धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्।
‘तपाईंको विचारमा तेस्रो विश्वयुद्ध कस्तो होला?’
एक समय वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई कसैले यस्तो प्रश्न सोधेका थिए। उत्तरमा तिनले भनेका थिए:
‘तेस्रो विश्वयुद्धबारे त म केही भन्न सक्दिनँ, तर चौथोचाहिँ मानिसहरू ढुङ्गा हानाहान गर्दै लड्नेछन्।’
आफ्नो आविष्कारलाई स्वार्थी राजनीतिले मानव जातिकै संहारका लागि प्रयोग गरी जापानमा नरसंहार गरेको देखेका यी महान् वैज्ञानिकलाई भविष्यमा विज्ञानले आविष्कार गर्ने अझ शक्तिशाली नरसंहारका साधन अनि सम्भावनाबारे अनुमान थियो। आफ्नो आविष्कारमा तिनी दुखी थिए।
उनी भन्थे, ‘अर्को जन्म छ भने म त्यसमा आइन्स्टाइन हुन चाहन्न। बरु एउटा प्लम्बर भएर जीवन बिताउन चाहन्छु।’
संसारमा युद्ध रोक्नलाई नै अन्तर्राष्ट्रिय संगठनहरू बने। जनवरी १९२०, अर्थात् प्रथम विश्वयुद्धको अन्तसँगै पेरिस शान्ति वार्ताको समय 'लीग अफ नेसन'को गठन भयो। तर १९३९ को सेप्टेम्बर महिनामा जर्मनीले पोल्यान्डमा आक्रमण गरेसँगै दोस्रो विश्वयुद्धको सूत्रपात भयो। लीग अफ नेसन दोस्रो विश्वयुद्ध रोक्न असफल भएपछि १९४५ को अक्टोबर महिनामा संयुक्त राष्ट्रसंघको गठन भयो अनि १९४६ मा लीग अफ नेशनको अस्तित्व शेष भयो। आज युक्रेन र रसिया अनि प्यालेस्टाइन र इजरायबीच चलिरहेको द्वन्द्व हेर्दा पुनः एकपल्ट संयुक्त राष्ट्र संघको भविष्य पनि लीग अफ नेसनकै दिशातर्फ अग्रसर भइरहेझैँ देखिन्छ। आगोमा घिउ थप्ने काम गत वर्षको अमेरिकी चुनावबाट राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयले गरेको देखिन्छ।
२०२२ को फेब्रुअरी महिनामा अचानक रुस-युक्रेन द्वन्द्व सुरु भयो। रसियाझैं संसारमा सबैभन्दा बढ्ता परमाणु हतियार भएको राष्ट्रसामु युक्रेनझैं सानो देश महिना दिन पनि नटिक्ला भन्ने धेरैको अनुमान थियो। तर युद्ध सुरु भएको तीन वर्ष बित्न लाग्दा पनि सम्झौताको संकेत कतै देखिँदैन। अमेरिकाको निम्ति यस प्रकारका युद्धहरू आफ्नो हतियारको विज्ञापन गर्ने बजार पनि हो। अमेरिकी सहायता नभएको भए यो युद्ध बर्षौंअघि निष्कर्षमा पुगिसक्ने थियो।
युक्रेन–रसिया युद्धको विस्फोटको आवाज साम्य हुन नपाउँदै अक्टोबर २०२३ मा हमास-इजरायल युद्ध सुरु भयो। २०२४ को नोभेम्बर महिनाको पहिलो साताभित्रै ४५००० मानिस मरे, जसमा ४३३९१ प्यालेस्टाइनी अनि १७०६ यहुदीहरूले ज्यान गुमाए। वर्तमान समयका युद्धहरूमध्ये सबैभन्दा बढ्ता महिला अनि शिशुहरू इजरायलको आक्रमणमा मरेको अन्तर्राष्ट्रिय संस्था अक्सफामको रिपोर्ट छ। इजरायललाई अन्तर्राष्ट्रिय संगठनहरूको वास्ता छैन, किनकि यसको पछि छ अमेरिका। हेग अवस्थित अन्तर्राष्ट्रिय न्यायालयले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध ‘पक्राउ पुर्जी ’ पनि जारी गरिसकेको छ। अन्तर्राष्ट्रिय न्यायालयको आदेशलाई नेतान्याहुले वास्तामात्रै नगरेका होइनन्, संयुक्त राष्ट्र संघका महासचिव गुट्टेरसको इजरायल यात्रालाई अनुमतिसम्म नदिएर संयुक्त राष्ट्र संघको वर्तमान समयमा हैसियत के छ, सो पनि स्पष्ट पारिदिए।
यी घटनाक्रम चलिरहँदा अमेरिकामा राष्ट्रपतीय चुनावको प्रचार धमाधम हुँदै थियो। राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय न्यायालयले नेतान्याहुविरुद्ध जारी गरेको पक्राउ पुर्जीलाई गैरकानुनी घोषणा गरिसकेका थिए। अर्थात् ८० को दशकमा सोभियत संघको विघटनसितै शेष भएको शीतयुद्धपछि अन्तर्राष्ट्रिय मुद्दाहरूमा संयुक्त राज्य अमेरिकाको ढलीमली निरन्तर बढिरहेकै छ। वर्तमान परिस्थिति पनि त्यसैको एक दृष्टान्त हो।
'अमेरिका, ल्यान्ड अफ् द फ्रि पिपल' (अमेरिका स्वाधीनहरूको देश हो…।)
यस्तै प्रचार गरिन्छ।
यो कति स्वाधीनहरूको देश हो अथवा कसको निम्ति स्वाधीनहरूको देश हो त? १९९२ सालमा कोलम्बस अमेरिका पुगेको अथवा अमेरिकाको ‘पत्ता लागेको’ ५०० वर्ष पूरा भएको अवसरमा अमेरिकाका धेरै ठाउँमा कोलम्बसको मूर्ति तोड्ने काम भयो। मूर्ति तोड्नेहरूको तर्क थियो, 'अमेरिका पत्ता लागेको ५०० वर्ष पुगेको नभई आदिवासी अमेरिकीहरूमाथि अत्याचार भएको ५०० वर्ष पूरा भएको हो। अमेरिका त पृथ्वीको सृष्टिसितै अस्तित्वमा आएको हो अनि त्यहाँका आदिवासी ‘रेड इन्डियन’हुन्, जसलाई युरोपका अतिक्रमणकारीहरूले लगभग शेष पारे।'
अमेरिकी सैन्य अधिकारी जनरल फिलिप शेरीडनले भनेको भनेर चर्चामा आएको यो भनाइले अमेरिकी अतिक्रमणकारीहरूले आदिवासी रेड इन्डियनहरूप्रति गरेको व्यवहार झल्काउँछ:
‘द वन्ली गुड इन्डियन इज अ डेड इन्डियन’ (मारिएका रेड इन्डियन मात्र असल हुन्।)
***
२०२४ मा अमेरिकाको राष्ट्रपति चुनावमा सारा संसार उत्सुक थियो। अन्तर्राष्ट्रिय स्तरको कूटनीतिमा अमेरिकाले प्रमुख भूमिका निर्वाह गर्ने गरेको छ, खास गरी सोभियत संघको विघटन पछि संसारलाई भएको एउटा ठुलो हानि हो यो।
२०१९ मा भारतका प्रधानमन्त्री मोदी अमेरिकी यात्रामा थिए। २०२० मा त्यतिखेर पनि अमेरिकामा राष्ट्रपति चुनाव थियो। टेक्ससको ह्युस्टनमा मोदीको स्वागतमा ठुलो आयोजना प्रवासी भारतीयहरूले गरे। त्यस समय अन्तर्राष्ट्रिय कूटनीतिको परवाह नगरी भारतका प्रधानमन्त्रीले अर्को देशको राजनीतिमाथि सोझै हस्तक्षेप गरे अनि सभागृहमा भेला भएकाहरूलाई सम्बोधन गर्दै नारा लगाए:
‘अबकी बार ट्रम्प सरकार…’
२०१५ मा अमेरिकाका राष्ट्रपति बाराक ओबामा भारतको स्वाधीनता दिवसमा मुख्य अतिथि निम्त्याइएका थिए। 'ओबामा र मोदीको नजिकको साथी', त्यसैले उनीहरू आपसमा ‘तु तडाक’को भाषामा चल्ने बताएका थिए। तर २०२० फेब्रुअरी महिनामा गुजरातमा ट्रम्पलाई मोदीले निम्तो दिए। भारतमा 'नमस्ते ट्रम्प'को आयोजना भयो किनकि, ट्रम्प त्यसताक राष्ट्रपति भइसकेका थिए।
ह्युस्टनमा मोदीले लाएको नारा ‘अबकी बार ट्रम्प सरकार’ धेरै भारतीयले मन पराएनन्। सामाजिक सञ्जालमा आलोचना भयो। त्यस चुनावमा ट्रम्पको हार भयो, डेमोक्रेट पार्टीका बाइडेनले जिते। बाईडेनले त्यस घट्नालाई कसरी लिए कुन्नि, तर भारतप्रति अमेरिकी सरकारको दृष्टिकोण मित्रतापूर्ण भयो भन्नचाहिँ कदापि सकिँदैन। त्यही कारण हालै एउटा पत्रकार सम्मेलनमा बाइडेनले मोदीतिर इङ्गित गर्दै टिप्पणी गरेका थिए, ‘मिस्टर मोदी इज् अल्सो अ हेड अफ् स्टेट अफ् अ स्मल कन्ट्री लाइक आवर्स’ (हाम्रोझैं एउटा सानो देशका राष्ट्रप्रमुख हुन् मोदी।)
यस्तो अपमानजनक टिप्पणीको अर्थ मोदीले के लाए, त्यो तिनी नै जानुन्।
पछिल्लो पल्टको अमेरिकी चुनावमा भारतमा आम नागरिक कमला ह्यारिसको पक्षमा थिए। भारतीय मूलकी कमला ह्यारिसले जिते त्यो जीत मनोवैज्ञानिक रूपमा भारतको जितझैँ लिने थिए भारतीयहरूले। संसारका प्राय: देशका मानिसहरूका साथै राष्ट्रहरू पनि आफैलाई सफलतासितै जोड्न चाहन्छन्। दार्जिलिङका हामी सिक्किमका भाईचुङ भुटियालाई ‘हाम्रो भाईचुङ’ भन्छौं, तर अरू कुरामा भने रंगीत (सिक्किम राज्यको सबैभन्दा ठूलो नदी) वारि र पारिकाहरू एक अर्कालाई खिसी गर्दै 'डब्लूजीएक्स तथा एसकेएम' भनेर गाडीको नम्बर प्लेटसित तुलना गर्नेहरू पनि छन्।
यो पनि: ट्रम्प नीतिले प्रभावित गर्ने विश्व व्यवस्थामा नेपाल कता?
बेलायतमा केही वर्षअघि ऋषि सुनक प्रधानमन्त्री उम्मेदवार हुँदा भारतमा ताप बढेको थियो। टेलिभिजनहरू तिनको पैतृक थलोबारे 'प्राइमटाइम डिबेट' देखाउँथे। कसैले यो सोचेनन् कि बेलायतमा कुन त्यस्तो व्यवस्था छ, जसले व्यक्तिको जाति र थलोभन्दा योग्यतालाई प्राथमिकता दिन सक्यो। जसका कारण एक गैरश्वेत, जसका पुर्खा दुई पीढी अघिमात्र दक्षिण भारतबाट बेलायत बसाइँ सरेका हिन्दू एक 'क्रिश्चीयन राष्ट्र'का प्रधानमन्त्री हुन सके। हामी भने आफ्नै देशवासीमाझ योग्यताको साटो जाति, भाषा र धर्म आदिलाई आधार बनाई योग्यतालाई रद्दीको टोकरीमा फाल्ने गरेकै कारण अझै पनि पछौटे छौँ।
हाम्रो देश भारतको निम्ति यो एउटा सिक्नुपर्ने अनि महत्त्वपूर्ण पाठ थियो। तर यति बेला देशमा दक्षिणपन्थी धार्मिक अतिवाद चरममा छ, जसले राष्ट्रवादको मखुन्डो ओढेका कारण देशवासी राष्ट्रवादको नसामा एकोहोरिएको देखिन्छ। एकोहोरोपनाको परिणाम हामीले दिल्ली चुनावमा देख्यौं। मानिसको निम्ति जब आधारभूत आवश्यकताभन्दा धार्मिक कट्टरपन्थी व्यवहार बढी महत्वको हुन्छ, तब त्यस्तो समाज वा राष्ट्र हर प्रकारका अपराधको निम्ति मलिलो स्थान बन्न पुग्छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति उम्मेदवार हुँदा संसारका अरू देश मात्र नभएर स्वयं अमेरिकी नागरिक पनि चिन्तित थिए। तिनको रंगभेदी मानसिकता अनि उटपट्याङ व्यवहार संसारको निम्ति नै राम्रो होइन भन्ने कुरा सचेत अमेरिकी नागरिकहरूलाई थाहा थियो। ‘द वाइर’की सम्पादक अर्फा खानम शेरवानीले अमेरिकी नागरिकहरूसित ट्रम्पको सम्भावित विजयबारे चर्चा गर्दा नागरिकहरू निक्कै डराएको देख्न पाइएको थियो। ट्रम्पले चुनाव प्रचारको समय नै भनेका थिए, ‘वि आर गोइङ टु फिक्स आवर बोर्डर फस्ट।’ (हामी पहिले बोर्डर मिलाउँछौं।)
ट्रम्पको बयान आइरहेको समय पनि कति भारतीयहरू अमेरिका पस्ने तरखरमा रहेको कुरा खानम बताइरहेकी थिइन्: ‘प्रत्येक दिन औसतमा १० भारतीयहरू अवैध तरिकाले अमेरिका छिर्ने प्रयासमा हुन्छन्।‘
अनि केही दिनअघि मात्र १०४ भारतीयहरूलाई हात र खुट्टामा साङ्लो बाँधेर अमेरिकी हवाईजहाजले भारतमा उतारेको हामीले टिभीमा हेर्न पायौँ। शपथग्रहण समारोहमा मोदीले निमन्त्रणा त पाएनन्, तर ‘द ग्रेट अमेरिकन ड्रिम’लाई मुटुमा साँचेर बसेका भारतीयहरूको सपना कमसेकम ट्रम्पको राष्ट्रपतिको म्याद नसकिन्जेल सपना नै रहने भयो।
बाराक ओबामा अमेरिकाको राष्ट्रपति हुँदा साँच्चै अमेरिका स्वाधीन मानिसहरूको देश हो भन्ने प्रचार भएको थियो। एक अश्वेतलाई राष्ट्रपति चुनेर मार्टीन लुथर किङको सपना अमेरिकाले साकार बनाएको चर्चा थियो। कमला ह्यारिस त अझ अश्वेत, भारतीय मूलका साथै महिला भएका कारण स्वाधीन अनि उन्मुक्त मानिसहरूको देशको विशेषणको निम्ति तिनको चुनाव उपयुक्त थियो। यी तीनै वटा पक्ष नकारेर अमेरिकाले एउटा प्रजातन्त्रविरोधी अनि कट्टरपन्थीलाई चुनेर आफ्नै छवि धमिल्यायो।
ट्रम्प एक विशुद्ध व्यापारी हुन् भन्ने कुरा त तिनले आफ्नो चुनाव प्रचारकै समयमा एलन मस्कको नाम लिएबाट संकेत पाइन्छ। तिनले भनेका थिए, ‘हामीले हाम्रा जिनीयसहरूको सुरक्षा गर्नपर्छ, किनकि यस्ता मानिस हामीसित थोरै छन्।’
एउटालाई समर्थनको आवश्यकता त अर्कोलाई सुरक्षाको। विशुद्ध व्यापारिक लेनदेन।
तर धेरै विशेषज्ञहरू ट्रम्पको जीतलाई अमेरिकाको अन्तको रूपमा हेरिरहेका छन्। तिनको जीतलाई प्रजातान्त्रिक मूल्यहरूको हारसित तुलना गरिरहेका छन्। अरफा खानमसितको अन्तरवार्तामा एक अमेरिकी नागरिकले भने ‘कमलाले जित्छिन् भन्ने हामीलाई विश्वास थियो, किनकि हाम्रो धारणामा अमेरिका शिक्षितहरूको देश हो भन्ने थियो तर हामी भ्रममा रहेछौं।’
***
आज संसारका बहुसंख्यक राष्ट्रमा दक्षिणपन्थीहरू सत्तामा छन्। एशिया, युरोप, अफ्रिका र अमेरिका सबैतिर दक्षिणपन्थीहरूकै धेरैजसो सरकार छन्। पश्चिम एशियाको कुरा अर्कै हो, जहाँ भारतलगायत धार्मिक कट्टरपन्थी सत्तामा छन्। तर युरोप र अमेरिकाको स्थिति अन्य ठाउँभन्दा अलि बेग्लै छ। न्यायपालिका र प्रेस तुलनात्मक दृष्टिकोणबाट अरू राष्ट्रहरूको तुलनामा यी ठाउँमा धेरै स्वधिन छन्।
यो पनि पढौं: ट्रम्पको कदम विश्व व्यवस्थालाई सन्तुलनमा ल्याउने अवसर पनि हो
२०१५ मा ट्रम्प राष्ट्रपति हुँदा एउटा मिडियाले उनको जितलाई ‘मोरल डिजास्टर’ भनी वर्णन गरेको थियो। २०२४ को चुनाव प्रचारको समय तिनले रक्षा बजेट घटाउने, सामाजिक संस्थामार्फत गरिने खर्चमा कटौती गरिने साथै उद्योगधन्दा लगानी बढाउने कुरा गरी आफ्नो प्राथमिकता स्पष्ट पारे। अवैध अनुप्रवेशकारीलाई देश निकाला गर्ने कुरामा १७९८ को कानुन प्रयोग गरिने कुरा गर्दा ट्रम्पको संकेत मेक्सिको तर्फ थियो। त्यही कुरा तिनले शपथ ग्रहणको समय स्पष्ट पारे, ‘ फर्स्ट वी आर गोइङ टु फिक्स आवर बोर्डर…’
सम्पूर्ण दक्षिण अमेरिकीलाई अमेरिकाले अपराधीहरूको देशको रूपमा हेर्छ। यो कुरा आम अमेरिकीको मनभित्र घुसार्न अमेरिकाको फिल्म इन्डस्ट्रीजको पनि ठुलो भूमिका छ। हलिउडका प्राय: फिल्ममा देखाइने अपराधीको नाम अनि अनुहारले उनीहरूको दक्षिण अमेरिकी जरा देखाउने काम गर्छ। सम्पूर्ण मुसलमान राष्ट्रलाई ट्रम्प जेहादी देख्छन्। यसपालि तिनले चुनाव जितेपछि बधाई दिनेको सुचीमा विस्थापित बंगलादेशकी भूतपूर्व प्रधानमन्त्री शेख हसिना पनि थिइन्, जसलाई ट्रम्पले प्रधानमन्त्री भनी सम्बोधन गरेका थिए।
अर्थात्, परिवर्तनको समर्थनमा छैनन् ट्रम्प। भर्खरै ह्वाटस्एपभरी प्रत्येक नाकामा शंकास्पद देखिने मानिसको कागजपत्र माग्दै गरेका अमेरिकी सिपाहीहरूको भिडियो भाइरल छ। (त्यो भिडियो नक्कली पनि हुनसक्छ, तर ट्रम्पको ध्येय त्यस्तै देखिन्छ।)
भर्खरै मोदी अमेरिकाको यात्राबाट भारत फर्केका छन्, ट्रम्पले स्टिल अनि एल्मुनियमको आयातमा शुल्क बढाएका छन्। यो खबरले भारतीय बजारबाट ९ लाख करोड रुपियाँ एकै दिन गुमाउनुपर्यो। यस्तो कदम चीन साथै भारतलाई आर्थिक चोट पुर्याउनको लागि हो भन्ने जानकारहरूको विचार छ। उदारता अनि सहअस्तित्वको निम्ति जे जति परिवर्तन आफ्नो देशभित्र ल्याउन अमेरिका सफल भएको थियो, ट्रम्प त्यो प्रक्रियालाई उल्टोतर्फ घुमाउने प्रयासमा छन्। यौनिक अल्पशंख्यकहरूलाई तिनको सरकारले मान्यता नदिने घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनमात्र नभई पेरिस जलवायु परिवर्तन सम्झौताबाट पनि अमेरिकाले खुट्टा झिक्ने काम गर्यो।
अमेरिकी संस्कारअनुसार शपथ ग्रहण गर्नसाथ ट्रम्प वासिङ्टनको एक प्रोटेस्टेन्ट चर्चमा गए। त्यहाँ बिसप (पुजारी) मेरियन एडगर्गले दिएको 'सर्मन' (प्रवचन) ले ट्रम्पको सातो खायो। तर कैयौंमा भने बिसपको सो वक्तव्यले आसातर्फ पनि संकेत गर्यो। मेरियनले भनिन्:
‘हाम्रो धर्मले अञ्जान अनि अपरिचितहरूलाई समेत सम्मान जनाउन सिकाउँछ। हामी सबै पनि यो भूमिमा एक समय नौलो अनि आगन्तुक नै थियौँ।’
अमेरिकाको इतिहास त्यति पुरानो छैन। १६औँ शताब्दीको सुरुतिर मात्र त्यहाँ युरोपबाट सम्पत्ति अनि संसाधनको खोजीमा जाने यात्रीहरू पुगे। त्यहाँका आदिवासीलाई निर्मूल पारे अनि अफ्रिकाका मानिसलाई दास बनाएर ल्याई विकासको काममा लगाए। अमेरिकाको विकासमा जसले रगत पसिना बगाए, आज तिनकै सन्तानहरू रंगभेद नीतिको सिकार छन् अमेरिकामा। तर बिसप मेरियनले जुन प्रकारले नवनिर्वाचित राष्ट्रपतिलाई तिनकै सामु किञ्चित पनि नडराईकन मानवता र उदारताको पाठ सिकाइन्, त्यो अमेरिकाजस्तो देशमा मात्र सम्भव होला।
उसो त भारतमा शंकराचार्यले आठौं शताब्दीको शुरुतिरै ‘वसुधैवकुटुम्बकम्’ (पृथ्वीवासी सबै हाम्रा आफन्त हुन्) को पाठ पढाएका हुन्। उनले संसारलाई एउटा परिवार बताए, तर आज भारतमा जे भइरहेछ शंकराचार्यको पाठ विपरीत भइरहेछ। ट्रम्पको यस्तै उट्पटाङ कूटनीति जारी रहे केही समयमा नै संसार आर्थिक दुर्घटनाको सिकार सम्मुख नहोला भन्न सकिन्न।
(छेत्री दार्जिलिङ निवासी हुन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
