युरोपेली संसद्ले लगायो टिकटकमाथि प्रतिबन्ध

टिकटकको मातृ कम्पनी बाइटडान्सले भने गोपनीयता र सुरक्षाबारे टिकटक अत्यन्तै संवेदनशील रहेको बताएको छ।

तस्वीर एएफपी

युरोपेली संसद्ले सुरक्षाको कारण देखाउँदै चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ। मंगलबार युरोपेली संसद्ले निर्णय गर्दै युरोपेली युनियन (ईयू) का सबै सरकारी र कर्पोरेट डिभाइसहरूमा टिकटक मोबाइल एपमाथि प्रतिबन्ध लगाएको हो। साथै, सबै सांसद र कर्मचारीहरूलाई उनीहरूका निजी डिभाइसबाट पनि टिकटक एप हटाउन भनिएको छ। ईयूमा साइबर सुरक्षा जोखिम हटाउनका लागि ल्याइएको भनिएको यो नियम ईयूअन्तर्गतका सबै २७ वटा देशमा लागू हुनेछ।

“तथ्यांक सुरक्षा र तेस्रो पक्षको विवरण सुरक्षित गर्न साइबर सुरक्षा चासोलाई ध्यानमा दिँदै ईयूको संसद्ले सबै कर्पोरेट डिभाइसहरूमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ। अन्य संस्थाहरूको समर्थनमा यो नियम २०२३ मार्च २० तारिखदेखि लागू हुनेछ।” ईयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यता, टिकटक सञ्चालन गर्ने चिनियाँ कम्पनी बाइटडान्सले ईयूको उक्त कदमको आलोचना गर्दै सीएनएनसँग भनेको छ, “कुनै कारण र प्रमाणबिनै सरकारी निकाय र विभिन्न संस्थाका कर्मचारीहरूको डिभाइसमा टिकटक प्रतिबन्ध लगाउनु अस्वाभाविक छ।”

त्यस्तै, बाइटडान्सका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हाम्रो कम्पनीबारेको सामान्य गलत सूचनाका कारण यी प्रतिबन्धहरू आएका हुन्। र, हाम्रो नेतृत्वको संरचना र डाटा सुरक्षा तथा गोपनीयताबारे कति प्रतिबद्ध छ भन्नेबारे जानकारी गराउन हामी ईयूका अधिकारीहरूसँग भेट्न तयार छौँ। प्रयोगकर्ताहरूको गोपनीयताबारे सरकारको जस्तो साझा लक्ष्य लिएका छौँ। तर अहिलेको प्रतिबन्धहरू गलत छन्। र, सुरक्षा र गोपनीयतामा थप केही काम गर्दैन। साथै, केही सरकारहरूले भने यथेष्ट प्रमाणको अभावमा प्रतिबन्ध कार्यान्वयन नगरेकोमा भने यस कुराको प्रशंसा गछौँ।”

यद्यपि, टिकटकले पछिल्लो समय विभिन्न देशहरूबाट यस्तै आलोचनाको सामना गरिरहेको छ। यसअघि अमेरिकामा पनि ह्वाइट हाउसले संघीय निकायमा सरकारी कामकाजमा प्रयोग हुने डिभाइसहरूमा ३० दिनभित्र टिकटक हटाउन निर्देशन दिएको थियो।

यसअघि क्यानडाले सरकारी आधिकारिक इलेक्ट्रिोनिक डिभाइसहरूमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको थियो।  बाइटडान्सलाई उनीहरूका सूचना उपलब्ध गराउन चीनले दबाब दिनसक्ने विषयमा चासो राख्दै अमेरिकाले टिकटकमाथि कडाइ गरेको सीएनएनले उल्लेख गरेको छ। तर, टिकटकका प्रवक्ता ब्रेक ओबेरवीटरले यी देशहरूको कदमलाई राजनीतिक रंगमञ्चभन्दा पनि बढी भन्दै आलोचना गरेका छन्।
यता, चिनियाँ विदेश मन्त्रालयले पनि राष्ट्रिय सुरक्षाको धारणालाई सामान्यीकरण गरेको र बिनाकारण अरू देशका कम्पनीहरूमाथि दबाब बढाएको ह्वाइटहाउसलाई आरोप लगाएको छ।

-एजेन्सी