मानन्धर जोशीको दीर्घजीवनको कारण उनको क्रियाशीलतालाई ठान्छन् भने रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्।
काठमाडौँ- तीन पटकका मदन पुरस्कार विजेता वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भयो। नेपालको संस्कृति, भाषा र साहित्यमा योगदान पुर्याएका जोशीको ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।
डेंगी संक्रमण देखिएर अस्पतालमा भर्ना भएका उनलाई निमोनिया र मुटुको चालसम्बन्धी समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए।
अन्तिम श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीरलाई बिहान किस्ट अस्पताल परिषरमा र दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए।
महानगर प्राङ्गणमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता, कलाकार, सर्वसाधारणले पनि जोशीलाई श्रद्धाञ्जली दिएका थिए। मृत्युपर्यान्त मेडिकल साइन्सका विद्यार्थीलाई अध्ययनका लागि हस्तान्तरण गर्ने घोषणाअनुसार श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिएको छ। शरीर हस्तान्त्रणपछि शंखमुलस्थित बागमती घाटमा जोशीको छोराद्वय अनुराज र डा. पूर्णराजले उनको चिनाको दाहसंस्कार गरिएको थियो।
जोशी विस १९७७ वैशाख ३० गते ललितपुरको बखुंबहाः मा जन्मेका थिए। उनी पिता शंकर जोशी र माता राजकुमारीका जेठा छोरा हुन्। उनी राधादेवीसँग वैवाहिक बन्धनमा बाँधिएका थिए।
उनको आत्मवृतान्त 'सत्यमोहन' प्रकाशित छ, जसलाई लेखक गिरीश गिरीले लेखेका हुन्। उनका आफ्नै ७० वटा कृति प्रकाशित भइसकेको छन्। जोशीले हाम्रो लोक संस्कृति (२०१३), नेपाली राष्ट्रिय मुद्रा (२०१७) र कर्णाली लोक संस्कृति(२०२८) गरी तीनपटक मदन पुरस्कार जितेका थिए।
यसबाहेक, भूगोल, इतिहास, पुरातत्त्व, कलामा क्षेत्रमा पनि उनको उत्तिकै योगदान छ। पुरातत्त्व विभागका पहिलो निर्देशकदेखि भक्तपुर राष्ट्रिय कला संग्रहालयको स्थापना, पोखरा महेन्द्र गुफाको खोज पनि उनले गरेका हुन्। उनी न्युजिल्यान्ड पुग्ने पहिलो नेपाली पनि हुन्।
राजा-महाराजबाहेक सर्वसाधारण व्यक्तिको हुलाक टिकटमा फोटो र नाम अंकीत हुने जीवित व्यक्ति, पहिलो इ–पासपोर्ट प्राप्त गर्ने पहिलो व्यक्ति पनि उनै हुन्। जोशीले १०० वर्ष पूरा गर्दा उनको तस्वीर अंकीत मुद्रासमेत निकालिएको थियो।
इतिहासकार त्रिरत्नले यसरी सम्झिन्छन् जोशीलाई
इतिहासकार प्रा. डा. त्रिरत्न मानन्धरले जोशीलाई नेपाली साहित्य, भाषा र संस्कृति वृत्तको 'इन्साइक्लोपेडिया' ठान्छन्। मानन्धर नेपालको इतिहास, संस्कृति, नेवारी गीत-संगीतलगायतका क्षेत्रमा उनको दक्षताकै कारण जोशीलाई 'इन्साइक्लोपिडिया' नै भन्ने मिल्ने तर्क गर्छन्।
उनको निधनले नेपाली लोक साहित्य, भाषा, संस्कृतिका क्षेत्रमा अतुलनीय क्षति पुगेको मानन्धर मान्दछन्। उमेरले २७ वर्ष कान्छा मानन्धर जोशीसँग प्रज्ञा प्रतिष्ठान र नेपाल भाषा एकेडेमीमा भएको चिनापरिचय र सहकार्य सम्झना गर्छन्।
उनी भन्छन्, "उहाँसँग २०५१ सालमा प्रज्ञा प्रतिष्ठानमा चिनापरिचय भएको थियो। मैले प्रज्ञा प्रतिष्ठानको सदस्यता पाएको थिएँ भने उहाँ आजीवन सदस्य भइसक्नुभएको थियो।"
प्रज्ञा प्रतिष्ठानपश्चात् नेपाल भाषा एकेडेमीको स्थापनाका क्रममा पनि सहकार्य भएको मानन्धर स्मरण गर्छन्। जोशी नेपाल भाषा एकेडेमीका पहिलो कुलपति थिए। प्रज्ञा प्रतिष्ठान र नेपाल भाषा एकेडेमीमा हुने भेटघाटले सम्बन्ध झाँगिएको मानन्धर बताउँछन्।
मानन्धर लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिको पदभार सम्हालेपछि पनि बेलाबेला हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा जोशीलाई बोलाउने गरेको उनी बताउँछन्। "यस्ता कार्यक्रमा उहाँ लामो समय लिएर बोल्नु हुन्थ्यो, तर उहाँले बोलेका कुरा ज्ञानोपयोगी हुन्थे, जुन सुन्दा हामीलाई धेरै कुराको बोध हुन्थ्यो", मानन्धर सम्झन्छन्।
मानन्धर जोशीसँग जोडिएका दुइटा घटना सधैँ स्मरणमा आइरहने बताउँछन्। पहिलो, जोशीसँग मिलेर संयुक्त रूपमा नेपाल-चीन सम्बन्धका विषयमा प्रस्तुत गरेको कार्यपत्र। दोस्रो, म्हैपी अजिमा मन्दिरका सिँढी चढ्दाको समय।
उनका अनुसार नेपाल–चीन सम्बन्धका विषयमा नेपाल-चीनमैत्री मण्डलका प्रमुख मणि हर्ष ज्योतीले कार्यक्रमको आयोजना गरेको थिए। होटल शंकरमा भएको कार्यक्रममा जोशीले प्राचीन र मध्यकालमा नेपाल र चीनको सम्बन्धको बारेमा कार्यपत्र प्रस्तुत गरेको उनलाई याद छ।
"मेरो भागमा आधुनिककालको नेपाल र चीनको सम्बन्ध परेको थियो", उनले भने, "मेरो पेपरमा खासै केही थिएन। उहाँको अघिल्लो इतिहास कालखण्डको विषय भएकाले भन्नु पर्ने धेरै थियो। त्यस समय उहाँ र थेरवाद भिक्षु सुदर्शनको लामो विवाद पर्यो। विवादको कारण थियो- बौद्धभित्र महायान, बज्रयानको बारे चर्चा हुँदा बौद्धधर्मकै थेरवाद छुटेको विषय।"
उनका अनुसार जोशी र भिक्षु सुदर्शनको विवाद लामै तानियो। तर, विवाद लामो समय चल्दा पनि जोशीले आफ्नो तर्क प्रस्तुतिमा जोड दिए र आफ्नो कुरामा अटल रहे।
जोशीको क्रियाशील र सक्रिय ऊर्जाबाट पनि प्रभावित मानन्धर १२ वर्षअघिको घटना सम्झिन्छन्। एक कार्यक्रममा प्रमुख अतिथि रहेका जोशीलाई ल्याउने जिम्मा उनले पाएका थिए, जुन म्हैपी अजिमा मन्दिरमा थियो।
"उहाँ ९२ वर्षका हुँदा म त्यस्तै ६५ वर्षको थिएँ होला", १२ वर्षअघिको घटना सम्झदै उनले भने, "म्हैपी अजिमा मन्दिरमा लामो र उकालो सिँढी थियो। मलाई हिँड्न गाह्रो भएको हुँदा एकछिन थकाइ मार्ने कि भनेर मैले सोधेँ। तर, उहाँ भने मन्दिर पुगेरै आराम गर्ने मनसाय राख्नुभयो। ९२ वर्षको उमेरमा पनि उहाँमा गज्जबको फूर्ति र ऊर्जा थियो।"
आफूभन्दा २६/२७ वर्ष जेठा व्यक्तिको ऊर्जा र फूर्तिले आफू चकित परेको उनी बताउँछन्। साथीभाइमा पनि पनि जोशीको क्रियाशीलताको चर्चा हुने गरेको उनको भनाइ छ। उनको दीर्घजीवनको कारण उनको क्रियाशीलता पनि हुनसक्ने उनको अनुमान छ।
एउटा युगको अन्त्य भयो: भैरव रिसाल
पत्रकारिता हुँदै साहित्य क्षेत्रमा सक्रिय भैरव रिसालले जोशीको निधनलाई एउटा युगको अन्त्यको रूपमा लिन्छन्। "उहाँ एउटा युग पुरुष हुनुहुन्थ्यो," उनी भन्छन्, "परिवारप्रेमी जोशी मुलुकलाई नै परिवारको रूपमा हेर्नु हुन्थ्यो। सदैव देशको हित र योगदानमा उहाँको ध्येय रह्यो।"
जोशीसँगको निकटता नियोजित नभई पत्रकारिताका क्रममा हुने भेटघाटसँगै बढेको उनी बताउँछन्। "विभिन्न कार्यक्रममा उहाँसँग मेरो निकटता बढ्न थाल्यो। म उहाँलाई आदर गर्थे, अनि उहाँले मलाई माया," उनले भने।
जोशीसँग रिसालको भने पारिवारिक सम्बन्ध थियो। एकअर्कोको पारिवारिक समाराहेमा उपस्थिति हुने, कुराकानी गर्ने, गफिने क्रम दुई परिवारमा हुन्थ्यो।
"उहाँ प्रायः मेरो जन्मदिनमा आउनुहुन्थ्यो। यसपटक आउन सक्नुभएन। केही महिनाअघि उहाँसँग भएको कुराकानी नै अन्तिम बन्यो," उनी भन्छन्, "उहाँ त अनन्त यात्रामा जानुभयो। भाउजूको भने चिन्ता लागेको छ।"
उनले थपे, "बेलाबेला हुने टेलिफोन वार्तामा मलाई नेपाल भाषा नआउने भाउजू नेपाली भाषा नजान्ने, टुटेफुटेको भाषामा हामी गफिन्थ्यौँ।"
सभा-समारोहमा जेजस्तो दिए पनि नास्ती नगर्ने, दिएका खानेकुरा सहजै खाने उनको सन्तोकी स्वभाव रहेको रिसाल बताउँछन्। "हाम्रो घरमा आउजाउ हुन्थ्यो। यहाँ आउँदा पनि घरमा पनि जे पाक्यो त्यही खाने। एकपटक यहाँ आउँदा दही र जिरी थपी-थपी खाएको अझै याद आउँछ," रिसालसँगै कुराकानी सुन्दै गरेकी उनकी पत्नी सुशीला रिसालले भनिन्, "अब त सम्झनामा मात्रै रहनुहुने भयो।"
जोशीमा पढेको कुरा सम्झन सक्ने बलियो स्मृति क्षमता रहेको उनी स्मरण गर्छन्। "मेरो पुस्तक सार्वजनिक हुँदा भ्याएसम्म आउनुहुन्थ्यो। नभ्याए पनि खासै चित्त दुखाइ हुँदैन थियो। त्यस्तो निकट र दुर्लभ माया मैले पाएको थिएँ," रिजाल सम्झन्छन्, "उहाँ पढ्ने र पढेको सम्झन सक्ने बलियो स्मृतिको हुनुहुन्थ्यो। म भने पढ्न त पढ्ने तर, पढेको बिर्सने खालको थिएँ।"
रिजालले जोशीको महत्त्वपूर्ण योगदानको रूपमा लोकसाहित्यमा उनले गरेको बिजारोपणलाई मान्छन्। "लेख्न, पढ्न नजाने मानिसले अलिखित कथा, गीत तथा भाकालाई लोकमा गुन्जाएका थिए। तर, उहाँले ती सबैको संग्रह गरि एउटा भौतिक अस्तित्व दिनुभयो। योभन्दा ठूलो योगदान लोक जगतलाई के हुनसक्छ?", उनी प्रश्न गर्छन्।
रिजाल जोशीबाट जीवन जिउने कला सिक्नुपर्ने बताउँछन्। जोशी बिनासन्ताप सन्तोषी भएर लामो समय बाँचेको उनको भनाइ छ। "जीवन र मृत्यु स्वाभाविक प्रक्रिया हुन्। जन्म अनिश्चित छ, के जन्म के जन्मदैन त्यसको निश्चिता हुँदैन तर, जन्मेपछि प्राणीको मृत्यु निश्चित छ," उनी भन्छन्, "तर, जीवनको होस् त उहाँको जस्तो। जीवन जिउन उहाँबाट सिक्न पर्ने छ। यति लामो जीवन बिनासन्ताप, सन्तोषी भए बाँचेको मैले देखेको छु। यो विशिष्ट कला हामीले उहाँबाट सिक्नु पर्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
