हिउँदमा निर्माणका काम बढी हुन्छन्। इँटाभट्टा चल्छन्। डढेलो लाग्छ। सवारी साधनको प्रदूषण जाँच नगण्य मात्र हुन्छ। यी कारण प्रदूषण बढ्दा अल्पकालीन तथा दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम बढेको छ।
काठमाडौँ– हरेक वर्ष हिउँद सकिन थालेपछि काठमाडौँको प्रदूषण समाचारको ‘हेडलाइन’ बन्न थाल्छ। ती एकनासे हेडलाइनमा ‘काठमाडौँ विश्वकै प्रदूषित शहर’, ‘काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहर’ वा यस्तै लेखिन्छ।
चैत १९ गते (मंगलबार) पनि काठमाडौँ विश्वकै प्रदूषित शहर बनेको समाचार आयो। ‘एयर क्वालिटी इन्डेक्स’को मापनमा काठमाडौँलाई विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा देखाइएको थियो। मंगलबार दिउँसो १२ बजे काठमाडौँको वायुको गुणस्तर सूचकांक (एक्यूआई) २५६ पुगेको थियो।
बुधबार भने प्रदूषित शहरको सूचीमा भारतको राजधानी दिल्ली अगाडि आयो, काठमाडौँ दोस्रो नम्बरमा पुग्यो। तर वायु प्रदूषण झन् बढ्यो। बुधबार एक्यूआई २६८ पुगेको छ।
काठमाडौँको एक्यूआई सोमबार ११८ र आइतबार १०१ पुगेको थियो। सामान्यतः एक्यूआई ०-५० लाई राम्रो मानिन्छ। ५१-१०० लाई स्वास्थ्यका दृष्टिले ठिकै मानिन्छ। तर एक्यूआई १०१-१५० सम्म पुगे विशेष उमेर समूहका लागि हानिकारक मानिन्छ।
एक्यूआई १५१-२०० सम्म पुगे सबैलाई असर पुग्ने बुझिन्छ। २०१-३०० सम्म पुगे हानिकारक मानिन्छ। ३०० भन्दा माथि एक्यूआई पुगे स्वास्थ्यका लागि अति जोखिम हुने हुँदा आपतकालको संकेतका रूपमा बुझ्ने गरिन्छ।
काठमाडौँमा बुधबार दिउँसो एक्यूआई २६८ पुगेपछि स्वास्थ्यका दृष्टिले एकदमै जोखिम भएको बुझिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले निर्धारण गरेको मापदण्डअनुसार हावामा पार्टिक्युलेट म्याटर (पीएम) २.५ को मात्रा प्रतिघनमिटरमा ५ माइक्रोग्राम वा त्यसभन्दा कम हुनुपर्छ । तर मंगलबार दिउँसो पीएम २.५ प्रतिघनमिटरमा १८१ माइक्रोग्राम पुगेको थियो। जसअनुसार काठमाडौँको हावामा डब्लूएचओले तोकेको भन्दा ३६.२ गुणा बढी पीएम २.५ रहेको थियो।
किन यही समयमा बढ्छ प्रदूषण?
वातावरण विभागका सूचना अधिकारी दीपक ज्ञवाली एक हप्तायता काठमाडौँमा प्रदूषण धेरै बढेको बताउँछन्। उनका अनुसार हरेक वर्ष पुसदेखि वैशाखमा धेरै प्रदूषण देखिने गरेको छ। अहिले पानी नपरेको र विकास निर्माणका काम बढी भएकाले प्रदूषण बढेको उनको भनाइ छ।
“यो मौसममा प्रायः सधैँ प्रदूषण बढ्ने गर्छ,” उनी भन्छन्, “यसमा धेरै कुरा जोडिएको छ। उत्सर्जन भएको प्रदूषण घटाउने पानीले हो। पानी परेको छैन। हावा पनि खास नचल्दा उडाएर लैजानसकेको पनि छैन।”
हिउँदमा विकास निर्माणका काम बढी हुन्छन्। काठमाडौँ उपत्यकाका भित्री तथा बाहिरी विभिन्न सडक अहिले पनि निर्माण भइहेका छन्। ग्वार्कोमा प्लाइओभरको निर्माण भइरहेको छ। उता, चक्रपथको दोस्रो खण्ड विस्तार शुरू नभए पनि यस क्षेत्रका थुप्रै संरचना हटाइएको छ। जसकारण धुलोधुवाँ बढेको सूचना अधिकारी ज्ञवाली बताउँछन्।
वायु गुणस्तरविज्ञ भूपेन्द्र दासले अहिले प्रदूषण बढ्नुका मुख्य दुई वटा कारण औँल्याए। उनका अनुसार प्रदूषणको मुख्य कारण डढेलो हो। अहिले काठमाडौँ आसपासका जंगलमा डढेलो लागिरहेको छ। “फागुनदेखि वैशाखसम्म अलि बढी प्रदूषण हुने समय हो। किनकि, यही महिनामा धेरैतिर डढेलो लाग्छ। अहिले पनि भएको त्यही हो,” उनी भन्छन्।
यो समय काठमाडौँ वरपरका इँटाभट्टाहरू पनि सञ्चालनमा हुन्छन्। वर्षा शुरू भएपछि भट्टामा काम कम हुन्छ। यस बेला उनीहरू अन्य समयका लागि पनि पुग्ने गरी इँटा उत्पादन गर्छन्। भट्टाहरूबाट निस्किएको धुवाँ प्रदूषणको अर्को मुख्य कारण भएको दास बताउँछन्। “यो तीन महिनामै इँटाभट्टामा एकदमै धेरै काम हुन्छ, प्रदूषण पनि बढ्छ,” उनी भन्छन्।
दासका अनुसार नजिकका छिमेकी देशहरूबाट पनि प्रदूषित हावा आइरहेको हुन्छ। भारत, बांलादेशका विभिन्न शहरहरू प्रदूषित छन्। त्यताबाट बहने हावाले प्रदूषण ल्याउँछ।
यसका अतिरिक्त सवारीले बढाउने प्रदूषण पनि उत्तिकै रहेको वातावरण विभागका सूचना अधिकारी ज्ञवाली बताउँछन्। ट्राफिक महाशाखाका अनुसार उपत्यकामा दैनिक करिब २० हजार हाराहारी सवारी काठमाडौँ भित्रिन्छन्। उपत्यकामा मात्रै चल्ने पनि हजारौँ छन्। यी सवारीको प्रदूषण जाँच हुने गरेको छैन।
सवारीले निकाल्ने धुँवा हावा प्रदूषित गर्ने अर्को कारण बनेको छ। ज्ञवाली भन्छन्, “अहिले अधिकांश सवारीहरू पनि नियमित चेकजाँच हुँदैन। तिनीहरूबाट निस्किने धुवाँ एकदमै हानिकारक हुन्छ, जुन हाम्रो वायुमण्डलमा गएर बस्छ।”
प्रदूषण कम गर्न वातावरण विभागले सवारीको नियमित निरीक्षण गरे पनि पर्याप्त मात्रामा हुन नसकेको ज्ञवाली स्वीकार गर्छन्। तर काठमाडौँको हावा स्वस्थकर नभए पनि आत्तिहाल्नुपर्ने अवस्था नभएको उनको भनाइ छ। “हामीले नियमित प्रदूषणको अवस्था कस्तो छ, डाटाहरू हेरिरहेका छौँ। अहिले विद्यालय बन्द गर्ने वा धेरै आत्तिनुपर्ने अवस्था छैन। तर सजकता अपनाउनुपर्छ,” उनी भन्छन्।
स्वास्थ्यमा कस्तो पर्छ असर?
प्रदूषित हावाले विभिन्न अल्पकालीन र दीर्घकालीन विभिन्न रोग लाग्नसक्ने छातीरोग विशेषज्ञ डा. निरज बम बताउँछन्। अहिले हावाको गुणस्तर डब्लूएचओको मापदण्डभन्दा धेरै गुणा हानिकारक भएकाले अल्पकालीन रूपमा खोकी लाग्ने, खसखस गर्ने, रुघा लाग्ने र विभिन्न संक्रमण हुने हुनसक्छ।
हावामा भएका हानिकार ‘पार्टिकल्स’ हावाकै माध्यमबाट फोक्सोमा पुग्ने र स्वास्थ्यमा विभिन्न प्रकारका जोखिम हुने डा. बम बताउँछन्। उनी भन्छन्, “श्वासनली सुक्खा हुने, विभिन्न भाइरस, व्याक्टेरियाको संक्रमणको जोखिम हुने हुन्छ। पीएम २.५ भन्दा साना कणहरू त हाम्रो रगतसम्मै पुग्छन्। रक्तनलीमा प्रवेश गरेपछि प्रेसर बढाउने, मधुमेह बढाउने, पक्षघात र हृदयघातको सम्भावना पनि बढ्छ।”
दूषित हावामा हिँड्डुल गर्दा पनि सजकता अपनाउनुपर्ने उनी बताउँछन्। बाहिर निस्कँदा मास्क लगाएर मात्रै निस्किने, प्रदूषित ठाउँमा जाँदा सजकता अपनाउनुपर्ने उनको भनाइ छ। सरकारले पनि प्रदूषणलाई कम गर्न दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने डा. बम बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
