विश्वविद्यालय राजनीतिमुक्त हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त भएर प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

तस्वीर : रासस

काठमाडौँ– प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काभ्रेपलान्चोकको धुलिखेलमा बिहीबार आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए।

“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हो”, उनले भने, “विश्वविद्यालयहरू राजनीतिबाट मुक्त रही स्वतन्त्र तवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ।”

नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभई विदेशमा पनि महत्त्वपूर्ण संस्थामा आबद्ध भई उत्कृष्ट सेवा पुर्‍याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उनले बताए।

उनले काठमाडौँ विश्वविद्यालयका विभिन्न संकायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गरेका छन्। भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरेका छन्।

सो क्रममा उनले काठमाडौँ विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा ६ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गरे।

एक हजार ६९९ विद्यार्थी दीक्षित
काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरी एक हजार ६९९ जना विद्यार्थी दीक्षित भएका छन्।

प्रधानमन्त्री तथा कूलपति देउवाको अध्यक्षता तथा वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति देवेन्द्र पौडेलको उपस्थितिमा पहिलो चरणको समारोहमा मानविकी, शिक्षा, इञ्जिनियरिङ, कानून, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी एक हजार ६०६ जनासहित एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका अनुसार मानविकीका २२०, शिक्षाका २०२, इन्जिनियरिङका २६, कानूनका ४० जना, व्यवस्थापनका ४५२, स्वास्थ्य विज्ञानका ७१२ जना र विज्ञान संकायका ३७ जना विद्यार्थी दीक्षित भएका छन्।

दीक्षित हुने विद्यार्थीमध्ये ७३४ जना पुरुष र ९६५ जना महिला  छन्। दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १८६ जना विदेशी विद्यार्थीसमेत रहेको विश्वविद्यालयले जनाएको छ। यस विश्वविद्यालयबाट ४० हजार ३५ जना उत्तीर्ण भइसकेका छन्।