म्यानपावरको किर्ते कागजातका कारण दुई नेपाली ४० दिनदेखि मुम्बईको जेलमा

वैदेशिक रोजगारीमा हिँडेका सर्लाहीका सद्दाम हुसेन र गुलबहार आलम ४० दिनदेखि महाराष्ट्र प्रहरीको थुनामा छन्। नाइस रेक्रुटिङ एजेन्सीले श्रम स्वीकृतिको नक्कली कागज बनाइदिँदा उनीहरू फन्दामा परेका हुन्।

काठमाडौँ– सर्लाहीको बरहथवास्थित हजरियाका जुनली मन्सुरको मोबाइलमा माघ २९ गते साँझ ५ बजे घन्टी बज्यो। ह्वाट्सएपमा छोराको नम्बरबाट कल आएको देखेपछि उनले उठाए। उताबाट छोरा मोहम्मद सद्दाम हुसेनले भने, “हामीलाई मुम्बई एयरपोर्टमा पुलिसले समातेको छ। सोधपुछको लागि हिँड्न भनिरहेको छ।”

फोन काटियो। मन्सुर हतास भए। काठमाडौँमा भएका आफ्नो भाञ्जालाई सम्पर्क गरेर थप बुझ्न भने। उनी भने स्थानीय एजेन्ट इम्तियाज शेखलाई भेट्न पुगे। शेखलाई छोरा मुम्बईमा पक्राउ परेको भन्दै म्यानपावर कम्पनीमा सम्पर्क गरेर कारण सोध्न आग्रह गरे।

“म त छोराको कुरा सुनेपछि कहाँ जाउँ, कसलाई भनौँ भयो। मैले सक्ने जति सबै उपाय लगाएँ,” मन्सुर भन्छन्, “तर कहीँकतैबाट आधिकारिक खबर आइरहेको थिएन।”

माघ २७ गते मन्सुरले छोरा हुसेनलाई ‘खुदा हाफिज’ भनेर नाइट बस चढाएका थिए। हुसेन वैदेशिक रोजगारीमा बहराइन गएपछि घरको आर्थिक अवस्था सुध्रिनेमा उनी आशावादी थिए।

हुसेन म्यानपावर कम्पनीका एजेन्ट शेखसँग काठमाडौँ आउन लागेका थिए। म्यानपावरले नेपालबाट हवाई टिकट महँगो पर्ने भन्दै काठमाडौँबाट बसमा दिल्ली लग्ने र त्यहाँबाट मुम्बई हुँदै बहराइनको हवाई टिकट काटिएको बताएको थियो।

“म छोरालाई छाड्न काठमाडौँ गइनँ। काठमाडौँमै बस्ने भान्जालाई बिदाइ गरिदिन भनेँ,” मन्सुर भन्छन्, “आफू गएर दोहोरो खर्च किन गर्ने भन्ने भयो।”
हुसेनकै गाउँछेउ बँसबरियाका गुलबहार आलम पनि बसमा सँगै थिए। ४२ वर्षीय गुलबहार मदरसाका मोल्बी हुन्। तर घर धान्न अप्ठेरो भएपछि उनले पनि वैदेशिक रोजगारीमा जाने निर्णय लिएका थिए।

गुलबहार काठमाडौँ आउनासाथ ग्वार्कोस्थित छोरा महोम्मद तौसिफलाई भेट्न पुगे। उनका छोरा ग्वार्कोमै सिलाइबुनाइको काम गर्छन्। तौसिफका अनुसार गुलबहार माघ २८ गते बिहान ११ बजेतिर उनलाई भेट्न पुगेका थिए। तर आधा घण्टा मात्र बसेर म्यानपावरमा काम बाँकी नै रहेको भन्दै छुट्टिए।

“एजेन्टसँग काठमाडौँ आएको र कोटेश्वरमा बसिरहेको भन्नुभएको थियो। पासपोर्ट र अन्य कागजात लिन सामाखुशीमा रहेको म्यानपावर अफिस जाने भन्नुभयो,” तौसिफ भन्छन्, “मैले बेलामौकामा फोन गर्नु भनेर बिदा गरिदिएँ।”

मुम्बईमा सद्दाम पक्राउ परेको खबर उनका बुबाले थाहा पाए पनि आफ्नो बुबासमेत पक्राउ परेको खबर तौसिफले एक सातापछि मात्रै पाए। त्यति बेलासम्म तौसिफ बुबा बहराइन पुगिसकेको ठानेर बसेका थिए।

“मलाई त आमा (नशिमा खातुन) ले बताएपछि थाहा पाएँ। आमाले पनि एक सातापछि मात्रै थाहा पाउनुभएको रहेछ,” तौसिफ भन्छन्, “आमालाई चाहिँ सद्दामकै बुबाले जानकारी दिएका रहेछन्।” 

कागजात नै नक्कली
पक्राउ परेको सुनेपछि मन्सुर र नशिमा आफ्ना मान्छे खोज्दै मुम्बईसम्म पुगे। कतैबाट आधिकारिक जानकारी नपाउँदा उनीहरू मुम्बई पुगेका थिए। मन्सुरले छोरा सद्दाम र नशिमाले श्रीमान् गुलबहारसँग मुम्बई केन्द्रीय कारागारमा भेट गरे। त्यसपछि मात्र मुम्बई अध्यागमनले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको थाहा पाए।

गुलबहारले आफू किन पक्राउ परेको भन्ने अझै स्पष्ट थाहा पाएका छैनन्। कागजपत्र नपुगेको हो वा नमिलेको आफूलाई जानकारी नभएको उनले श्रीमती नशिमालाई बताएका थिए।

“कागजात नमिलेको भन्दै हामीलाई समातेका हुन्। तर हामीलाई म्यानपावरले सबै कागजात दिएका थिए। खै के कारण पक्राउ गरियो बुझ्न सकिरहेका छैनौँ,” गुलबहारले जेलमा नशिमासँग भनेका थिए, “केही छैन हामी वकिलसँग कुरा गर्छौं, तिमी घर जाऊ। केही दिनमा घर आउँछु।”

त्यसपछि मन्सुर र नशिमा घर फर्किए। आफूले बुझ्दा ९० दिनसम्म कारागारमै राखिने जानकारी पाएको नशिमा बताउँछिन्।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार सदाम र गुलबहारको श्रम स्वीकृति नै नक्कली भएको पाइएको छ। म्यानपावरले दुवैको श्रम स्वीकृति नक्कली बनाइदिएको राजदूतावासका कर्मचारी कपिलमणि घिमिरे बताउँछन्।

“यस्ता कयौँ नेपाली खाडी जान भारतको विमानस्थलहरू प्रयोग गर्छन्। म्यानपावर कम्पनीले सस्तो भाडाका लागि भारतीय रूट रोज्छन्, उनीहरूले समूहमा एकाधको नक्कली कागजात बनाइदिएका हुन्छन्,” घिमिरे भन्छन्, “यो नौलो विषय होइन, तर यसमा निर्दोष नेपालीहरू फसिरहेका छन्।”

सद्दाम र गुलबहारको राहदानी नम्बर वैदेशिक रोजगार विभागको साइटमा राखेर हेर्दा म्यानपावर कम्पनीले उनीहरूको श्रम स्वीकृति बनाइदिएको देखिँदैन। बरू उनीहरू पक्राउ परेको आठ दिनपछि मात्रै श्रम स्वीकृति पाएको देखिन्छ। 

यसको अर्थ, सद्दाम र गुलबहार मुम्बई पुग्दासम्म उनीहरूसँग श्रम स्वीकृतिको नक्कली कागजात थियो। “यो सबै बदमासी म्यानपावरको हो,” घिमिरे भन्छन्, “उनीहरूले बहराइन पठाउने ३८–४० जनाको समूहमा दुई जनाको कागजात नक्कली बनाइदिए।”

महाराष्ट्र प्रहरीले सद्दाम र गुलबहारविरूद्ध दायर गरेको एफआईआरमा राहादानी र श्रम स्वीकृतिको स्टिकर नम्बर उल्लेख छ, जसमा दुवैको श्रम स्वीकृति नम्बर राख्दा अभिलेख नभेटिएको बताइएको छ। सद्दाम र गुलबहार काठमाडौँको सामाखुशीस्थित ‘नाइस रेक्रुटिङ एजेन्सी’बाट बहराइन जाँदै थिए।

पैसा नलिएको म्यानपावरको दाबी
नाइस रेक्रुटिङका प्रोप्राइटर निर्मल जीसी भने सद्दाम र गुलबहारको श्रम स्वीकृति नक्कली भएका कारण पक्राउ नपरेको दाबी गर्छन्। बरु राहदानीको तस्वीर नमिलेका कारण पक्राउ परेको उनी बताउँछन्।

राहदानीमा भएको तस्वीर र अहिलेको हुलिया मिल्ने नदेखिँदा शंकाका आधारमा पक्राउ परेको उनको भनाइ छ। “पासपोर्टमा हेर्नुभयो भने लामालामा दाढी छन्, अहिले त्यस्तो छैन। त्यसैले म्याच नै भएन एउटै मान्छे हो भनेर,” उनी भन्छन्, “समाचार लेख्न चाहनुहुन्छ भने लेख्नुस्, तर हाम्रो कारणले पक्राउ परेको होइन।”

नाइस रेक्रुटिङले सद्दाम र गुलबहारसँग वैदेशिक रोजगारीमा पठाउन एक रूपैयाँ पनि नलिएको जीसीको दाबी छ। बरु उनीहरू पक्राउ परेपछि छुट्टाउन वकिल शुल्क ५० हजार रूपैयाँ दिएको उनले बताए। “हामीले १ रूपैयाँ लिएको छैनौँ उनीहरूसँग। बरू अहिले समस्या पर्दा पैसा दिएका हौँ,” उनी भन्छन्।

सद्दामका बुबा मन्सुर भने आफू र गुलबहारले एजेन्ट इम्तियाज शेखलाई ५०–५० हजार गरी एक लाख र म्यानपावर कम्पनीलाई आफूले मात्र २ लाख दिएको बताउँछन्। “इम्तियाजले शुरूमै ५० हजार रूपैयाँ माग्दा उनलाई हातमै दिएका हौँ। म्यानपावरलाई भने खातामा पठाइदिएका छौँ,” उनी भन्छन्, “तर अहिले एजेन्ट पनि गायब छ। म्यानपावरले त्यही पैसा लेऊ वकिल राख र छुटाउ भनिरहेको छ।”