काठमाडौँ महानगरले डबली सभ्यतालाई पुनर्जागृत गर्ने

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले उपत्यकाभित्रका डबलीहरूलाई पुनर्जागृत गरी जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताएका छन्।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले डबली सभ्यतालाई पुनर्जागृत गर्ने भएको छ। महानगर प्रमुख बालेन्द्र साहले बिहीबार २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यकाभित्र डबली सभ्यतालाई पुनर्जागृत गर्न लागेको बताएका हुन्।

उनले उपत्यकाभित्र रहेका डबलीहरूलाई जनचेतनामूलक कार्यक्रमहरू गर्न प्रयोग गरिने बताए। उनले काठमाडौँ उपत्यकाको मौलिक सभ्यता र सम्पदालाई पुनर्जागृत गराउनुपर्नेमा जोड दिए।

"उपत्यकाभर विभिन्न स्थानमा डबलीहरू रहेका छन्। जसको प्रयोजन सांगीतिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्थ्यो" उनले भने, "त्यसलाई पुनर्स्थापना गर्न सकिन्छ।"

प्रमुख साहले संस्कृतिहरूलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरूमा हस्तान्तरण गर्दै जानुपर्ने बताए। उनले मौलिक बाजालाई अभिलेखीकरण गर्दै नयाँ पुस्तालाई पनि सिकाउँदै जानुपर्ने धारणा राखे।

उनले काठमाडौँ महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरू गरिएको बताए। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरू र सबै तहको सरकारहरूसँग सहकार्य गर्दै अगाडि बढेको बताए। उनले काठमाडौँ महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने विश्वास व्यक्त गरे।

त्यस्तै, काठमाडौँ-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोबिता गौतमले काठमाडौँको मौलिकतालाई पुनः जीवित गर्नुपर्ने बताइन्। उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनः जीवित गर्नुपर्नेमा जोड दिइन्। यसको निम्ति आफूले सकेको भूमिका निभाउने उनको भनाइ छ।