Wednesday, May 08, 2024

-->

इतिहास बोकेको मेची रंगशाला : १८ वर्षपछि चमक ब्युँताउने प्रयास

१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता मेची रंगशालामा फुटबलको कुनै प्रतियोगिता भएको छैन। भद्रपुर झापा गोल्डकप हुने भएपछि स्थानीय मैदानको जिर्णाेद्धारमा जुटेका छन्।

इतिहास बोकेको मेची रंगशाला  १८ वर्षपछि चमक ब्युँताउने प्रयास

झापा– नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरूआती दिन मेची रंगशालामा बिताएका छन्। फुटबल, एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्वर मेची रंगशाला पछिल्लो समय बेवारिसेजस्तै बनेकाे थियाे।

पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुईँचालोले भत्किएका थिए। दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठलाग्दो भइसकेका थिए। बेवास्ता र दुरावस्थाबाट यसरी गुज्रिरहेको रंगशाला अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेर्ने प्रक्रियामा छ। 

फागुनको दोस्रो साता अठार वर्षपछि भद्रपुर झापा गोल्डकप हुन लागेको हाे। आयोजक समितिले सबैभन्दा पहिला रंगशालाको जीर्णोद्धार थालेको छ। खेलप्रेमी र खेलाडी मात्र होइन, भद्रपुर नगरपालिका नै मैदानको चमक ब्युँताउने अभियानमा जोडिएको छ। “कुनै बेला यो रंगशाला मुलुकभरका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानका रूपमा चिनिएको थियो”, भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले भने, “हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रंगशालाको मुहार फेर्ने काम गरिरहेका छौँ।”

अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन्छन्। आफ्नो कार्यकालमै रंगशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको भद्रपुरका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए। उनी पनि अहिले मर्मतसम्भार अभियानमा खटिएका छन्। मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रंगाउने काम अन्तिम चरणमा रहेको आयोजक समितिका महासचिवसमेत रहेका श्रेष्ठले जानकारी दिए।

१८ वर्ष अघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण भएयता यहाँ फुटबलको कुनै गोल्डकप भएको छैन। त्यसैले लामो अन्तरालमा हुन लागेको प्रतियोगितालाई सफल बनाउन लागेको खेलप्रेमी तथा भद्रपुर–८ का वडाध्यक्ष मनोज सुब्बाले बताए। “कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो”, वडाध्यक्ष सुब्बा भन्छन्, “भद्रपुरको गौरव फर्काउने हो भने रंगशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा नगरवासीको साझा मत छ।” 

भद्रपुरको रंगशाला सुस्ताएपछि बिर्तामोड, कनकाई, काँकडभिट्टा र दमकमा फुटबल प्रतियोगिता हुन थालेका थिए। खेल पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी सर्वाधिक पुरस्कार राशि राखेर फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताए। भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्रजस्तै थियो। राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुन्। खड्का मेची रंगशालामा खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बने।

तर, चार दशक अघि शुरू भएको त्रिभुवन गोल्डकप २०६१ सालयता आयोजना हुन सकेन। भद्रपुरले प्रतियोगिता आयोजनाको तयारी थालेपछि बिर्तामोडमा हुँदै आएको झापा गोल्डकप यस वर्ष नुहँने भएको छ। त्यहाँका आयोजकले भद्रपुरलाई सघाउने घोषणा गरेका छन्। “भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन”, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल भन्छन्, “अहिले नागरिक स्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणकारूपमा लिएका छौँ।”


सम्बन्धित सामग्री