स्थायित्व र रूपान्तरणका लागि गगनलाई अघि सार्‍यौँ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थायित्व र रूपान्त्रणका लागि संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई अघि सारेको बताएका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा स्थायित्व र रूपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।

मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावकका रूपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेका उनले यस्तो बताएका हुन्। उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरूलाई हेर्दै अघि बढ्ने बताए।

"हामीहरूका बीचमा धेरै छलफल भयो। गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौँ। आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरू हेर्दै जानुपर्छ। त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ", उनले भने।

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा पार्टीका नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको प्रस्तावकमा डा. कोइराला रहेका छन् भने समर्थनमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन्।