बागलुङमा २४ करोडको सुन्तला उत्पादन

बागलुङमा सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ। तर, किसानले उचित बजार र मूल्य पाउन सकेका छैनन्।

तस्वीर : रासस

ढोरपाटन– बागलुङमा सुन्तला उत्पादनमा वृद्धि भएको छ। यस वर्ष चार हजार ३८० मेट्रिक टन सुन्तला फलेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए।

यो पोहोरभन्दा  २० प्रतिशत बढी हो। उक्त सुन्तलाको बजार मूल्य २४ करोड रुपैयाँ रहेको उनको भनाइ छ। पोहोर २० करोड सात लाख ५० हजारको सुन्तला उत्पादन भएको थियो। यो साल मौसम अनुकुल भएकाले उत्पादन वृद्धि भएको प्रमुख भट्टराईले बताए। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत् सुन्तला जोन घोषणा गरेर बर्सेनि सुन्तला खेती विस्तार हुँदै गएको भट्टराईले बताए।

“बागलुङ मध्यपहाडी क्षेत्रमा पर्छ। यो क्षेत्र सुन्तला उत्पादनका लागि निकै उत्तम मानिन्छ। अघिल्लो वर्ष बोटमा किरा लाग्यो। त्यसले गर्दा उत्पादनमा केही कमी आयो”, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो, अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले बढी उत्पादन भएको छ।” भट्टराईले सुन्तला खेती गर्ने कृषकलाई कृषि ज्ञान केन्द्रले आवश्यक औषधि, मल र प्राविधिक सहयोग गर्दै आएको बताए।

“सुन्तला खेतीबाट कृषकले राम्रो आम्दानी गर्न थाल्नुभएको छ। शुरूमा अलिकति मेहेनत गर्नुपर्छ”, उनले भने, “बिरुवा हुर्के भने धेरै झन्झट गर्नु पर्दैन। फल दिने सुन्तलाको छेउछाउमा अरु खेती गर्न सकिने हुँदा दोहोरो फाइदा हुन्छ।” कृषकलाई सुन्तला खेतीप्रति आकर्षित गर्न आवश्यक तालिम तथा परामर्श दिने गरेको र जिल्लामा सुन्तला उत्पादन हुने क्षेत्रफल पनि बढिरहेको ज्ञान केन्द्रले जनाएको छ। 

बागलुङमा एक दशकभन्दा अगाडिसम्म परम्परागत सुन्तला खेती हुने गरेको थियो भने अहिले आधुनिक तरिकाले खेती भइरहेको छ। बागलुङ नगरपालिका–८ सिगानासँगै काठेखोलाको बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, जैमिनीको दमेक र सर्कुवालगायत ठाउँ सुन्तला खेतीका लागि प्रसिद्ध मानिन्छन्। बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काले साढे तीन लाख बढीको सुन्तला फलाएको बताए। “पोहोर सुन्तलामा किरा लागेपछि नोक्सान बेहोर्नुपरेको थियो। अहिले राम्रो छ। फल पनि पोटिलो र रसिलो छ,” उनले भने। 

“सुन्तला धेरै उत्पादन गरे पनि मूल्य उचित पाउँदैनौं। पाँचवर्ष अगाडि पनि सुन्तला प्रतिकेजी ५० रुपैयाँ थियो। अहिले पनि त्यही छ”, खड्काले भने, “कामदारको पारिश्रमिक बढेको बढ्यै छ। सुन्तलाको बढ्दैन। सरकारले केही सहुलियत दिए अझै राम्रो गर्न सकिन्छ।” स्थानीय कृषक देवबहादुर खड्काले सिगाना गाउँमा गत वर्षभन्दा २५ प्रतिशत बढी सुन्तला उत्पादन भएको बताए। यस वर्ष गाउँमा सुन्तला बिक्रीबाट दुई करोड ५० लाख बढी रकम भित्रिने उनको भनाइ छ। 

खड्काले सुन्तला खरिद गर्न बागलुङ, चितवन, काठमाडौं, पोखरालगायतका ठूला सहरबाट व्यापारी आउने गरेको बताए। केही सुन्तला शीतभण्डारमा राख्ने र फागुन चैतमा बिक्री गर्ने उनको योजना छ।