द्वले स्थायी स्वरूप धारण गर्न सक्छ।
गएको फागुन १२ गते युवा अभियन्ता सजीव योङ्याले फेसबुकमा लेखे, “हामी तीन जना होटलमा बसेका थियौं। राति साढे ११ बजेतिर हुनुपर्छ, प्रहरीको टोली आइपुग्यो। उनीहरू अश्लील गाली बकिरहेका थिए। हामीले सास थामेर तिनको बुटको ग्य्राप–ग्य्राप सुनिरह्यौं।” पैंतीस–छत्तीस वर्षीय योङ्याले त्यस रातको थप बयान गरेका छन्, “हाम्रो भाग्य बलियो रहेछ, पुलिसहरूले हाम्रो कोठाको खानतलासी लिएनन्। तर, एक जना व्यक्तिलाई उनीहरू निर्घात कुटिरहेका थिए। उनीमाथि बुट र लट्ठी बजारिएको आवाज आइरहेको थियो। असह्य पीडामा उनी रोइरहेका थिए, चिच्याइरहेका थिए। हामी कोठाबाट निक्लन सक्ने अवस्थामा थिएनौं।”
भोलिपल्ट बिहान होटलवालाले योङ्या र उनका साथीहरूलाई एउटा जेब्रा झोला थमाउँदै भने, “यो झोला हिजो राति पुलिसले लिएर गएको मान्छेको हो।” योङ्याले ती व्यक्तिको परिचय खुल्ने कुनै चिज भेटिएला कि भन्ने आसमा झोला खोले, तर त्यस्तो केही पनि भेटिएन। झोलामा दुई जोरजति लुगा थिए, एक प्रति साम्जिक मुन्धुम थियो। एउटा रुद्राक्ष माला, अलिकति दाख, एक प्याकेट मकै, एक जोर जुत्ता र छ हजार रूपैयाँ; बस यत्ति थिए। “उनी को थिए, हामीलाई थाहा छैन,” योङ्याले फेसबुकमा लेखेका थिए, “यति मात्रै थाहा छ, प्रहरीले बेस्कन कुटेर लछार्दैपछार्दै उनलाई लगेका थिए। अहिले कहाँ छन्, के गर्दै छैन, हामीलाई केही पनि थाहा छैन।”
त्यस रात सयौं आन्दोलनकारीझैं योङ्या पनि प्रहरीबाट जोगिन लुकेका थिए। घुसपैठियाहरूले शान्तिपूर्ण विरोध कार्यक्रम बिथोलिदिएर प्रहरीलाई आन्दोलनकारीमाथि आक्रमण गर्न उक्साएका थिए। र, यसरी त्यो रात हिंसात्मक बनेको थियो।
रातभरि प्रहरीको धरपकड जारी थियो। विरोध कार्यक्रमबाट जसोतसो उम्किएका आन्दोलनकारीलाई राति प्रहरीले कुटपिट र पक्राउ गरेको थियो। गाउँलेका घरभित्र अश्रुग्यास प्रहार गरिएको थियो। प्रहरी हिरासतमा परिने भयले थुप्रै घाइते आन्दोलनकारी घरमा लुकिरहेका थिए, सुरक्षित थलोमा आश्रय लिइरहेका थिए। कसैका हात भाँच्चिएका थिए, कसैको टाउको फुटेको थियो, कसैको खुट्टामा चोट लागेको थियो। प्रशासनको पहुँच नपुग्ने अनुमान गरिएका ठाउँमा उनीहरू लुकिरहेका थिए।
जङ्गलमा रूखपछाडि लुकेर रात बिताएको दाबी गर्ने थुप्रै छन्। कोही रातभरि खाल्डोमा बसे, कोही नालीमा बसे। योङ्याजस्ता केही भाग्यमानी भने होटलमा लुकेर प्रहरीलाई छल्न सफल भए। अफसोस, उनी बसेकै होटलको अर्काे कोठामा भने ती व्यक्ति प्रहरीको फन्दामा परे।
उपलब्ध एउटा सीसीटीभी फुटेजमा योङ्याहरू लुकेको होटलअगाडि राति अबेरसम्म प्रहरी टोली घुमिरहेको देखिन्छ। उनीहरू केही खोजिरहेका देखिन्छन्। यस्तैमा एक जना प्रहरी क्यामरातर्फ अगाडि बढ्छ र क्यामरा फुटाउँछ। सहजै अनुमान गर्न सकिन्छ, प्रहरी आफूले गर्न गइरहेको अपराधको कुनै निसानी या अभिलेख नरहोस् भन्ने चाहन्थ्यो।
ताप्लेजुङमा राज्य स्वयंको नेतृत्वमा आदिवासी आन्दोलनमाथि हिंस्रक दमन भइरहेको छ। सिङ्गो जिल्ला आतङ्कित छ। विगत दुई महिनायता त्यहाँ सशस्त्र प्रहरी बलले जनतामाथि गोली दागेको छ। दुई जना गम्भीर रूपले घाइते भएका छन्। एक जनालाई तिघ्रामा गोली लागेको थियो, अनि अर्काेको भने गोलीले फोक्सो नै छेडेको छ।
“मलाई गोली लाग्यो र म ढलें,” किसान याम लिम्बू सम्झन्छन्, “देब्रे तिघ्राबाट रगतको खोलो बगिरहेको थियो। मैले हात जोडेर उनीहरूलाई मलाई छोडिदिन भनें।” ज्वाइँको हालत देखेका उनका ससुराले भने, “त्यसरी गोली लागेपछि खुट्टा त परालजस्तो लल्याकलुलुक हुँदो रहेछ।”
अस्पतालको शय्यामा तिघ्राको दोस्रो थप शल्यक्रियाको प्रतीक्षामा रहेका यामले गोली चलेको त्यस रातको सम्झना गर्दै भने, “मैले एक जनाले “यो सालेलाई भीरबाट गुल्टाइदे, मरोस् त्यहीं, के मतलब !” भनेको सुनें। यामलाई लाग्छ, एक जना महिलाले हस्तक्षेप गरेकाले मात्रै उनी आज जिउँदो छन्। “मैले ती महिलाले “त्यसो गर्नु हुन्न, सर” भनेको सुनें।”
त्यो ‘गोली काण्ड’ माघ महिनामा भएको थियो; माथि उल्लेख गरिएको प्रहरी दमनभन्दा ठ्याक्कै एक महिनाअघि।
“म बाटोमुनि हाम फालेर ठूलो ढुङ्गाको पछाडि लुकें,” १९ वर्षीय भरिया धारमान पलुङ्वाले सम्झिए, “मेरो टाउकोको दायाँ–बाया गोलीहरू सुइँय्य गरिरहेका थिए। म लुकेको ढुङ्गाको छेउमा ती ठोक्किए। दुईचार अम्मल यताउता भएको भए म ढल्थें।” उनी त्यस रात भाग्न सफल भएकामध्ये एक थिए। सशस्त्र प्रहरीको लट्ठीको चुटाइले उनको काँधको हड्डी तीनचार ठाउँमा भाँच्चिएको थियो। उनीहरू धारमानलाई हकारिरहेका थिए, “तँ सुँगुर यहाँ मर्न आएको होइन? ल मर्।”
त्यस साँझ सशस्त्र प्रहरीले आन्दोलनकारीलाई घेरा हालेर तीन दिशाबाट गोली चलाएको थियो। उनीहरू चुक घोप्ट्याएजस्तो अँध्यारोमा जङ्गलको बाटो सुरक्षित थलोतिर हिंडिरहेका थिए। हल्का पाउ चुपचाप हिंडिरहेका थिए। त्यति बेला उनीहरू ताज्जुब मानिरहेका थिए, गोलीको त्रासको छायामा बाँच्नुपर्ने उनीहरूले त्यस्तो के अपराध गरेछन्? उनीहरूलाई यत्ति थाहा थियो, उनीहरू त भोलिपल्ट बिहान हुन गइरहेको शान्तिपूर्ण विरोध प्रदर्शनको तयारीको काम सकेर सुत्ने तरखर गरिरहेका थिए। ठीक त्यतिखेर सशस्त्र प्रहरीहरू देखापरेका थिए।
दलाल पुँजीवादको वितण्डा
यी घटना नेपाली राज्यले आदिवासी लिम्बू समुदायमाथि विगत एक वर्षयता थोपरिरहेको हिंसाको ढाँचाका हिस्सा हुन्। हरेक महिना राज्यको नृशंसता तीव्र हुँदै गइरहेको छ। उसले यसो गर्नुपछाडिका कारण स्पष्ट छैनन्। तर, धेरैले उसको क्रियाकलापलाई उग्र र अतिशय मानिरहेका छन्। यति चाहिं प्रस्ट छ, नेपाल सरकार अर्बपति व्यापारी चन्द्र ढकालको मागबमोजिम र उनका तर्फबाट क्रियाशील छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकाल आईएमई ग्रूपका पनि अध्यक्ष हुन्। ग्रूपको बैंकिङ, पर्यटन, ऊर्जा, विप्रेषण, अटोमोबाइल, सूचना प्रविधिलगायत दर्जनौं क्षेत्रमा लगानी छ।
‘पाथीभरा दर्शन केबलकार परियोजना’ ढकालको व्यवसाय विस्तारकै हिस्सा हो। पहाडको फेदी र चुचुरोलाई केबलकारले जोड्ने लक्ष्य छ। परियोजनालाई सत्तासीन नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकारले पूर्ण समर्थन गरेको छ। प्रधानमन्त्री खड्गप्रसाद ओलीको यसै पनि व्यापारीहरूसँग अनैतिक साँठगाँठको विवादित विगत छ। उनलाई आफ्नै पार्टीका नेता/कार्यकर्ताले दलाल पुँजीवादीहरूलाई प्रश्रय दिएको आरोप लगाएकै छन्।
माओवादी र राष्ट्रिय स्वतन्त्रता पार्टीजस्ता प्रतिपक्षले केबलकार परियोजनालाई अनुमति दिने सरकारको निर्णयको विरोध गरेका छन्। उनीहरू यस विवादको शान्तिपूर्ण समाधान चाहन्छन्। त्यस्तो समाधान, जुन संस्कृति, सम्पदा र प्रकृतिको सवालमा संवेदनशील होस्।
तर, ओली सरकार परियोजना कार्यान्वयन गर्ने आफ्नो प्रतिबद्धतामा अडिग देखिन्छ। के दाबी गरिएको छ भने करिब तीन अर्ब रूपैयाँ लागतको केबलकार परियोजना सुरु हुनासाथ विलासी होटल, सानदार क्याफे लगायतमा थप लगानी गरिनेछन्।
सांसद् तथा नेकपा (एमाले) का सचिव योगेश भट्टराई, ढकाल र अन्य केहीले आदिवासी आन्दोलनलाई ‘विकासविरोधी’ को ठप्पा लगाइदिएका छन्। उनीहरूको आरोप छ— आन्दोलनले ‘निजी क्षेत्र’ को लगानीलाई हतोत्साहित गरेको छ। तर, ध्यान दिनुपर्ने कुरा के छ भने यस परिप्रेक्ष्यमा ‘निजी क्षेत्र’ को परिभाषाले ती अर्बपतिहरूलाई मात्र समेटेको प्रतीत हुन्छ, जोसँग राजनीतिलाई प्रभावित गर्ने शक्ति छ। यस परिभाषाले निजी क्षेत्रका हजारौं ‘अन्य’ संस्था एवम् अवयवलाई वर्जित गरेको छ। ताप्लेजुङ जिल्लाको आर्थिक जीवनका अङ्गका रूपमा रहेका चियापसल, रेस्टुरेन्ट, सानादेखि मझौला आकारका होम–स्टे, होटल, कारखाना, परिवहन सेवा, क्लिनिक, बिउबिजन पसल आदिलाई निजी क्षेत्र मानिएको छैन।
त्यसै गरी, केबलकार परियोजनाको पक्षमा प्रस्तुत गरिएको ‘विकास’ को भाष्य नै पुरातन र अप्रचलित छ। ‘विकास’ को बुझाइ दशकौँयता उल्लेखनीय ढंगले परिवर्तन भइसकेको छ भन्ने सत्यलाई आत्मसात् गर्न यो पूरै चुकेको छ।
आर्थिक दृष्टिकोणबाट समेत यो परियोजना अनुचित छ। कदाचित् केबलकार परियोजना सम्पन्न भयो भने यसले यस क्षेत्रको विद्यमान आर्थिक भूगोल नै भताभुंग पारिदिन सक्छ। तीर्थयात्री, पदयात्री र पर्यटकका आवश्यकता पूरा गर्न युगौंदेखि प्रांगारिक तवरले विकास भएको थियो, यो आर्थिक भूगोल। यसमा ती स–साना व्यवसाय समाविष्ट छन्, जसले यस क्षेत्रको अर्थव्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।
मुन्धुमबिना आन्दोलन हुँदैन
राज्यशक्ति अर्थात् सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको आक्रामक परिचालनमार्फत केबलकार आयोजनाको प्रारम्भिक कार्य शुरू भइसकेको छ। हजारौं रूख काटेर जमिन खाली गराइएको छ। प्रतिवादस्वरूप, आदिवासी लिम्बूहरूले साहसिक प्रतिरोधको नेतृत्व गरिरहेका छन्। यस प्रतिरोधको केन्द्रमा मुन्धुम छ। एक जना सदस्यले आन्दोलनको मर्म सटीक रूपले व्यक्त गरेका छन्— “मुन्धुमविना आन्दोलन हुँदैन।”
पुस्ता दर पुस्तादेखि चलिआएको कथावाचनको मौखिक परम्परामा आधारित अभिनयात्मक अनुष्ठान हो, मुन्धुम। यसले प्रकृतिबाट पैदा भएको संस्कृतिअनुरूप ज्ञान र अस्तित्वको आदिवासी तौरतरिका अभिव्यक्त गर्ने विश्वदृष्टिकोणको प्रनिनिधित्व गर्छ।
मुन्धुम दर्शनले न्याय र आत्मसम्मानको अवधारणामा आधारित रहेर मानव र प्राकृतिक संसारबीचको सम्बन्ध निर्धारित गर्नुपर्नेमा जोड दिन्छ। लिम्बू भाषामा ‘मुन’ को अर्थ नित्य गति हो भने ‘धुम’ को अर्थ ऊर्जा वा शक्ति हो। अर्थात्, मुन्धुम भनेकै निरन्तर गतिशील ऊर्जा हो। अर्काे शब्दमा, यो सर्वदा प्रवाहमय ज्ञान पद्धति हो, जसले प्रकृतिसँग अन्योन्याश्रित रहेर मानव सभ्यताको निरन्तरताका लागि दार्शनिक आधार प्रदान गर्छ।
आदिवासी लिम्बू समुदाय केबलकार आयोजनाको विपक्षमा छ। किनभने, शताब्दीऔंदेखि उनीहरूले मुक्कुम्लुङ पहाडलाई मुन्धुमस्थल मानिआएका छन्। मुन्धुम दर्शनको थलो यो क्षेत्र उनीहरूको पवित्र भूमि हो।
यस सन्दर्भमा, मुन्धुमलाई रूख, माटो र नदीनाला पुज्ने धर्मका रूपमा बुझ्न सकिन्छ। लिम्बूहरूले ‘मुक्कुम्लुङ’ (शक्तिको केन्द्र) बोल्ने यो पहाड हालैका दशकमा ‘पाथीभरा’ का नामले बढी परिचित छ। हिन्दुहरू यसलाई देवी पाथीभराको बासस्थान मान्छन्। यस पहाडको चुचुरो हाल लोकप्रिय तीर्थस्थल बनेको छ। नेपाल र भारतबाट हरेक वर्ष यहाँ ठूलो सङ्ख्यामा तीर्थालु आउँछन्।
यो पहाड जैविक विविधताले पनि सम्पन्न छ। यहाँको हराभरा जंगलमा १५५ भन्दा बढी प्रजातिका रूख पाइन्छन्। तीमध्ये थुप्रैले धार्मिक तथा सांस्कृतिक महत्ता बोकेका छन्। यो रातो हाब्रे र हिउँचितुवाजस्ता लोपोन्मुख वन्यजन्तुको पनि बासस्थान हो।
खासमा, समृद्ध जैविक विविधताकै कारण यो पहाड पहिले राष्ट्रिय संरक्षण परियोजनाअन्तर्गत कञ्चनजंघा संरक्षण क्षेत्रको हिस्सा थियो। करिब एक दशकअघि यसको ठूलो भूभाग पाथीभरा क्षेत्र विकास समितिमा गाभियो र यसलाई समितिमातहत राखियो।
पर्यटन विभागअन्तर्गतको यस सरकारी निकायले केबलकार परियोजना अनुमोदन गर्यो। तसर्थ ‘नो केबलकार’ को मागसँगै आन्दोलनको ‘मुक्कुम्लुङ बचाउ’ आह्वानले आदिवासी प्रतिरोधको सङ्कल्पलाई व्यक्त गरेको छ। पुँजीवादी लाभका खातिर औद्योगिक स्तरमा भइरहेको प्रकृतिको दोहन, संस्कृतिको व्यापारीकरण र धर्मको वस्तुकरणविरुद्ध मुक्कुम्लुङ आन्दोलित छ।
पिँढी दर पिँढी द्वन्द्व–प्रसारण
तीव्रतर हिंसाका बीचमा नेपाल सरकार वर्तमान संकट हल गर्न गम्भीर छ भन्ने कुनै सबुत पाइँदैन। कठोर दमनबाहेक उसले अर्काे बाटो देखेकै छैन। गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासनले परिचालन गरेको प्रहरी बलले मच्चाएको हिंसाले ताप्लेजुङ पिल्सिरहेको बेला गृहसचिवले आन्दोलनकारीलाई वार्तामा आउन फेसबुकमा सार्वजनिक विज्ञप्ति जारी गरे।
विज्ञप्तिले हिंसात्मक परिस्थितिप्रति सरकारको हँसीठट्टापूर्ण रबैया प्रकट गर्यो। यसले आन्दोलनकै उपहास गरेको प्रतीत हुन्थ्यो। जबकि, सरकारबाट त स्थितिको गम्भीरता र इतिहासमा यसको अवस्थिति मनन गर्ने इमानदार प्रयत्न हुनुपथ्र्याे। र, यसैलाई आन्दोलनसँग व्यवहार गर्ने आधार बनाइनुपथ्र्याे।
गत फागुन दोस्रो साता विरोध प्रदर्शन, मुठभेड र व्यापक धरपकड तथा पक्राउका घटना भए। फुङलिङ, ताप्लेजुङमा अहिले पनि भय र आतंकको वातावरण छ। आन्दोलनकारीहरू प्रहरीको पक्राउबाट जोगिन भागिरहेका छन्। फुङलिङमा १८ जना ‘हुलदंगा र आपराधिक उपद्रव’ गरेको अभियोगमा अझै पनि प्रहरी हिरासतमा छन्। अन्य नौ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
उनीहरू सबै आन्दोलनका नेता हुन्, जो जिल्ला छाडेर भाग्न विवश छन्। जिल्ला प्रशासनले हाल ‘हुलदंगा’ भन्न थालेको प्रदर्शनमा सहभागी भएबापत थुप्रै स्थानीय बासिन्दा गिरफ्तारीबाट जोगिन लुकिरहेका छन्। पक्राउ परेकाहरूले प्रहरीको दुर्व्यवहार र धम्की सामना गरिरहेका छन्।
हालसालै एक सञ्चारगृहद्वारा काठमाडौँमा आयोजित सार्वजनिक छलफल कार्यक्रमले केबलकार परियोजनाका पक्ष-विपक्षमा विचार राख्ने व्यक्तिहरूलाई एकै ठाउँमा ल्याएको थियो। कार्यक्रममा अधिवक्ता, व्यवसायी र सांसद् लगायतले आफ्ना मत राखेका थिए। त्यस बहसमा एक जना द्वन्द्वविज्ञले जारी हिंसालाई बुझ्नका लागि सन्दर्भ प्रदान गरेका थिए। “यो द्वन्द्व अलग्गै वा एकांकी छैन,” उनको तर्क थियो, “यसको गहिरो ऐतिहासिक जरो छ, जो नेपाली राज्यले आदिवासी लिम्बू समुदायमाथि लादेको हिंसाको लामो इतिहासबाट पैदा भएको हो। यस समुदायले प्रतीकात्मक, सांस्कृतिक र भौतिक सबै खाले हिंसा भोगेको छ।” उनले थप भने, “यस आन्दोलनको केन्द्रमा भावना छ। भावना, जो पहिचानसँग अविभाज्य तरिकाले जोडिएको छ।”
ती द्वन्द्वविज्ञले गम्भीर र चिन्ताजनक टिप्पणीमा आफ्नो भनाइ टुङ्ग्याएका थिए। आदिवासी आन्दोलनको भावनात्मक आयाम बोध गर्न राज्य असफल भयो भने त्यसले द्वन्द्वलाई अनियन्त्रित र विकराल बनाउनेछ। उनले आगामी अनिष्टतर्फ संकेत गरेका थिए— कि, यस द्वन्द्वले स्थायी स्वरूप धारण गर्न सक्छ। मनोवैज्ञानिक आघात र साझा अनुभव एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै जानेछन्। यदि राज्यले उग्र हिंसालाई मर्यादाहीन उपहाससँग सम्मिश्रण गरिरहने हो भने द्वन्द्व चिरकालसम्म लम्बिनेछ। आजका मितिसम्म उसले गरिरहेको यही हो।
केही दिनअघि मैले धारमानलाई भेटेर उनको हालखबर बुझेको थिएँ। घाउ भरिएको थिएन। काँधका भाँच्चिएका हड्डी जोडिन केही समय लाग्नेछ। छालाभित्र स्टिल घुसाइएको छ। पहिले त्यसलाई निकालिनेछ, त्यसपछि थप उपचार गरिनेछ। उनलाई तङ्ग्रिन लामै समय लाग्ने देखिन्छ।
हामी चिया खाइरहेका थियौँ।
“काठमाडौं मेरा लागि होइन रहेछ, दाइ,” उनी उदासीन थिए।
“तपाईंले के भन्न खोज्नुभएको हो ?” मैले जान्न चाहेँ।
जवाफमा उनले भने, “अब त अलि–अलि ठिक भइसकेँ। ताप्लेजुङ फर्केर लडाइँमा फेरि सामेल हुनेछु।”
धारमानको कलिलो काँधका टुटेका हाड दिन बित्दै जाँदा जोडिएलान्। घाउ निको होला। तर, उनका हड्डीले यी सारा चोट सदाका लागि सम्झनेछन्।
(भूगोलविद् निङ्लेखु शहरी योजना र सामाजिक आन्दोलनका अध्येता हुन्। हाल उनी ‘हेरिटेज एज प्लेसमेकिङ: द पोलिटिक्स अफ इरेजर एन्ड सोलिड्यारिटी इन साउथ एसिया’ नामक अन्तर्राष्ट्रिय अनुसन्धान योजनाको नेतृत्व गरिरहेका छन्। ‘द वायर’ मा २५ मार्च २०२५ मा प्रकाशित यस लेखको विनोदविक्रम केसीले अनुवाद गरेका हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
