लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर

लोसपा, नेपालले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई चयन गरेको छ।

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालको प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर चयन भएका छन्। बुधवार बसेको सांसदहरूको बैठकले अध्यक्ष ठाकुरलाई संसदीय दलको नेता चयन गरेको पार्टीका कार्यकारिणी समिति सदस्य जितेन्द्र सानलले बताए।

पाँच दलीय गठबन्धनकै नेतृत्वमा संघीय र प्रादेशिक सरकारहरू बन्नुपर्छ भन्ने पार्टीको अहिलेको राजनीतिक ‘बटम लाइन’ रहेको उनले बताए। प्रतिनिधिसभामा चार सिट जितेको लोसपा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको पूर्वसन्ध्यामा सत्ता गठबन्धनमा सामेल भएको थियो।

लोसपा संघीय सरकार र मधेश प्रदेश सरकारमा सहभागी हुन खोजेको छ। पाँच दलीय गठबन्धनको नेतृत्वमा सरकार बन्ने भएपछि त्यसलाई आफूहरूको स्वतः समर्थन हुने उनले बताए। अहिले नै सरकारमा जाने विषयमा बोल्दा अलि हतार हुने सोनलको भनाइ छ।