नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।
काठमाडौँ– विश्वमा प्रत्येक वर्ष सवारी दुर्घटनामा ११ लाख ९० हजारभन्दा धेरै मानिसको मृत्यु हुन्छ। पाँच करोडभन्दा धेरै घाइते हुन्छन्।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांकअनुसार ५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युको प्रमुख कारण सवारी दुर्घटना हो। महामारी शैलीमा देखापरेको सवारी दुर्घटना नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघले सन् २०२० मा एउटा प्रस्ताव पारित गरेको थियो, जसमा सन् २०३० को अन्त्यसम्म सवारी दुर्घटनाबाट हुने मृत्यु र गम्भीर चोटपटक कम्तीमा ५० प्रतिशतले घटाउने उल्लेख छ।
राष्ट्रसंघको महासभाबाट पारित भएको यो प्रस्ताव दिगो विकासको लक्ष्यमा समेत समावेश छ। आफ्ना सदस्य राष्ट्रलाई राष्ट्रसंघले आग्रह गरेको छ, “लक्ष्य प्राप्तिमा लगनशील भएर काम गर्नुस्।”
विश्वका केही देशले सडक सुरक्षामा सुधार गरेका छन्। इस्टोनिया, ग्रीस, लिथुआनिया यसका उदाहरण हुन्। सबैभन्दा ठूलो टाउको दुखाइचाहीँ कम र मध्यम आय भएका देशलाई छ, किनभने विश्वको सवारी दुर्घटनामा हुनेमध्ये ९२ प्रतिशत मृत्यु यिनै देशमा हुन्छ।
यो अझै पनि ठूलो सार्वजनिक स्वास्थ्य र आर्थिक मुद्दा भएको राष्ट्रसंघ बताउँछ। उसको प्रतिबद्धतामा भनिएको छ, “यदि, समयमै सम्बोधन गरिएन भने यसले दिगो विकासमा समेत समस्या ल्याउँछ।”
सवारी दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या घटाउन १० वर्ष समयसीमा तोकिएकोमा पाँच वर्ष बित्न लाग्यो। बाँकी पाँच वर्षमा यस्तो तथ्यांक ५० प्रतिशतले घटाउने लक्ष्य हासिल गर्न नेपाललाई सकस छ।
राष्ट्रसंघको प्रतिबद्धतापछि पनि नेपालमा सवारी दुर्घटनाको ग्राफ ओरालो लागेको छैन। विगत पाँच वर्षको तथ्यांक केलाउँदा नेपाल लक्ष्य प्राप्तिबाट निकै टाढा छ। सवारी दुर्घटनाबाट हुने मृत्युको संख्या घट्नु त परको कुरा, यही बीचमा रेकर्ड नै कायम हुने गरी एक वर्षमै लगभग २९ सय जनासम्मको मृत्यु भयो।
सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०७६/७७ मा दुई हजार २५१ जनाको ज्यान गएको थियो। यो त्यही साल हो, जतिबेला संयुक्त राष्ट्रसंघले दुर्घटनामा हुने मृत्यु र घाइतेको संख्या घटाउने लक्ष्य तोकेको थियो। त्यसको अर्को वर्ष, यो तथ्यांक अझ बढ्यो। प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ५०० जनाको मृत्यु भएको थियो।
आर्थिक वर्ष २०७८/७९ मा पनि मृतकको संख्यामा कमी आएन, बरू झन् बढेर दुई हजार ८८३ जना पुगे। २०७९/८० र २०८०/८१ मा थोरै सुधार भयो। यी दुई वर्षमा प्रत्येक साल लगभग दुई हजार ३०० जनाको मृत्यु भएको तथ्यांक छ।
घाइते हुनेहरूको संख्या झन् भयावह छ। घट्नुको सट्टा हरेक वर्ष नयाँनयाँ कीर्तिमान बनिरहेको छ। २०७६/७७ मा लगभग १६ हजार मानिस घाइते (गम्भीर तथा साधारण) भएका थिए। २०७७/७८ मा यो तथ्यांक २५ हजार पुग्यो। आर्थिक वर्ष २०८०/८१ मा घाइते हुनेको संख्या अझ बढेर ३२ हजार पुगेको छ। १० वर्षमा ५० प्रतिशतले घाइतेको संख्या घटाउने भनिए पनि नेपालमा पाँच वर्षमै दोब्बरले बढेको छ।
अन्तर्राष्ट्रिय निकायले नेपालमा गरेका अनुसन्धानले दुर्घटनाको अवस्था झन् डरलाग्दो देखाउँछ। त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल प्रहरीको तथ्यांकमा पनि ठूलो अन्तर छ। जस्तोः प्रहरीका अनुसार नेपालमा २०७८/७९ मा भएका सवारी दुर्घटनामा दुई हजार ८८३ जनाको मृत्यु भएको थियो। तर डब्लूएचओले सोही वर्ष आठ हजार ४७९ जनाको मृत्यु भएको जनाएको छ।
मृत्युदर र घाइतेको संख्या मात्र होइन, नेपालमा सवारी दुर्घटनाको संख्या पनि उच्च छ। २०७६/७७ मा करिब साढे १५ हजार दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ। २०८०/८१ सम्म आइपुग्दा यो संख्या लगभग २३ हजार पुगेको छ।
यस्तो स्थितिमा नेपाल सरकार पनि लक्ष्य प्राप्ति गर्न नसकिनेमा ढुक्क नै छ। गत फेब्रुअरीमा मोरक्कोमा आयोजित सडक सुरक्षासम्बन्धी मन्त्रीस्तरीय चौँथो विश्वव्यापी सम्मेलनमा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले लक्ष्य हासिल गर्नबाट नेपाल चुक्नसक्ने बताएका थिए।
शर्माले भनेका थिए, “नेपाल २०३० को विश्वव्यापी लक्ष्य पूर्णरूपमा प्राप्त गर्नबाट चुक्नसक्छ। तैपनि, सडक प्रयोगकर्ता, घरेलु सरोकारवाला, विकसित देश, विकास साझेदार, क्षेत्रीय संस्था र यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूको प्रभावकारी सहकार्य र समर्थनका साथ, हामी आगामी वर्षहरूमा सडक सुरक्षामा सुधार गर्न प्रतिबद्ध छौँ।”
सडक सुरक्षाविद् पुष्पराज पन्त सरकारले यस क्षेत्रमा लगानी नगरेका कारण लक्ष्य प्राप्तिमा कठिनाइ भएको विश्लेषण गर्छन्। उनी भन्छन्, “यसमा हुने लगानीलाई थप व्ययभारको रूपमा लिइन्छ। जब स्रोत सुनिश्चित हुँदैन, तब जतिसुकै प्रतिबद्धता जनाए पनि उपलब्धि हुँदैन। नेपालमा भएको यत्ति हो।”
कार्ययोजना निर्माण गर्ने र स्रोत व्यवस्थापन गर्ने निकायहरूबाट वस्तुगत र तथ्यपरक विवरणसहित पर्याप्त जानकारी र प्रष्ट मार्गचित्र प्रवाह नभएको बताउँछन् पन्त। यसकारण सडक सुरक्षाका विविध पक्षहरूमा लगानीलाई ‘जस्टिफाइ’ गर्न नसकिएको उनको भनाइ छ।
नेपालमा दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधिहरू अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्। मोरक्कको कार्यक्रममा उपस्थित सचिव शर्माले पनि सडक सुरक्षामा पर्याप्त काम भइरहेको जानकारी दिएका थिए।
सुरक्षित सडक करिडोरको अवधारणामार्फत सडक र राजमार्ग सुधार, सवारी साधनको मापदण्ड र परीक्षण लागू, औपचारिक तथा अनौपचारिक रूपमा शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको शर्माले बताएका थिए। सरकारले राष्ट्रिय सडक सुरक्षा विधेयक पनि तयार गरिरहेको उनको भनाइ थियो। उनले एउटा शक्तिशाली सडक सुरक्षा परिषद् बनाउने तयारी भइरहेको जनाएका थिए।
बाइक चालक र यात्रु दुवैका लागि हेल्मेटको प्रयोगलाई सुनिश्चित गर्ने पनि शर्माले बताएका थिए। दुर्घटनामा पर्ने सवारी साधनमध्ये बाइक अग्र स्थानमा छ। ट्राफिक प्रहरीको तथ्यांकअनुसार हरेक दिनजसो बाइक दुर्घटना हुन्छ। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनअनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत बाइकका कारण हुन्छ।
बाइक दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्नुपर्ने माग राख्दै गत फागुनमा संसद्मा सार्वजानिक महत्त्वको प्रस्तावसमेत दर्ता भएको थियो। सांसद राजेन्द्र बजगाईंले दर्ता गराएको उक्त प्रस्ताव छलफलमै नआई संसद्को अधिवेशन अन्त्य भयो।
बाइकपछि सबैभन्दा बढी दुर्घटना हुने सवारी साधन हुन्– जिप र कार, बस, ट्रक र टेकंर, टेम्पु, ट्याक्टर, माइक्रो, टिपर र डोजर। आइतबार बिहान मात्र अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, अरू दुई जना गम्भीर घाइते छन्। लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको छ।
सवारीसाधन दुर्घटना हुने अनेक कारण छन्, यसमध्य प्रमुख हो– सवारी चालकले नियमविपरीत गर्ने क्रियाकलाप। ट्राफिक नियम उल्लंघन, जथाभाबी ओभरटेक, तीव्र गति, मापसे, जथाभाबी ढोका खोल्ने, निदाउने कारणले दुर्घटना निम्तिने ट्राफिक प्रहरी बताउँछ। यसैगरी, सवारीसाधन, यात्रु, मौसमको अवस्थाका कारण पनि दुर्घटना हुने गरेको छ। सडकको अवस्था अर्को प्रमुख कारण हो, किनभने धेरै सडक खाल्डाखुल्डी, घुम्ती, उकालो र साँघुरा छन्।
सवारी दुर्घटनाले मानिसलाई जिन्दगीभर असर गर्ने नर्भिक अस्पतालका डा. प्रवीण नेपाल बताउँछन्। उनी भन्छन्, “दुर्घटनामा पर्ने बित्तिकै शारीरिक रूपमा अथाहा पीडा झेल्नुपर्छ। कतिपय त जिन्दगीभर अशक्त बन्छन्। अस्पतालबाट निको भएर फर्किनेहरूमा पनि पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर देखिन्छ। त्यसकारण, पछि विरक्तिनुभन्दा अहिले नै सडकमा सजग बनौँ।”
केहीकेही मानिस पटक–पटक सवारी दुर्घटनामा परेर अस्पताल आउने गरेको डा. नेपाल सुनाउँछन्। उनीहरू विशेषगरी तन्नेरी पुस्ताका छन्। “बाइक दुर्घटनामा एकजना २० वर्ष जतिको केटोको शुरूमा खट्टा भाँचियो। दोस्रो पटक दुर्घटना हुँदा ढाड भाँचियो। तेस्रो पटक दुर्घटनामा परेर अस्पताल आउँदा टाउको फुटेछ। उसको ज्यान नै गयो। गाडी गुडाउँदा यस्तो हेलचेक्राइँ नगरौँ।”
सवारी दुर्घटनाबाट हुने यस्ता चोटपटक र मृत्यु रोक्न सकिन्छ। तर त्यसका निम्ति सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने राष्ट्रसंघ बताउँछ। उसले भनेको छ, “सरकारले समग्र रूपमा सडक सुरक्षालाई सम्बोधन गर्न कदम चाल्नुपर्छ। यसका लागि यातायात, प्रहरी, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरू, साथै निजी क्षेत्र र नागरिक समाजको संलग्नता पनि आवश्यक छ। सडक, सवारी साधन र सबै सडक प्रयोगकर्ताहरूको सुरक्षालाई सम्बोधन गर्ने कार्यहरू आवश्यक छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
