मन्त्री नबन्ने गगनको घोषणा, कम मत पाएकोबारे समीक्षा गर्ने

गगन थापाले आफ्नो पराजयलाई शिक्षाका रूपमा ग्रहण गर्ने र दलको नेता बन्न संघर्ष गर्ने प्रतिक्रिया दिएका छन्।

काठमाडौँ– कांग्रेस संसदीय दलको नेतामा पराजित गगन थापाले आफू सरकारमा नजाने घोषणा गरेका छन्।

निर्वाचनको मतपरिणाम सार्वजनिक हुनासाथ उनले आफ्नो पराजयलाई शिक्षाका रूपमा ग्रहण गर्ने र दलको नेता बन्न संघर्ष गर्ने प्रतिक्रिया दिएका हुन्। बुधबार बिहान भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवाले ६४ मत ल्याउँदा थापाले २५ मत मात्रै पाएका थिए।

थापाले भने, “यो परिणामलाई मैले सिकाइका रूपमा लिएको छु, निराश भएको छैन। दलको नेता बन्न अझै मेहनत र संघर्ष गर्नेछु।” थापाले आफूले पाएको मतलाई अनपेक्षित भनेका छन्। उनको पक्षमा कम्तीमा ३९ जना सांसद भएको दाबी गरिएको थियो ।

थापा समूहका एक सांसदका अनुसार आफ्नै समूहका सांसदले मत नहाल्नु आश्चर्यजनक हो। मंगलबार संस्थापनइतर समूहले उनलाई दलको नेताका लागि साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो। पार्टी नेता डा. शेखर कोइरालाले अन्तिम समयमा आफू दलको नेताको उम्मेदवार बन्ने अडानबाट पछि हट्दै थापालाई समर्थन गरेका थिए।

साथै थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेलको पनि साथ पाएका थिए। “हामीले हाम्रो समूहबाटै किन मत पाएनौं भन्ने विषयमा गम्भीर समीक्षा हुनेछ। त्यसका सिकाइहरूलाई आगामी दिनमा अवलम्बन गरी अगाडी बढ्नेछौँ”, ती सांसदले भने।

कांग्रेसको महामन्त्रीसमेत रहेका थापाले आफूलाई प्राप्त मत अपेक्षाकृत नभएको बताएका छन्।