इस्लाम धर्मावलम्बीले ईद पर्व मनाउँदै

यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ।

काठमाडौँ– देशभरका इस्लाम धर्मावलम्बीले आज ईद–उल फित्र (ईद) मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।

इस्लाम धर्मावलम्बीको महान पर्व ईदलाई हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ। यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ। समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा शुभकामना दिएका छन्। 

“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ,” सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना।”

सरकारले ईदका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ।