सात दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिको तयारी

निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तिम मत परिणाम बुझाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्ने विषयमा आवश्यक परामर्श थालेकी छन्।

काठमाडौँ– निर्वाचन आयोगले मंसीर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तिम मत परिणाम बुझाएसँगै राष्ट्रपति कार्यालयले सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ।

निर्वाचन आयोगले बिहीबार परिणाम बुझाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्ने विषयमा आवश्यक परामर्श शुरू गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए। “नयाँ जनादेश अनुरूपको परिणाम प्राप्त भइसकेपछि त्यसअनुसारको सरकार दिने राष्ट्रपतिको संवैधानिक दायित्व हो”, उनले उकालोसँग भने, “सरकार गठनको प्रक्रिया जतिसक्दो छिटो हुनुपर्छ भन्ने हो। त्यो जिम्मेवारी अब राष्ट्रपतिको काँधमा आएको छ।”

सरकार बनाउने जिम्मा राजनीतिक दलको भएको भन्दै उनले त्यस प्रक्रियामा राष्ट्रपतिले सहजीकरण गरिदिने बताए। अबको सात दिन वा त्योभन्दा छिटो पनि सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने उनले जानकारी दिए।

संविधानअनुसार दलहरूलाई समय दिएर राष्ट्रपतिले सरकार गठनका लागि सहजीकरण गर्ने उनले बताए। “उहाँले समय दिनुभन्दा अगाडि नै कुनै प्रतिनिधिसभा सदस्यले १३८ जनाको समर्थन लिएर आएमा प्रधानमन्त्री बन्ने सम्भावना रह्यो”, उनले भने, “संविधानको धारा ७६ (१) अनुसारको सरकार बन्ने स्थिति नभएकाले धारा ७६ (२) अनुसार नै सरकार बन्ने छ।”

जतिसक्दो छिटो सरकार गठनको प्रक्रिया शुरू गर्नुपर्छ भन्नेमा राष्ट्रपतिको धारणा रहेको उनको भनाइ छ। संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी प्रावधान छ। धारा ७६ को उपधारा (१) मा ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ,’ भन्ने व्यवस्था छ। तर, यस पटक एउटै दलको स्पष्ट बहुमत नआएकाले उपधारा २ अनुसारको सरकार गठन हुनेछ। 

उपधारा २ मा भनिएको छ, “उपधारा(१) बमोजिम प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।”

दलहरू छलफलमा
निर्वाचन आयोगले निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरूले सरकार गठनको तयारी अघि बढाएका छन्। नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनकै सरकार निर्माण गर्ने यसअघि नै सत्ता गठबन्धनमा रहेका दलले सहमति गरेका थिए। त्यसैको सेरोफेरोमा रहेर सरकार गठनका लागि छलफल अघि बढाउन दलहरू केन्द्रीत भएका छन्। 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले दलहरूबीच प्रारम्भिक छलफल भइरहेको र निष्कर्षमा पुग्ने गरी संवाद अघि बढेको जानकारी दिए। “राष्ट्रपतिले आह्वान गरेसँगै हामीले पनि तयारी गर्छौं”, उनले भने, “पार्टीका संसदीय दल गठन गरेर नेता चयनको प्रक्रिया शुरू हुन्छ।” उनले त्यसैअनुसार जिम्मेवारी बाँडफाँट गरेर गठबन्धनको सरकार बनाउनेबारे पनि टुंगो लगाइने बताए।

बहुमत जुटाएर प्रधानमन्त्री बनेपछि दलको नेता बन्नेमा देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बनेर नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्ने कसरतमा छन्। तर, पार्टीभित्र सर्वसम्मत रूपमा दलको नेता बन्ने परिस्थिति अझै बनिनसकेकाले उनले अर्को बाटो रोज्नेतर्फ पनि आफू निकट नेताहरूसँग संवाद अघि बढाएका छन्। 

२०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत आएपछि एमाले अध्यक्ष केपीशर्मा ओलीले बहुमत पुर्याएर राष्ट्रपति समक्ष निवेदन दिएका थिए। त्यस लगत्तै राष्ट्रपतिले उनलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। प्रधानमन्त्री भइसकेपछि मात्रै ओली संसदीय दलको नेता चयन भएका थिए। अहिले देउवाले पनि गठबन्धनभित्र सहमति जुटाएर सरकार बनाउन आवश्यक सिट संख्या पुर्याएर पहिले प्रधानमन्त्री बन्ने दाउमा देखिएका छन्। 

“सर्वसम्मत दलको नेता चयन हुन सक्ने स्थिति नदेखेपछि पहिले बहुमत जुटाएर प्रधानमन्त्री बन्ने र त्यसपछि दलको नेता हुने गरेर पनि उहाँले तयारी थाल्नुभएको छ”, एक नेताले भने, “प्रधानमन्त्री भइसकेपछि शक्ति आफ्नो हातमा हुने र त्यसपछि सहजै निर्वाचनबाट दलको नेता चयन गर्नुपरे पनि सहज हुने देखेर उहाँले त्यो बाटो रोज्न खोज्नुभएको हो।” 

पार्टीभित्र सरकारको नेतृत्व र राष्ट्रपति कांग्रेसले नै राख्नुपर्ने मत बलियो भइरहेका बेला देउवा भने गठबन्धन दलबीच शक्ति बाँटफाड गरेर अहिले नै प्रधानमन्त्री बन्ने कसरतमा देखिएका छन्। नेकपा माओवादी केन्द्र लगायतका सत्ता साझेदार दललाई अन्य प्रमुख पदमा महत्त्वपूर्ण स्थान दिने र संघीय सरकार र प्रदेश सरकारमा पनि धेरै भाग दिएर भए पनि अहिले सरकारको नेतृत्व आफैं गर्ने तथा राष्ट्रपति पनि कांग्रेसले नै पाउने गरेर छलफल गरिरहेका छन्। 

कांग्रेस प्रवक्ता महत भने सर्वसम्मत रूपमा नै पार्टी सभापति संसदीय दलको नेता बन्ने र नभए प्रक्रियाअनुसार नै चयन गर्नेतर्फ केन्द्रित हुने बताउँछन्। कांग्रेसभित्र सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताद्वय डा. शेखर कोइराला र शंशाक कोइरालाले पनि प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेतामा दाबी गरेका छन्।