क्यानडाले लगायो राजापाक्ष दाजुभाइमाथि प्रतिबन्ध

क्यानडा सरकारले गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई प्रतिबन्ध लगाएको छ।

श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षलाई क्यानडा सरकारले आफ्नो मुलुकको भ्रमणमा प्रतिबन्ध लगाएको छ। गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो।

सन् २००९ मा महिन्दा राजापाक्ष टापु राष्ट्रको राष्ट्रप्रमुख र गोटाबायाले रक्षा मन्त्रालयको नेतृत्व गरेका बेला तमिल टाइगर्सको पृथकतावादी आन्दोलनलाई सैन्य कारबाहीका माध्यमबाट अन्त्य गरिएको थियो। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार द्वन्द्वकालमा सेनाले अन्धाधुन्ध बमबारीलगायत कारबाही गर्दा ४० हजार तमिल अल्पसंख्यक मारिएका थिए।

पश्चिमा देशले श्रीलंकाको सैनिक नेतृत्वमाथि यात्रा प्रतिबन्ध लगाएको भए पनि शक्तिशाली राजपाक्ष परिवारका सदस्यमाथि कुनै किसिमको यात्रा निषेध जारी गरेको थिएन। राजपाक्ष परिवारमाथि प्रतिबन्ध लगाउने क्यानडा पहिलो मुलुक बनेको छ।

“अन्तर्राष्ट्रिय कानून उल्लंघन गर्नेहरूविरुद्ध अन्तर्राष्ट्रिय दण्डहीनता अन्त्य गर्न क्यानडाले आज निर्णायक कदम चालेको छ,” विदेशमन्त्री मेलानी जोलीले मंगलबार जारी विज्ञप्तिमा भनिएको छ।

दुवै दाजुभाइले आफूहरू पदमा रहँदा दशकौँ लामो गृहयुद्धका क्रममा भएका युद्ध अपराधको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय दबाबको प्रतिरोध गरेका थिए। सन् २०१९ मा गोटाबाया राष्ट्रपति भएका थिए।

देशमा व्याप्त चरम आर्थिक संकटबाट क्रुद्ध भएका नागरिकको निरन्तरको विरोध प्रदर्शन तथा सरकारी निवासमा प्रवेश गरेर आन्दोलन चर्काएपछि राजीनामा गरेर पलायन भएका उनी सैन्य सुरक्षाको साथ सरकारी परिसरमा बसिरहेका छन्।

यसैबीच, श्रीलंकाको विदेश मन्त्रालयले बुधबार क्यानडाका कार्यवाहक राजदूतलाई बोलाएर क्यानडाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ।