खाद्यलाई धान बेच्न रातभर खुला आकाशमुनि

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेपछि कैलालीका खरिद केन्द्रमा अत्यधिक भीड छ। किसानहरू दुई दिनसम्म लाइन लागेर धान बेच्न बाध्य छन्।

तस्वीर : रासस

भजनी– कैलालीको जानकी–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनी टीकापुर पुगे। धान बेच्न गएका उनी दिनभर लाइनमा बसे।

पालो नआएपछि राति पनि त्यहीँ बसे। “असोजमा थन्क्याएको धान दुईवटा गोरु गाडामा ल्याएर आएको थिएँ। लाइन धेरै लामो भएकाले भोलिपल्ट दिउँसो मात्रै पालो आयो”, उनले भने, “धान बिक्री गर्न निकै सास्ती छ।” जानकी–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउँछन्।

१२ बिघा १० कट्टामा धान खेती गरेका उनले १० क्विन्टल धान अन्यत्र लगेर बेचिसकेका छन्। घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको चौधरी सुनाउँछन्। “बजारमा प्रती क्विन्टल दुई हजार ४०० ले धान बेचेर घरखर्च जोहो गरेँ। बाँकी धान खाद्यको बिक्री केन्द्रमा लिएर आएको छु”, चौधरीले भने, “घरबाटै खाना ल्याएर खाँदै बसेको छु। खुला आकाशमुनि चिसोमा पालो कुर्नुपरेको छ।”

टीकापुर–१ का रामचरण चौधरी बुधबार धान लिएर टीकापुर गोदाम पुगे। उनको पालो १७९औँ स्थानमा छ। जसका लागि कम्तिमा तीन दिन यहीँ बस्नुपर्ने बाध्यता रहेको चौधरीले सुनाए। भ्ने, “ठाँउठाउँमा काँटा लगाएर धान खरिद गर्ने व्यवस्था गरेको भए यस्तो समस्या पर्ने थिएन ।” भजनी–८ का सुरेन्द्र चौधरी पनि धान खरिद केन्द्र पुगेको दुई दिनपछि मात्र धान बेच्न सफल भए।

कम्पनीले धान खरिद गर्न थालेपछि खरिद केन्द्रमा किसानको अत्यधिक भीड छ। “दुई महिनासम्म खाद्यलाई पर्खेर बस्नुपर्यो। अहिले पनि धान बेच्न सकस छ”, चौधरीले भने। दुई–चार रुपैयाँ बढी पाइने आशले बसेका किसानलाई धान बेच्न अहिले तछाडमछाड छ। भजनी–८ का हरिकुमार चौधरी खाद्यको खरिद केन्द्रमा गोरु गाडामा धान भरेर पुगे । तर, बेच्न पाएनन्।

बाढीले क्षति पुर्‍याएको र धान सफा नभएको भनेर फर्काइदियो। “राम्रो नभएको भन्दै मेरो धान खरिद गर्न खाद्यले मानेन”, उनले भने, “आजसम्म खाद्यको आशामा धान बजारमा बिक्री नगरेर बसेँ। अब बजार लिएर जान्छु।” हरिकुमारजस्तै धेरै किसान खाद्यले धान खरिद गर्न नमानेपछि निरास भएर फर्किएका छन्। खाद्यले गुणस्तर हेरेर मात्रै धान खरिद गर्ने गरेको छ। पानीले नभिजेको, परालको टुक्रा, पोकटा नमिसिएको ताजा मोटा धान मात्र खरिद गर्ने जनाएको छ। 

कम्पनीले जिल्लामा पाँच क्षेत्रबाट धान खरिद गरिरहेको छ। वडा नं १ टीकापुर शाखा, वडा नं ७ सत्ती, धनगढीको मोहनपुर गोदाम, भजनी र जोशीपुरबाट धान खरिद थालिएको छ। खाद्यले मोटा धानको न्यूनतम मूल्य प्रती क्विन्टल दुई हजार ९६७ र मध्यम धानको मूल्य तीन हजार १२८ रुपैयाँ कायम गरेको छ। कात्तिकमै धानको समर्थन मूल्य निर्धारण गरिएको भए पनि खरिदको अधिकार नदिँदा प्रक्रिया शुरू हुन सकेको थिएन। 

कैलालीमा यस वर्ष ४० हजार क्विन्टल धान खरिद गर्न केन्द्रबाट अनुमति प्राप्त भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सुदूरपश्चिम प्रमुख इन्जिला बस्नेतले जानकारी दिइन्।