दुई जनाको मृत्यु, राजधानीका दर्जनौँ ठाउँमा आगजनी, तोडफोड र लुटपाट हुँदै त्रासद अराजकता बनेको राजावादीको आन्दोलनलाई सरकारकै कमजोरीले कसरी मलजल गर्यो? कहाँ कसरी भयो सुरक्षामा चुक?
काठमाडौँ– “निषेधित भनेर तोकिएको क्षेत्रमा, ब्यारिकेड लगाएर बाटोमा उभिएका प्रहरीलाई किचेर मार्ने शैलीमा जब दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्दै गाडी हुुइँक्याए, त्यो गाडीको टायरमा गोली हानेर प्रसाईंलाई तत्कालै नियन्त्रणमा लिनुपर्ने थियो। प्रहरीले यति गरेको भए आज तीनकुने क्षेत्र यस्तो विध्वंस र अराजकताको अखडा बन्ने थिएन,” आन्दोलन, भीड र दंगा नियन्त्रणमा दक्खल राख्ने एक उच्च प्रहरी अधिकृतले शुक्रबार राति उकालोसँग भने, “प्रहरीलाई यस्तो बेला फिल्डमा गैससकर्मी जस्तो मध्यस्थता गर्न खटाइँदैन। तत्काल अत्यावश्यक एक्सनमा जानुपर्छ। त्यसमा एउटा मात्र चुक भयो भने पनि परिस्थिति काबुबाहिर जान्छ। विडम्बना, आज हामी गैससकर्मी जस्ता भयौँ।”
यी प्रहरी अधिकृतले जे हुनुपर्छ भन्दै थिए, आखिर त्यही नहुँदा पूर्वराजा ज्ञानेन्द्रलाई उनले १६ वर्षअघि गुमाएको गद्दीमा फर्काउने दाबी गर्दै राजावादीले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक र अराजक बन्दा दुई जनाको ज्यान गएको छ।
गृह मन्त्रालयले शुक्रबार साँझ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यो प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको जानकारी दिएको थियो। उनी कीर्तिपुर निवासी २९ वर्षीय सबिन महर्जन थिए। त्यसको केहीबेरमै तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगो लगाएको घरमा जलेर मृत्यु भएका अर्का एक जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको थियो।
जलेर मृत्यु हुने एभिन्यूज टेलिभिजनका क्यामरापर्सन सुरेश रजक रहेको पुष्टि भएको छ। रजक शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शन खिचिरहेका थिए। प्रहरीसँग प्रदर्शनकारीको झडप शुरू भएपछि प्रदर्शनकारीले तोडफोड गरेको भवनभित्र पसेर दृश्य खिचिरहेका उनले प्रदर्शनकारीले त्यसमै आगो लगाएपछि जलेर ज्यान गुमाएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता, डीआईजी दिनेश आचार्यले आगजनी गरिएको घरबाट रजकको जलेको शव निकालिएको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको बताए।

गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमार्फत राजावादीका नाममा भएको प्रदर्शन हिंसात्मक र अराजक भएको भन्दै आगजनी, लुटपाट लगायतका गतिविधिमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउने बताएको छ। मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमा भने, “पूर्वराजाका समर्थकको लाजमर्दो आन्दोलन भयो। दुर्गा प्रसाईंले गाडी चलाएर सुरक्षाकर्मीलाई नै मार्ने उद्देश्य राखेको देखियो। व्यक्तिका घरमा आगो लगाउने, सवारी साधनमा आगजनी गर्ने लगायतका काम जघन्य अपराध हुन्।” उनले आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेकाले उनी नै यसको मुख्य जिम्मेवार रहेको र शुक्रबार भएको क्षतिको जिम्मेवारी पनि उनैले लिनुपर्ने बताए।
“भौतिक क्षतिको विवरण आइसकेको छैन। धेरै ठाउँमा सरकारी सवारीसाधन, जडीबुटी उत्पादन कम्पनी र त्यहाँ भएका सवारीसाधनमा पनि आगजनी भएको छ,” रिजालले भने, “यो राजनीतिक उद्देश्यले नभई आपराधिक, हिंसा गर्ने र लुटपाट गर्नका लागि गरिएको आन्दोलन हो।”
यो समाचार तयार पार्दासम्म प्रहरीले प्रसाईंलाई पक्राउ गर्न खोजिरहेको जनाएको छ। उनलाई पक्रन भक्तपुरस्थित निवासमा पुगेको प्रहरी प्रसाईं त्यहाँ नभेटिएपछि सम्भावित अरू ठाउँमा समेत खोजी गरिरहेको छ। तर दिनभर तीनकुने क्षेत्रमै रहेका प्रसाईं प्रहरीको आँखै अगाडिबाट कहाँ गए भन्ने प्रश्नले नै कति ठूलो सुरक्षा चुक भयो भन्ने संकेत गर्छ।
प्रहरीका अनुसार शुक्रबार भएको प्रदर्शनका क्रममा ५० जनाभन्दा बढी घाइते भएका छन् जसमध्ये २० जना सुरक्षाकर्मी छन्। प्रदर्शनका क्रममा सात जनालाई गोली लागेको छ। उनीहरूमध्ये पाँच जनाको सिभिल अस्पताल र दुई जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

फितलो रणनीति, आत्मघाती आकलन
शुक्रबार हुने गरी केही दिन पहिल्यै तय भएको राजावादीको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र तोकेको थियो। यही प्रदर्शनलाई काउन्टर दिने भन्दै मुख्यतः नेकपा माओवादी केन्द्रको अगुवाइमा समाजवादी मोर्चाले पनि प्रदर्शन र सभा राखेपछि प्रशासनले त्यसका लागि प्रदर्शनीमार्ग (भृकुटीमण्डप क्षेत्र) तोकिदिएको थियो।
गृह प्रशासनले दुई वटै प्रदर्शनका लागि बेग्लाबेग्लै क्षेत्र तोकेसँगै यी दुई पक्ष आमनेसामने हुँदा झडप हुनसक्ने आकलन गरेर सुरक्षा निकाय मुख्यतः दुई समूहबीचको झडप रोक्नेमा केन्द्रित भएका थिए। सुरक्षामा भएको गम्भीर पहिलो चुक यही थियो। त्यो के भने सारा सुरक्षा प्रबन्ध राजावादी समूह र समाजवादी मोर्चालाई अलगअलग अलग राख्नेमा केन्द्रित भयो, तिनले के गर्ने योजना बनाइरहेका छन् भन्नेमा ध्यान नै दिइएन।
“त्यो कुराको आकलन गरिएको हुन्थ्यो भने तीनकुने क्षेत्रमा दुर्गा प्रसाईंले निषेधित क्षेत्र तोड्दै, सुरक्षाकर्मीकै माथि गाडी कुदाउने हर्कत गर्दा नै उनलाई नियन्त्रणमा लिइन्थ्यो,” ती प्रहरी अधिकृतले भने, “प्रहरीले प्रदर्शन होइन, प्रदर्शनका क्रममा हुनसक्ने सम्भावित हिंसा र अराजकतालाई हेरेर रणनीति बनाउने हो। त्यही काम भएन।”
हुन पनि राजावादीले आफ्नो आन्दोलनको ‘कमान्डर’ बनाएका प्रसाईं केही प्रदर्शनकारी बोकेको सेतो पिकअप हुइँक्याएर तीनकुने आइपुगेपछि कार्यक्रम स्थलतर्फ नलागी सिधै शान्तिनगर हुँदै नयाँ बानेश्वरतर्फ अघि बढ्न खोजेपछि हिंसाको आधारभूमि बनेको थियो। निषेधित क्षेत्र तोकिएको क्षेत्रमा जान नदिन बाटो छेकेर बसेका प्रहरीलाई नै पेलेर गाडी अगाडि बढाएका प्रसाईंले नयाँ बानेश्वरतर्फ गाडी हुइँक्याएपछि राजावादीको समूह उग्र र अराजक बनेको थियो।
त्यसपछि राजावादीको एक समूह प्रसाईंको गाडी पछिपछि नयाँ बानेश्वरतर्फ बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास, लाठीचार्ज र पानीको फोहोरा हानेको थियो। त्यही भिड त्यसपछि तीनकुनेमा निजी घर तोडफोड, प्रहरीमाथि ढुंगामुढा गर्दै निजी घरमा आगो झोस्न पुगेको थियो। यतिसम्म कि आगो निभाउन गएको दमकलको बाटो त्यही भिडले छेकेर ढुंगा बर्साएको थियो।
त्यसपछि त राजावादी प्रदर्शनकारीले तीनकुने र आसपासका क्षेत्रमा घर, पसल, सञ्चारगृह र सरकारी सम्पत्तिमा आगजनी गर्न थाले। पार्टी कार्यालयमा पुगेर तोडफोड र आगजनी गरे। नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड र आगजनी गरेका उनीहरू माओवादी कार्यालयतर्फ अघि बढ्दाचाहिँ प्रहरीले रोक्यो। त्यो भिडले जडीबुटीमा जडीबुटी औषधि उत्पादन गर्ने कार्यालय र गाडी जलायो। कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा पुगेर आगजनी, तोडफोड र लुटपाट नै मच्चायो।

सुरक्षा रणनीतिमा अर्को गम्भीर चुक भएको देखिन्छ। राजावादीले नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समिति बनाएका थिए, त्यो समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बिहीबार मात्र आन्दोलन परिचालन गर्ने कमान्डर तोकेको थियो। आन्दोलनमा राजावादी पार्टीहरू राप्रपा र राप्रपा नेपाललगायतले पनि समर्थन गरेका थिए। शुक्रबार हुने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै प्रसाईं तथा राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर राणालगायतले स्थानीय प्रशासन र सुरक्षा निकायलाई ब्रिफिङ दिएका थिए। उनीहरूको यही ब्रिफिङमा भर परेर आवश्यक सुरक्षा रणनीति नबनाउनु गम्भीर सुरक्षा कमजोरी देखियो।
केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलमा भएको स्वागत र प्रदर्शनलाई हेरेर मजबुत सुरक्षा रणनीति बनाउनुपर्नेमा त्यति पनि नगरेर सरकारले गम्भीर खेलाँची गरेको पूर्वसुरक्षा अधिकारीहरूको विश्लेषण छ।
किनभने बिहीबार मात्र प्रसाईं निर्मलनिवासमा पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर फर्केपछि राजावादीहरूको आन्दोलनको कमान्डर तोकिएका थिए। त्यसको एक दिनअघि ज्ञानेन्द्रले सुवेदीलाई भेटेका थिए। प्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमा भएको मन्त्रणाको संकेत बुझेर पनि आवश्यक सुरक्षा रणनीति तर्जुमा वा परिमार्जन गर्नुपर्नेमा त्यसो नगरिएको पूर्वसुरक्षा अधिकारीहरू बताउँछन्।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सरकारले राजावादीको प्रदर्शनमा हुनसक्ने संवेदनशील घटनालाई असाध्यै हलुका तवरबाट लिइएको देखिएको र त्यो सुरक्षाका हिसाबले गम्भीर कमजोरी भएको बताउँछन्। “सरकारबाट पूरै कमजोरी भएको छ। यस्तो स्थिति हुन सक्छ भनेर पूर्वानुमान नै गरिएको देखिएन। नागरिकमा रहेको असन्तुष्टि बुझेर पनि पर्याप्त सुरक्षा तयारी गरिनुपर्थ्यो, त्योअनुसारका रणनीति बनाएर कार्यान्वयन गरिनुपर्थ्यो,” उनले भने, “सुरक्षा मूल्यांकनमा पनि कमजोरी भयो, सरकारको तयारीमा पनि गम्भीर लापरबाही र कमजोरी भयो।”
के शुक्रबारको जस्तो हिंसात्मक प्रदर्शन र अराजकताबारे सुरक्षा संयन्त्रले कुनै आकलन नै गरेका थिएनन्? या आकलन गरेर पनि त्यस्तो तयारी गरेनन्? गृह मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शन यस्तो होला भन्ने पूर्वानुमान नगरिएको दाबी गरे। “सुरक्षा निकायको मजबुत परिचालन भएकै थियो। राजा फर्काउँछौँ भन्नेहरूको आन्दोलन हिंसात्मक भएर यस्तो होला भन्ने कुनै पूर्वानुमान थिएन,” उनले भने, “यसमा केही कमजोरी भए होलान्, अब ती कुरालाई ध्यानमा राखेर अघि बढ्छौँ।”
शुक्रबारको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ। कर्फ्युको समयमा सेनालाई पनि सडकमा उतारिएको छ।

राजावादीको आन्दोलनलाई आन्दोलन नभई हिंसात्मक गतिविधि करार गरेको गृह मन्त्रालयले यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएको छ। शुक्रबार गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरू, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसमेतको बैठकले दुर्गा प्रसाईंलगायत राजावादीको प्रदर्शनमा संलग्नहरूलाई पक्राउ गरेर कारबाही अघि बढाउने निर्णय गरेको छ। तर त्यतिञ्जेल प्रसाईं भागिसकेका थिए।
बुधबारको हिंसात्मक प्रदर्शनका एक सूत्रधारमध्ये राप्रपा नेता धवलशम्शेर राणाले शुक्रबारको घटनाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने तर्क गरे। “फिल्डमा खटिएका सुरक्षाकर्मीले नै प्रदर्शनकारीलाई उत्तेजित बनाउने काम गर्दा अप्रिय अवस्था निम्तिएको हो,” उनले भने।
सुरक्षा निकायहरूका अनुसार शुक्रबार काठमाडौँमा ६ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए। सुरक्षा निकायकै आकलनमा राजावादी प्रदर्शनकारीको संख्या त्यो भन्दा कम थियो। र पनि राजावादीहरूको विध्वंससामु उनीहरु किन यस्तो निरीह बने?
गृहमन्त्री रमेश लेखकले शुक्रबार साँझ सञ्चारमाध्यमहरूसँग ‘सुरक्षा निकायले आफूले अपनाउनुपर्ने सतर्कता, संयम, धैर्यता अपनाए पनि राजावादीहरूको उग्रता उद्दण्डतासामु केही नलागेको’ बताएका छन्। उनको भनाइले सरकार, गृह प्रशासन र सुरक्षा संयन्त्रलाई सम्भावित यस्तो परिस्थितिको आकलन नै पो थिएन कि भन्ने प्रश्न उब्जाउँछ। “आकलन नभएको होइन, एक साता अघिदेखि नै यस्तो हुनसक्छ भन्ने पर्याप्त इन्टेलिजेन्स सूचना सरकारका विभिन्न तहमा पुर्याइएको थियो। तर त्योअनुसारको रणनीति नै अवलम्बन गरेको देखिएन,” एक गुप्तचर अधिकारीले भने, “अहिले देशको गुप्तचर के गर्दै छ भन्ने प्रश्न उठिरहेको छ। हामी चाहिँ त्यति धेरै इन्टेलिजेन्स पाएर पनि सरकारले किन हलुका रूपमा लियो भनेर आश्चर्यचकित छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
