Monday, May 06, 2024

-->

बालेनलाई हेरेर झस्किएको राजनीतिमा आउन चाहने नयाँ पुस्ता

काठमाडौँका मेयर बालेन शाहको शैलीले उनी स्वयंलाई कति लाभ वा हानि गर्ला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, उनलाई हेरेर राजनीतिमा आउन चाहने नयाँ पुस्ता भने मर्माहत बन्नथालेको छ।

बालेनलाई हेरेर झस्किएको राजनीतिमा आउन चाहने नयाँ पुस्ता

काठमाडौँ– गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन भन्दा अगाडि काठमाडौँ महानगरपालिकाको मेयरका प्रत्याशी बालेन शाह (बालेन्द्र) को शैली जस्तो थियो, अहिले उनी मेयर बनेपछिका शैली हेर्दा पत्याउन मुस्किल पर्छ।

काठमाडौँको मेयरमा उम्मेदवारी घोषणा गर्दा बालेन कलेज पुस्तामाझ त ‘चर्चित’ थिए, र्‍याप गायकका रूपमा। तर, धेरैका निम्ति उनको नाम नै अपरिचित थियो। उम्मेदवारी घोषणापछि उनको परिचय स्थापित गर्ने काम उनकै कतिपय गतिविधिले गरे। यस्ता गतिविधि जसमा बालेन मेयरका प्रतिस्पर्धीहरूभन्दा भिन्न देखिए, सुनिए। अन्तर्वार्ता दिए तर कसैको विरोधमा सुनिएनन्। प्रतिस्पर्धीलाई गाली गर्नैपर्ने चुनावी राजनीतिको विशेषता बनेका बेला उनले गालीगलौजको शैली अँगालेनन्। अरूको आलोचना पनि गरेनन्।

पछिल्लो समय ‘नयाँ राजनीति’ गर्ने भनेर आएकाको ध्याउन्न हिजोको राजनीतिलाई ‘फोहोरी खेल’ करार गर्नेमा केन्द्रित भइरहँदा बालेनले राजनीतिलाई फोहोरी खेल भनेनन्। ‘लजिक’ बिनाका कुनै टिप्पणी पनि गरेनन्। बरू आफ्ना ‘भिजन’, आफूले सोचेका विकासका मोडल र बनाएका योजनाबारे तार्किक बहस गरे। अरू उम्मेदवारसँगका संयुक्त बहसमा आफ्ना ‘लजिक’ पेश गरे तर, प्रतिस्पर्धीलाई घोचपेच गरेनन्।

चुनावताका उनले जति अन्तर्वार्ता दिए, कतिपय अन्तर्वार्ताकारलाई प्रभावित बनाए। धेरैले उनको जवाफ दिने शैलीको प्रशंसा गरे। कति त प्रशंसक नै भए। त्यसपछि नै कतिपयले ‘हो, मेयर भनेको ठ्याक्कै यस्तै हुनुपर्छ’ भनेर पनि बहस चलाए। 

निर्वाचन भयो, बालेन ६१ हजार ७६७ मतसहित काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए। त्यसक्रममा उनले ‘हेबिवेट’ प्रत्याशीहरू एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंहलाई निकै पछाडि छाडे। 

तर, मेयर बनेपछि बालेनको शैली, बोली र व्यवहार सबैमा १८० डिग्रीको बदलाव आएको छ। अहिलेको उनको शैली र व्यवहार हेर्दा निर्वाचनअघिका शैली र व्यवहार काल्पनिक झैँ लाग्छन्। बालेनले अहिले विकास मोडल र महानगर बनाउने योजनाबारे कुरा गरेको सुनिँदैन। घरी डोजर लिएर घर भत्काउन हिँड्छन्, घरी फुटपाथ व्यवसायीलाई लखेट्छन्। कहिले अमानवीय बनेर सुकुमबासी बस्ती उजाड्न तम्सिन्छन्। कहिले सुकुमबासी बस्ती उजाड्न सकिएन भनेर गृहमन्त्रीसँग सहयोग माग्न पुग्छन्।

चुनावअघि बालेन तिनै सुकुमबासी बस्तीमा भोट माग्न पुगेका थिए। चुनावी अभियानका बेला त्यहाँ गएर ‘गरिबको बोल्दिने कोही छैन’ भन्ने गीत गाएर पनि उनले धेरैको मन जितेका थिए। तर, मेयर बालेन अहिले महानगरभित्र गुजारा चलाइरहेका गरिबकै उठिबास लगाउन उद्यत छन्।  

बालेनको यस्तो शैली र व्यवहारले उनी स्वयंलाई कति लाभ वा हानि होला भन्ने त लेखाजोखा हुन बाँकी नै छ। तर, ‘बालेन क्रेज’कै कारण राजनीतिमा आउन तयार भएका नयाँ पुस्तामा यसले कस्तो प्रभाव पार्ला? यसबाट त्यो पुस्ताकै भविष्य तलबितल हुनसक्ने राजनीतिक विश्लेषक केशव दाहाल बताउँछन्। 

“पहिले बालेनको कुरा सुनेर धेरै युवा प्रभावित भए, कति त राजनीतिमै आउने योजनामा पनि लागे। अहिले उनकै गतिविधिले उनीहरू निराश बन्नथालेका देखिन्छन्”, दाहाल भन्छन्, “बालेन मेयरमा निर्वाचित हुँदा जुन उत्साह थियो, अहिले त्यो स्वाभाविक रूपमै कम भएको हो।”

नयाँ पुस्तालाई कुठाराघात 
काठमाडौँ महानगरको मेयर बनेपछि बालेनले गरेका वा थालनी गरेका राम्रा काम के हुन् भन्नेबारे अरू त अरू, स्वयं बालेनले पनि सार्वजनिक रूपमा दाबी गर्नसकेका कुरा देखिँदैनन्। सबभन्दा पहिले काठमाडौँको फोहोर व्यवस्थापन गर्ने घोषणा गरेका उनले पहिलो पाइलामै धक्का बेहोरे। फोहोरका नाममा भइरहेको राजनीतिसामु टिक्न नसकेर त्यसबाट फुत्किएका बालेनले त्यसपछि बेसमेन्टमा सञ्चालन भइरहेका पसल हटाउने, पुरातात्त्विक महत्त्वको टुकुचाको सुरुङमा डोजर चलाउनेलगायतका गतिविधि तीव्र पारे।

त्यसको उपलब्धि के भयो भन्ने प्रस्ट छैन। त्यसपछि बालेनले फुटपाथमा व्यवसाय गर्नेहरूमाथि निशाना साँध्न थाले। विकल्प नदिई उनीहरूलाई गरिखान नदिने सक्रियता देखाए। सुकुमबासी बस्तीमा डोजर चलाउन पठाए। जब उनका यस्ता क्रियाकलाप र शैलीको सार्वजनिक आलोचना हुन थाल्यो, बालेन आलोचकहरूमाथि समेत खनिन थाले।

अहिले उनी प्रायः सामाजिक सञ्जाल र त्यसमा पनि मूलतः फेसबुकमा आक्रामक देखिन्छन्। आफ्नो आलोचना गर्नेलाई सिधै छुद्र जवाफ दिइहाल्छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि अभिनेता दीपकराज गिरीसम्मका फेसबुक स्टेटसमा उनले दिएका जवाफ स्वयंको पदीय मर्यादाभन्दा भिन्न छन्। उनको यो शैलीप्रति धेरैले आपत्ति मात्र जनाइरहेका छैनन्, बरू गालीसमेत गरेको उनकै फेसबुकमा देख्न सकिन्छ।

बालेनको यस्तो शैली र व्यवहारले राजनीतिमा आउँदै गरेको वा आउन चाहेको पछिल्लो पुस्तालाई नै नकारात्मक असर पर्ने दाहालको बुझाई छ। उनको पहिले र अहिलेको व्यवहारमा आकाश जमिनकै फरक देखिएपछि नयाँ पुस्ताका नेतालाई मतदाताले पनि सजिलै नपत्याउने दाहाल बताउँछन्। 

राजनीतिक विश्लेषक लोकराज बराल बालेनले तोडफोडबाहेक केही गर्न नसकेको र यसले दिएको सन्देश गम्भीर रहेको बताउँछन्। यो तौरतरिकाबाट महानगर नबन्ने उनको भनाइ छ।

“बालेनले जनताको घर भत्काउँदै हिँडे। सडक व्यवसायीलाई विस्थापित गर्न खोजे तर उनीहरूको व्यवस्थापन र विकल्पमा ध्यान दिएनन्”, बराल भन्छन्, “नयाँ पुस्ता त पहिला भन्दा पनि हाउडे रहेछ भन्ने भएको छ, अब अरू नयाँ अनुहारहरूलाई कसरी पत्याउने?, यस्तै हो भने जनता फेरि पुरानै पार्टीलाई रोज्न बाध्य हुन्छन्।” 

चुनावअघि बालेनको बोली, व्यवहार र शैलीमा कतै पनि भत्काउने, लखेट्ने, विस्थापित गर्ने र बिना विकल्पका कदम चाल्ने केही देखिँदैनथ्यो, सुनिँदैनथ्यो। 

विवेकशील साझा पार्टीबाट राजनीति शुरू गरेका युवा नेता मिलन पाण्डे शैली र तरिका सही नभएपनि बालेनलाई मूल्यांकन गर्ने समय अहिले नै नआएको बताउँछन्। एक वर्ष पनि नबित्दै बालेनसँग रुष्ट हुन हतार गर्ने कारण नभएको उनको भनाइ छ। यद्यपि, अहिलेकै शैली परिवर्तन नगरे र सामाजिक सञ्जालमा संयमित नभए राजनीतिमा आउन चाहने नयाँ पुस्ता नै यसको चपेटामा पर्न सक्ने पाण्डेको विश्लेषण छ।

“शुरूमा त ठूला नेताहरूलाई सामाजिक सञ्जालमा दिएको जवाफ राम्रै लागेको थियो, तर अहिले उनी अलि बढी नै सामाजिक सञ्जालप्रेमी बनेको जस्तो लाग्छ। आफ्नो पद र जिम्मेवारीप्रति नै सिरियस नभएको जस्तो पनि देखिन्छ”, पाण्डेले भने।  

अनौठो त के भने गत मंगलबार दीपकराज गिरीले फेसबुकमा लेखेको स्टेटस बालेनकै समर्थनमा थियो। गिरीले लेखेका छन्, “हामीले कांग्रेस, एमाले र माओवादीलाई बर्सौं विश्वास गर्‍यौँ। अब रवि, बालेनहरू आएका छन्। उनीहरूलाई कमसेकम पाँच वर्ष त विश्वास गरौँ।” 

तर बालेनले त्यसलाई के बुझे खै, उल्टै प्रश्न गर्दै प्रतिक्रिया दिए। बालेनले गिरीको स्टेटसमा जवाफ लेखे, “बालेनहरू भनेको कतिजना हो? बालेन जस्तै अरू २–३ जना छन्? छन् भने किन पाँच वर्ष कुर्नु?” 

उनले यस्तो प्रतिक्रिया दिएलगत्तै बालेनका समर्थकहरू नै उनीमाथि खनिएका छन्। सम्भवतः बालेनले पहिलोपटक आफ्नै समर्थकको यस्तो प्रहार खेप्नुपर्‍यो। 

काठमाडौँ महानगरवासी मात्र होइन, अरूले समेत धेरै अपेक्षा गरेका मेयर बालेन नै भएको तर उनमा आलोकाँचोपन अझै बाँकी रहेको देखिएको एमालेका युवानेता ऐन महर बताउँछन्। बालेनले नजानिँदो तरिकाबाट ठूलो जनमतलाई निराश बनाउने काम गरिरहेको उनको बुझाई छ। 

“युवाहरूले जसरी बालेनलाई विश्वास गरे, एउटा ‘आईकन’ मानेर उनलाई मत दिए, अहिले त्यसको उपेक्षा भइरहेको छ। बालेनले आफूमाथि गरिएको भरोसा जोगाउन सकेनन्”, महर भन्छन्, “बालेनको अहिलेको शैली हेरेर युवाहरू निराश हुनथालेका छन्। युवा निराश हुनु भनेको देश कमजोर हुनु हो। फेरि युवाहरू बिदेसिन बाध्य हुनु हो। यदि कोही फेरि पनि राजनीतिमा आउन चाहन्छ भने उसले ठाउँ पाउने छैन।” 

तर, अहिले नै धेरै केही नबिग्रेको र चाहने हो भने अहिले पनि बालेनले सही बाटो समातेर राम्रो काम गर्न सक्ने प्रशस्त समय रहेको महर बताउँछन्।

बालेनका विवादास्पद र अपरिपक्व कदमले युवा पुस्ताको योग्यतामै प्रश्न उठाएको युवा अभियन्ता मुकेश यादवको बुझाई छ। “जुन बालेनलाई चुनाव अगाडि धेरैले समर्थन गरेका थिए, आज त्यही बालेनलाई गालीगलौज गर्ने अवस्था कसरी आयो? उहाँ सच्चिनुपर्छ, नभए हामी जस्ता युवाले अब उप्रान्त यस्तो अवसर पाउनेवाला छैनौँ”, यादव भन्छन्, “बालेन सच्चिएर अगाडि बढ्नुको विकल्प छैन। सारा युवाहरूको साथ समर्थन पाएरै उहाँ मेयर हुनुभएको हो। युवाहरूको राजनीतिक भविष्यसँग खेलबाड गर्ने छुट उहाँलाई छैन। यो शैली तत्काल बदल्नुपर्छ।”

महानगर सम्हाल्न तयार थिएनन् बालेन
स्थानीय तह निर्वाचनअघि बालेनको चुनावी अभियान दमदार ढंगले अघि बढेको थियो। पूरा योजनाबद्ध तरिकाबाट उनले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएको उनकै अभियानबाट पनि आकलन गर्न सकिन्छ। बालेनको निर्णायक चुनावी अभियान सञ्चालन गर्न खटिएका उनकै समूहका एक सदस्य त्यसबेला बालेन निर्वाचन जित्नेसम्मको परिकल्पनामा मात्र सीमित रहेको बताउँछन्।  

“बालेनलाई हामीले एकपटक उम्मेदवारी दिएर हेरौँ न, जिती पो हालिन्छ कि भनेर भनेका हौँ। पछि उनले उम्मेदवारी दिए, हामी पनि दिनरात नभनी लाग्यौँ र अन्ततः जित पनि हासिल गर्‍यौँ”, ती सदस्यले भने, “जित्न त जितियो, तर बालेनसँग मेयर भइसकेपछि गर्नुपर्ने स्पष्ट कार्ययोजना थिएन। अहिले पनि त्यो योजना छैन। त्यही भएर उनी बरालिइरहेका छन्। उनलाई लागेको गर्छन्, हामी त्यसमा उनको स्वीकृतिबेगर हस्तक्षेप पनि गर्दैनौँ।”

उनले थपे, “कहिलेकाहीँ प्रश्न गर्दा वा यसो गर्न हुँदैनथ्यो भन्दा हामीसँग झर्केर बोल्छन्। उनको जवाफ र हाउभाउले उनी सधैँ  ‘इरिटेट’ भइरहेको बुझिन्छ।”

हुन पनि बालेन अहिले पश्नसँगै भागिरहेको देखिन्छ। काठमाडौँ महानगरले फुटपाथ व्यवसायी र सडक किनारमा ठेला–साइकलमा व्यवसाय गरिरहेका साना व्यवसायीलाई उठिबास लगाएपछि उनीहरू गत भदौ ७ गते महानगरका प्रमुखको कार्यालयमा ज्ञापन–पत्र बुझाउन गएका थिए। तर, कार्यालयमै रहेका बालेनले उनीहरूलाई भेट्न मानेनन्।

गत मंसिर १२ गते थापाथलीस्थित सुकुमबासी बस्तीमा महानगरका नगर प्रहरी र कर्मचारी डोजर लिएर गएपछि प्रतिरोध भयो। डोजर फर्काएका थापाथली बस्तीका सुकुमबासी भोलिपल्टै बालेनलाई ज्ञापन–पत्र बुझाउन गए। तर, कार्यालयभित्रै रहेका बालेनले उनीहरूलाई भेट्न इन्कार गरे। 

हालसालै दरबारमार्गको सडककिनारमा रहेको पार्किङ विना कारण हटाइएपछि त्यहाँका व्यवसायीहरू बालेनलाई भेट्न गएका थिए। तर, बालेनले आफूलाई भेट्न नचाहेको दरबारमार्गका व्यवसायी राजीव श्रेष्ठ बताउँछन्। “मेयर बालेनलाई भेट्न एक साता अगाडि नै अपोइन्टमेन्ट लिनुपर्दो रहेछ, महानगर पुगेपछि हामीले त्यही जवाफ पायौँ”, उनले भने, “हामीले नै भोट दिएर जिताएका मेयरबाट यस्तो जवाफ आउला भन्ने कल्पना पनि गरेका थिएनौँ।” 

गत पुस १८ गते खुलामञ्च मुनि भूमिगत पार्किङ नबनाउन माग गर्दै स्थानीयहरू मेयर बालेनलाई भेट्न महानगर पुगेका थिए। तर, बालेनको सचिवालयले उनीहरूलाई पनि ‘मेयर व्यस्त रहेको’ भन्दै फर्काइदियो। जबकि, उनीहरूले दुई दिन अघि नै ज्ञापन–पत्र बुझाउन आउन लागेको जानकारी मेयरको सचिवालयलाई दिएका थिए।

काठमाडौँ महानगरका मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले भने मेयरलाई भेट्न आउनेले भेट्न नपाएको भन्ने कुरा सत्य नरहेको जिकिर गरे। “उहाँको व्यस्तता बढेका कारण सार्वजनिक रूपमा जनतासँग भेट नभएको हुनसक्छ। तर, मेयरसाबले भेट्न आउनेलाई भेट्दै नभेटेको भन्ने होइन”, शाहले दाबी गरे, “मेयरसाबले मान्छे भेटिरहनु भएकै छ।”

जनप्रतिनिधिको शैलीमै प्रश्न 
काठमाडौँ महानगरका मेयर बालेनको काम गर्ने र अन्य शैली सहभागितामूलक लोकतन्त्रको प्रतिकूल देखिएको युवानेता मिलन पाण्डे बताउँछन्। “जनप्रतिनिधि सबैका कुरा सुनेर अघि बढ्नुपर्छ, तर उहाँले लोकतन्त्रका मूल्यमान्यतालाई बेवास्ता गरेको देखियो। जस्तो अभ्यास गर्नुपर्थ्यो, त्यो देखिएन”, पाण्डे भन्छन्, “लोकतान्त्रिक अभ्यास नगरेर एक्लै सबै काम गर्न खोजिरहनुभएको छ, यसले सबभन्दा बढी उहाँलाई नै हानि गर्छ।”  

मेयर बनेपछि बालेनले केही समय राम्रै चर्चा र साथ पाएका थिए। शुरूशुरूमा पर्याप्त शंकाको लाभ पनि पाए। जब सडक र चोक–चोकमा थुप्रिएको फोहोरको डंगुर, अस्तव्यस्त सार्वजनिक यातायात, खाल्डाखुल्डी परेका सडक, रातमा अन्धकार सडक, अव्यवस्थित ट्राफिक, अवरुद्ध ढल, खानेपानी अभावदेखि महँगी तथा कालोबजारीसम्मका समस्याले मेयरलाई नछुने तर उनी आफ्नै मनलाग्दी शैलीमा प्रस्तुत हुनथालेपछि उनको आलोचना हुनथालेको हो ।

विश्लेषक दाहाल बालेनले राजनीतिको गाम्भीर्यसमेत नबुझेको बताउँछन्। “शैली अराजक देखियो, यो लोकतान्त्रिक शैली नभएर पुरापुर निरंकुश शैली हो”, दाहाल भन्छन्, “उहाँले आफूभन्दा जान्ने बुझ्नेसँग सल्लाह र सुझाव पनि लिएको देखिँदैन। कति घमन्ड र अंहकार भरिएको छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ।”


सम्बन्धित सामग्री