‘संसार नाट्यशाला हो, यहाँका प्रत्येक मानिस स्त्री नटुवा हुन्, जो आआफ्ना विभिन्न खेल खेल्छन् र अन्त्यमा अन्तर्ध्यान हुन्छन्।’
सन् १९५० को शान्ति तथा मैत्री सन्धि र सरकारी संलग्नता चन्द्रशमशेरको पालादेखि नै अध्यापनबाहेक सरकारी लेखापढीमा नरेन्द्रमणिको संलग्नता थियो। चन्द्रशमशेरकी कान्छी छोरी बाबु महारानी (खास नाम बोलाउने राजकुमारी देवी र आधिकारिक दिव्येश्वरी राज्यलक्ष्मी)को बलरामपुरका महाराजा सर पाटेश्वरीप्रसाद सिंह (नीलबाघ दरबार हुने)सँग विवाह भएपछि उनका मुख्य सल्लाहकार यज्ञमणि आचार्य दीक्षितको प्रयोगका लागि चन्द्रशमशेरले कोलकाताबाट एक रेमिंटन टाइपराइटर मगाइदिएका थिए। गोप्य लेखापढी वा त्यस्तै महत्त्वपूर्ण कागजात तयार गर्दा यज्ञमणिले मस्यौदा गर्ने र त्यसको जानकारी कसैलाई नदिई टाइप गर्ने काम नरेन्द्रमणिको थियो। यसरी दुवै भाइ यज्ञमणि र नरेन्द्रमणि शक्तिशाली राणा प्रधानमन्त्रीका कार्यकालमा आफूलाई सबैभन्दा पढेको र ज्ञानी सम्झिने चन्द्रशमशेरको नजिक हुन पुगे।
राणाकालको प्रशासनिक, कूटनीतिक तथा पारिवारिक मामिलामा नरेन्द्रमणि आचार्य दीक्षितको हिमचिम थियो। खासगरी अन्तिम दुई राणा प्रधानमन्त्री पद्मशमशेर र मोहनशमशेरको कार्यकालमा देशको राजनीतिक क्रियाकलापसँग पनि दीक्षितको परोक्ष संलग्नता थियो। प्रचण्ड गोरखा आन्दोलनमा संलग्न भई कारावासको सजाय र पछि अयोध्यामा १६ वर्षदेखि निर्वासित रंगनाथ शर्माले महाराज मोहनशमशेरसँग सन् १९४९ को अन्त्यतिर कम्तीमा दुई पटक पत्राचार गरेको देखिन्छ। १९४९ नोभेम्बर ६ को पत्रमा उनले शुरूमा आफ्नो व्यक्तिगत बचाउ गर्दै ‘केवल स्वार्थ, महत्वाकांक्षा, ईर्ष्या र द्वेषका आधारमा बनेका नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेससँग आफ्नो कुनै सम्बन्ध वा संलग्नता नरहेको’ बताएका छन्। फैजावाद म्युनिसिपल बोर्डका तत्कालीन जुनियर भाइस चेयरमेन शर्माले आफ्नो पत्रमा मोहनशमशेरका पूर्ववर्ती पद्मशमशेरको सुधार योजना ज्यादै अपर्याप्त र ‘पाँच वर्षको बालकका निमित्त तयार गरिएको पेटेभोटो २५ वर्षको युवकलाई लाइदिन खोज्ने प्रयत्न’ भनी चित्रण गरेका छन्।
यसका अतिरिक्त ‘नेपालको राजनीतिक र आर्थिक स्थिति बहुतै नाजुक अवस्थामा’ भएकाले शर्माले केही सुझाव पनि दिएका छन्। शर्माले पत्रमा नेपालका लागि तत्कालीन अवस्थामा दुई प्रकारका चुनौती रहेको प्रसंग उल्लेख गरेका छन्। साथै छिटो सुधार नगरिए आन्तरिक रूपमा नेपालमा विखण्डन र दक्षिणी भागलाई छुट्याउने आन्दोलन हुन सक्ने तथा बाह्य रूपमा तिब्बतमा चिनियाँ साम्यवादी विचारको प्रवेशसँगै कम्युनिस्ट शक्तिको सहायताले सशस्त्र विद्रोहको खतरा रहेको प्रसंग शर्माले आफ्नो पत्रमा औँल्याएका छन्। यसै सन्दर्भमा ‘नेपाल र नेपालीलाई जीवित राख्ने, देशमा अव्यवस्था हुन नपाउने र देशभर सुसंगठित राख्ने विचारले परम्पराबाट पाइएको अधिकारको मोह, जातीय भेदले आफूलाई श्रेष्ठ सम्झिने अहंकार र उचित–अनुचित सब तरहबाट प्रजालाई अधीनमा राखी आफ्नो स्वार्थ साधन गर्ने महत्वाकांक्षा छाड्नलाई तयार होइबक्सनुपर्छ’ भन्दै मौका पाए ‘हजुरहरूको सम्मानमा फरक नपर्ने दुनियाँको चित्त पनि बुझ्ने शासन व्यवस्थाको रूपरेखा बनाई चढाउन तयार छु’ भनी उनले प्रधानमन्त्रीसमक्ष निवेदन दिएका थिए। यस पत्रले एकातिर राणा प्रधानमन्त्रीको निरंकुश शासनमा सुधारको वकालत गरेको छ भने परोक्ष रूपमा आफूप्रति मोहनशमशेरको सकारात्मक दृष्टिकोणको अपेक्षा गरेको देखिन्छ। शर्माको पत्रको उत्तर सरदार नरेन्द्रमणि आचार्य दीक्षितले दिए।
दीक्षितको ‘विधान बनाई चढाई पठाएमा श्री ३ महाराजबाट यथायोग्य ध्यान बक्सनेछ’ भन्ने बेहोराको पत्र प्राप्त भएपछि रंगनाथ शर्माले १९४९ डिसेम्बर २० मा पत्र लेखी ‘विधानको मोटो रूपरेखा बनाई चढाएको’ उल्लेख गरेका छन्। विधानको पूर्ण विवरण प्राप्त नभए पनि आफ्नो पत्रमा शर्माले ‘नेपालका अधिकांश प्रजा भोका–नांगा, रुग्ण, दीन र हीन छन्, तिनीहरू खानलाई माम, लाउनलाई लुगा, बस्नलाई घर, पढ्नलाई पाठशाला र आफ्नो प्रतिनिधित्व गर्ने सरकार चाहन्छन्। अतः जहाँसम्म देशभरमा व्याप्त भएको भयानक दरिद्रता र अभावको विनाश गर्ने ठोस उपाय र राजनीतिक व्यवस्थामा क्रान्तिकारी परिवर्तन गरिँदैन, तहाँसम्म अन्य राय उपाय विफल हुनेछ, अहिले मौका छँदैमा उक्त व्यवस्था गरिएमा आक्रमणै भएका पक्षमा पनि जनताको सक्रिय (सहयोग) सरकारलाई मिल्नेछ’ भनी आफ्नो पत्रमा धारणा अभिव्यक्त गरेका थिए। नेपालको राजनीतिक मानचित्रको परिप्रेक्ष्यमा लिखित संविधान बनाउनेबारे सायद यो तेस्रो अधुरो प्रयास थियो।
यसअघि ज्यादै छोटो अवधिसम्म मात्र प्रधानमन्त्रीको पदमा रहन पाउने देवशमशेर र १०४ वर्षको राणाशासनमा दोस्रो लामो अवधि झन्डै २९ वर्ष शासन गर्ने र आफूलाई प्रबुद्ध मान्ने चन्द्रशमशेरले पनि केही सीमित अधिकारसहितको संविधान मस्यौदा गर्न आफ्ना निकट कर्मचारीलाई अह्राएको तर यसको छिट्टै निजको मृत्यु भएको इतिहासमा अड्कल काट्ने गरिन्छ। नेपालको विदेश नीति, कूटनीतिक अभिलेख र वार्ताशैलीका हिसाबले अहम् महत्त्व राख्ने सन् १९५०–१९५१ मा प्रधानमन्त्री मोहनशमशेरका तर्फबाट भारतसँग भएको सन्धि सम्झौता र आपसी सम्बन्धका विषयमा कुराकानीमा महत्त्वपूर्ण सहभागी र एक प्रमुख हस्ती सरदार दीक्षितले दुई देशबीच भएका कूटनीतिक वार्ताबारे पूर्ण विवरणसहितको समष्टिगत पाण्डुलिपि तयार पारेका थिए। तीन ओटा अभ्यास पुस्तिकामा लेखिएको यो पाण्डुलिपि पछि अनौठो किसिमले हरायो।
यो महत्त्वपूर्ण संकलन भावी पुस्ताका लागि अत्यन्त उपयोगी स्रोत सामग्री हुनुका अतिरिक्त नेपालको समकालीन राजनीति, कूटनीतिक इतिहास तथा नेपाल–भारत सम्बन्धको अन्तरंग रुप र घटनाक्रमलाई उजागर गर्न ज्यादै सहयोगी पुस्तक हुने थियो। केवल भारतीय पक्षसँग मात्र नभई यो सन्धिको प्रासंगिकताबारे मोहनशमशेरका दाजुभाइ र राणा नेतृत्वसँग गरिएको कुराकानी, सन्धिको सेरोफेरोका छलफल, सन्धि गर्ने/नगर्ने र केके प्रावधान ठीक छन्/छैनन् र तिनीहरुको उपादेयताबारे आन्तरिक मतभेदलाई समेत यथेष्ट प्रकाश पार्न सक्ने कुरा सम्भवतः यस लेखनीले विषयवस्तु बनाएको थियो। भारतसँग भएको दुवै पक्षबीचका अनेकौँ भेटवार्तामा दीक्षित पहिलो दुई बैठकमा प्रत्यक्ष सहभागी थिए। आफूलाई पढ्न तीन ओटै डायरी उपलब्ध गराए पनि उनका अत्यन्त मसिना अक्षर, ठाउँठाउँमा विभिन्न चिह्न र संकेत दिई थपेको र कतिपय अवस्थामा पढ्न असुविधा भएका कारण करिब एकचौथाइ मात्र पढी उक्त विवरण उनलाई फिर्ता गरेको कुरा उनका एक विद्वान् परिवार सदस्यले बताएका छन्।
सन् १९५० को सन्धिका विभिन्न बुँदाबारेको छलफल र कुराकानी कसरी अघि बढ्यो, यसप्रति भारतीय रवैया कस्तो रह्यो र मोहनशमशेरको दृष्टिकोण अनि उनका सहयोगीहरूको सल्लाह एवं प्रतिक्रियालाई यी विवरणमा सविस्तार चर्चा गरिएको थियो। यस सन्धिबारे दीक्षितको निजी दृष्टिकोण, यसबाट नेपालको गार्हस्थ्य एवं परराष्ट्र नीतिमा पार्न सक्ने दीर्घकालीन प्रभावबारेको उनको विश्लेषण पनि विशेष महत्वको थियो। १९५० जुलाई ३१ का दिन नेपाल र भारतबीच शान्ति तथा मैत्री सन्धि तथा वाणिज्य सन्धिमा हस्ताक्षर भएपछि जारी प्रधानमन्त्री मोहनशमशेरको वक्तव्यअनुसार दुई देशबीच मित्रता, व्यापार र अरू पारस्परिक लाभका विषय समेटी नयाँ सन्धिपत्र गर्न नेपालले १९४८ जुन २० मा भारत सरकारसमक्ष प्रस्ताव गरेको थियो। दुई वर्षपछि भारतसँग औपचारिक रूपमा सन्धि–सम्झौतामा हस्ताक्षर गर्ने विषयमा नेपालले प्रस्ताव गरेको एक महिनापछि परराष्ट्र विषयका हाकिमको पदमा पदबहाली गरेका सरदार दीक्षितले अहम् भूमिका खेलेका थिए। व्यावहारिक, कूटनीतिक, राजनीतिक, सामाजिक र आर्थिक सबै हिसाबले छिमेकी राष्ट्रसँगको सम्बन्ध पुनर्व्याख्या वा परम्परागत ब्रिटिस सोच र नीतिको अनुसरणका हिसाबले हुन सक्छ, स्वतन्त्र भारतले १९४९ अगस्ट ८ मा भुटानसँग चिरस्थायी शान्ति र मैत्री सन्धि गरेको थियो। १९५० डिसेम्बर ५ मा भारत र सिक्किमबीच शान्ति सन्धि गरिएको थियो। भारत र अफगानिस्तानले १९५० जनवरी ४ मा मैत्री सन्धिमा हस्ताक्षर गरेका थिए।
नेपालको शान्ति तथा मैत्री सन्धिमा नेपालका तर्फबाट प्रधानमन्त्री मोहनशमशेर र भारतीय राजदूत सर चन्द्रेश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका कारणलाई यो सन्धि असमान भएको तर्क गर्नेहरूको एक आधार मानिएको छ। भारत र अफगानिस्तानबीच सन्धि हुँदा पनि यस्तै असमान स्तरका हस्ताक्षरकर्ताले सहीछाप गरेको देखिन्छ। सन्धिमा भारतका तर्फबाट प्रधानमन्त्री जवाहरलाल नेहरु र भारतका लागि अफगानिस्तानी राजदूत नजिबुल्ला खाँले हस्ताक्षर गरेका थिए। शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर हुने दिन राजा त्रिभुवन र राष्ट्रपति डा. राजेन्द्रप्रसाद तथा मोहनशमशेर र प्रधानमन्त्री जवाहरलाल नेहरुबीच सन्देश आदानप्रदान भएको थियो। आफ्नो सन्देशमा नेपाल नरेशले सन्धि हस्ताक्षर हुने ‘यस सुखदायक तथा शुभ मुहूर्त’मा भारतका राष्ट्रपति, भारत सरकार र ‘दुनियाँप्रति’ आफू र आफ्नो सरकारका तर्फबाट ‘मुवारकवाद र अति हार्दिक अभिनन्दन’ व्यक्त गरेका थिए। उनले यस सम्झौताको फलस्वरुप ‘दुई मुलुकबीचको नयाँ सम्बन्धले हाम्रा दुवैथरी दुनियाँको उच्चतर सुख र समृद्धि प्राप्त गर्ने’ अति ‘हार्दिक अभिलाषा’ प्रकट गरेका थिए। ‘सन्धिपत्रको लेखापढीलाई खुला दिल र सौहार्दको वातावरणमा’ सञ्चालित भएका कारण ‘आनन्दप्रद उत्सव’ सिर्जना भएको धारणा पनि राजा त्रिभुवनले व्यक्त गरेका थिए।
सन्धिपत्रको विस्तृत बेहोरासहित हस्ताक्षर समारोहलाई प्राथमिकतासाथ प्रकाशन गर्नुका अतिरिक्त सरकारी सञ्चार माध्यमले महत्वका साथ ‘हाम्रो सन्धिपत्र’ शीर्षकमा सम्पादकीय पनि प्रकाशन गरेको थियो। सन् १९५० को सन्धिको वास्तविक उद्देश्य नेपालको राजनीतिक वृत्तमा प्रभुत्व राख्ने भारतको सन् १९५१ पछिको माहोलमा नेपालले अवलम्बन गर्न सक्ने आर्थिक र विदेश नीतिप्रति नियन्त्रण गर्नु थियो भन्ने कुरा सन्धिसँगै आदानप्रदान भएका तर त्यति बेला गोप्य राखिएका पत्रले स्पष्ट दिशानिर्देश गर्छन्। नेपाललाई ठोस आर्थिक सहयोग पनि नगर्ने र अन्य देशसँग सहयोग बढाउन नेपाललाई हरतरहले रोक्ने नेहरुको भित्री इरादा देखिन्छ। तसर्थ गार्हस्थ्य राजनीतिमा हाबी हुनुका साथै दुवै देशबीच रक्षा र विदेश मामिलामा समन्वय एवं एकीकृत दृष्टिकोण हुनुपर्नेमा उनी जोड दिन्थे। सन् १९५० को शान्ति तथा मैत्री सन्धिको हस्ताक्षरका बेला आदानप्रदान भएका तर गोप्य राखिएका पत्रहरूको परोक्ष रूपमै सही, नेहरुले १९५२ जुन २४ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई लेखेको पत्रमा उजागर गरेका छन्। पत्रको शुरूमा ‘भारतसँग गरिएको सन्धिका प्रावधान र सन्धिसँग गाँसिएका आश्वासनको नेपाल सरकारले पूर्ण रूपमा पालना नगरेको देखिन्छ’ भनिएको छ। भर्खरै रक्षामन्त्री (१९५२ मे १३ देखि) भएका एन गोपालास्वामी आयंगरलाई नेहरुले १९५२ जुन २३ मा पत्र लेखी वायुसेना र जलसेनाको विस्तार गर्नुपर्ने तर स्थलसेनाको संख्या घटाउनुपर्ने र ठूलो सेना किन चाहिन्छ, त्यसमा आफ्नो सहमति नभएको बताएका छन्। कुनै सानो प्रतिबद्धता आउनासाथ सेनाको संख्या बढाउने प्रवृत्तितर्फ कटाक्ष गर्दै नेपालको बिग्रिँदो अवस्थालाई दृष्टिगत गरी त्यहाँ संकट उत्पन्न भई भारतीय सेनाले हस्तक्षेप गर्ने स्थिति आउन सक्ने परिस्थिति भएकाले सेनाको संख्या बढाउन जनरल करिअप्पाले गरेको मागलाई ‘पूर्ण गलत धारणा’ भनी नेहरुले टिप्पणी गरेका छन्।
१९५२ जनवरी ६–९ मा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र उनका पाँच मन्त्रीसहितको नेपाली टोलीले भारत भ्रमण गर्यो। प्रधानमन्त्री नेहरुलगायत वरिष्ठ मन्त्री तथा अधिकारीसँग प्रतिनिधिमण्डलले भेट गरी द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्यो। १९५२ जनवरी २७ मा नेहरुले यस विषयमा त्रिभुवनलाई एक पत्र लेखेका थिए। पत्रमा भारतीय प्रधानमन्त्रीले दुवै पक्षबीचको कुराकानीमा आपसी चासो र विशेषतः दुवै देशको परराष्ट्र एवं रक्षा नीतिहरू समन्वय गर्नेबारे पूर्ण सहमति भई विस्तृत कुराहरूको मस्यौदा गरिँदै रहेको स्थिति उल्लेख गरेका थिए। साथै केही समयअघिको रक्षा दलको गोलमाल र केआई सिंहको असफल विद्रोहको जिकिर गर्दै यस प्रकारको द्विपक्षीय सहयोगमा जोड दिएका थिए। तर आर्थिक विकास र विकास आयोजनाका लागि ऋणको अनुरोध सम्बन्धमा भने भारतको आफ्नै सीमितताको कुरा नेहरुले उठाएका थिए। लामो समय प्राध्यापन गरेका सरदार दीक्षितका असंख्य विद्यार्थीमध्ये नेपालको राजनीति, प्रशासन र सार्वजनिक क्षेत्रमा प्रमुख स्थान लिएका व्यक्तिहरूमा पर्ने टंकप्रसाद आचार्य, चूडाप्रसाद शर्मा, सुवर्णशमशेर (जनरल, मन्त्रिपरिषद् अध्यक्ष र उपप्रधानमन्त्री), विजयशमशेर, शारदाशमशेर, अर्का सुवर्णशमशेर (प्रमुख निर्वाचन आयुक्त तथा राजदूत), सूर्यप्रसाद उपाध्याय, प्रो. सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, रामहरि शर्मा, प्रो. अमृतप्रसाद प्रधान, कुलरत्न तुलाधर, मेदिनीनाथ भट्टराई, गोविन्दप्रसाद गोर्खाली, डा. डिल्लीरमण रेग्मी, शेषराज दली, जनरल क्षेत्रविक्रम राणा, डा. दिनेशानन्द वैद्य, डा. रघुवर वैद्य, डा. भरतराज वैद्य, तुलसीलाल अमात्य (पछि चीनका लागि राजदूत) आदि थिए। यीमध्ये आचार्य प्रधानमन्त्री, चूडाप्रसाद शर्मा र डा. डिल्लीरमण रेग्मी परराष्ट्रमन्त्री, प्रो. खनाल, पाँडे, रामहरि शर्मा, विजयशमशेर, क्षेत्रविक्रम राणा र तुलसीलाल अमात्य कूटनीतिमा आए। दीक्षितका अन्य विशिष्ट विद्यार्थीमा वेदानन्द झा, दमनराज तुलाधर, गोवर्द्धनलाल मास्के, नरेन्द्रनाथ बास्तोला, जनरल देवविक्रम राणा, सत्यनारायण बहादुर श्रेष्ठ, जनरल सिंहबहादुर बस्न्यात, जनरल पद्मबहादुर खत्री, जनरल अर्जुनशमशेर, प्रो. फणीन्द्रप्रसाद लोहनी, वेदप्रसाद लोहनी, प्राचार्य प्रो. प्रसन्नमान सिंह प्रधान, रामराज पन्त, तारादेव भट्टराई, प्रो. शंकरदेव पन्त, उदयबहादुर नकर्मी, ज्यानबहादुर प्रधान, प्रो. कुलनाथ लोहनी, प्रो. जीवनाथ लोहनी आदि पर्थे।
प्रो. दीक्षितका थप चेलाहरूमा विजयानन्द जोशी, भेषनरसिंह प्रधान, जीवराज शर्मा, साम्बदेव पाण्डे, केशवदेव भट्टराई, भवदेव पन्त, गोपालदास वैद्य, शहीद भएका दशरथ चन्द, अम्बिकाप्रसाद उपाध्याय आदि रहे। दीक्षित त्रिचन्द्र कलेजको प्रिन्सिपल रहँदा नेपालीहरूले म्याट्रिकुलेसन र कलेजको परीक्षा दिन कोलकाता विश्वविद्यालय जानुपर्ने बाध्यतामा केही परिवर्तन भयो। नेपालमा शिक्षा बोर्ड गठन हुनुअघि शुरू भएको यस प्रचलनलाई कोलकाताबाट पटना सारियो। यसरी एक दशकअघि स्थापनादेखि त्रिचन्द्र कलेजको कोलकाता विश्वविद्यालयसँगको सम्बद्धता पटना विश्वविद्यालयमा स्थानान्तरण भयो।
पछि परीक्षा दिनेलिने व्यवस्था काठमाडौँबाट नै शुरू गरियो। चन्द्रशमशेर शासनको लगभग अन्ततिर गरिएको यस व्यवस्थालाई सरकारी सञ्चारमाध्यमले पाठकवर्गमा सूचनाका हिसाबले जनसमक्ष ल्याएका थिए। सूचना यस्तो थियो– पाठकवर्ग, दरबार स्कुलका विद्यार्थीहरूले म्याट्रिकुलेसन क्लाससम्म नेपालमा पढी युनिभर्सिटी (विश्वविद्यालय)को प्रथम श्रेणी परीक्षा दिन औ त्यसभन्दा माथिल्लो दर्जाको विधा पढ्न, परीक्षा दिन अघिअघि कलकत्ता जानुपर्दथ्यो। त्यो परीक्षा औ पढ्न जाँदा कलकत्ता जस्तो खर्चिलो (स्थानमा) खर्च पुर्याउन मुस्किल पर्ने हुँदा गरिब विद्यार्थीहरूलाई खर्चसमेत श्री ३ प्रभु (महाराज चन्द्रशमशेर)बाट बक्सिने गरी बक्सेको थियो। तापनि नेपाली विद्यार्थीहरूलाई कलकत्ताभन्दा सबै तरहबाट पटनामा परीक्षा दिन असल हुने सम्झी परीक्षा दिने पीठ कलकत्ताबाट पटनामा सारिबक्सेका सकललाई बोधै छ। उनै विद्यानुरागी प्रभुका कृपाले गर्दा अरू नेपालका विद्यार्थीहरूलाई पटनासम्म पनि जानु नपर्ने भयो।
यस सालदेखि बीएसम्म पटना युनिभर्सिटीको परीक्षा आफ्ना आमाबाबुका नजरभित्र रही काठमाडौँ श्री त्रिभुवनचन्द्र कलेजमा दिन पाउने प्रबन्ध भएको छ भन्ने पाठशाला बन्दोबस्तको खबर छ। त्रिचन्द्र कलेजको स्थापनाअघि (१९१८ मा त्रिभुवनचन्द्र कलेजका रूपमा शुरू भई १९२४ देखि त्रिचन्द्र कलेज भन्न थालिएको) कोलकाता विश्वविद्यालयमा नेपालको संलग्नता स्वाभाविक थियो। १९१७ मा भारतको एघारौँ विश्वविद्यालयका रूपमा पटना विश्वविद्यालयको स्थापनापूर्व बिहारमा कुनै विश्वविद्यालय थिएन। तसर्थ नयाँ विश्वविद्यालयका रूपमा पटना विश्वविद्यालयको शुरूआतपछि नेपालका शैक्षिक संस्थाहरु उक्त विश्वविद्यालयमा आबद्ध भए। सुसंस्कृत र भद्र मानिए पनि सत्तामा रहेका राणाहरूको औधी चाकडी गर्ने र बाँकी जनतालाई तृण बराबर नगन्ने पृष्ठभूमिको दीक्षित परिवारको सामान्य प्रवृत्ति भएकाले सायद उनमा पनि त्यसको धेरथोर स्वभाव थियो। एक पटक उनका एक मेधावी चेला भवदेव पन्त (प्रसिद्ध शिक्षाविद् शंकरदेव पन्तका कान्छा भाइ)को उनीसँग कडा वादविवाद भयो। खरो मिजासका पन्तले आफूलाई गरेको व्यवहार सहन नसकी कक्षामै गुरुलाई पिटे। तत्कालीन समयमा यस घटनाले सनसनी फैलायो।
पन्तलाई हदैसम्मको कारबाही भयो, जसमा कलेजबाट निष्कासन र नेपालबाहिर गई पढ्न नपाउने सजाय गरियो। सायद मानसिक तनावका कारण पन्तको ३० वर्ष आठ महिनामै मृत्यु भयो। संस्कृत, अंग्रेजी र नेपालीमा राम्रो लेखनशैली भएका उनका कविता, नाटक, खण्डकाव्य र बैंक, मुद्रा तथा वाणिज्यसम्बन्धी अंग्रेजी पुस्तक छापिएका छन्। आफ्नो मृत्यु हुनु दुई वर्षअघि उनले लेखेको ‘सर्ट हिस्ट्री अफ बैंकिङ, करेन्सी एन्ड कमर्स इन नेपाल’ पुस्तक यस विषयसम्बन्धी अंग्रेजी भाषामा लेखिएको पहिलो कृति हो। अन्तर्वार्ताका क्रममा आफ्नो १४ वर्ष अध्यापन अवधिको ‘तीतोमीठो अनुभव’ सम्बन्धमा दीक्षितले शारदाशमशेर र विजयशमशेरका सहपाठी भवदेव पन्तबारे आफ्नो दृष्टिकोण खुलाएका छन्। कुनै एक दिन कक्षामा ‘त्यस्तै ठाकठुक’ परेकामा केही सहपाठीले पन्तलाई उक्साइदिएछन् र उनले आफ्ना गुरु दीक्षितलाई यसैबीच स्वादले गालामा चड्काइदिएछन्। यस घटनाका बाबजुद सहपाठीहरूमा पन्त ‘सबैभन्दा तेजी’ मानिन्थे। र, उनको प्रतिभाबाट दीक्षित ‘अत्यन्तै प्रभावित’ थिए।
दीक्षितको स्वभावबारे ल्हासामा वकिल पदमा खटिएका, प्रधानन्यायाधीश एवं चीनका लागि राजदूत भएका एक वरिष्ठ अधिकारीको विश्लेषण सान्दर्भिक देखिन्छ। लखनउ विश्वविद्यालयबाट एमए, एलएलबी गरी १९४७–१९४९ मा ऐनसवाल फाँटका सुब्बामा कार्यरत उनलाई परराष्ट्र सचिवले नेपालको टक मार्ने ऐनबारेको व्यवस्थाबारे सोधनी भई आएकाले त्यसबारेको प्रावधान र अंग्रेजी उल्था गर्न अह्राए। ती अधिकारीले नेपालीमा रहेको हाम्रो व्यवस्था र अंग्रेजी भाषामा रहेको भारतको ऐनमा सार रूपमा एकरुपता र सामान्य फरक पाए। सोहीअनुसारको व्यवस्था र त्यसको अंग्रेजी उल्था बुझाउँदा यस्तो पनि अंग्रेजी हुन्छ भनी दीक्षितले रोष प्रकट गरे। भारतीय ऐनको अंग्रेजी प्रति प्रस्तुत गरेपछि अंग्रेजी लेख्न नआउने मूल्यांकनमा परेका अधिकारीको प्रस्तुतिप्रति चित्त बुझाउन परराष्ट्रसचिव बाध्य भए। दीक्षितलाई विलक्षण प्रतिभाशाली विद्वान्, ज्यादै शिष्ट र भद्र भनी बयान गर्नेको पनि कमी थिएन। आफ्नो १९४९ को पहिलो भेटको प्रसंग जोड्दै एक सम्बन्धित पूर्वमहान्यायाधिवक्ता एवं मन्त्रीले त्यति बेला सम्पर्कमा भएका आफ्ना तीन विशिष्ट व्यक्तिको मूल्यांकनमा नरेन्द्रमणि आचार्य दीक्षित बहुतै नम्र र कूटनीतिक, मेजर जनरल विजयशमशेर अत्यन्त आकर्षक (व्यक्तित्व) र चतुर अनि मेजर जनरल शारदाशमशेर आफ्नो भाइको तुलनामा धेरै नै सरल र मृदुभाषी भएको जनाएका छन्। दीक्षितका अर्का सम्बन्धीतको शब्दमा दीक्षित जति शालीन, विद्वान् र इमानदार व्यक्ति त्यति बेला कमै थिए।
विद्वान्को पृष्ठभूमिका अतिरिक्त अलि घमण्डी र सितिमिति कसैलाई नगन्ने अहंकारी स्वभाव रहेको व्यक्तिका रूपमा एक वृत्तमा दीक्षितको चित्रण गरिन्छ। शारदाको पहिलो अंकमा प्रकाशित एक निबन्ध र यसमा प्रयुक्त भाषा आफ्नो नियमविपरीत पाए पनि प्रतिष्ठित विद्वान्को लेख रहेको र लेखको भाषा जस्ताको तस्तै छापियोस् भन्ने लेखकको आग्रह भएका कारण एकपल्टलाई यही रूपमा छापिएको तथ्य सम्पादकले लेखको अन्त्यमा व्यक्त गरेको धारणाबाट प्रस्ट पार्छ। ‘संसार एक नाट्यशाला हो’ शीर्षकको चार पृष्ठ लामो लेखमा ‘संसार नाट्यशाला हो’, यहाँका प्रत्येक मानिस स्त्री नटुवा हुन्, जो आआफ्ना विभिन्न खेल खेल्छन् र अन्त्यमा अन्तर्ध्यान हुन्छन्। यही हो जीवन, यही हो जीवनशक्तिको आत्मसम्पादन’ भनी उनले वर्णन गरेका छन्। यस लेखको अन्त्यमा उनले नेपाली भाषाको विकास र परिमार्जनको आवश्यकता औँल्याएका छन्। साथै जीवन रत्नसम्पन्न बनाउने कोसिस गर्नु नै हाम्रो कर्तव्य हो भन्नेमा पनि उनले जोड दिएका छन्। दीक्षितले सेवालाई महामन्त्रको नाम दिएका छन्। सेवाको मन्त्रको उद्देश्य ईश्वर, राजा (श्री ३ महाराज प्रधानमन्त्रीलाई भनेको) र स्वदेशको सेवा हो भन्ने उल्लेख गर्दै शारदाको अभिलाषा पनि सोहीअनुरूप भएको उनको भनाइ छ। यस लेखबाट उनले थुप्रै प्रशंसा आर्जन गरे। साथै लेखबारे सम्पादकले गरेको सूचनामूलक टिप्पणी गर्ने कार्यलाई लेखक स्वयंले आपत्तिजनक रूपमा लिएका कारणले भने सम्पादक स्वयंलाई थप समस्या सिर्जना गर्यो। दीक्षितले आफ्नो लेखबारे सम्पादकले गरेको ‘नियमविपरीत प्रयोग भएको भाषा’ भन्ने टिप्पणीलाई गम्भीरतापूर्वक लिई त्यसलाई प्रतिष्ठाको सवाल बनाए।
तत्कालीन डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन मेजर जनरल मृगेन्द्रशमशेरसमक्ष उनले यसबारे उजुरी दिए। प्रथमग्रासे मक्षिकापातः भने जस्तो पहिलो अंक निस्कनासाथ सम्पादक सुब्बा ऋद्धिबहादुर मल्ल (डिसेम्बर ८, १८९८–अप्रिल १८, १९६८) दीक्षितको असन्तुष्टिको सिकार बने। र डाइरेक्टर जनरलसमक्ष माफी माग्न बाध्य भए। शारदाको पहिलो अंकमा डाइरेक्टर जनरलको शुभेच्छापत्र, श्यामराजा नामका बाघदरबारका नोदविक्रम शाहका कविता, कुनै बेला दीक्षितलाई भौतिक आक्रमण गर्ने भवदेव पन्तको नाटक, १९३३ को शुरूमा प्रधानमन्त्री जुद्धशमशेरको ‘बदेहामा सिकार’ नामक बालकृष्णशमशेरको लेख तथा नेपाली साहित्यका तीन महारथी लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठलगायतका रचना समावेश गरिएको पाइन्छ। दीक्षितमा भाषाप्रति विशेष अनुराग थियो। उनी नेपाली र अंग्रेजी भाषाको प्रयोगमा शिष्टता र क्लिष्टता मात्र कायम राख्दैनथे, नेपाली बोल्दा अंग्रेजी शब्द र अंग्रेजी बोल्दा नेपाली शब्दको किमार्थ प्रयोग गर्दैनथे। उनमा व्याकरण, हिज्जे र उच्चारणको विशेष आबद्धता त छँदै थियो, भाषा बोल्ने शैली (फोनेटिक्स)बारे पनि उनको अझ बढी लगाव थियो। पचासको दशकमा एक कनिष्ठ कर्मचारी र पछि उच्च पदमा पुगेका प्रशासकले नाम चलेका एक ऐन र संविधानका ब्रिटिस लेखकको नाम सही उच्चारण नगरेकामा उनले विशेष रूपमा प्रतिवाद गरेको घटना ती व्यक्तिका लागि आजीवन खट्किरह्यो। आफ्नो उच्चारणमा रहेको गल्ती औँल्याउने दीक्षितको मृत्यु भएको साढे तीन दशक र सरकारी सेवाबाट अवकाश भएको त्यत्तिकै अवधिपछि ती प्रशासकले आफ्नो असीको मध्यउमेरमा कसरी शुद्ध रूपमा अंग्रेजी उच्चारण गर्ने भन्नेबारे झन्डै एक वर्ष कक्षासमेत सञ्चालन गरे।
यस प्रकारको प्रशिक्षणका लागि सघाउ पुर्याउने हिसाबले उनले ‘अंग्रेजी उच्चारण सिक्ने सजिलो उपाय’ शीर्षकमा २०१९ मा एक महत्त्वपूर्ण पुस्तिका निकालेका थिए। आफ्नै एकोहोरो स्वभावका कारण परराष्ट्रसचिव दीक्षितले नेपालको त्यो समयको स्तरीय एक मात्र दैनिक (ब्रोडसिट डेली) दी राइजिङ नेपालमा दी शब्दको प्रयोगप्रति प्रतिवाद गरेका थिए। यहाँसम्म कि एक पटक उनले शीर्षकमा परिवर्तन नगरिएसम्म यो पत्रिका नपढ्नेसम्मको जिद्दी गरेका थिए।
गोरखापत्र संस्थान मातहतमा नेपालको पहिलो महत्त्वपूर्ण दैनिक गोरखापत्रको प्रकाशन भएको छ दशकभन्दा बढी समयमा सरकारी नियन्त्रणको यस प्रकाशनले अंग्रेजी दैनिक दी राइजिङ नेपाल छाप्न शुरू गरेको थियो। १९६५ डिसेम्बर १६ मा शुरू भएको यस दैनिकको नामकरण गर्दा राजा महेन्द्रको बाहुली निशाना (हस्ताक्षर)सहित यस पत्रिकाको नाम दी राइजिङ नेपाल भएको थियो। यसअघि छापिने नेपलिज पर्सपेक्टिभ नामक मासिक पत्रिका केही वर्षपछि बन्द भएको थियो। दीक्षित लन्डनमा रहँदा पेरिसस्थित नेपाल सरकारका एजेन्ट हेन्री इरिग्वानले नेपाली भाषा सिक्ने आफ्नो इच्छा प्रकट गरे। यस सन्दर्भमा उनले फ्रेन्च नागरिकलाई सहयोग मात्र गरेनन्, पत्राचार गर्दा नेपाली भाषामा गरी त्यसको अंग्रेजी अनुवाद सँगै पठाउने र नेपाली शब्द र अक्षरका प्रयोग, अर्थ एवं प्रसंगबारे उनलाई राम्ररी अर्थ्याएका थिए।
(पुर्वपरराष्ट्र सचिव भट्टराईको प्रकाशोन्मुख कृति ‘नेपालको परराष्ट्र सम्बन्ध: सङ्क्रमणकाल र प्रो.नरेन्द्रमणि दीक्षित’बाट साभार गरिएको अंश)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
