इँटाभट्टाले उकुसमुकुस भक्तपुर

भक्तपुरका इँटाभट्टा र बस्तीको दूरी नजिकै छ। विद्यालय, कलेज र अस्पताल पनि आसपासमै छन्। यी इँटाभट्टाका कारण प्रदूषण झनै बढिरहँदा नियमन र नियन्त्रणका लागि तीन तहका सरकार के गरिरहेका छन्?

तस्वीरहरू: मनीष पौडेल/उकालो

काठमाडौँ- आइतबार बिहान सवा ६ बजे भक्तपुरको देकोचास्थित सडक कलेजका विद्यार्थीहरूले भरिएको छ। ख्वप कलेज पढ्ने उनीहरू अधिकांशले मास्क लगाएका छन्। कक्षाकोठा बस्दा पनि मास्क खोल्दैनन्।

ख्वप कलेजमा स्नातक चौथो वर्ष अध्यनरत रचना बयलकोटी घरबाट मास्क लगाएर निस्किएपछि घरैमा पुगेर मात्र खोल्ने बताउँछिन्। प्रदूषणले केही दिन यता कलेज आउजाउ गर्नै मुस्किल हुन थालेको उनको भनाइ छ। “कलेज आइपुग्दा आँखा, नाक पोल्न थाल्छ, घाँटी खस्खसाउन शुरू हुन्छ,” उनी भन्छिन्, “प्रदूषण बढेकाले मर्निङ वाक नगर्नू भन्ने समाचार देख्छु, तर बिहानै कलेज नआई हुँदैन।”

रचना चाँगुनारायणमा बस्छिन्। घरबाट कलेज पुग्न करिब आधा घण्टा लाग्छ। कलेज छेउछाउ पुग्दा त्यहाँको हावा उनलाई झनै दूषित लाग्छ। त्यसैले कक्षाभित्र पनि मास्क लगाएरै बस्नुपरेको उनी बताउँछिन्।

ब्यासीबाट ख्वप कलेज करिब ५०० मिटर पूर्वमा पर्छ। कलेज वरिपरि थुप्रै इँटाभट्टा छन््। धुवाँले डम्म हुँदा कलेजबाट अलि परको दृष्य देख्न मुस्किल छ। इँटाभट्टाको धुवाँले यो क्षेत्रको प्रदूषण अन्यत्रको भन्दा अझ धेरै छ।

यो क्षेत्रमा भक्तपुरबासीले खेती पनि गर्छन्। खेतमा सुकेका झारपात र कृषिजन्य फोहोर जलाउँदा भक्तपुर अझ प्रदूषित बनेको छ।

काठमाडौँ उपत्यकामा करिब १०० वटा इँटाभट्टा सञ्चालित छन्। अधिकांशले वातावरणमैत्री उपकरण जोडेका छैनन्। नियमित जाँच पनि हुँदैन। 

वर्षा शुरू भएपछि भट्टामा काम कम हुन्छ। यो बेला अन्य समयका लागि पनि पुग्ने गरी इँटा उत्पादन गर्छन्। भट्टाबाट निस्किने धुँवाको मुस्लो प्रदूषणको एउटा कारण  भएको वायुगुणस्तर विज्ञ डा. भूपेन्द्र दास बताउँछन्। 

वातावरण विभागले तयार गरेको मापदण्ड अनुसार इँटाभट्टाबाट निस्कने धुँवा (सस्पेन्डेड पार्टिकुलेट्स म्याटर्स) ३५० माइक्रोग्राम प्रति क्यूमिटर हुनुपर्छ। भट्टाको चिम्नीको उचाइ १७ मिटर हुनुपर्छ। तर महालेखाको प्रतिवेदनमा भट्टाहरूले मापदण्ड पूरा नगरेको र नियमित जाँच नहुने उल्लेख छ।

इँटाभट्टाको नियमित जाँच गर्ने अधिकार प्रदेशको उद्योग तथा वाणिज्य मन्त्रालयलाई छ। तर बागमती प्रदेशको उद्योग मन्त्रालयले नियमित परीक्षण तथा अनुगमन गरेको छैन। उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा त्यससम्बन्धी नियमित अनुगमन गर्न जनशक्ति नभएको बताउँछन्। उनी भन्छन्, “हामीसँग विज्ञ जनशक्ति नभएर भट्टहरूको नियमित अनुगमन गरिएको छैन। तर कुनै उद्योगका विषयमा उजुरी परे तुरुन्त अनुगमनमा जान्छौँ।”

भक्तपुरका इँटाभट्टा छेउछाउ नै अस्पताल छन्। प्रदूषणको मारमा भक्तपुर जिल्ला अस्पताल, क्यान्सर अस्पताल, काठमाडौँ मेडिकल कलेजलगायत अस्पतालका बिरामी, कर्मचारी र विद्यार्थी पनि परेका छन्। दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजको होस्टेल बस्ने प्रमिला निरौला भन्छिन्, “बिहानै उठेदेखि धुँवाधुलो खानुपर्छ। होस्टेलअगाडि नै तीनचार वटा भट्टा छन्। प्रदूषण अलि कम नभएसम्म स्थानीय सरकारले भट्टा चलाउन रोकिदिए सास फेर्न सहज हुने थियो।”

भक्तपुरको दुवाकोटमा रहेको नैन फर्माका सञ्चालक विक्रम घिमिरे प्रदूषणका कारण आँखा, नाक पोल्ने र रुघाखोकीका समस्या लिएर आउनेको संख्या बढेको बताउँछन्। उनी भन्छन्, “हाम्रोमा अहिले आउने अधिकांश बिरामी धुलो र धुँवाबाट ग्रसित छन्। यस्तो प्रदूषित ठाउँ छ, म आफैलाई यहाँ बस्दा उकुसमुकुस हुन्छ।” 

भक्तपुरमा मात्र नभई, काठमाडौँ उपत्यका धेरै अस्पतालमा श्वासप्रश्वास तथा रुघाखोकीका बिरामी बढेका छन्। छातीरोग विशेषज्ञ डा. निरज बम अहिले हावाको गुणस्तर डब्लूएचओको मापदण्डभन्दा धेरै गुणा हानिकारक भएकाले यसबाट बच्न सावधानी अपनाउनुपर्ने बताउँछन्।

प्रदूषित हावाले खोकी लाग्ने, खसखस गर्ने, रुघा लाग्ने र विभिन्न संक्रमण हुने हुन्छ। त्यसैले काम नपरी बाहिर नजान र जाँदाखेरी अनिवार्य मास्क लगाउन डा. बमको सुुझाव छ। उनी भन्छन्, “मानिसका लागि स्वस्थ हावाको एयर क्वालिटी इन्डेक्स शून्यदेखि ५० सम्म हुनुपर्छ। अहिलेको एकदमै अस्वस्थकर हावाबाट जोगिन सजकता अपनाउनुपर्छ। काम नपरी घरबाहिर ननिस्कनु राम्रो हो।”

केही दिनदेखि काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहरमध्ये पहिलो स्थानमा कायमै छ। सोमबार पनि एयर क्वालिटी इन्डेक्स (एक्यूआई) मापनमा काठमाडौँ प्रदूषित शहरमध्ये पहिलो स्थानमा कायम छ। सोमबार बिहान पौने ११ बजे काठमाडौँको एक्यूआई २५३ पुगेको थियो।

एक्यूआई ०—५० हुँदा स्वास्थ्यका लागि राम्रो र ५१—१०० लाई ठिकै मानिन्छ। तर एक्यूआई १०१—१५० सम्म पुगे विशेष उमेर समूहलाई हानिकारक हुन्छ। १५१—२०० सम्म पुगे सबैलाई असर पुग्ने र २०१—३०० सम्म पुगे हानिकारक हुने मानिन्छ। ३०० भन्दा माथि एक्यूआई पुगे स्वास्थ्यका लागि अति जोखिम हुने र आपतकालको संकेतका रूपमा बुझ्ने गरिन्छ। गत साता काठमाडौँको प्रदूषणले खतराको सूचकांक पार गरेको थियो।

खराब धुँवा फ्याँक्ने सवारीका कारण पनि प्रदूषणको ग्राफ बढाउन सहयोग गरेको वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली बताउँछन्। नियमित रूपमा सवारीसाधनको प्रदूषण जाँच हुँदैन। वातावारण विभागले केही दिनअघि गरेको छड्के जाँचमा ३० प्रतिशत सवारीले मापदण्ड पूरा गरेका थिएनन्।

के छ स्थानीय तहको तयारी?
वायु गुणस्तरको सूचकांकले खतराको तह पार गरिरहँदा पनि उपत्यकाका स्थानीय तहहरूले प्रदूषण रोक्ने पहल गरेका छैनन्। भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो वेबसाइटमा वायु प्रदूषण बढेको र सजकता अपनाउन अनुरोध गरेको सूचना मात्रै राखेको छ।

नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, “हाल चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर सूचकांक २५० भन्दा बढी रहेको छ, जुन अत्यन्तै अस्वस्थकर अवस्थामा रहेको हुँदा मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको संक्रमणको जोखिम, सुक्खा खोकी लाग्ने घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुक्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको देखिन्छ। कृपया घरबाट बाहिर निस्कँदा माक्सको प्रयोग गर्नुहोस्।” 

सूचनामा सवारीसाधन कम प्रयोग गर्न, धुँवा निस्किने उद्योग कारखानालाई स्थगन गर्न अनुरोध गरिएको छ। तर नगपालिकाभित्रका उद्योग यथावत रूपमा सञ्चालन भइरहेका छन्। अहिले जनचेतनाका लागि सूचना मात्रै निकालेको नगरपालिकाका सूचना अधिकारी अनुप लामिछाने बताउँछन्। उनी भन्छन्, “हामीले सतर्क रहन अनुरोध गरेका छौँ। यसबाहेक अन्य उद्योग कलकारखाना बन्दै गराउने निर्णय भएको छैन।”

सूर्यविनायक नगरपालिकाले पनि प्रदूषण नियन्त्रणका लागि कुनै पहल गरेको छैन। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटा भन्छन्, “प्रदूषण बढेकाबारे नगरपालिकामा छलफल गरिरहेका छौँ। तर कुनै निर्णय लिएका छैनौँ।”

यस क्षेत्रमा सञ्चालित उद्योगधन्दा पनि यथावत सञ्चालनमा छन्। सोमबारसम्मको अवस्था हेरेर नगरपालिकाले केही निर्णय गर्ने सापकोटा बताउँछन्। भक्तपुरको मात्रै नभई काठमाडौँ, ललितपुरका पालिकाले पनि प्रदूषण नियन्त्रणका लािग ठोस कदम चालेका छैनन्।

स्थानीय तह मात्रै होइन, संघ सरकारले पनि सचेत रहन अनुरोध गर्ने बाहेक कुनै निर्णय लिएको छैन। विज्ञहरू भने उपत्यकाको प्रदूषण भयावह स्थितिमा पुगेको भन्दै सरकारलाई तत्काल निर्णय लिन दबाब दिइरहेका छन्।

सवारी वा अन्य उद्योगबाट निस्किने प्रदूषण रोक्न मापदण्ड बने पनि यसको कार्यान्वयन नहुँदा काठमाडौँको प्रदूषण अहिलेको अवस्थामा पुगेको वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठ बताउँछन्। “प्रदूषण मापदण्ड बनेको छ र उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गर्ने कानून पनि छ,” उनले फेसबुकमा लेखेका छन्, “तर धुवाँको मुस्लो छोड्ने गाडीहरू, विषेशगरी राति गुड्ने ट्रकहरू सडकमा गुडिरहन्छन्, कसले कारबाही गर्ने? सम्भवतः वायु प्रदूषण यस्तो समस्या होला, जसलाई रोकथाम र नियन्त्रण गर्न, नीति, नियम, स्रोत र निकाय सबै छ। कार्यान्वयन गर्ने प्रतिबद्धता र प्राथमिकता छैन। शहर ग्याँस च्याम्बरमा परिणत भइसकेपछि विज्ञप्ति जारी गरे, काम सकिइसक्यो?”

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिलेको वायु प्रदूषणलाई आपतकाल मानिनुपर्ने बताउँछन्। उनले पनि फेसबुकमा लेखेका छन्, “यस्तो स्वास्थ्यघातक हदसम्म प्रदूषण बढेर स्थिर रहिरहँदा पनि कुनै हतार, व्यग्रता छैन। ओ सरकार! कति हाइसन्चो हँ?” 

वायु गुणस्तरविज्ञ डा. दास अहिले डढेलोका कारण पनि प्रदूषण बढेको र सरकारले डढेलो नियन्त्रणमा जोड दिनुपर्ने बताउँछन्। उनी भन्छन्, “देशैभर डढेलो लागेको छ, यसलाई नियन्त्रण गरिएन भने अझै जटिल हुन्छ। यसमा तीनै तहका सरकारले ध्यान दिएको देखिँदैन।”

स्वास्थ्य मन्त्रालय भन्छ— ‘अझै हेरौँ’
विज्ञहरूले प्रदूषणका दृष्टिले आपतकालीन अवस्था बताइरहँदा पनि सरकारले भने गम्भीर रूपमा लिएको छैन। स्वास्थ्य मन्त्रालयले चैत २० गते विज्ञप्ति प्रकाशित गरी सचेत रहन अनुरोध गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ‘लकडाउन’ नै गर्ने अवस्था नरहेको बताउँछन्। “प्रदूषण त धेरै नै छ, तर लकडाउन गरेर यसलाई कम गर्ने अवस्था छैन। लकडाउन गर्दा देश र नागरिकलाई के कति घाटा हुन्छ सोच्नुपर्छ,” उनी भन्छन्।

सोमबारसम्म पनि प्रदूषण नघटे विज्ञहरूले दिएको सुझावबारे छलफल गरेर निर्णय गर्ने उनको भनाइ छ। “शनिबार र आइतबारको बिदाले पनि प्रदूषण कम भएन भने विज्ञको सुझावअनुसार सवारी जोरविजोर, उद्योगधन्दा बन्द गर्ने वा अन्य केके गर्न सकिन्छ भन्नेमा छलफल गर्छौं।”

हाल वायुमण्डलमा उत्सर्जन प्रदूषण वर्षाले घटाउँछ। जोडले हावा चल्दा पनि वायुमण्डलको धुलोधुँवा उडाएर लैजान्छ। तर अहिले न पानी परेको छ, न त हावा नै चलेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँमा यो हप्ताको मध्यदेखि पानी पर्ने सम्भावना छ। मौसमविद् डेभिड ढकाल भन्छन्, “मंगलबारसम्म अझै पानी पर्ने सम्भावना कम छ। परिहाले पनि छिटपुट हो। बुधबार वा बिहीबार भने पानी पर्ने सम्भावना छ। त्यसपछि मौसम खुल्छ।”