विभिन्न अनुसन्धानले चेन पीमा लगभग ७८१ किसिमका रासायनिक तत्त्व भेटिएका छन्। चिनियाँले ‘रूखमा फल्ने सुन’ भनेर सम्बोधन गर्ने चेन पीलाई उपयोग गरी हामीले पनि आर्थिक अवस्था सुदृढ गर्न सक्छौँ।
संसारमा हामीले आफ्ना लागि उत्पादन गर्ने खाना तथा फलफूलको कुल एक तिहाइ भाग प्रयोग नगरी खेर जाने या फाल्ने रहेछौँ। एउटा लेखअनुसार सन् २०१८ मा संसारमा लगभग एक करोड ५१ लाख टन सुन्तलाको बोक्रा फोहोरका रूपमा फालिएको रहेछ। तर ‘बुझ्नेलाई लागि श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भनेझैँ यही फोहोरका रूपमा फालिने सुन्तलाको बोक्रालाई चिनियाँले बहुमूल्य वस्तुका रूपमा प्रयोग गर्ने गर्दछन्। सीएनएनले हालै प्रकाशन गरेको एक लेखमा सन् २०२३ मा लिलाम बढाबढ गर्दा आधा किलो सुन्तलाको बोक्राको मूल्य नौ हजार ६५० अमेरिकी डलर (हालको नेपाली मूल्य १३ लाख ३४ हजार २०९ रुपैयाँ) परेको उल्लेख गरेको छ। तर यो ताजा बोक्रा होइन रहेछ र त्यो बोक्रा त सन् १९६८ मा निकालेर ५५ वर्षसम्म भण्डारण गरेर राखिएको पो रहेछ।
परम्परागत चिनियाँ चिकित्साअनुसार सकारात्मक ‘ची’ या ‘ऊर्जा’ले हाम्रो शरीरलाई निरोगी बनाउँछ। ‘ची’को कमीले शरीरमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुने, बोल्न मन नलाग्ने, धेरै पसिना आउने, जिब्रो सुनिने र नाडी कमजोर हुने गर्छ। यही ‘ची’को ह्रास कम गर्न या निर्मूल पार्न चिनियाँले सुकाएर तयार पारिएको एक प्रकारको सुन्तलाको बोक्राको व्यापक रूपमा प्रयोग गर्ने गर्छन्। यस्ता बोक्रालाई चिनियाँ भाषामा मुख्यतः ‘चेन पी’ र कसैले यसलाई ‘चेमपी’ भन्छन्।
चेन पीको प्रजाति
चेन पी अंग्रेजीमा ‘ट्यांगेरिन’ भनिने सुन्तलाबाट बनाइने रहेछ। ट्यांगेरिन नामले चिनिने सुन्तलाका दुई प्रजाति (प्रकार होइन) रहेछन्। ती हुन्; सिट्रस रेटिक्युलाटा र सिट्रस ट्यांगेरिना। यकिन रूपमा चेन पीका लागि प्रयोग हुने सुन्तला सिट्रस रेटिक्युलाटा ब्लान्को हो या सिट्रस ट्यांगेरिना हो भनेर खोजी गर्दा उक्त प्रजाति सिट्रस रेटिक्युलाटा ब्लान्को नै रहेको पत्ता लाग्यो। यसलाई चिनियाँले सिट्रस रेटिकुलाटा पेरिकार्पिएम पनि भन्ने गर्छन्। नेपालमा ४१ भन्दा धेरै प्रकार (कल्टिभार) का सुन्तलाको खेती गरिन्छ। तीमध्ये एउटा प्रकार ‘ब्लान्को’ हो।
सिट्रस रेटिक्युलाटा ब्लान्को प्रजातिको रूख सानो हुन्छ। यसको उचाइ सामान्यता दुईदेखि साढे सात मिटरसम्मको हुन्छ। यसका धेरै हाँगा र थोरै काँडा हुन्छन् भने पात ६.८ सेन्टिमिटर, भालाको आकारदेखि अण्डाकार-भालाको आकारसम्म हुने गर्छन् र यिनका छेउमा ससाना दाँतजस्ता आकार हुन्छन्। यस प्रकारको सुन्तलाको फल थोरै अवतल (कनकेभ) आकारको हुन्छ। फल फिक्का पहेँलो या हल्का रातो रङको हुन्छ। फलको तेर्सो व्यास ४.६–५.९ सेन्टिमिटर × ६.३–७.१ सेन्टिमिटर, तौल १००–१३८ ग्राम, मोटाइ २.७–३.३ मिलिमिटर हुन्छ। बोक्रा अत्यन्त पातलो, सुगन्धित र सजिलै निकाल्न सकिने हुन्छन्। बीउको संख्या १५–२५ हुन्छ। यो प्रजातिको फूल अप्रिल-मेतिर फुल्छ भने यसको फल अक्टोबर-डिसेम्बरमा लाग्छ।
नेपालमा यो प्रजातिको सुन्तलाको गुल्मी, गोरखा, दैलेख र धनकुटालगायत केही पहाडी जिल्लामा खेती गरिन्छ भनेर केही अनुसन्धानात्मक लेखले उल्लेख गरेका छन्। यद्यपि, यसको खेतीपाती र उत्पादनबारे विस्तृत विवरण भने छैन।
सिट्रस ट्यांगेरिना भने सिट्रस रेटिक्युलाटा ब्लान्कोभन्दा कम उचाइको हुन्छ। यसको कुल उचाइ ३ मिटरसम्मको हुन्छ। फल सिट्रस रेटिक्युलाटा ब्लान्कोभन्दा सानो र यसको तेर्सो व्यास २–२.५ सेन्टिमिटर × २.५–३.४ सेन्टिमिटर हुन्छ। बोक्रा बाक्लो र बीउको संख्या ५–६ मात्र हुन्छ।
चेन पीको इतिहास र प्रयोग
परम्परागत चिनियाँ औषधिमा सुन्तलाको बोक्रा प्रयोग गर्ने इतिहास हेर्ने हो भने यसको शुरूआत सन् ९६० देखि १२७९ सम्म राज गरेको सोङ राजवंशमा भएको हो। पछि आएर मिङ (सन् १३६८ देखि १६६४ सम्म) र छिङ (सन् १६१६ देखि १९१२ सम्म) राजवंशमा चेन पीको लोकप्रियता ह्वात्तै बढेको पाइन्छ। त्यसपछि सन् २००२ सम्म कमै चर्चामा रहेको चेन पीको व्यापारले खासै चर्चा भएको पाइँदैन। चीनको ग्वाङ्डोङ प्रान्तको सिनहुई भूभागका रहेका सिनहुई कृषि ब्युरो र व्यापार महासंघको सहयोगमा चेन पी औद्योगिक संघ स्थापना गरेपश्चात् चेन पीको व्यापक प्रचारप्रसारपछि लोकप्रियता बढेको पाइन्छ।
यो सुगन्धित र स्वादमा तिक्खर तीतो हुन्छ। यो न्यानो प्रकृतिको हुन्छ। यसले शरीरमा रहेको ‘सी’ या ‘ऊर्जा’को प्रवाहलाई नियमित र प्रवर्द्धन गर्छ, चिसोपन या ओसिलोपन हटाइ कफलाई पगाल्छ। यसका साथै चेन पीले पेट फुल्ने, डकार आउने, वाकवाकी कम गर्ने र बान्ता रोक्ने काम गर्छ र फोक्सो र पेटलाई समेत फाइदा पुर्याउँछ।
चेन पीलाई चियामा प्रयोग हुने मसला तथा सुपमा महत्त्वपूर्ण मिसावटका रूपमा प्रयोग गरिन्छ। यद्यपि यसलाई सुख्खा खोकीमा प्रयोग गर्न अनुपयुक्त हुनुका साथै लामो समयसम्म सेवन गर्नाले यसले शरीरलाई हानि पुर्याउन पनि सक्छ। चेन पीलाई सकेसम्म चिसो खानासँग खानु हुन्न किनकि यो न्यानो प्रकृतिको हुने भएकाले चिसोसँग मिसिँदा विपरीत गुण उत्पादन भई प्रभावकारितामा ह्रास आउन सक्छ।
चेन पीको उत्पादन, भण्डारण र मूल्य
चेन पी बनाउन चार किसिमका सुन्तलाका बोक्रा प्रयोग गरिन्छन्। पहिलो प्रकारको बोक्रा पाक्नु अघिका नै सुन्तला टिपेर निकालिएको हरियो हुन्छ। दोस्रो प्रकार नोभेम्बरमा टिपिएको हुनाले हल्का सुन्तले रातो हुन्छ, तेस्रो प्रकार डिसेम्बरमा पाकेपछि टिपेकाले कडा खालको सुन्तले रातो हुन्छ र चौथो प्रकार जाडोपछि टिपिएको बोक्रा सुन्तले रातो नै हुनुका साथै यसमा चिनीको मात्रा ज्यादा हुन्छ।
निश्चित समयमा सुन्तला टिपेर बोक्रा निकाल्ने र राम्रोसँग हावा आवतजावत गर्ने ठाउँमा सुकाएर भण्डार गरिन्छ। यसरी सुकाएर राखिएका बोक्रा जति पुराना हुँदै जान्छन्, त्यति नै मूल्य बढ्दै जान्छ। एक अध्ययनअनुसार भण्डार गर्दा बोक्रालाई बिग्रन नदिन र ढुसीबाट बचाउन २५ डिग्री सेल्सियसभन्दा कम तापक्रम र ८५५ भन्दा कम आर्द्रता उत्तम हुन्छ।
चेन पी सुकाउन चीनका कुनै ठाउँमा एकदमै विशेष किसिमको प्रक्रिया अपनाउने गरिन्छ। यो विशेष प्रक्रियामा बोक्रालाई कपडाको झोलामा राखेर भण्डारणका लागि काठको बाकसमा थन्क्याइन्छ। यी बोक्रा राखिएका बाकसमुनि महका केही भाँडा राखिन्छन् र बिहान-बेलुका तलबाट धूप गरेझैँ धुवाँ दिइन्छ। यसो गर्नाले वर्षौंसम्म मह बाकसभित्र छिरेर बोक्रासम्म पुग्छ। महसँग मिश्रण भएका बोक्राको बाहिरी सतह चम्किलो र यसबाट निकालिएको तेल चन्दनको तेलजस्तै बहुमूल्य हुन्छ। यसो गर्न धेरै मिहिनेत गर्नुपर्ने हुनाले धेरैजसो बोक्रालाई साधारण रूपमा सुकाएर बेच्ने गरिन्छ। जति पुरानो भयो, त्यति नै बोक्रा बहुमूल्य हुनुको कारण बोक्रामा पाइने विभिन्न रासायनिक तत्त्वमध्ये फाइदाजनक तत्त्व पुराना बोक्रामा बढी पाएको अनुसन्धानले देखाएको छ।
तथ्यांकअनुसार एक वर्ष पुरानो सिनहुईमा उत्पादन गरिएको चेन पीको मूल्य प्रतिकिलो लगभग १४० हङकङ डलर (हालको नेपाली मूल्यअनुसार २४ सय ८८ रुपैयाँ) पर्छ भने १० वर्ष पाको चेन पीको मूल्य प्रतिकिलो ६०० देखि ८०० हङकङ डलर (हालको नेपाली मूल्यअनुसार १० हजार ६६२ देखि १४ हजार २१६ रुपैयाँ) पर्छ। २० वर्षभन्दा बढी समयसम्म भण्डारण गरिएको चेन पी प्रतिकिलो लगभग चार लाख ६३ हजार ९५० रुपैयाँ पर्न सक्छ। सन् २०२३ को तथ्यांकअनुसार सिनहुई क्षेत्रले चेन पीबाट १०० अर्ब युआन (हालको मूल्यअनुसार १३.८ अर्ब डलर) आम्दानी गर्न सफल भयो भने सन् २०२४ मा चेन पी उद्योगको मूल्य बढेर २३ अर्ब युआन (३.२ अर्ब डलर) पुगेको छ।
चेन पीबारे गरिएका वैज्ञानिक अनुसन्धान
परम्परागत रूपमा प्रयोग गरिने कुनै पनि चिजलाई वैज्ञानिक हिसाबले अध्ययन/अनुसन्धान गर्न जरुरी हुन्छ र मात्र उपयोग गरिएका वस्तुको गुणस्तर, प्रभाव, विषाक्तता र त्यसको बजारीकरणको सम्भावनाबारे निर्क्योल गर्न सकिन्छ। विभिन्न अध्ययन/अनुसन्धानले देखाएअनुसार चेन पीमा लगभग ७८१ किसिमका रासायनिक तत्त्व भेटिएका छन्। ती रासायनिक तत्त्व फ्लेभोनोइड्स, तेल र एल्कालोइड्स वर्गमा पर्दछन्। सबैभन्दा महत्त्वपूर्ण वर्ग फ्लेभोनोइड्स हुन् र योअन्तर्गत पर्ने सबै तत्त्व औषधिका लागि प्रभावकारी भएको मानिन्छ। कतै सिट्रस रेटिक्युलाटा ब्लान्कोको बोक्राको साथै अन्य प्रकारका सुन्तलाका बोक्रा पनि चेन पीजस्तै प्रयोग गर्न सकिन्छ कि भनेर अध्ययन/अनुसन्धान गर्न आवश्यक छ। यसका लागि विभिन्न सुन्तला प्रजातिका बोक्राको रासायनिक तत्त्वबारे अध्ययन गरी तुलना गर्न सके उत्तम हुन्छ।
मुसा, कुकुर र मानिसमा गरिएका अनुसन्धानबाट चेन पी सेवन गर्नाले हृदय रोग, पाचन र श्वासप्रश्वास प्रणाली, क्यान्सर, सुन्निएको शरीरको भाग निको पार्ने काम गर्छ भने मधुमेह रोग, फियो, कलेजो र स्नायुमा समेत फाइदा पुर्याउँछ भन्ने कुराको पुष्टि भइसकेको छ। त्यसैले चेन पी पूर्णतः रोग प्रतिरोधात्मक क्षमता भएको बहुउपयोगी वस्तु हो। चेन पीमा पाइने विभिन्न फाइदाजनक रासायनिक तत्त्व एटोर्भास्टाटिन, डायोस्मिन, फ्लाभोन्स, हेस्पेरेटिन, हेस्पेरिडिन, नारिन्जेनिन, नारिन्जिन, नोबिलेटिन, सिनेफ्रिन, ट्यांगेरेटिन र वाष्पशील तेल हुन्।
चेन पी फाइदाजनक भए तापनि यसको प्रभावकारिताबारे अझै व्यापक अध्ययन/अनुसन्धान गर्न जरुरी छ। यसका साथसाथै नेपालमा उत्पादन हुने सुन्तला सिट्रस रेटिक्युलाटा ब्लान्कोको बोक्राको बजारीकरण गर्न जरुरी छ। यसो गर्न हामीले अन्तर्राष्ट्रिय सहयोग र सूचना आदानप्रदानलाई बलियो बनाउनुपर्छ। चिनियाँले ‘रूखमा फल्ने सुन’ भनेर सम्बोधन गर्ने चेन पीलाई पनि उपयोग गरी हामीले किन आफ्नो आर्थिक अवस्थालाई सुदृढ नगर्ने? सरकार र किसानले यसबारे व्यापक सचेतना र तालिमका विभिन्न कार्यक्रम सञ्चालन गर्नुका साथै व्यापारिक सम्भाव्यताको अध्ययन गर्न आवश्यक छ। त्यसो गर्न सके खेर गइरहेको ‘फोहोरलाई मोहोर’ मा परिणत सकिन्छ।
(रोकाया इन्स्टिच्युट अफ बोटनी र ग्लोबल चेन्ज रिसर्च इन्स्टिच्युट, चेक एकेडेमी अफ साइन्सेस, चेक रिपब्लिकमा वनस्पतिविद्का रूपमा कार्यरत छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
