मेचीनगरमा ३४८ प्रजातिका चरा भेटिएका छन्, ती सबै चराको तस्वीर देवेन खरेलसँग संग्रहित छन्। यहाँ विश्वमै दुर्लभदेखि नेपालमा अन्यत्र नपाइने चरा पनि देख्न सकिन्छ।
झापा– मेचीनगर नगरपालिकाका देवेन खरेल फुर्सद भयो कि प्रायः चराको खोजीमा हिँड्छन्। उनलाई नयाँ चरा भेट्न र तीबारे अध्ययन गर्न रुचि लाग्छ।
उनै देवेन काँकडभिट्टामा फागुन दोस्रो साता भएको कलासाहित्य उत्सवमा भेटिए। उत्सवमा आफूले खिचेका विभिन्न चराका तस्वीर प्रदर्शनीमा राखेका थिए। उनी प्रदर्शनीमा पुगेका अतिथिलाई ती चराका विशेषता सुनाउन व्यस्त थिए।
प्रदर्शनीमा विश्वमै दुर्लभदेखि मेचीनगरमा भेटिएका तर अभिलेख राख्न बाँकी चरासम्मका तस्वीर थिए। विश्वमै दुर्लभ मानिएका चरा पनि मेचीनगरमा भेटिने देवेन बताउँछन्। तीमध्ये प्रदर्शनीमा तस्वीर राखिएको एउटा चरो थियो हरित परेवा।
उनले हरित परेवालाई २०७७ मंसिरमा मेचीनगर—७ मै फेला पारेका थिए। यसको अंग्रेजी नाम ‘ग्रिन इम्पेरियन पिजन’ र वैज्ञानिक नाम ‘डुकुला एनिया’ हो। यसको लम्बाइ ४५ सेन्टिमिटरसम्म हुन्छ। यसको पखेटाको पछाडि र पुच्छर हरियो रङको हुन्छ। टाउको र मुनिको भाग सेतो तथा पुच्छरमुनिको भाग हल्का रातो हुन्छ।
देवेनले करिब आठ वर्षअघि चराको खोजी र अध्ययन थालेका हुन्। त्यस क्रममा धेरै नयाँ चरा भेटाएका छन्। ती चराको तस्वीर लिने र अभिलेख राख्ने गर्छन्। बाहिरबाट आएकालाई चराबारे जानकारी दिने उनको दैनिकीजस्तै भएको छ।
चराकै खोजीका क्रमा उनले गत फागुन ७ गते मेचीनगर–६ काँकडभिट्टामा नेपालका लागि नयाँ प्रजाति ‘पर्पल सन बर्ड’ फेला पारे। यसलाई नेपालीमा बैजनी ढाडे बुंगेचरा भनिन्छ।
उक्त चराको तस्वीर उनले नेपाल पन्छीविद् संघमा पठाएका थिए। त्यस बेला उनले चराको तस्वीर प्रदर्शनीमा राखे पनि अभिलेखमा आइसकेको थिएन। गत फागुन २० गते उक्त चरा नेपालका लागि नयाँ प्रजातिको रूपमा अभिलेख भएको पन्छीविद् संघका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्याल बताउँछन्।
१० सेन्टिमिटरभन्दा लामो नहुने यो चरा भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशमा पाइन्छ। पौड्याल भन्छन्, “पर्पल सन बर्ड नेपालका लागि नयाँ प्रजातिको चरा हो। झापाको मेचीनगरबाट देवेन खरेलले चराको विवरणसहित फोटो पठाएपछि रेकर्ड भएको छ।”
मेचीनगरमै घुम्दा देवेनले ‘भाइलेट कुकु’ नामक चरा पनि भेटाएका छन्। यसको नेपाली नाम बैजनी कोइली हो। तर तस्वीर पर्याप्त नभएकाले अभिलेखका लागि पठाउन नसकेको उनी बताउँछन्।
यो चरा पनि नेपालमा दुर्लभ भएको उनको दाबी छ। “यो पनि एकदमै महत्त्वपूर्ण चरा हो, तर मैले राम्रो क्वालिटीको तस्वीर खिच्न पाइनँ, मोबाइलले मात्रै खिचेँ। त्यसैले रेकर्डका लागि पठाएको छैन। यहाँ पाइँदोरहेछ भन्ने चाहिँ भएको छ,” उनी भन्छन्।
भर्खरै उनले मेचीनगरमै फुस्रो सारौँ नामक चरा फेला पारेका छन्। उक्त चरा मेचीनगर–६ काँकडभिट्टा क्षेत्रमा फेला परेको देवेन बताउँछन्। फुस्रो सारौँ पहिलो पटक गत वैशाखमा मुस्ताङमा देखिएपछि दोस्रो पटक झापामै देखिएको पन्छीविद् संघका निर्देशक पौड्याल बताउँछन्। पहिलो पटक मुस्ताङको लोमान्थाङ क्षेत्रमा भेटिएको थियो।
यीबाहेक पनि देवेनले थुप्रै नयाँ चरा भेटाउने र अभिलेखका लागि पठाउने गरिरहेका छन्। विश्वमै अति संकटापन्न चराहरू पनि उनले भेटाएका छन्। विश्वमै संकटापन्न बगाले बगेडी अर्थात् ‘यल्लो ब्रेस्टेड बन्टिङ’ चरा मेचीनगरमै भेटिएको थियो।
दुई वर्षअगाडि १७ वटाको संख्यामा भेटिएको बगाले बगेडी यो वर्ष ६ वटा मात्र देखिएको देवेन बताउँछन्। यो चरा जाडोयाममा आउने आगन्तुक हो।
उनले हालसम्म मेचीनगरमा मात्रै ४०० हाराहारी प्रजातिका चरा भेटाएका छन्। उनी भन्छन्, “मैले आँखाले देखेका त ४०० हाराहारी प्रजातिका चरा छन्, तर फोटोग्राफीका हिसाबले ३४८ प्रजातिका चराको अभिलेख मसँग छ। तीमध्ये केही दुलर्भ पनि छन्।”
किन मेचीनगर आउँछन् यति धेरै चरा?
नेपाल पन्छीविद् संघका अनुसार नेपालमा अहिलेसम्म ८९८ प्रजातिका चराको अभिलेख राखिएको छ। तीमध्ये ३४८ प्रजातिका चरा मेचीनगर नगरपालिकामा पाइने संघले जनाएको छ।
मेचीनगरमा पर्याप्त वन क्षेत्र र नदी भएकाले धेरै प्रजातिका चराले बासस्थान बनाएको देवेन बताउँछन्। “मेचीनगरमा प्रशस्त वन क्षेत्र र पानीको स्रोत छ,” उनी भन्छन्, “यहाँ १३ वटा सामुदायिक वन छन्। खोलानाला पर्याप्त छन्। यो क्षेत्र चुरे पहाडसँग जोडिन्छ, जस कारण विभिन्न मौसममा चराहरू लामो दूरीबाट पनि उडेर आउँछन्।”
विशेषगरी पानीको स्रोत र बासस्थानका हिसाबले यो क्षेत्र चराका लागि एकदमै राम्रो भएको विज्ञहरू बताउँछन्। भक्तपुरदेखि चरा हेर्न आएका चराप्रेमी तथा अध्येता सञ्जय था श्रेष्ठ पनि मेचीनगरमा पर्याप्त बासस्थान भएकाले धेरै चरा भेटिरहने बताउँछन्।
भारतसँग सिमान जोडिएकाले पनि त्यताबाट मौसमअनुसार चराहरू बसाइँ आउने श्रेष्ठको भनाइ छ। उनी भन्छन्, “यहाँ आज पनि हामीले नयाँ चरा देख्यौँ। चराहरूका लागि वरिपरिका रूखबिरुवाले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसैले मेचीनगर चराका लागि राम्रो क्षेत्रमा मानिन्छ।”
चरा अध्येता अनिष तिम्सिना पनि मेचीनगरको वातावरण चराका लागि राम्रो भएको बताउँछन्। “यो क्षेत्रमा धेरै महत्त्वपूर्ण चरा भेटिइरहेको छ। यहाँ नयाँ चरा भेटिनेबित्तिकै म आइरहन्छु,” तिम्सिना भन्छन्, “यहाँको पर्यावरणले चरालाई सहज बनाएको छ। चरालाई चाहिने पानी, घाँसेमैदान र रूखहरू प्रशस्त छन्।”

बढ्दो शहरीकरण भइरहेको बेला चराचुरुङ्गी र वन्यजन्तु जोगाउन तिनको बासस्थान पनि जोगाउनुपर्ने चरा खोजकर्ता देवेनको बुझाइ छ। उनी भन्छन्, “चराहरूलाई हानि हुने गतिविधि गर्नु हुँदैन। उनीहरूको बासस्थान मासिदिनु हुँदैन।”
मानिसले बालीनालीमा प्रयोग गर्ने विषादीका कारण पनि चराहरू मरिरहेको उनको भनाइ छ। “चराहरूलाई पनि खानेकुरा चाहिन्छ,” उनी भन्छन्, “कुनै चराले मान्छेले जस्तो फलफलुको रस खान्छन्, कुनैले अन्न खान्छन्। हामीले खेतमा लगाएको बाली चराले पनि खाने हुँदा विष राख्नु हुँदैन।”
देवेन पछिल्लो दुई वर्षदेखि चरा संरक्षणका लागि संस्था खोलेरै काम गरिरहेका छन्। उनले मेची चरा तथा वन्यजन्तु संरक्षण समाज स्थापना गरेर जनचेतना फैलाउने काम गरिरहेका छन्। चरा संरक्षणमा स्थानीय तह र समुदायले पनि पहल गर्नुपर्ने उनी बताउँछन्।
देवेन चराको अध्ययन मात्रै होइन, मान्छेमा चराप्रति प्रेम जगाउने काम पनि गर्छन्। उनी भन्छन्, “मान्छेहरू चराप्रति कनेक्टेड हुन् भन्ने लाग्छ। प्रकृतिसँग मान्छेको प्रेम होस्, चासो होस् जस्तो लाग्छ। चरा रहेनन् भने हामी पनि त बिस्तारै रहन सक्दैनौँ। त्यही भएर यसमै काम गरिरहेको छु।”
मेचीनगरमा भएका चरालाई जोगाउन सके भविष्यमा चराले नै मेचीनगरलाई चिनाउने सम्भावना रहेको देवेनको भनाइ। यस क्षेत्रमा चरा पर्यटनको पनि प्रशस्त सम्भावन रहेकाले स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
